मानव इतिहासमा केही यस्ता क्षणहरू आउँछन् जसले एउटा राष्ट्रलाई झस्काइदिन्छन् । २०७२ सालको भूकम्प त्यस्तै एउटा क्षण थियो जसले केही सेकेन्डमै हजारौं परिवारको जीवन बदलियो । त्यसपछि आयो कोभिड–१९ महामारी, संसार नै ठप्प भयो । शक्तिशाली राष्ट्रहरू असहाय देखिएर अस्पताल, अर्थतन्त्र, शिक्षा र जनजीवन सबै प्रभावित भए । यी घटनाहरूले एउटा साझा सन्देश दिएका छन्ः संकट कहिल्यै सूचना दिएर आउँदैन तर विडम्बना के छ भने संकट टरेपछि हामी फेरि पुरानै लयमा फर्किन्छौं । केही समय छलफल हुन्छ, केही योजना बन्छन्, केही प्रतिबद्धता व्यक्त गरिन्छन् र विस्तारै विषय ओझेलमा पर्न थाल्छ । परिणामस्वरूप, अर्को संकट आउँदा हामी फेरि उही प्रश्न दोहो¥याउँछौंः ‘हामी किन तयार भएनौं ?’ आज नेपालले यही प्रश्न गम्भीरतापूर्वक सोध्नुपर्ने बेला आएको छ । विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ । धेरै दशकअघि हामीले कल्पना गरेका कुरा आज सत्य भइसकेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सले काम गर्ने तरिका बदलिरहेको छ । जलवायु परिवर्तनले मौसम नै बदलिरहेको छ । कुनै देशमा सुरु भएको युद्धले अर्को महादेशको अर्थव्यवस्थामा प्रभाव पारिरहेको छ । एउटा बन्दरगाहमा समस्या आए आपूर्ति शृंखला प्रभावित हुन्छ । साइबर आक्रमणले बैंकिङ देखि सरकारी सेवासम्म प्रभावित पार्न सक्छ । बैंकिङदेखि सरकारी सेवा दूरी घट्यो तर जोखिम बढ्यो ।
अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ मोड आएको छ । अमेरिका र चीनबीच प्रतिस्पर्धा, रुस र युक्रेनको युद्ध, मध्यपूर्वको तनाव र विश्व व्यापारमा अनिश्चितताले अर्थव्यवस्थालाई प्रभावित गरिरहेको छ । यी घटनाले नेपालजस्तो देशमा पनि इन्धनको मूल्य, आयात, पर्यटन, रोजगारी र लगानीमा प्रभाव पारिरहेका छन् । जलवायु परिवर्तन, आर्थिक अनिश्चितता, प्रविधिगत रूपान्तरण, साइबर सुरक्षा चुनौती, जनसांख्यिकीय परिवर्तन र भूराजनीतिक तनावले नयाँ विश्व व्यवस्था निर्माण गरिरहेका छन् । यस्ता परिवर्तनहरूबाट नेपाल अलग रहन सक्दैन । आज विश्वका कुनै पनि कुनामा देखिएको संकटको असर भोलि नेपालसम्म आइपुग्न सक्छ । केही वर्षअघि श्रीलंकामा आर्थिक संकट सुरु हुँदा धेरैले त्यसलाई अस्थायी समस्या ठानेका थिए तर विदेशी मुद्रा सञ्चिति घट्दै गयो, आयात प्रभावित भयो, इन्धन अभाव हुन थाल्यो, महँगी बढ्यो र अन्ततः जनआक्रोश सडकमा पोखियो । आर्थिक संकटले राजनीतिक संकटको रूप लियो । श्रीलंकाको घटना नेपालका लागि डर फैलाउने विषय होइन तर एउटा महŒवपूर्ण पाठ अवश्य हो । अर्थतन्त्रको आधार कमजोर हुँदै जाँदा त्यसका प्रभाव केवल आर्थिक क्षेत्रमा सीमित रहँदैनन् ।
जनसंख्या परिवर्तन पनि महŒवपूर्ण छ । विकसित देशहरूमा वृद्ध जनसंख्या र श्रम अभाव छ भने विकासशील देशहरूमा युवा जनशक्तिको समस्या छ । नेपाल पनि यहीं समस्या सामना गरिरहेको छ। ठूलो संख्यामा युवा विदेश जाँदा रेमिट्यान्सको फाइदा त छ, तर उत्पादन र नवप्रवर्तनमा समस्या आउन सक्छ।
नेपालले पनि विभिन्न चुनौतीहरू सामना गरिरहेको छ । आर्थिक दबावका बीच बाढीले देशको ठूलो भूभाग प्रभावित बनायो । लाखौं मानिस विस्थापित भए, विकासका लागि खर्च हुनुपर्ने स्रोतसाधन पुनः राहत र पुनर्निर्माणमा खर्च गर्नुप¥यो । नेपालले पनि प्रत्येक वर्ष बाढी, पहिरो र डुबानको समस्या भोगिरहेको छ । जलवायु परिवर्तनका प्रभावहरू हिमालदेखि तराईसम्म देखिन थालेका छन् । प्रश्न यो होइन कि अर्को ठूलो विपत्ति आउँछ कि आउँदैन । प्रश्न यो हो कि हामी त्यसका लागि कति तयार छौं ।युरोपले हालै ऊर्जा सुरक्षाको महत्व गहिरो रूपमा अनुभव ग¥यो । अन्तर्राष्ट्रिय द्वन्द्वका कारण ऊर्जा आपूर्ति प्रभावित हुँदा विकसित अर्थतन्त्रहरूसमेत दबाबमा परे । नेपाल जलविद्युत्को सम्भावना बोकेको देश हो, तर पेट्रोलियम पदार्थ र धेरै आवश्यक वस्तुमा अझै परनिर्भर छ ।
ऊर्जा आत्मनिर्भरता केवल विकासको विषय होइन, राष्ट्रिय सुरक्षाको विषय पनि हो । जापान र दक्षिण कोरियाजस्ता विकसित देशहरू अहिले जनसांख्यिकीय संकटसँग जुधिरहेका छन् । वृद्ध जनसंख्या बढ्दै छ, श्रमशक्ति घट्दै छ । नेपालले फरक प्रकारको चुनौती सामना गरिरहेको छ । यहाँ जनशक्ति छ, तर त्यो जनशक्ति अवसरको खोजीमा विदेश गइरहेको छ । रमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिएको भए पनि दीर्घकालमा दक्ष जनशक्तिको अभावले विकासलाई प्रभावित गर्न सक्छ । प्रविधिको विकासले नयाँ अवसर र चुनौती ल्यायो । डिजिटल बैंकिङ र अनलाइन कारोबारले जीवन सहज बनायो । तर साइबर अपराध र डेटा चोरी पनि बढ्यो । अर्को शान्त तर गम्भीर संकट डिजिटल संसारबाट आउन सक्छ । आज बैंकिङ, व्यापार, शिक्षा र सरकारी सेवा क्रमशः डिजिटल बन्दै गएका छन् । विश्वका विकसित राष्ट्रहरूसमेत साइबर आक्रमणबाट सुरक्षित छैनन् । अमेरिका, बेलायत र जापानजस्ता देशहरूले सरकारी प्रणाली र महŒवपूर्ण पूर्वाधारमाथि साइबर आक्रमणका प्रयासहरू सामना गरिरहेका छन् । नेपालमा पनि डिजिटल सेवाको विस्तारसँगै साइबर सुरक्षा राष्ट्रिय प्राथमिकताको विषय बन्नुपर्छ । यी सबै उदाहरणहरूले एउटा महŒवपूर्ण कुरा देखाउँछ । संकट फरक–फरक रूपका हुन सक्छन्, तर तिनका संकेतहरू धेरै पहिले देखिन थाल्छ ।
नेपालको अर्को चुनौती हाम्रो योजना निर्माण संस्कृतिसँग पनि जोडिएको छ । हामी प्रायः प्रतिक्रिया दिन सक्षम छौं, तर पूर्वतयारीमा कमजोर छौं । समस्या आएपछि बैठक बस्छ । क्षति भएपछि बजेट छुट्याइन्छ । तर जोखिमको पहिचान, सम्भावित संकटको अभ्यास र पूर्वतयारीमा अपेक्षित ध्यान दिइँदैन । वास्तवमा संकट व्यवस्थापनको पहिलो चरण संकट आउन नदिनु हो । दोस्रो चरण संकट आए पनि त्यसको प्रभाव कम गर्नु हो । तेस्रो चरण संकटपछि अझ बलियो भएर उठ्नु हो । नेपालले अझै पनि तेस्रो चरणमा बढी ध्यान दिने गरेको देखिन्छ र अब भने पहिलो र दोस्रो चरणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ । खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, जलवायु अनुकूल विकास, साइबर सुरक्षा, गुणस्तरीय स्वास्थ्य प्रणाली, उत्पादनमुखी अर्थतन्त्र र दक्ष जनशक्ति विकास आगामी दशकका मुख्य प्राथमिकता हुनुपर्छ । स्थानीय सरकारहरूलाई पनि केवल विकास निर्माणका निकायका रूपमा होइन, संकट व्यवस्थापनको पहिलो पंक्तिका संस्थाका रूपमा सशक्त बनाउन आवश्यक छ । हामी प्रायः भूकम्प आएपछि भवनको कुरा गर्छौं, बाढी आएपछि तटबन्धको, महामारी आएपछि अस्पतालको र आर्थिक समस्या आएपछि सुधारको तर इतिहासले बारम्बार देखाएको छ, संकटको समयमा गरिने निर्णयभन्दा संकटअघि गरिने तयारी धेरै मूल्यवान् हुन्छ ।
आज श्रीलंकाको आर्थिक संकट, पाकिस्तानको जलवायुजन्य विपत्ति, युरोपको ऊर्जा चुनौती, जापानको जनसांख्यिकीय समस्या वा विश्वभर बढ्दो साइबर जोखिमलाई हामी केवल अरू देशका समाचारका रूपमा हेर्न सक्छौं । तर ती समाचार मात्र होइनन्; ती भविष्यका सम्भावित संकेतहरू पनि हुन् ।
प्रश्न नेपालले यस्तै संकट भोग्छ कि भोग्दैन भन्ने होइन । प्रश्न यस्ता चुनौतीहरू देखा पर्दा हामी तयार हुन्छौं कि हुँदैनौं भन्ने हो । वास्तविक संकट त्यो होइन, जसले देशलाई चुनौती दिन्छ । वास्तविक संकट त त्यो हो, जसका संकेतहरू देखिँदा पनि हामी बेवास्ता गर्छौं ।
इतिहासले धेरै राष्ट्रहरूलाई संकटले होइन, तयारीको अभावले पराजित गरेको छ । हामीले भूकम्पबाट सिक्यौं, महामारीबाट सिक्यौं र अब अरू देशहरूले भोगिरहेका अनुभवहरूबाट पनि सिक्नुपर्छ किनकि बुद्धिमानी भनेको आफ्नै गल्तीबाट मात्र होइन, अरूका गल्ती र सफलताबाट पनि पाठ सिक्नु हो ।
राष्ट्रको शक्ति केवल आर्थिक वृद्धिदर, अग्ला भवन वा चौडा सडकले मापन हुँदैन । राष्ट्रको वास्तविक शक्ति त्यतिबेला देखिन्छ, जब संकटको बीचमा पनि विद्यालय खुल्छन्, अस्पताल चल्छन्, नागरिक सुरक्षित रहन्छन् र राज्यप्रति जनताको विश्वास कायम रहन्छ । संकट कहिले आउँछ भन्ने हाम्रो नियन्त्रणमा नहुन सक्छ तर संकटका लागि कत्तिको तयार हुने भन्ने कुरा पूर्ण रूपमा हाम्रो हातमा छ । त्यसैले अबको समय संकट आएपछि सोच्ने होइन, संकट आउनुअघि सोच्ने समय हो । भविष्य उनीहरूको हुन्छ, जो संकटसँग डराउँदैनन्, संकट आउनुअघि नै त्यसका लागि तयार हुन्छन् ।
(लेखक केसी संकट व्यवस्थापन विषयका अध्यापक हुन् ।)