नेभिगेशन
दृष्टिकोण

‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’

विषय प्रवेश
नागरिकलाई सुसूचित गर्ने, नागरिकको आवाज बोल्ने, राज्य र नागरिकका बीच साँघुको काम गर्ने एवं लोकतन्त्रको महŒवपूर्ण स्तम्भका रूपमा रहने अपेक्षा गरिएको आमसञ्चार जगत् अहिले आफैंमा अस्थिर र कुहिरोमा हराइरहेको कागजस्तो त भइरहेको छैन ? प्रश्न खडा भएको छ । त्यसमाथि अहिलेको हाम्रो राजनीतिक संक्रमणकालका सन्दर्भमा आमनागरिकले अपेक्षा गरेको सुशासन स्थापना, नागरिक स्वतन्त्रता र सर्वोच्चता एवं समृद्धितर्फको यात्रामा जिम्मेवार बन्दै ‘वाचडग’का रूपमा काम गर्नुपर्ने दायित्व पनि आमसञ्चार क्षेत्रकै हुनुपर्नेमा यो क्षेत्र आफैं कतै लड्खडाइरहेको त छैन ? 
यसो हुनुका पछाडिका कारणहरू थुप्रै छन् । तीव्र गतिका नयाँ मिडिया र मिथ्या एवं भ्रामक सूचनाको अनियन्त्रित बाढी, विज्ञापन संकुचन र आर्थिक संकट, अनुभवी एवं विज्ञ जनशक्तिको अन्य पेसातर्फ पलायन, परिवर्तित प्रविधिगत अनुशरण तथा प्रयोगमा समस्या, दलीय आस्था एवं विभिन्न प्रभावका आधारमा धु्रवीकरण, नागरिकको अपेक्षाप्रतिको उपेक्षा, प्रेस स्वतन्त्रताको व्यावहारिक उपभोगमा दबाब एवं नियन्त्रणमुखी प्रयासहरू, समयानुकूल ज्ञान र सीपका लागि आवश्यक तालिमहरूको अभाव, आचारसंहिताको पालनामा अपेक्षित सुधारको खाँचो आदि रहेका छन् । 
म यहाँनेर, यी सबै विषयहरूलाई उठाउन लागिरहेको छैन । यीमध्ये अधिकांश विषयहरूमा सम्पादक समाजले गएको फागुन २ गते नुवाकोटको बिदुरमा आयोजना गरेको यस्तै कार्यक्रममा प्रशस्त चर्चा भइसकेको छ । यहाँ म विशेषगरी वर्तमान सन्दर्भमा देखापरेको नयाँ मिडिया र मिथ्या एवं भ्रामक सूचनाहरूको अनियन्त्रित बाढीका सन्दर्भका केही कुराहरू उठाउन खोजिरहेको छु । 
अध्ययनका स्रोत र सीमाहरू
यो अध्ययन तथा विश्लेषण एकदमै छोटो, करिब दुई दिनको समयावधिमा गरिएको हो । सो समयावधिमा आप्mनै अनुभव तथा स्वअध्ययनका अलावा निम्न व्यक्तित्वहरूसँगको संक्षिप्त भेटघाट तथा कुराकानी र स्रोतहरूबाट थप जानकारी हासिल गरिएको हो । 
संक्षिप्त कुराकानी गरिएका व्यक्तित्वहरूः
-    प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहोरा तथा अन्य केही सम्बद्ध कर्मचारीहरू
-    त्रिभुवन विश्वविद्यालयको रत्नराज्य लक्ष्मी क्याम्पसका पत्रकारिता विभागका प्रमुख डा. जगत् नेपाल
-    ‘डिजिटल एल्गोरिदम्स, मिस÷डिस इन्फर्मेसन एण्ड इलेक्सन इन नेपाल’का लेखक तथा जेनजी उमेर समूहका काठमाडौं विश्वविद्यालयमा अध्ययनरत महर्षि कट्टेल 
-    सेन्टर फर मिडिया रिसर्च – नेपालका भुवन केसी
-    सम्पादक समाज नेपालका संरक्षक किरण वैद्य  
अन्य स्रोतहरूः
-    प्रेस काउन्सिल नेपालबाट उपलब्ध पछिल्ला तथ्यांक एवं प्रकाशन तथा ‘संहिता’मा प्रकाशित लेखहरू
-    नेपाल पत्रकार महासंघद्वारा प्रकाशित पत्रकारका लागि तथ्यजाँच पुस्तिका ‘सत्यापन’
-    सेन्टर फर मिडिया रिसर्च – नेपालका विषयवस्तुसम्बद्ध विभिन्न प्रकाशनहरू 
-    गोरखापत्र संस्थानका प्रकाशनमा कृत्रिम बौद्धिकता÷बुद्धिमत्ता (एआई) प्रयोगसम्बन्धी नीति–२०८२
-    विज्ञ पत्रकार शरच्चन्द्र वस्तीद्वारा लिखित ‘हाम्रो भाषा’ – तेस्रो संस्करण
नयाँ मिडिया र मिथ्या एवं भ्रामक सूचनाहरूको अनियन्त्रित बाढी
मानव सभ्यतामा मिथ्या एवं भ्रामक सूचनाको प्रवाह कुनै नयाँ कुरा होइन । यसको इतिहास खोतल्दै जाने अध्येताहरू पूर्वीय सभ्यतामा महाभारतकालीन ‘नरो वा कुंजरो वा अश्वत्थामा हतोहत ...’ तिर पुग्ने गरेका छन् । पश्चिमी सभ्यतामा चाहिँ यस्तो प्रसंग उठान गर्दा प्राचीन रोममा जुलियस सिजरका धर्मपुत्र ओक्टाभियनले तत्कालीन प्रभावशाली योद्धा मार्क एन्टनीलाई राजनीतिबाट बाहिर फाल्न गरेको हर्कतको चर्चा गर्ने गरेको पाइन्छ । त्यसबेला एन्टनीको इजिप्टकी रानी क्लियोपेट्रासँग प्रेमसम्बन्ध रहेको र उनी सधैं मदिरामा लठ्ठ हुने गरेको मिथ्या खबर फैलाइएको बताइन्छ । गोयबल्सको सिद्धान्त पनि तपाईं–हामीले पढे–सुनेकै कुरा हो । पत्रकारितातर्फ पनि यसको सयौं वर्षको इतिहासमा मिथ्या एवं भ्रामक सूचनाका कैयौं उदाहरणहरू नभएका होइनन् । नेपाली पत्रकारिता पनि यसबाट अछुतो छैन ।
पछिल्ला केही उदाहरणहरू
झट्ट हेर्दा धेरैजसो राजनीतिक एवं कुनै स्वार्थ समूहको अभिष्टका लागि भ्रामक एवं मिथ्या समाचार प्रकाशन–प्रसारण गर्न आजकल विभिन्न ‘इन्प्mलुएन्सरहरू’समेत सक्रिय हुने गरेको पाइन्छ । हाम्रै परिवेशमा समेत मिडियामा चितवनदेखि फैलिएको ऋतिक रोशन काण्डको अपुष्ट समाचारका कारण चारजनाले ज्यान गुमाउनुपरेको कुरा शायद धेरैको स्मरणमा ताजै छ । तत्कालकै परिवेशमा पनि देशकै एउटा चर्चित मिडियामाथि निवर्तमान गृहमन्त्रीसम्बद्ध प्रकरणको कथित आरोप चर्चाको शिखरमै छ ।
आमसञ्चार माध्यममार्फत गलत सूचनाको प्रवाह राजनीतिक सन्दर्भहरूमा र विशेषगरी निर्वाचन वा राजनीतिक संक्रमणकालका बेला नै धेरै हुने गरेका छन् । तर, अन्य क्षेत्रहरू पनि यसभन्दा धेरै टाढा छैनन् । कोभिड महामारीका बेला नेपालकै केही प्रतिष्ठित मिडियाहरूमा आएको ‘नेपालमा कोरोना खोप बनाएको दाबी’देखि देशकै एउटा सर्वाधिक प्रचलित मिडिया ग्रुपका विभिन्न माध्यममा ‘नाम्चेमा १२ वर्षयताकै उच्च तापक्रम’ भन्नेसम्मका गलत समाचारहरू तपाईं–हामीले सुने, देखे वा पढेकै हौं । परम्परागत वा मूलधारका आमसञ्चार माध्यमहरूमा यस्ता उदाहरणहरू धेरै छन् । 
यस्ता मिथ्या एवं भ्रामक सूचनाहरू अहिलेका सामाजिक सञ्जाल र अनलाइन मिडियाहरूमा त परम्परागत वा मूलधारका आमसञ्चार माध्यमहरूको तुलनामा झनै बग्रेल्ती छन् । खासगरी सन् २००० यता इन्टरनेटको प्रयोगमा एकैचोटी बहुप्रयोगकर्ताहरू सामेल हुने अवस्था सिर्जना हुने क्रम बढ्न थालेपछि र अनलाइन सञ्चार माध्यमहरूको बाढी सुरु भएपछि यो क्रम नियन्त्रण गर्नै मुस्किल पर्ने ढंगले विस्तार हुँदै गएको छ ।
गएको जेनजी आन्दोलनका बेला वत्सलेश्वरी र नक्साल भगवतीको जात्रासँग सम्बन्धित पुरानो  फोटो कसैले सामाजिक सञ्जालमा हालेर पशुपतिनाथ मन्दिरमा आगो लगाउने प्रयास गरेको भन्ने धार्मिक आतंकपूर्ण मिथ्या सन्देश पैmलिएको कुरा पनि हामी धेरैलाई थाहा छ । जेनजी आन्दोलनका बेला त भ्रामक समाचारहरूको सानोतिनो बाढी नै आएको थियो ।
डिजिटल माध्यमहरू बढी प्रयुक्त
पहिले–पहिले प्रयोग गर्ने गरिएको ‘फेक न्यूज’ शब्द आजकल प्रयोग गर्न छाडिएको छ तर तथ्यहरूले के देखाउँछन् भने अहिलेका अत्यधिक प्रचलनमा रहेका डिजिटल माध्यमहरू यस्ता मिस–इन्फर्मेसन, डिस–इन्फर्मेसन, माल–इन्फर्मेसन लगायत इन्फोडेमिक समेत फैलाउन मूलधारका परम्परागत माध्यमहरूको तुलनामा बढी प्रयोग भएका छन् । एआईको दुरुपयोग र पत्रकार आचारसंहिताको उल्लंघन पनि अहिलेका जल्दाबल्दा समस्याहरू हुन् । यस तथ्यलाई विभिन्न आमसञ्चार माध्यमहरूविरुद्ध प्रेस काउन्सिल नेपालमा परेका उजुरी र जनगुनासोहरूले पुष्टि गरेका छन् । 
अनलाइन माध्यममा पनि कतिपय एउटै उजुरी १० वटा अनलाइन मिडिया विरुद्धसम्म पनि परेको पाइन्छ । सो हिसाबले गणना गर्ने हो भने त उजुरी परेका अनलाइन मिडियाको संख्या विवरणभन्दा कैयौं गुणा बढी हुन पुग्छ ।
यसमा प्रेस काउन्सिलले उजुरी र गुनासो दर्ताका आधारमा नभई स्वअनुगमन गरेको विवरण समावेश छैन । आ.व. २०८१÷८२ मा स्वअनुगमनअन्तर्गत कुल ३६३ वटा सामग्री अनुगमन भएकोमा ७७ वटा आचारसंहिता प्रतिकूल पाएको काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिल नेपालले आप्mनो ५०औं वार्षिक प्रतिवेदनमा पत्रकारिता आचारसंहिता उल्लङ्घन गर्ने १२ वटा अनलाइन सञ्चार माध्यमहरूलाई कालोसूची÷अवज्ञाकारीको सूचीमा राखेको र ४३ वटा युट्युब च्यानलको अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको पनि जनाएको छ । 
अनलाइन माध्यमहरूको बढ्दो संख्या
अनलाइन मिडियाहरूविरुद्ध परेका उजुरीहरूको संख्या बढी देखिनुमा पछिल्ला वर्षहरूमा यस्ता मिडियाहरूको संख्या ह्वात्तै बढ्नु एउटा प्रमुख कारण हो ।  
प्रेस काउन्सिल नेपालको ५०औं वार्षिक प्रतिवेदन अनुसार आ.व. २०८१÷८२ मा मात्रै ५०४ वटा सहित सो आ.व.सम्म ५ हजार १ सय २६ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भइसकेका छन् । जबकि प्रकाशन भइरहेका पत्रपत्रिकाहरू भने आ.व. २०८१-८२ सम्ममा काउन्सिलको प्रकाशन दर्ता अभिलेखअनुसार ४,९४१ वटा मात्रै रहेका छन् । सोही अवधिसम्म सञ्चालन इजाजत पत्र जारी भएका टेलिभिजनको संख्या २४९ र रेडियोको संख्या १,२०४ रहेको छ । यस तथ्यांकले नेपालमा फेसबुक, टिकटक जस्ता माध्यमहरूको त कुरै छाडौँ, सूचीकरण भएका अनलाइन मिडियाको संख्याले नै प्रकाशन भएका परम्परागत पत्रपत्रिका र रेडियो÷टेलिभिजनको संख्यालाई उछिन्ने स्थिति देखिन थालेको छ ।  
सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालको अभिलेखमा पत्रपत्रिकाहरूको अभिलेख विवरण फरक देखिनुको कारण विभागमा अस्थायी र स्थायी दर्ता दुवै प्रकृतिका पत्रिकाको अभिलेख हुने र काउन्सिलमा भने प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशन प्रति मात्र अभिलेखीकरण हुने गर्नु हो ।
दर्ताबाहेकका अन्य कारणहरू 
संख्यात्मक वृद्धि मात्र नभई यस परिस्थितिका लागि निम्न कारणहरू पनि जिम्मेवार रहेका छन्ः 
-    अनलाइन मिडियाको दर्ता मात्र नभई आमनागरिकबाट तिनको उपभोग गर्ने क्रम तीव्र गतिमा विस्तार हुनु, 
-    यिनको अनुगमन तथा नियमनमा भइरहेका प्रयासहरू अझै प्रभावकारी र पर्याप्त भइनसक्नु,
-    यस्ता मिडियामा पत्रकारिताको ज्ञान, धर्म, आचारसंहिता र सामाजिक उत्तरदायित्वसम्बन्धी अध्ययन गरेका र यस्ता कुराहरूको परिपालनामा प्रतिबद्ध जनशक्ति कम हुनु,
-    प्रभावकारी ‘गेटकिपिङ’को कमी, 
-    आमनागरिकमा ‘मिडिया एवं सूचना साक्षरता’को अभाव, र
-    राज्य एवं राजनीतिक पक्षहरूबाट समेत दुरुपयोग र उपेक्षा । 
यस आर्थिक वर्षको अवस्था र उजुरीका विषयवस्तुगत प्रकृति
यस आर्थिक वर्षमा पनि स्थिति खासै फेरिएको छैन । तल प्रस्तुत गरिएको २०८२ साउन १ गतेदेखि २०८३ जेठ ६ गतेसम्मको प्रेस काउन्सिल नेपालमा परेको उजुरीको प्रकृतिगत विवरणले यही तथ्यलाई उजागर गर्दछ ।
नागरिकको अपेक्षा
माथिका तथ्यगत विवरणहरूले जे संकेत गर्दछन्, त्यो हाम्रो आमसञ्चार जगतप्रति नागरिकले राखेको वास्तविक अपेक्षा होइन । अझै पनि आमनागरिक, समाज र राष्ट्रप्रति जिम्मेवार हुनुपर्ने एवं आचारसंहिता पालना गर्नुपर्ने नागरिक अपेक्षातर्फ हाम्रो आमसञ्चार जगतले अझै धेरै प्रयत्न गर्नुपर्ने खाँचो महसुस भएको छ । 
नागरिक स्वयंको भूमिका र सूचना साक्षरताको खाँचो 
आजको हाम्रो समाजमा कतिपय आमसञ्चार माध्यम र तिनले प्रस्तुत गर्ने सामग्रीहरू आमनागरिकको अपेक्षा अनुरूप नहुनुमा स्वयं नागरिकहरू पनि दोषमुक्त छैनन् । खासगरी आमनागरिकहरूको ठूलो संख्या सूचना र सञ्चारको अत्याधुनिक विकाससँगै अहिलेको सूचनाको संसारमा फैलिन सहज भएको भ्रामक एवं मिथ्या सूचनाको जालमा आफैँ नै पर्दै गएका छन् । नागरिकहरूमा मिडिया एवं सूचना साक्षरताको कमी, रोमाञ्चक कुराहरूमा बहकिने प्रवृत्ति र पक्षधरताले यसमा ठूलो मलजल गरेको छ । यसलाई निम्नानुसार बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ ः
-    कस्तो मिडियाबाट जानकारी प्रवाह भइरहेको छ भन्ने कुराको परख र हेक्का नगरी मिडिया उपभोग गर्नु, 
-    यस मिडियाले यो सन्देश किन दिइरहेको छ र त्यसले हामीमा के कस्तो प्रभाव पार्न सक्छ भनेर मूल्यांकन गर्न नसक्नु,
-    जथाभावी शेयर गर्नु र 
-    एल्गोरिदमको शिकार बन्नु ।
एआईको प्रयोग
मिथ्या एवं भ्रामक सूचनाको खेतीका सन्दर्भमा एआईको प्रयोग पनि उल्लेखनीय छ । सूचना तथा सञ्चार प्रविधिको अत्याधुनिक विकाससँगसँगै यस क्षेत्रमा एआईको उपयोग तीव्र रूपमा बढ्न थालेको छ । संसारभर नै आजकल मिडिया, मिडियाकर्मी र मिडियामा लेख्ने लेखकहरूले समाचार संकलन तथा लेखन, तथ्य विश्लेषण, अनुवाद, सम्पादन, तस्वीर तथा ध्वनीको प्रयोग लगायतका लागि यसको उपयोग गर्न थालेका छन् । एआईको अव्यवस्थित, अनियन्त्रित वा असावधानीपूर्ण प्रयोगले मिडियामा प्रकाशित एवं प्रसारित सामग्रीको सत्यता, सम्पादकीय स्वतन्त्रता र नैतिक आधार कमजोर बनाउने काम गर्न थालेको छ । यसका कारण तथ्यगत त्रुटी एवं भ्रामक र पूर्वाग्रहयुक्त सन्देश प्रवाह हुनुका साथै सम्पादकीय जिम्मेवारीसम्बन्धी विवाद, उजुरी र जनगुनासोहरू बढेका छन् । 
सकारात्मक प्रयासहरू
माथि उल्लिखित विवरणहरूले आमसञ्चार माध्यमहरूमा मिथ्या एवं भ्रामक सूचनाको खेती बढ्दै गएको देखाए पनि यसको न्यूनीकरणका लागि थुप्रै सकारात्मक प्रयत्नहरू पनि भइरहेका छन् । यसका केही पछिल्ला उदाहरणहरू निम्नानुसार देखिन्छन्ः
-    विभिन्न मिडियाहरूले तथ्यजाँचका लागि आवश्यक नीति, जनशक्ति र प्रविधिको व्यवस्थापन र कार्यान्वयनमा जोड दिन थालेका छन् ।
-    मिडियामा प्रकाशित सामग्रीको तथ्यजाँचका लागि इन्टरनेट सर्च, रिभर्स इमेज सर्च, मेटाडेटा एनालाइसिस, स्वीसनाइफ टुल्स जस्ता विभिन्न प्रविधिहरू र ती अन्तर्गत विभिन्न उपकरणहरू प्रयोग गर्न थालिएका छन् । 
-    नेपाल पत्रकार महासंघले देशका विभिन्न ठाउँमा संवाद सञ्चालन गरी पत्रकारका लागि तथ्यजाँच पुस्तिका (सत्यापन) जस्ता सामग्रीको प्रकाशन तथा वितरण गरेको छ ।
-    नेपाल सरकारले २०८२ साउन २६ गते एआई नीति जारी गर्दै सबै क्षेत्रमा एआई निर्देशिका तथा मापदण्डहरू बनाउनु पर्ने आशय उल्लेख गरेको छ ।
-    नेपाली रेडियो नेटवर्क, अनलाइन टिभी पत्रकार संघ, गोरखापत्र संस्थान लगायत मिडियासम्बद्ध  विभिन्न संस्थाहरूले एआई नीति तथा आचारसंहिताहरू निर्माण गरिसकेका छन् । 
-    पानस साउथ एशिया, अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ नेटवर्क, नयाँदिल्लीस्थित न्यूजचेकरलगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पनि नेपाली मिडियामा तथ्यजाँचका लागि कुनै न कुनै तरहले सहयोगहरू गर्दै आएको पाइन्छ ।
-    सेन्टर फर मिडिया रिसर्च (सीएमआर)– नेपालले मिथ्या सूचना र तथ्यजाँच एवं मिडिया र सूचना साक्षरताका क्षेत्रमा आपूmलाई अग्रणी संस्थाको रूपमा अगाडि बढाउँदै यससम्बन्धी हातेकिताब, प्रशिक्षण स्रोत पुस्तिका लगायत विभिन्न प्रकाशनहरू गर्दै आएको छ । 
-    प्रेस काउन्सिल नेपालले आप्mना नियमित एवं स्वअनुगमन कार्यहरू सञ्चालन गर्ने, आचारसंहिता उल्लङ्घनको अभिलेखन गर्ने र आप्mनो त्रैमासिक प्रकाशन ‘संहिता’ मा जानकारीमूलक लेखहरू प्रकाशन गरी सचेतना फैलाउने लगायतका विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेको छ ।
-    सम्पादक समाज नेपालले नागरिकको अपेक्षा र जिम्मेवार पत्रकारिताका सन्दर्भहरूमा बहस सञ्चालन गर्ने कार्यहरू गर्दै आएको छ ।  
निष्कर्ष 
अहिलेको संसारमा नवीन प्रविधिहरूको प्रयोग र प्रभावसँगै सूचना तथा सन्देश प्रवाह अत्यन्तै तीव्र रूपमा हुन थालेको छ । नेपाली आमसञ्चार क्षेत्रमा पनि स्वाभाविक रूपमा यसको ठूलो प्रभाव परिरहेको छ । यसका सकारात्मक पक्षहरू त छँदैछन् तर परिणामका रूपमा हाम्रो पत्रकारिता, हाम्रो समाज र लोकतन्त्रमा समेत गम्भीर चुनौतीहरू पनि थपिएका छन् । यस्ता चुनौतीको सामना कसरी गर्ने भन्ने सन्दर्भमा स्वयं आमसञ्चार जगत, राज्य र सम्बद्ध सरोकारवालाहरूले ध्यान दिनु जरूरी भएको छ । 
यो कार्यपत्र अहिले तीव्रगतिमा फैलिएको मिथ्या एवं भ्रामक सूचनाको अनियन्त्रित बाढी न्यूनीकरणका लागि एउटा बहस–पत्र मात्र हो । हतारमा र त्यो पनि कुनै विशेष स्रोतको उपलब्धता बेगरै एक्लो व्यक्तिबाट साह्रै छोटो अवधिमा गरिएको अध्ययनका आधारमा तयार पारिएकाले यो निसन्देह पूर्ण छैन । तर, निश्चय नै यसले आजको सन्दर्भमा आवश्यक बहस अगाडि बढाउँदै अब के गर्ने त भन्ने बारेमा छलफल चलाउन केही न केही योगदान गर्नेछ भन्ने विश्वास लिइएको छ ।
(प्रस्तुत लेख सम्पादक समाज नेपाल काठमाडौंमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रमा आधारित छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्