नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

कक्षा १२ को नतिजामा उत्साह

शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ अनुसार विद्यालय शिक्षाको अन्तिम बिन्दु तथा उच्च शिक्षाको मूल ढोका कक्षा १२ हो । यो कक्षा पार गरिसकेपछि उच्च शिक्षा अध्ययनको ढोका खुल्छ । त्यसैले यो तहको नतिजा प्रकाशन नै उच्च तहको शैक्षिक ढोका खोल्ने पहिलो खुड्किलो हो ।
कक्षा १२ को भर्खरै प्रकाशित नतिजासँगै लाखौं विद्यार्थीको उच्च शिक्षाको ढोका खुलेको छ । यो नतिजा प्रकाशनले उच्च शिक्षा अध्ययनको पर्खाइमा रहेका लाखौं विद्यार्थीहरूलाई उच्च शिक्षाको विशाल संसारमा प्रवेश गर्ने महŒवपूर्ण अवसर प्रदान गरेको छ । परीक्षाफलबाट विद्यालयको सीमित र निर्देशित घेराबाट बाहिर निस्केर विश्वविद्यालयको खुला र प्रतिस्पर्धात्मक वातावरणमा पाइला टेक्ने मौका मिलेको छ । 
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ४० दिनमै कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । विगत वर्षहरूभन्दा छिटो सार्वजनिक गरिएको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन् । नजिताअनुसार कक्षा १२ को परीक्षामा नियमित र आंशिकतर्फ गरी समग्रमा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी उच्च तह अध्ययनका लागि योग्य भएका हुन् । गत वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 
विगत वर्षहरूका तुलनामा यस वर्षको नतिजामा केही प्राविधिक र गुणात्मक सुधार देखिए तापनि राष्ट्रिय स्तरको शैक्षिक स्तर भने अझै पनि पूर्ण रूपमा सन्तोषजनक छैन । ठूलो संख्यामा विद्यार्थीहरू एनजी श्रेणीमा पर्नु वा अपेक्षाकृत कमजोर अंक ल्याउनुले विद्यालय शिक्षाको शिक्षण पद्धतिमा गम्भीर प्रश्नचिह्न लागेको छ । विद्यालय तह पार गरिसक्दा पनि न्यूनतम सिकाइ उपलब्धि हासिल हुन नसक्नुमा पाठ्यक्रमको व्यावहारिकताको कमी, दक्ष शिक्षकको अभाव र कमजोर मूल्यांकन प्रणाली प्रमुख नै जिम्मेवार हुन् । यस्तो अवस्थामा उत्तीर्ण भएका विद्यार्थीहरूमा पनि उच्च शिक्षाको शैक्षिक भार वहन गर्न सक्ने क्षमता कति छ भन्ने कुरा सोचनीय विषय बनेको छ । 
उच्च शिक्षाको मूल ध्येय बोकेर अगाडि बढेका विद्यार्थी र अभिभावकहरू विषय र कलेज छनोटमा अलमल र दबाबमा देखिन्छन् । कुन विषय पढ्ने, कस्तो कलेज रोज्ने र सुनौलो भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले उनीहरूलाई सताएको छ । परम्परागत रूपमा प्राविधिक वा चिकित्सा क्षेत्रलाई मात्रै उत्कृष्ट मान्ने मानसिकता अझै कायम छ, जसले गर्दा बजारको माग र विद्यार्थीको वास्तविक रुचिबीच तालमेल मिलेको छैन । स्वदेशी विश्वविद्यालयहरूको अस्थिर शैक्षिक पात्रो, राजनीतिक हस्तक्षेप र प्रयोगात्मक शिक्षाको कमीका कारण लाखौं युवाहरू कक्षा १२ लगत्तै वैदेशिक अध्ययनका लागि विदेशिएका छन् । उनीहरूसँगै अध्ययनका लागि बर्सेनि अर्बौं रुपैयाँ विदेशिएको छ । ऊर्जावान् जनशक्ति र अर्बौं रुपैयाँ बाहिरिनु देशको अर्थतन्त्र र भविष्य दुवैका लागि गम्भीर चुनौती बनेको छ । यसलाई रोक्नका लागि अहिलेको मुख्य आवश्यकता भनेको विद्यार्थीहरूलाई सही परामर्श र स्वदेशमै गुणस्तरीय उच्च शिक्षाको प्रत्याभूति दिनु हो । शिक्षा मन्त्रालय र विश्वविद्यालयहरूले बजारको मागअनुरूपका व्यावहारिक, जीनवनोपयोगी, प्राविधिक र स्वरोजगारमूलक पाठ्यक्रमहरू ल्याउन अब ढिलो गर्नुहुँदैन । कलेजहरू डिग्री बाँड्ने कलकारखानामात्र नभई ज्ञान, सीप र प्राविधिक दक्षता आर्जन गर्ने केन्द्र बन्नैपर्दछ । विपन्न तथा जेहेनदार विद्यार्थीहरूका लागि उच्च शिक्षामा सहज पहुँच पु¥याउन छात्रवृत्ति र बिनाधितो शैक्षिक ऋणको व्यवस्था गर्न जरुरी छ । 
विद्यालय तहको शिक्षा सकिएपछिको यो संक्रमणकालीन समयमा विद्यार्थीहरूलाई सही मार्गनिर्देशन र करियर काउन्सिलिङको पनि उत्तिकै आवश्यकता छ । कक्षा १२ को नतिजाले विद्यार्थीहरूका अगाडि सुनौलो भविष्यका प्रशस्त ढोकाहरू खोलेको छ । परीक्षामा प्राप्त अंक नै जीवनको अन्तिम फैसला पक्कै होइन, यो त केवल नयाँ सुरुवातको एउटा खुड्किलो मात्र हो भन्ने कुरा आमविद्यार्थीले पनि बुझ्न आवश्यक छ । विद्यार्थीहरूले आफ्नो क्षमता र रुचिलाई चिनेर दृढताका साथ अघि बढ्नुपर्छ भने राज्य र शैक्षिक संस्थाहरूले उनीहरूलाई स्वदेशमै भविष्य देख्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नुपर्दछ । अतः उच्च शिक्षाको यो ढोका देश निर्माण गर्ने दक्ष, नैतिकवान् र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने बलियो बनोस्, यसैमा देशको सुनौलो भविष्य सुनिश्चित हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
मिडियामाथि सरकार कठोर

मिडियामाथि सरकार कठोर

युवकको सफलता कि असफलता ?

युवकको सफलता कि असफलता ?

संघीयतामाथिको अवधारणा

संघीयतामाथिको अवधारणा