नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

आन्तरिक किचलोले कांग्रेस विभाजनतर्फ

नेपाली राजनीतिका पुराना र ठूला दलहरू आन्तरिक कलहको चपेटामा पर्नु नयाँ विषय नभए तापनि मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक किचलोले भने गम्भीर मोड लिएको छ । 
कांग्रेसभित्रको किचलोले पार्टीको आन्तरिक अवस्थालाई मात्र चित्रण गर्दैन, यसले नेपाली राजनीतिको समग्र स्थिरतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ । विचार र सिद्धान्तभन्दा पनि व्यक्तिगत महŒवाकांक्षा, गुटगत स्वार्थ र नेतृत्वको असमझदारीका कारण कांग्रेस पुनः एकपटक विभाजनको ऐतिहासिक मोडतर्फ उन्मुख छ । 
विशेष महाधिवेशनपछि कांग्रेसभित्रको असन्तुष्ट समूहले संस्थापन पक्ष एकलौटी ढंगले अगाडि बढेको भन्दै नयाँ पार्टी गठन आफूहरूको बाध्यता बन्न सक्ने चेतावनी दिएको छ । उनीहरूले संस्थापनसँग असन्तुष्ट समूहभित्र एकता कायम गर्दै अलग गतिविधि अगाडि बढाएका छन् । संस्थापन समूहले एकता नचाहेको, अलमलाउने र पार्टी संरचना कब्जा गर्दै गएको निष्कर्षसहित अलग्गै अघि बढ्ने तयारी इतर पक्षको छ । चुनावमा पराजय बेहोर्नुपर्ने कारण के हो भन्ने हेक्का नभएका इतर पक्षले सभापति थापासँगको असहमतिलाई बाटो नै फेर्ने कारक बनाइरहेका छन् ।
विशेष महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमिति बनेपछि कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला पक्ष असन्तुष्ट छ । संस्थापनसँग असन्तुष्ट रहे पनि अब कसरी अघि जाने भन्नेमा उनीहरूको फरक मत देखिएको थियो । देउवा समूहमा नयाँ पार्टी बनाउनुपर्ने मत बलियो छ भने शेखर समूहभित्र पार्टीभित्र आफ्ना मागहरू सम्बोधन भए १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने मत बलियो छ । तर, पछिल्लो समय संस्थापन समूहले मिडिया ट्रायल गरेको तर गम्भीर संवाद नगरेको भन्दै दुवै समूह एक ठाउँमा आइपुगेका छन् । इतरपक्षले संस्थापनले छलफलमा गम्भीरता नदेखाएको आरोप लगाएको छ । यसका साथै संस्थापन पक्षको प्रस्तावमा इतरपक्ष आश्वस्तसमेत देखिएको छैन । 
पार्टीभित्र नीति, कार्यक्रम र एजेन्डामा बहस हुनु जीवन्तताको लक्षण हो । तर, कांग्रेसभित्र अहिले भइरहेको खिचातानी नीतिगत नभएर नितान्त शक्ति संघर्ष र भागबन्डामा केन्द्रित छ । संस्थापन पक्ष र इतर समूहबीचको दूरी यसरी बढेको छ कि सामान्य राजनीतिक शिष्टाचार र संवादका ढोकाहरू समेत बन्द छन् । केन्द्रीय समितिदेखि तल्लो तहका कमिटीहरूसम्म गुटको छाया स्पष्ट देखिन्छ । संसद्मा पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा साझा धारणा बन्न नसक्नु र राष्ट्रिय मुद्दाहरूमा पार्टी विभाजित देखिनुले दललाई कमजोर बनाउँदै लगेको छ । 
नेतृत्व तहको अहंकार र दोस्रो पुस्ताको अधैर्यता नै अहिलेको विवादको मुख्य जड हो । पुराना नेताहरू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न हिचकिचाइरहेका छन् भने युवा तथा रूपान्तरणका नारा दिने नेताहरू वैधानिक प्रक्रियाभन्दा बाहिरबाटै नेतृत्व हत्याउने हतारोमा देखिन्छन् । यसले गर्दा पार्टीभित्र आन्तरिक लोकतन्त्रको उपहास भएको छ । महाधिवेशनका निर्णय र पार्टीको विधानलाई आफूअनुकूल व्याख्या गर्ने प्रवृत्तिका कारण आमकार्यकर्तामा चरम निराशा छाएको छ । वर्षौंदेखि पार्टीका लागि रगत–पसिना बगाएका निष्ठावान् कार्यकर्ताहरू आज कुन गुटको फेरो समात्ने भन्ने दुविधामा परेका छन् । 
इतिहास साक्षी छ, कांग्रेस जब–जब फुटको संघारमा पुगेको छ वा विभाजित भएको छ, तब–तब मुलुकको लोकतान्त्रिक प्रणाली र स्थिरतामाथि धक्का लागेको छ । २०५९ सालको विभाजनले अन्ततः प्रजातन्त्रलाई नै कमजोर बनाएको तितो यथार्थ धेरै पुरानो भएको छैन । अहिले पनि मुलुक आर्थिक संकटसँग जुधिरहेका बेला प्रमुख दलभित्रको यो हदको कलह गैरजिम्मेवारीपनको पराकाष्ठा हो । 
नयाँ राजनीतिक शक्तिहरूले परम्परागत दलहरूलाई चुनौती दिइरहेको अवस्थामा कांग्रेस सच्चिनुको विकल्प छैन । अबको बाटो संवाद, आत्मसमीक्षा र रूपान्तरणकै हो । नेतृत्वले गुटको घेराभन्दा माथि उठेर समग्र पार्टीको अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ । असन्तुष्ट पक्षले पनि पार्टीलाई नै समाप्त पार्ने गरी आक्रामक बन्दा कसैको हित हुँदैन । 
यदि कांग्रेसले समयमै यो किचलो व्यवस्थापन गर्न सकेन र फुटको बाटो रोज्यो भने यसले केवल एउटा पार्टीमात्र फुट्ने छैन, आमनेपाली जनताको प्रजातान्त्रिक विकल्पप्रतिको भरोसा समेत टुट्नेछ । नेतृत्वले बेलैमा चेतोस् र ऐतिहासिक दुर्घटनाबाट पार्टीलाई जोगाओस् । पार्टीभित्र विधिको शासन पुनस्र्थापना गर्ने, विधानलाई अक्षरशः पालना गर्ने र कार्यसम्पादनमा पारदर्शी बन्ने प्रतिबद्धता तत्काल आवश्यक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण