भर्खरै सम्पन्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को ८औं महाधिवेशनले मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ऊर्जा क्षेत्रको निजी लगानी र नीतिगत संवादको प्रमुख संस्थाका रूपमा स्थापित इप्पानले यसपटकको महाधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिँदै जलविद्युत् तथा ऊर्जा विकासको गति थप सुदृढ बनाउन पहल गर्ने इप्पानको रणनीति छ । लगानीमैत्री वातावरण, प्रसारण लाइन विस्तार, पीपीएसमस्या, तथा परियोजना जोखिम व्यवस्थापनजस्ता मुद्दाहरू इप्पानका मुख्य एजेन्डा सरकार समक्ष पु¥याउने प्रतिबद्धता नयाँ कार्यसमितिको छ । विद्युत् उत्पादन, प्रसारण तथा व्यापारको क्षेत्रमा पहल कदमी गर्न इप्पानलाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउने नयाँ कार्यसमितिले कसरी काम गर्नेछ भन्ने सन्दर्भमा नवनियुक्त अध्यक्ष डाँगीसँग न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे र संवाददाता धना ढकालले गरेको कुराकानीको सम्पादित अंशः
इप्पानको नयाँ अध्यक्षको जिम्मेवारीमा आउनुभएको छ, यहाँको ३ वर्षे कार्यकालका योजना के–के छन् ?
म विगत आठ वर्षदेखि इप्पानमा आबद्ध छु । नेतृत्वमा जो आए पनि हाम्रो संस्थाका मूल योजना र प्राथमिकताहरू उही रहने गरेका छन् । इप्पानको स्थापना कालदेखि नै नीतिगत पैरवी गर्ने उद्देश्यले गठन भएको संस्था भएकाले हाम्रो पहिलो प्राथमिकता पनि नीतिगत सुधारका लागि पैरवी गर्नु नै हो । अहिले झण्डै दुईतिहाइ नजिकको बलियो सरकार बनेको अवस्था छ । यस्तो समयमा ऊर्जा क्षेत्रसँग सम्बन्धित महŒवपूर्ण कानुनी तथा नीतिगत सुधारहरू अघि बढ्ने अपेक्षा हामीले गरेका छौं ।
विद्युत् ऐन २०४९ र त्यसपछिको विद्युत् नीति २०५८ लागू भए पनि, २०५८ सालमा नयाँ नीति आएपछि त्यसअनुसारको नयाँ विद्युत् ऐन तुरुन्त आउनुपर्ने थियो । तर, आज २५ वर्ष बितिसक्दा पनि नयाँ ऐन ल्याउन सकिएको छैन । अहिलेको राजनीतिक स्थायित्व र बलियो सरकारका कारण अब विद्युत् ऐन आउनेमा हामी आशावादी छौं । ऊर्जा क्षेत्रको विकासका लागि नयाँ ऐन अत्यन्त महŒवपूर्ण छ । अब आउने नयाँ विद्युत् ऐन ५० वर्षपछिको अवस्थालाई हेरेर ल्याउनुपर्ने हुन्छ । त्यसैले गुणस्तरीय र व्यवहारिक विद्युत् ऐन निर्माणका लागि नीतिगत पैरवी गर्नु हाम्रो प्रमुख कार्य हुनेछ ।
त्यस्तै, वन ऐनको सन्दर्भमा पनि सुधारको आवश्यकता देखिन्छ । वन ऐन २०२९ सालमा आएको थियो र त्यसयता विभिन्न संशोधनहरू भए तापनि यसको आधारभूत सोच त्यही समयको परिस्थितिमा आधारित छ । ऐन निर्माण हुँदा नेपालको वन क्षेत्र करिब ३१ प्रतिशत मात्र थियो, तर अहिले वन क्षेत्र विस्तार भएर करिब ४७ प्रतिशत पुगेको छ । यस्तो अवस्थामा पाँच दशकअघिको सोच र संरचनामा आधारित कानुनले वर्तमान आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्न सक्दैन । त्यसैले बदलिएको यथार्थअनुसार वनसम्बन्धी कानुनी व्यवस्था पुनरावलोकन र सुधार गर्न आवश्यक भएको हुँदा मेरो नेतृत्वको कार्यसमितिले यसका लागि पहल गर्नेछ । वन क्षेत्रसँग सम्बन्धित कानुन, नियमावली र निर्देशिकाहरूलाई अझ विकासमैत्री बनाउनु पर्ने आवश्यकता छ । नेपाल अहिले विकासोन्मुख राष्ट्र हो, तर नीतिनिर्माण प्रक्रियामा संलग्न धेरै कर्मचारी तथा प्रशासकहरूले विकसित मुलुकहरूमा हुने तालिम, अध्ययन भ्रमण र सेमिनारहरूबाट प्राप्त अनुभवलाई सिधै यहाँ लागू गर्ने प्रवृत्ति देखिन्छ । विकसित र विकासोन्मुख देशहरूको आवश्यकता, प्राथमिकता र विकासको चरण फरक हुने भएकाले त्यहाँका अभ्यासहरू जस्ताको तस्तै यहाँ लागू गर्दा अपेक्षित परिणाम प्राप्त नहुन सक्छ । त्यसैले नेपालको वास्तविक आवश्यकता र विकासका लक्ष्यलाई केन्द्रमा राखेर वन क्षेत्रका कानुन तथा नीतिहरूलाई थप विकासमैत्री बनाउने विषयमा पनि हामी निरन्तर पैरवी गरिरहेका छौं । यस्तै, निजी क्षेत्रका विकासकर्ताहरूले विभिन्न सरकारी निकायहरूसँग काम गर्दा भोग्ने समस्याहरू समाधान गर्न इप्पानभित्र नै एउटा समर्पित ‘सहजीकरण डेस्क’ स्थापना गर्ने योजना छ । अहिले कुनै समस्या पर्दा सदस्यहरूले व्यक्तिगत रूपमा कसैलाई फोन गर्ने वा व्यक्तिगत सम्बन्धका आधारमा समाधान खोज्नुपर्ने अवस्था छ । त्यसको सट्टा इप्पानमा एउटा संस्थागत संयन्त्र हुनुपर्छ, जहाँ नेपाल विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, विभाग वा अन्य सरकारी निकायसँग सम्बन्धित समस्याहरू औपचारिक रूपमा दर्ता गर्न सकियोस् । त्यसपछि, इप्पानले संस्थागत रूपमा ती समस्याहरूको अध्ययन गरी सम्बन्धित निकायमा आफ्नो आधिकारिक पत्रसहित समाधानका लागि पहल गर्ने व्यवस्था गर्नेछ ।
हाम्रा धेरै विधेयक र कानुनी मस्यौदाहरू विदेशी सहयोग वा परामर्शदाताको संलग्नतामा तयार हुने गरेका छन् । उनीहरूले तयार पारेको मस्यौदामाथि मात्र हामीले छलफल गर्ने अवस्था रहँदै आएको छ । अब म एउटा नयाँ अवधारणा अघि बढाउने सोचमा छु । ऊर्जा क्षेत्र र विकासका विषयमा अनुभव भएका पूर्वसचिव तथा वरिष्ठ पूर्वप्रशासकहरूलाई अनुसन्धान तथा विधेयक मस्यौदा निर्माण प्रक्रियामा संलग्न गराउने योजना छ । आवश्यक स्रोतसाधन इप्पानकै तर्फबाट व्यवस्थापन गरेर भए पनि हामी आफैंले अध्ययन, अनुसन्धान र विधेयकको प्रारम्भिक मस्यौदा तयार गर्ने, त्यसपछि सरकार र सांसदहरूलाई त्यसबारे छलफलका लागि प्रस्तुत गर्ने र आवश्यक सुधारका लागि दबाब सिर्जना गर्ने सोच बनाएका छौं । यसले नीतिगत बहसलाई थप व्यावहारिक, राष्ट्रिय आवश्यकता केन्द्रित र निजी क्षेत्रको अनुभवसँग जोड्न सहयोग पुग्ने विश्वास छ ।
हाल इप्पानको २५ सदस्यीय कार्यसमिति छ । विधानअनुसार थप सदस्य मनोनयन गर्ने व्यवस्था पनि गरिएको छ । नयाँ विधान कार्यान्वयन भएपछि समितिको आकार अझ विस्तार हुनेछ । धेरै साथीहरू स्वेच्छिक रूपमा संस्थाका लागि योगदान दिन इच्छुक हुनुहुन्छ, जुन अत्यन्त सकारात्मक पक्ष हो । जति धेरै सक्षम व्यक्तिहरूलाई जिम्मेवारीसहित संलग्न गराउन सकियो, संस्था त्यति नै प्रभावकारी बन्छ । त्यसैले म नेतृत्वलाई निर्देशन र समन्वयको भूमिकामा सीमित राख्दै, कार्यसमितिका सबै सदस्यलाई सक्रिय रूपमा जिम्मेवारी बाँडफाँड गरेर परिचालन गर्ने पक्षमा छु ।
आठौं महाधिवेशनअघि ‘भिजन २०२९’ सार्वजनिक गरिएको थियो । त्यसमा समेटिएका प्राथमिकताहरूलाई कसरी कार्यान्वयन गर्नुहुन्छ?
‘इप्पान भिजन २०२९’ तयार गर्ने क्रममा मसँग पनि परामर्श गरिएको थियो । त्यस दस्तावेजमा संस्थागत सुधार, नीतिगत पैरवी, सदस्य सेवाको विस्तार, डिजिटल प्रविधिको प्रयोग, संगठन सञ्चालनको आधुनिकीकरण तथा ऊर्जा क्षेत्रका प्रमुख समस्याहरूको समाधानका लागि आवश्यक रणनीतिहरू समेटिएका छन् । त्यसैले, यो केवल दस्तावेज मात्र नभई आगामी कार्यदिशा निर्धारण गर्ने मार्गचित्र हो । तर, म व्यक्तिगत रूपमा कुनै योजना जस्ताको तस्तै लागू गराउन चाहने पक्षमा छैन । मेरो विश्वास सामूहिक नेतृत्वमा छ । कार्यसमितिमा विभिन्न पुस्ता, अनुभव र दक्षताका व्यक्तिहरूको प्रतिनिधित्व छ । इप्पान कार्यसमितिमा अहिले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरिसक्नुभएका तथा हाल बुटवल पावर कम्पनीको नेतृत्वमा रहनुभएका अनुभवी उत्तरकुमार श्रेष्ठ हुनुहुन्छ । अर्कोतर्फ, विदेशमा उच्च शिक्षा हासिल गरेर फर्किएका युवा तथा नवीन सोच भएका सदस्यहरू पनि कार्यसमितिमा आबद्ध छन् । यी फरक–फरक अनुभव र दृष्टिकोणलाई एकै ठाउँमा ल्याएर संस्थाको हितमा उपयोग गर्नु नै हाम्रो लक्ष्य हो । त्यसैले ‘भिजन २०२९’ लाई पनि व्यापक छलफलपछि कार्यसमितिबाट औपचारिक रूपमा अनुमोदन गरेर कार्यान्वयनमा लैजाने मेरो योजना छ । आवश्यक परे समयसापेक्ष संशोधन गर्दै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना तयार गरिनेछ । इप्पानको कार्यसम्पादनलाई व्यवस्थित र परिणाममुखी बनाउन म ७ देखि ९ वटा विषयगत समिति गठन गर्ने सोचमा छु । आवश्यकताअनुसार उपसमितिहरू पनि बनाइनेछन् । प्रत्येक समितिलाई स्पष्ट जिम्मेवारी, कार्यक्षेत्र र लक्ष्य दिइनेछ, जसले गर्दा कार्यसमितिका सदस्यहरू सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्न सक्नेछन् । त्यसैगरी, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई समन्वय तथा अनुगमनको भूमिकामा केन्द्रित गर्ने योजना छ । यी पदाधिकारीहरूले विभिन्न समिति तथा उपसमितिबीच समन्वय गर्ने, नीतिगत छलफलमा सहभागी हुने, सम्बन्धित निकायहरूसँग पैरवी गर्ने तथा निर्णयहरूको कार्यान्वयनको अवस्था निरन्तर मूल्यांकन गर्ने जिम्मेवारी निर्वाह गर्नेछन् ।
नेपाल विद्युत् प्राधिकरणमा अहिले निजी क्षेत्रका १६ हजार मेगावाट बढीका आयोजना विद्युत् खरिद सम्झौता (पीपीए)को प्रतीक्षामा छन् । पीपीए चाँडै खुलाउने विषयमा इप्पानले कसरी पहल गर्नेछ ?
अहिले ऊर्जा क्षेत्रको एउटा गम्भीर समस्या भनेको लामो समयदेखि पीपीए हुन नसक्नु हो । यसले जलविद्युत् आयोजनाहरूलाई निर्माणमा जान रोकिरहेको छ । यसले लगानीकर्ता तथा आयोजना विकासकर्ताहरूलाई पनि ठूलो अन्योलमा राखेको छ । उत्पादन क्षमता विस्तार, लगानी आकर्षण र ऊर्जा क्षेत्रको समग्र विकासका लागि पीपीए प्रक्रियालाई शीघ्र, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक छ । यस विषयमा पनि इप्पानले सम्बन्धित निकायहरूसँग निरन्तर संवाद र नीतिगत पैरवी गर्दै आएको छ । र, अब पनि गर्ने नै छ छ । अहिले देशमा झण्डै दुईतिहाइ समर्थन प्राप्त सरकार बनेको छ । नयाँ सरकारका लागि काम गरेर देखाउने ठूलो अवसर पनि छ । यो अवसरलाई सफल बनाउने जिम्मेवारी सरकारसँगै निजी क्षेत्रको पनि हो ।
अघिल्लो सरकारको पालामा पीपीएसम्बन्धी विषयलाई आर्थिक विधेयकमा समावेश गर्ने प्रयास भएको थियो । मेरो बुझाइमा यो विद्युत् प्राधिकरण र निजी प्रवर्धक कम्पनीबीचको प्राविधिक तथा व्यावसायिक सम्झौतासँग सम्बन्धित विषय हो । यसलाई आर्थिक विधेयकमार्फत नियन्त्रित गर्नु उपयुक्त थिएन । त्यसबेला इप्पानले निरन्तर खबरदारी गरेको थियो । सम्बन्धित निकायसँग संवाद गरें र विषयलाई सार्वजनिक बहसको केन्द्रमा ल्याएको थियो । आज पनि मेरो धारणा उही छ । ऊर्जा क्षेत्रका मुद्दाहरूमा हामी कुनै दल वा व्यक्तिको पक्ष वा विपक्षमा छैनौं । हामी सही नीतिको पक्षमा र गलत निर्णयको विपक्षमा उभिन्छौं । यदि कुनै निर्णयले ऊर्जा क्षेत्र, निजी लगानी वा राष्ट्रिय हितलाई असर गर्छ भने इपानले आवश्यक परे दृढ रूपमा आवाज उठाउनेछ । पीपीए रोकिएका आयोजनाहरूको विषयमा पनि हाम्रो दृष्टिकोण यही हो । हामी सम्बन्धित मन्त्रालय, विद्युत् प्राधिकरण र सरकारसँग निरन्तर संवाद गरेर समाधान खोज्नेछौं । अहिलेको राजनीतिक स्थायित्व र सरकारको प्रतिबद्धतालाई अवसरका रूपमा प्रयोग गर्दै पीपीए सम्बन्धी अन्योल अन्त्य गर्न, लगानीकर्ताको विश्वास बढाउन र ऊर्जा क्षेत्रलाई गति दिन इप्पानले सशक्त नीतिगत पहल गर्नेछ । वर्तमान सरकारले बजेटमार्फत गरेको १० मेगावाटसम्मका आयोजनाहरूका लागि पीपीए खुलाउने निर्णय सकारात्मक कदम हो । यो निर्णयले विशेषगरी साना लगानीकर्तालाई ठूलो राहत दिएको छ । करिब १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरू पीपीएको प्रतीक्षामा छन् । १० मेगावाटको पीपीए खुल्ला हुँदा अब करिब १ हजार ५०० मेगावाटका साना आयोजना अघि बढ्न सक्ने भए पनि बाँकी झण्डै १५ हजार मेगावाटको भविष्यबारे स्पष्टता आवश्यक छ । हाम्रा लागि यही प्रश्नको समाधान खोज्नु अहिलेको मुख्य चुनौती हो ।
बालेन शाह नेतृत्वको सरकारले ऊर्जा क्षेत्रको विकासका लागि तत्कालै कार्यान्वयन गर्नुपर्ने नीतिगत निर्णयहरू के–के हुन् ?
सरकारले प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता खुला गर्ने नीति ल्याएको छ, जुन दीर्घकालीन समाधानतर्फको महŒवपूर्ण कदम हुन सक्छ । निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिइएमा उत्पादित विद्युत्को बजार सुनिश्चित गर्न सहज हुन्छ । बजार सुनिश्चित भएपछि पीपीए विस्तारको आधार पनि बलियो बन्छ । निजी क्षेत्रले विद्युत् उत्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । आज नेपालमा उत्पादन भइरहेको करिब ४ हजार ३०० मेगावाट विद्युतमध्ये झण्डै ३ हजार ५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरिरहेको छ । त्यसैले, निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण, विद्युत् व्यापार तथा निर्यातमा समेत विश्वास गर्नुपर्ने पर्याप्त आधार छ । यद्यपि नीतिगत घोषणा मात्र पर्याप्त हुँदैन । कार्यान्वयनका लागि आवश्यक कार्यविधि, नियम र कानुनी व्यवस्था समयमै तयार हुनुपर्छ । विद्युत् व्यापारका लागि अनुमति दिने भनिए पनि त्यसलाई व्यवहारमा उतार्न आवश्यक संरचना र प्रक्रियाहरू अझै स्पष्ट हुन बाँकी छन् । त्यसैले अबको प्राथमिकता घोषणा कार्यान्वयनमा केन्द्रित हुनुपर्छ । यस सम्बन्धमा हामी ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र अन्य सरोकारवालासँग निरन्तर संवाद गर्नेछौं ।
सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । निजी क्षेत्रको दृष्टिकोणबाट हेर्दा यो लक्ष्य कत्तिको यथार्थपरक छ ?
हामीले सरकारले निर्धारण गरेको यो लक्ष्यलाई सकारात्मक रूपमा हरेका छौं । इप्पानले सार्वजनिक रूपमा नै सरकारको ३० हजार मेगावाट उत्पादन लक्ष्यलाई समर्थन गरिसकेको छ । अघिल्लो सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्य राखेको थियो, अहिले त्यसमा थप १ हजार ५०० मेगावाट जोडेर ३० हजार मेगावाट पु¥याइएको हो । वर्तमान अवस्थालाई हेर्ने हो भने करिब ४ हजार ३०० मेगावाट विद्युत् उत्पादन भइसकेर सञ्चालनमा छ । करिब ५ हजार ७०० मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा छन् । यसले करिब १० हजार मेगावाटका आयोजनाहरूमा लगानी सुनिश्चित भई निर्माण प्रक्रिया अगाडि बढिसकेको छ । त्यसैले, ३० हजार मेगावाटको लक्ष्यमा पुग्न अब थप २० हजार मेगावाट क्षमताको विकास गर्नुपर्ने अवस्था छ । थप २० हजार मेगावाट उत्पादन असम्भव लक्ष्य होइन । त्यसैले, वित्तीय स्रोतको व्यवस्थापनभन्दा पनि मुख्य चुनौती बजार, नीति र कार्यान्वयन वातावरण हो । यही कारणले हामीले बारम्बार उठाउँदै आएको विषय विद्युत् व्यापार र बजार सुनिश्चितताको हो । अब निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी हुन दिनुपर्छ । हामीले भारतीय कम्पनीहरूसँग विद्युत् व्यापारका सम्भावनाहरू पहिचान गरिसकेका छौं । बजार विस्तार भयो भने उत्पादन वृद्धि स्वतः प्रोत्साहित हुन्छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाएको अध्ययन समितिले पीपीए भइसकेर निर्माणमा जान नसकेका १ हजार ३८८ मेगावाटका आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिस गरेको छ । निर्माणमा ढिलाइ हुनुमा प्रवर्धकहरूको कमजोरी बढी हो कि सरकारी प्रक्रियागत ढिलासुस्ती पनि उत्तिकै जिम्मेवार छ ?
यस विषयमा हाम्रो धारणा स्पष्ट छ । यदि कुनै प्रवर्धकले आफ्नै लापरबाही, गैरजिम्मेवारी वा नियामकीय दायित्व पूरा नगरेका कारण आयोजना अघि बढाउन सकेको छैन भने त्यसको जिम्मेवारी उसैले लिनुपर्छ । नियम–कानुन पालना गर्नु सबैको दायित्व हो, र गल्ती भएको छ भने त्यसलाई स्वीकार गर्नुपर्छ । तर, अर्को पक्ष पनि उत्तिकै महŒवपूर्ण छ । सरकारले एकातिर आयोजना विकासका लागि अनुमति पत्र दिने, तर अर्कोतर्फ आवश्यक स्वीकृति, वन क्षेत्रको सहमति, जग्गा उपयोग अनुमति वा अन्य प्रशासनिक प्रक्रिया समयमै पूरा नगर्ने अवस्था पनि देखिएको छ । यस्तो परिस्थितिमा सम्पूर्ण दोष निजी क्षेत्रमाथि मात्र थोपर्नु न्यायसंगत हुँदैन । अहिले चर्चा भइरहेको १ हजार ३८८ मेगावाटको विषय भने पीपीए भइसकेका आयोजनासँग सम्बन्धित भए पनि, त्यस्ता आयोजनाहरूमा समेत विभिन्न सरकारी स्वीकृतिका कारण काम अघि बढ्न नसकेको उदाहरणहरू प्रशस्त छन् ।
वातावरणीय प्रभाव मूल्यांकन, प्रारम्भिक वातावरणीय परीक्षण, वन क्षेत्र उपयोग अनुमति तथा अन्य आवश्यक प्रक्रिया पूरा गरिसकेपछि पनि कतिपय आयोजनाका फाइलहरू लामो समयसम्म विभिन्न निकायमा रोकिएका छन् । वन क्षेत्र प्रयोगसम्बन्धी विषय मन्त्रिपरिषद्मा पुग्नुपर्ने अवस्थामा समेत फाइलहरू वर्षौंसम्म प्रक्रिया नबढेको उदाहरण छ । कतिपय अवस्थामा स्थानीय प्रशासनिक निर्णयका कारण निर्माण कार्य रोकिएको छ, जबकि त्यसअघि सबै आवश्यक स्वीकृति प्राप्त भइसकेको हुन्छ । यस्ता आयोजनाहरूमा अरबौं रुपैयाँ लगानी भइसकेको हुन्छ । त्यसैले, सरकारले नै सिर्जना गरेको प्रशासनिक वा नीतिगत अवरोधका कारण आयोजना अघि बढ्न नसकेको अवस्थामा अनुमति पत्र खारेज गर्नु उचित हुँदैन । यदि कुनै आयोजना सरकारका कारण रोकिएको हो भने त्यसलाई संरक्षण र सहजीकरण गर्नुपर्छ । तर, यदि प्रवर्धकको स्पष्ट लापरबाही, क्षमताको अभाव वा अनावश्यक ढिलासुस्तीका कारण आयोजना अघि बढ्न सकेको छैन भने त्यस्ता अवस्थामा सरकारले कानुनअनुसार कदम चाल्दा त्यसको विरोध गर्नु पनि उचित हुँदैन ।
वर्तमान सरकारसँग इप्पानले कस्तो सहकार्य गर्ने योजना बनाएको छ ? सरकारको नीति, बजेट र प्रतिबद्धताका आधारमा अब अगाडि कसरी बढ्नुहुन्छ ?
यस विषयमा ऊर्जा मन्त्रीसँग मेरो केही चरणमा छलफल भइसकेको छ । र, आगामी दिनमा अझ विस्तृत तथा परिणाममुखी संवाद गर्ने योजना छ । हाम्रो बुझाइमा अहिले देखिएका चुनौतीहरू केवल निजी क्षेत्रका मात्र होइनन्, सरकार, नेपाल विद्युत् प्राधिकरण र समग्र राष्ट्रसँग जोडिएका साझा चुनौतीहरू हुन् । त्यसैले, समाधान पनि सबै पक्षको सहकार्यबाटै सम्भव छ । ऊर्जा मन्त्रीले पनि ऊर्जा क्षेत्रको विकासमा देखिएका अवरोधको विषयमा निजी क्षेत्रसँग सहकार्य गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाम्रो अपेक्षा के हो भने अब समस्या मात्र पहिचान गर्ने होइन, दीर्घकालीन र स्थायी समाधानतर्फ अग्रसर हुनुपर्छ । पीपीए, प्रसारण लाइन, विद्युत् व्यापार, बजार सुनिश्चितता तथा नीतिगत सुधारका विषयमा सरकार र निजी क्षेत्रबीच नियमित संवाद र सहकार्य आवश्यक छ । हामी सकारात्मक छौं । वर्तमान सरकारले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेको संकेत देखिएको छ । र, निजी क्षेत्रसँग साझेदारीमा अघि बढ्ने धारणा पनि व्यक्त गरेको छ । यदि यही प्रतिबद्धता कार्यान्वयनमा रूपान्तरण गर्न सकियो भने ऊर्जा विकासको मार्ग थप सहज बन्नेछ ।
प्रसारण लाइनको अभावका कारण अहिले पनि धेरै जलविद्युत् आयोजना प्रभावित छन् । वर्षौंदेखि एउटै समस्या दोहोरिइरहेको छ । यस्तो अवस्थामा नयाँ कार्यसमितिले यस विषयलाई कसरी अघि बढाउँछ ?
यो विषयसँग म व्यक्तिगत रूपमा पनि परिचित छु । किनकि मेरा आफ्नै आयोजना समेत यस समस्याबाट प्रभावित भएका छन् । मेरो दृष्टिमा प्रसारण पूर्वाधारको अभावका कारण उत्पादन भइसकेको विद्युत् खरिद गर्न नसक्नु राज्यका तर्फबाट भएको गम्भीर कमजोरी हो । केही समयअघि सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा सूचीकृत जलविद्युत् कम्पनीहरूमध्ये उल्लेखनीय संख्यामा आयोजना घाटामा रहेको देखाइएको थियो । त्यसबारे मैले थप अध्ययन गर्दा धेरै आयोजनाको वित्तीय समस्याको प्रमुख कारण उत्पादन गरिएको विद्युत् पूर्ण रूपमा बिक्री हुन नसक्नु रहेको देखियो । हाम्रो जलविद्युत् प्रणालीको आर्थिक आधार नै बर्खायाममा अधिक उत्पादन गरेर वार्षिक आम्दानी सुनिश्चित गर्नु हो । तर, आयोजना निर्माण सम्पन्न भएपछि पनि प्रसारण लाइन अभाव वा प्रणालीगत सीमितताका कारण उत्पादित विद्युत् पूर्ण रूपमा खरिद गरिँदैन । १० मेगावाट उत्पादन गर्ने आयोजना भए पनि कहिलेकाहीँ २–३ मेगावाट मात्र प्रणालीमा लिन सकिने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्थामा आयोजना आर्थिक रूपमा टिकाउ हुन सक्दैन । अर्कोतर्फ, जलविद्युत् आयोजना निर्माण गर्दा निजी क्षेत्रले नेपाल विद्युत् प्राधिकरणसँग भएको पीपीए र सरकारी नीतिमाथि विश्वास गरेर बैंक ऋण लिएको हुन्छ, लगानी गरेको हुन्छ र आयोजना निर्माण सम्पन्न गरेको हुन्छ । तर, उत्पादनपछि विद्युत् खरिद नगर्ने वा सीमित मात्रामा खरिद गर्ने अवस्था सिर्जना भयो भने त्यसको सम्पूर्ण जोखिम निजी क्षेत्रले मात्र वहन गर्नुपर्छ भन्ने कुरा न्यायोचित हुँदैन । यसमा जलवायु परिवर्तनको असर पनि देखिएको छ । हिउँदमा नदी प्रवाह घट्दा उत्पादन अनुमानभन्दा कम हुन सक्छ। त्यो निजी क्षेत्रको नियन्त्रणभन्दा बाहिरको विषय हो। तर एकातिर प्राकृतिक कारणले उत्पादन घट्ने र अर्कातर्फ बर्खामा उत्पादन भएको विद्युत् पनि पूर्ण रूपमा खरिद नहुने अवस्था हुँदा आयोजनाहरू दोहोरो दबाबमा पर्छन् । हामीले लामो समयदेखि उठाउँदै आएको विषय के हो भने पीपीए सम्झौतामा सन्तुलित र न्यायपूर्ण व्यवस्था हुनुपर्छ । अहिलेका धेरै प्रावधानहरू एकपक्षीय प्रकृतिका छन् भन्ने निजी क्षेत्रको गुनासो छ । उत्पादक र खरिदकर्ता दुवै पक्षको दायित्व तथा अधिकार स्पष्ट र सन्तुलित हुन आवश्यक छ । त्यसकारण, नयाँ कार्यसमितिको प्राथमिकतामध्ये एक प्रसारण लाइन विस्तार, करिडोर निर्माणमा तीव्रता, उत्पादित विद्युत्को सुनिश्चित खरिद तथा पीपीएका शर्तहरूको पुनरावलोकन पनि हुनेछ । उत्पादन भइसकेको विद्युत् बजारसम्म पुग्ने वातावरण बनाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । यदि प्रसारण पूर्वाधार समयमै निर्माण गर्न सकियो र उत्पादित विद्युत् पूर्ण रूपमा प्रणालीमा समावेश गर्न सकियो भने अहिले वित्तीय दबाबमा रहेका धेरै आयोजनाको अवस्था सुधार हुन सक्छ । हामी सरकार, विद्युत् प्राधिकरण र सम्बन्धित निकायसँग निरन्तर संवाद गर्दै यी समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयास गर्नेछौं ।
सरकारले निजी क्षेत्रलाई जलाशययुक्त (स्टोरेज) आयोजनामा आकर्षित गर्ने उद्देश्यले विभिन्न नीतिगत व्यवस्था गरेको छ । निजी क्षेत्र जलाशययुक्त आयोजनामा लगानी गर्न कत्तिको तयार छ ?
निजी क्षेत्रको स्वभाव नै सम्भावना र प्रतिफल हेरेर लगानी गर्ने हो । यदि जलाशय आयोजनामा पर्याप्त सम्भावना र प्रतिफल देखियो भने निजी क्षेत्र स्वतः आकर्षित हुन्छ । सरकारले हाल ल्याएका व्यवस्थाहरू, जस्तै ५० वर्षसम्मको लाइसेन्स दिने र वित्तीय व्यवस्थापन सम्पन्न भएपछि पहिलो वर्षमै ४० प्रतिशतसम्म सेयर निष्कासन गर्न दिने व्यवस्था, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने महŒवपूर्ण कदम हुन् । सरकारले अहिले ल्याएको जलाशय आयोजना निजी क्षेत्रलाई निर्माण गर्न दिने, ५० वर्षको लाइसेन्स दिने र ४० प्रतिशतसम्म सेयर निष्कासन गर्न दिने नीति निकै प्रभावकारी देखिन्छ । यसले निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा प्रवेश गर्न सहज बनाउने छ भन्ने मलाई लाग्छ ।
उदाहरणका लागि, तेह्रथुमस्थित ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना सरकारले विकासका लागि उपलब्ध गराउने हो भने निजी क्षेत्र त्यसमा लगानी गर्न तयार छ । इप्पानसँग आबद्ध २० वटा कम्पनी मिलेर पनि यस्ता ठूला आयोजना निर्माण गर्न सकिन्छ । आवश्यक कुरा भनेको सरकारको विश्वास र स्पष्ट नीति हो । सम्भवतः नेपालको पहिलो निजी क्षेत्रको जलाशययुक्त आयोजना विकास गर्ने प्रक्रियामा म स्वयं पनि संलग्न भएको छु । करिब ६० मेगावाट क्षमताको आयोजनाको लाइसेन्स लिएर प्रक्रिया अगाडि बढाइसकेको छु । अहिले यो आयोजना विद्युत् प्राधिकरणसँग पीपीएको प्रक्रियामा छ । जलाशययुक्त आयोजनाको पीपीएमा अहिले खास समस्या छैन । त्यसैले, आगामी केही वर्षभित्र निजी क्षेत्रबाट जलाशययुक्त आयोजना निर्माणको उदाहरण पनि देखिने विश्वास छ ।