नेभिगेशन
दृष्टिकोण
संस्कृति

पुरुषोत्तम मास, दान दातव्य र सार्थक जीवन

पुरुषोत्तम मासमा दान दिएमा यो लोक र परलोकमा पनि शुभमंगल र पुण्य प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । यो मासमा जति दान दियो, त्यसको दस गुणा बढी पुण्य प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । मलमास र अधिकमासका नामले चिनिने पुरुषोत्तम मासको अत्यन्तै धेरै महŒव रहेको छ । ईश्वी सम्वत्को तुलनामा विक्रम सम्वत्मा नपुग र टुटफुट तिथि मिति र दिनगन्तीले गर्दा कम भएर ३ वर्षमा एकपटक ती जम्मा भएका तिथि मिति र दिनको हिसाबले अधिकमासको निर्माण गरिएको हो । ईश्वी सम्वत् सूर्यमानअनुसार सञ्चालित छ भने विक्रम सम्वत् चन्द्रमासबाट चल्ने गर्दछ ।  त्यस्तै मलमास किन भनियो भन्दा यो मलमासमा सूर्य संक्रान्ति पनि नहुने अनि चन्द्र पनि एउटा राशिबाट अर्को राशिमा नजाने भएकाले यो मलमास मलिन अर्थात् कमजोर भइरहेको हो । यो मलमासलाई दूषित महिना पनि भनिने रहेछ । सबै महिनाका आ–आफ्नै भगवान् छन् तर मलमासको भने भगवान् नै नभएकाले त्यसबेलाका ऋषिमुनिहरूले श्रीहरि विष्णु भगवान्को प्रार्थना गरेर अनुनयविनय गरी मलमासको अधिपति बन्न अनुरोध गर्दा विष्णु भगवान्ले पनि हुन्छ भनी स्वीकृति दिनुभएकाले यो मलमासको नाम पुरुषोत्तम मास पनि हुन गएको हो भनिन्छ । पुरुषोत्तम मास हुनेबित्तिकै यो मासलाई पवित्र मास पनि भन्न थालियो । 
राक्षस राज हिरण्यकशिपुले कुनै पनि मानिस वा जनावरले मार्न नसक्ने, कुनै पनि हतियारले, न आकाशमा न धर्तीमा, न राति न दिनमा अनि १२ महिनामध्ये कुनै पनि महिनामा कसैले पनि मार्न नसक्ने वरदान लिइराखेका हुनाले हिरण्यकशिपुलाई वध गर्नकै लागि पनि विष्णु भगवान्ले १३औं महिनाको वर्ष अधिकमासको निर्माण गरेका हुन् पनि भनिन्छ । 
    दुर्योधनले छलकपट गरेर जुवामा हराएका पञ्च पाण्डवहरू काम्य वनमा बसिरहेका बेलामा भगवान् श्रीकृष्णले कृपा दृष्टि राखी भेट गर्न जाँदा युधिष्ठिर, अर्जुन, भीम, नहकुल र सहदेवका साथै द्रौपदीले अत्यन्तै हर्षित भई श्रीकृष्णलाई धेरै–धेरै स्वागत एवं धन्यवाद दिँदै सहयोग माग्दा श्रीकृष्ण भन्नुहुन्छ, भाग्यमा लेखेकोलाई कसले हटाउन सक्छ ? द्रौपदी पूर्वजन्ममा एउटा ऋषिराजकी पुत्री हुन् । उनी जन्मेको केही वर्षमै आमाको दिवंगत हुन्छ । जब उनी १० वर्षकी भइन् उनलाई विवाह गर्ने इच्छा भयो । तर, उनलाई कसैले माग्न पनि आएन, उनलाई कोही वर पनि भेटिएन । उनका पिता ऋषिले पनि प्रयास गरेका हुन् तर योग्य वर भेटिएन । उक्त ऋषि पुत्रीका साथीहरूको विवाह भएर पनि पति र पुत्र भोग गरिसके । तर, उनको विवाह नभएकाले ज्यादै दुःखित भई अलापविलाप गर्दै भगवान्को प्रार्थना गरी म विवाह गर्न योग्य भइसक्दा पनि मेरो विवाह किन भएन भनी अनुनयविनय गर्न थालिन् । त्यत्तिकैमा त्यहाँ दुर्वासा ऋषि आइपुग्छन् । अनि ऋषि पुत्रीले भनिन्– ‘हे तपस्वी ऋषिवर मेरा कोही छैनन् मेरो दुःखको निवारण गरिदिनुहोस् । मलाई रातभर निद्रा लाग्दैन, न भोक न प्यास भएकी छु, मेरो जीवन नै बर्बाद भयो मेरो उद्धार गरिदिनुहोस् ।’ अनि दुर्वासा ऋषिले भने– ‘मैले तिमीलाई एउटा गुप्त उपाय बताउँछु, तिमीले पालना गर्नु अनि तिम्रो सम्पूर्ण दुःख नाश हुनेछ । अब तिमीले पुरुषोत्तम मासको व्रत बस्नु, तिम्रो उद्धार हुन्छ ।’ दुर्वासा ऋषिको कुरा सुनेर उनले भनिन्– ‘मलमास भनेको त मलिन मास होइन र ? मैले किन त्यस्तो मलिन मास, दूषित मासको व्रत बस्ने फेरि पुरुषोत्तमकै व्रत बस्नुपर्छ भन्ने के छ र ? मैले त अन्य भगवान्कै व्रत बस्छु र पूजा आराधना गर्छु ।’ दुर्वासा ऋषिलाई धेरै रिस उठ्यो, त्यस ऋषि पुत्री देखेर तैपनि भन्छन्– ‘तिमी मेरो मित्रका पुत्री भएकीले मात्र मैले केही नगरेको तिमीले पुरुषोत्तम मासको विरोध ग¥यौ, त्यसैले अब तिमीलाई राम्रो हुने छैन, यसको परिणाम तिमीले भोग्नुपर्ने हुन्छ ।’ दुर्वासा ऋषिले त्यति भन्नेबित्तिकै ऋषि पुत्री तत्कालै कान्तिहीन हुन पुग्छिन् अनि शक्तिहीन पनि भइन् । दुर्वासा ऋषि त्यतैबाट बद्रीकाश्रममा जान्छन् ।
    अनि त्यस ऋषि पुत्रीले महादेवको कठोर तपस्या गर्छिन् । पञ्चमुखी महादेवको वर्षौंसम्म घोर तपस्या गर्छिन् । उनको कठोर तपस्याबाट महादेव प्रसन्न भई दर्शन दिँदै वरदान माग भन्दा उनले मलाई पति दिनोस्, मलाई पति प्राप्त गराइदिनोस्, मलाई पति दिनोस् भन्दै पाँच पटकसम्म पति चाहियो भनी मागेकीले तिम्रा पाँचवटै पति हुनेछन् । महादेवको यस्ता कुरा सुनेर उनले एउटी स्त्रीका पाँच पति हुँदा लोकले के भन्छ ? यो त स्त्री जातिकै घोर अपमान भएन र भन्दा महादेवले तिमीले नै पाँच–पाँच पटक पति चाहियो भनेकीले पाँच पति नै हुने भयो तर त्यो पनि यो जुनीमा होइन अर्को जुनीमा मात्र । यो जुनीमा तिमीलाई पति सुख हुनेछैन । तिमीले पुरुषोत्तम मासको अपमान ग¥यौ, मलाई मनपर्ने ऋषि दुर्वासालाई पनि अपमान ग¥यौ, त्यसैले तिमीले यो दुःख भोग गर्नुप¥यो । अब केही समयपछि धर्मात्मा राजा द्रौपदले यज्ञ गर्दैछन् । तिमी त्यही यज्ञको अग्निबाट प्रकट भई जन्म लिन जाऊ भनी महादेवले भनेकाले द्रौपदीका रूपमा यज्ञको अग्निबाटै जन्म भएकी हुन् ।
भगवान् श्रीकृष्णले यी सबै कुरा बताइसकेपछि अब तिमीहरूले पुरुषोत्तम मासको व्रत बस्नू, १४ वर्ष पूरा भएपछि तिमीहरूको वनवास पूरा भई उद्धार हुनेछ भनी सम्झाइबुझाई गरेर जानुहुन्छ । अनि युधिष्ठिरले आफ्ना भाइहरूसँग पुरुषोत्तम मासको व्रत बस्छन् । 
    यो पुरुषोत्तम मासमा माता, पिता, गाई अनि भगवान् श्रीकृष्णको भक्ति गर्नुपर्छ । यो मासमा तीर्थमा गई स्नान गर्नाले नयाँ ऊर्जा प्राप्त भई पुण्य पनि मिल्नेछ । पुरुषोत्तम भगवान्को निष्ठापूर्वक पूजा गरेमा पुत्रपुत्रादि, धनदौलत, सुख प्राप्ति हुन्छ अनि अन्तिममा गोलोकमा जान पाइन्छ भनी शास्त्रमा भनिएको छ । त्यस्तै सनातन धर्मग्रन्थ श्रीमद् भागवत्मा यस मासमा दान दिनाले अक्षय पुण्य प्राप्त हुनेछ भनिएको छ । त्यसैले यस मासमा भगवान्को पूजा, हवन, व्रत, ध्यान, दान, दीप, वस्त्र दान आदि गर्नुपर्छ । धनवैभवका साथै पुण्य प्राप्त हुनेछ । 
पुरुषोत्तम मासमा के गरेमा श्रीहरि विष्णु भगवान्ले उद्धार गर्नुहुन्छ भन्ने सन्दर्भमा सबैभन्दा पहिला मन्त्र जप गर्नुपर्छ । ॐ नमो भगवती वासुदेवाय भनी मन्त्र जप गर्ने र श्री विष्णु सहस्रनाम, एकादशी महात्म्य वाचन गर्ने, पुरुषोत्तम मासको कथा सुन्ने वा भन्ने गरेमा अत्यन्तै शुभ मंगल भई यत्र र परत्र दुवै स्थानमा सुखभोग गर्न पाइने शास्त्रमा उल्लेख गरिएको छ । दिनको एक छाक सात्विक भोजन गर्नुपर्छ । लसुन प्याजसमेत खानुहुँदैन । धेरै जना भक्तजनहरू जम्मा भएर पुरुषोत्तम मासको कथा सुन्ने, असल व्यवहार आचरण गर्ने, दीप दान, वस्त्र दान, श्री भद्भागवत ग्रन्थ दान गर्नुपर्छ । यसबाट अक्षय पुण्य प्राप्त हुनेछ । मलमासमा व्रत बस्ने, ध्यान गर्ने र गरिब दीन दुःखीहरूलाई दान दिएमा सयौं गुणा फल पाइने विश्वास गरिन्छ । 
    त्यस्तै पुरुषोत्तम मासमा पाँच दिनसम्म लगातार गरिने दानमा प्रतिपदाका दिन चाँदीको पात्रमा घिउ राखेर मन्दिरमा देवतालाई चढाउनुपर्छ । द्वितीयाका दिन काँसको थालमा सुन राखेर देवताका पुजारीलाई दान दिनुपर्छ । त्यसरी नै तृतियाका दिन चना, चतुर्थीका दिन छोकडा र पञ्चमीका दिन सख्खर र रहरको दान दिनुपर्छ ।
यो पुरुषोत्तम मासमा सबै कर्म गर्नुहुँदैन । दैविक कार्य पनि गर्नुहुँदैन । विवाह, व्रतबन्ध, घर निर्माण, नयाँ घर प्रवेश, नयाँ सवारीसाधन किन्नुहुँदैन । त्यस्तै देवताका मूर्तिमा प्राणप्रतिष्ठा गर्ने, बोरिङ गर्ने, इनार खन्ने जस्ता कार्य पनि गर्नुहुँदैन । गर्न नहुने भनी वर्जित गरिएका कार्य गरेमा हाम्रो जीवनमा धेरै उतारचढाव हुन्छ । 
    हाम्रो धर्म, संस्कृतिले वर्जित गरेका कार्य गरेमा धेरै नै नोक्सानी बेहोर्नुपर्ने हुन्छ । त्यसैले हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई सम्मानपूर्वक पालना गरिरहनुपर्छ । हामी पनि अनुशासित भई आफनो कर्तव्य पालना गरेमा हाम्रो जीवन सार्थक हुनेछ । अनि यो लोक र परलोकमा पनि हामीलाई धेरै पुण्य प्राप्त भई गोलोकमा  बस्ने अवसर प्राप्त हुनेछ । 
(लेखक डंगोल धर्मसंस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्