नेभिगेशन
दृष्टिकोण
खान्की

दिनमा तीन पटक खाना किन खाने ?

औद्योगिक क्रान्तिबाट जन्मिएको हाम्रो कठोर भोजन संस्कारलाई पुनर्विचार गर्नेबेला आएको छ । अब खानपानमा केही स्वतन्त्रता र सहजता अपनाउने समय हुन सक्छ ।

अमेरिकी खाद्य लेखक एम.एफ.के. फिसरले सन् १९४२ मा प्रकाशित आफ्नो पुस्तक (हाउ टु कुक अ वुल्फ) मा लेखेकी छन्, ‘पाककलासम्बन्धी सबैभन्दा मूर्ख धारणामध्ये एक यो हो कि दिनका तीनवटै भोजन सन्तुलित हुनैपर्छ । सबै मानिसलाई दिनमा तीन पटक खाना आवश्यक वा मनपर्ने हुँदैन । कतिपयलाई दुई पटक, डेढ पटक वा पाँच पटक खाँदा अझ राम्रो महसुस हुन्छ ।’
फिसरले यो पुस्तक युद्धका कारण खाद्यान्न अभाव भएको समयमा कसरी स्वादिलो र पौष्टिक खाना खाने भन्ने मार्गदर्शकका रूपमा लेखेकी थिइन् । तर, उनका धेरै विचार आज पनि उत्तिकै सान्दर्भिक र विचारोत्तेजक छन् । आठ दशकभन्दा बढी समय बितिसक्दा पनि बिहान–दिउँसो–बेलुकाको परम्परागत भोजन प्रणालीमाथि प्रश्न उठ्दा समाचार बन्ने गर्छ । हालै बेलायतको एउटा पत्रिकाले ‘नास्ता खानेहरूको राष्ट्र ः बेलायतीहरू अब दिनमा तीन पटक खाना खाँदैनन्’ भन्ने शीर्षक नै छाप्यो ।
दिनको निश्चित समयमा तीन पटक भोजन गर्ने चलन यति गहिरोसँग हाम्रो जीवनमा गाँसिएको छ कि हामी यसलाई स्वाभाविक व्यवस्था ठान्न थालेका छौं । तर वास्तवमा यो कुनै प्राकृतिक नियम होइन । यो प्रणाली मानव शरीरको आवश्यकताभन्दा पनि श्रम र कामको तालिकासँग मेल खाने गरी विकास भएको हो ।
यसको जरो औद्योगिक क्रान्तिमा पुगेर जोडिन्छ । त्यतिबेला बिहान काम सुरु हुनुअघि छिटो खाने नास्ता, कामबीच ऊर्जा दिने हल्का दिउँसोको खाना र साँझ काम सकिएपछि परिवारसँग खाने मुख्य भोजनको चलन बस्यो । त्यसअघि पनि मानिसहरू खाना खान्थे, तर भोजनको समय र स्वरूप आजको जस्तो निश्चित थिएन ।
औद्योगिक युगले भोजनका निश्चित समय तय गरेपछि व्यवसायीहरूले पनि मानिसहरूको स्वाद र बानी निर्माण गर्न थाले । यसमा जोन हार्भे केलोगको ठूलो भूमिका थियो । उनले र उनका धार्मिक सहयात्रीहरूले अमेरिकामा स्वास्थ्य केन्द्र स्थापना गरी हल्का नास्ताको प्रचार गरे । अन्नबाट बनेका साधारण खाद्य पदार्थलाई नैतिक र स्वस्थ जीवनसँग जोडियो । यस्तो हल्का नास्ता रोजगारदाताहरूलाई पनि मनपथ्र्यो, किनभने उनीहरूलाई लाग्थ्यो कि धेरै भारी खाना खाए कामदार सुस्त हुन्छन् ।
पछि तयार प्याक गरिएका स्यान्डविचहरू लोकप्रिय भए । उद्योगपतिहरूले कामदारलाई काम गर्दागर्दै टेबुलमै स्यान्डविच खुवाउन सक्ने वातावरण निर्माण भयो । यसले भोजनलाई विश्राम र आनन्दको समयभन्दा पनि कामसँग जोडिएको गतिविधि बनायो ।
तर अहिले प्रमाणहरू बढ्दै गएका छन् कि मानिसहरूको खानपान बिस्तारै तीन भोजनको परम्पराबाट बाहिर निस्कँदै छ । महामारीका समयमा भएको बन्दाबन्दी, एक्लै बस्ने व्यक्तिको संख्या बढ्नु तथा पारिवारिक संरचनामा आएको परिवर्तनले यसलाई अझ तीव्र बनाएको छ ।
यद्यपि, परिवारसँग बसेर खाना खाने संस्कृतिको महŒव अझै जोडदार रूपमा उठाइन्छ । धेरैले पारिवारिक बेलुकाको भोजनले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने तर्क गर्छन् । तर पोषणविद् लरा थोमसका अनुसार यस्ता अपेक्षाहरूको भार प्रायः महिलाहरू, विशेष गरी श्रमिक वर्गका महिलाहरूको काँधमा थोपारिन्छ ।
हामीले कहिले र के खाने भन्ने कठोर नियमहरू—जस्तै क्यालोरी गणना, निश्चित भोजन समय वा बिहानको खाना सबैभन्दा महŒवपूर्ण हो भन्ने धारणा— धेरै मानिसका लागि अपराधबोध र लाजका कारण बन्न सक्छन् । समयको अभावमा सबै व्यवस्था मिलाउन नसक्ने महिलाहरूले आफू असफल भएको अनुभूति गर्न सक्छन् ।
शोधकर्ता एनी मर्कटका अनुसार आधुनिक ‘पकाएको बेलुकाको खाना’ व्यवस्थित र आदर्श पारिवारिक जीवनको प्रतीक बन्न पुग्यो । तर, यस्ता अपेक्षाले चिन्ता र अस्वस्थ खानपान व्यवहार पनि जन्माउन सक्छन् ।
लेखक एली डेभिस आफ्नै अनुभव सुनाउँछन् । मानसिक स्वास्थ्य कमजोर भएको एक चरणमा बिहानको खाना के खाने भन्ने निर्णय गर्नै यति कठिन हुन्थ्यो कि उनी ओछ्यानमै लुकेर बस्ने गर्थे । सन्तुलित नास्ता खान नसक्नु जीवनका अन्य क्षेत्रमा पनि असफल भएको संकेत जस्तो लाग्थ्यो ।
फिसर भने यसको विकल्पको आकर्षक चित्र प्रस्तुत गर्छिन् । उनका अनुसार राम्रो र प्रशस्त खाना उपलब्ध भए मानिसले आफ्नो वास्तविक भोकको आधारमा खानेछ, कुनै कृत्रिम नियमको आधारमा होइन । यही विचार आज ‘सहज भोजन’ भन्ने अवधारणामा पनि देखिन्छ । यो धारणा कठोर आहार नियन्त्रणको प्रतिक्रियास्वरूप विकसित भएको हो । यसले ‘राम्रो’ र ‘नराम्रो’ खानाको विभाजन हटाएर शरीरको आवश्यकता र इच्छाअनुसार खान प्रोत्साहन गर्छ ।
तर एउटा समस्या अझै बाँकी छ । चाहे पूरा भोजन होस् वा हल्का खाजा, खाना तयार पार्ने जिम्मेवारी अझै पनि मुख्यतः महिलाहरूकै काँधमा रहन्छ । घरभित्रको खाद्यसम्बन्धी श्रम समान रूपमा बाँडिएको छैन ।
त्यसो भए हामीले आफ्नो वास्तविक भोक र स्वाद कसरी पहिचान गर्ने ? ‘राम्रो’ र ‘नराम्रो’ खानाबारे गहिरोसँग जमेका धारणाबाट कसरी मुक्त हुने ? यदि कुनै नयाँ भोजन सिद्धान्तले मानिसहरूको वास्तविक जीवन, समयको अभाव र खाना तयार गर्ने परिस्थितिलाई बुझ्दैन भने त्यो टिकाउ हुन सक्दैन ।

सायद यसको उत्तर आंशिक रूपमा ‘खाजा’मा लुकेको हुन सक्छ । औद्योगिक युगअघि खाजाले मुख्य भोजनलाई पूरक बनाउने काम गथ्र्यो । लेखिका लरा गुडम्यानका अनुसार राम्रो खाजाले पारिवारिक भोजनसँग जोडिएका दबाबहरू कम गर्न सक्छ र खानालाई अझ सहज तथा आनन्ददायी बनाउन सक्छ ।
जब मन लाग्यो तब स्वादिलो सानो परिकार खाने स्वतन्त्रता—सायद यही दिनमा अनिवार्य तीन पटक भोजन गर्ने पुरानो अवधारणाको पकड खुकुलो पार्ने सानो तर महŒवपूर्ण सुरुवात हुन सक्छ ।

(लेखिकाको स्पिन्स्टर कुक बुक प्रकाशित छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्