नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

रास्वपाको अबको गन्तव्य सामाजिक लोकतन्त्र

परम्परागत दलहरूको विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो समयमै आमनिर्वाचनमार्फत् झण्डै दुईतिहाइ बहुमतसहित संसद्मा बलियो उपस्थिति जनाएको छ । आमजनताले यो पार्टीलाई राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिकलगायतका विकृति, विसंगति र बेथितिविरुद्धको आवाज र सुशासनको संवाहकका रूपमा स्वीकारी निर्वाचनमार्फत् आफ्नो बलियो मत जाहेर गरेका हुन् । 
तर, लोकप्रियता र पहिचानको राजनीतिले मात्र दीर्घकालीन यात्रा कहिल्यै सम्भव छैन । हरेक राजनीतिक दलसँग स्पष्ट वैचारिक मार्गचित्र आवश्यक छ । नेपालको संविधानले समाजवादउन्मुख व्यवस्थाको परिकल्पना गरेको छ । 
यसै सन्दर्भमा स्थापनाकालदेखि नै नीति एवम् विचारविहीन र ‘पपुलिस्ट’को आरोप खेप्दै आएको सत्तारुढ दल रास्वपाले आफ्नो वैचारिक धार स्पष्ट पारेको छ । चितवनमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा  ‘संवैधानिक समाजवाद’ को पुरानो पहिचानलाई बदल्दै ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो मूल राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गरेको हो । रास्वपाले आफ्नो राजनीतिक एवं वैचारिक कार्यदिशामा व्यापक परिवर्तन गर्दै ‘सामाजिक लोकतन्त्र’लाई पार्टीको नयाँ मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको हो । यसअघि रास्वपाले ‘संवैधानिक समाजवाद’ लाई आत्मसात् गर्दै आएको थियो । तर, चितवनबाट रास्वपाले आफ्नो राजनीतिक सिद्धान्तमा परिमार्जन गरेको छ । रास्वपाले सिद्धान्त सामाजिक लोकतन्त्र हुने भन्दै वैचारिकीमा अस्पष्टता छ भन्ने कुराको खारेजी गरेको छ । 
रास्वपाले ‘सामाजिक लोकतन्त्र’ को नयाँ सिद्धान्तलाई कार्यान्वयन गर्न मुख्य पाँचवटा स्तम्भहरू अघि सारेको छ । जसमा प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र, विधि र संस्थागत पद्धति, जनउत्तरदायी सरकार, लोककल्याणकारी राज्य र समन्यायिक समावेशी समाज छन् । त्यस्तै,  शासकीय प्रणालीमा सुधारका लागि पनि केही नयाँ प्रस्ताव अघि सारेको छ । परम्परागत वामपन्थी वा दक्षिणपन्थी ध्रुवीकरणभन्दा माथि उठेर व्यवहारिक र विवेकसम्मत दृष्टिकोण अपनाउने पनि घोषणा गरेको छ ।
सामाजिक लोकतन्त्र यस्तो विचार हो जसले बजार अर्थतन्त्रको उत्पादकत्व र लोकतन्त्रको स्वतन्त्रतालाई सँगै लैजान्छ । यसले पुँजीवादका विकृतिलाई न्यूनीकरण गर्दै लोककल्याणकारी राज्यको पक्षमा आफूलाई खरो रुपमा उतार्ने काम गर्छ । रास्वपाका अधिकांश समर्थकहरू मध्यमवर्गीय, युवा र परिवर्तनका आकांक्षी छन् । यो वर्ग उद्यमशीलताको स्वतन्त्रता पनि चाहन्छ र राज्यबाट शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेन्टी पनि खोज्छ । त्यसैले सामाजिक लोकतन्त्र रास्वपाका लागि सबैभन्दा व्यावहारिक र सर्वस्वीकार्य विचार बन्न सक्छ । अहिलेसम्म रास्वपा मुद्दामा आधारित राजनीतिमा केन्द्रित देखिन्छ । भ्रष्टाचारको विरोध, सेवा प्रवाहमा सुधार र प्रविधिको प्रयोग यसका मुख्य नारा हुन् । यी नाराहरू लोकप्रिय छन् तर यिनले दलको स्थायी राजनीतिक चरित्र निर्माण गर्दैनन् । संसद् र सरकारमा रहँदा वा बाहिर रहँदा लिइने नीतिहरूमा वैचारिक एकरूपता चाहिन्छ । सामाजिक लोकतन्त्रलाई आत्मसात् गर्दा रास्वपाले श्रमको सम्मान, समतामूलक समाज निर्माण र पर्यावरण संरक्षण जस्ता व्यापक एजेन्डाहरूलाई समेट्न सक्छ । यसले पार्टीलाई मध्यमार्गी शक्तिका रूपमा स्थापित गर्नेछ । अहिलेको मुख्य चुनौती भनेको पार्टीको आन्तरिक लोकतन्त्र र संस्थागत विकास हो । कुनै पनि नयाँ दल सुरुवाती चरणमा व्यक्तिवादी नेतृत्वको छायामा पर्ने जोखिम हुन्छ । रास्वपाले आफूलाई व्यक्तिभन्दा माथि उठाएर विचार र पद्धतिको जगमा उभ्याउनुपर्छ । सामाजिक लोकतन्त्रको मर्म अनुरूप पार्टीभित्रै पनि आन्तरिक लोकतन्त्र, सामूहिक निर्णय प्रक्रिया र तल्लो तहसम्म शक्तिको विकेन्द्रीकरण हुनु आवश्यक छ । सामाजिक सञ्जालको समर्थनमा मात्र टिकेर राजनीति सम्भव छैन । गाउँ–गाउँका श्रमजीवी जनतासँग जोडिन पनि यो वैचारिक स्पष्टताले मद्दत गर्छ । नेपाली जनता पुराना दलहरूका आश्वासनबाट वाक्कदिक्क भइसकेका छन्, बहसमा भन्दा परिणाममुखी राजनीतिमा विश्वास गर्छन् । सामाजिक लोकतन्त्रले मात्र व्यावहारिक परिणाम दिन्छ । यसले निजी क्षेत्रलाई फस्टाउने वातावरण दिन्छ भने गरिब र विपन्न वर्गका लागि राज्यको बलियो उपस्थिति महसुस हुन्छ । सामाजिक लोकतन्त्रले शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने र रोजगारीका अवसर सिर्जना गर्ने प्रष्ट खाका तयार पार्छ । रास्वपा नेपाली राजनीतिको एउटा आशालाग्दो लहर हो । यो लहरलाई स्थायी शक्तिमा बदल्न वैचारिक जग अनिवार्य भइसकेको छ । सामाजिक लोकतन्त्र नै रास्वपाको आगामी गन्तव्य उपयुक्त बन्ने देखिन्छ । पुराना दलहरूको विकृतिलाई चिर्न यसले सिद्धान्त र व्यवहार दुवैमा परिपक्वता देखाउनुपर्छ । नयाँ पुस्ताको भावना समेट्दै मुलुकलाई समृद्धिको बाटोमा लैजान रास्वपाले लिएको राजनीतिक दिशा सामाजिक लोकतन्त्र नै आजको आवश्यकता र सही बाटो हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण