नेभिगेशन
स्वास्थ्य
अनुसन्धान

कृषियुगअघि नै प्लेगको महामारी

धेरै समयसम्म वैज्ञानिकहरूबीच एउटा धारणा थियो कि ठूलो स्तरका संक्रामक रोगको महामारी कृषि सुरु भएपछि मात्र देखा परे । तर साइबेरियाको बैकाल ताल नजिक भेटिएको एउटा पुरातात्त्विक समाधिस्थलले यो मान्यतालाई चुनौती दिएको छ ।
प्राचीन मानव अवशेषबाट निकालिएको डीएनए विश्लेषणले करिब ५,५०० वर्षअघि शिकारी समूह (हण्टर–ग्यादरर)मा पनि घातक प्लेग फैलिएको देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता रुआइरिध म्याक्लियोडका अनुसार, पहिले सम्पूर्ण समुदायलाई असर गर्ने महामारी कृषियुगअघि थिएनन् भन्ने अपेक्षा गरिन्थ्यो । तर बैकाल क्षेत्रका शिकारी–समुदायमा विनाशकारी प्लेग फैलिएको स्पष्ट प्रमाण भेटिएको छ ।
प्लेग रोग यर्सिनिया पेस्टिस नामक ब्याक्टेरियाले गराउँछ । यही जीवाणुले इतिहासका सबैभन्दा घातक महामारीमध्ये एक ब्ल्याक डेथ (सन् १३४६ देखि) समेत निम्त्याएको थियो । यो रोगले फोक्सो वा रगतलाई संक्रमित गर्न सक्छ । सबैभन्दा सामान्य प्रकार भनेको ब्युबोनिक प्लेग हो, जसमा संक्रमितको टोकाइबाट लिम्फ ग्रन्थी सुन्निने तथा निमोनिया पार्ने गर्छ  । वैज्ञानिकहरूले सयौं वा हजारौं वर्ष पुराना हड्डी र दाँतमा पनि यस जीवाणुको चिन्ह पत्ता लगाउन सक्छन् । यसअघि स्विडेनजस्ता स्थानका करिब ५,००० वर्ष पुराना कृषक समुदायमा पनि प्लेगको संक्रमण भएको प्रमाण भेटिएको थियो ।
तर ती प्रारम्भिक जीवाणुमा वाईएमटी नामको महत्त्वपूर्ण जीन थिएन । यसले प्लेगलाई पिसुमार्फत फैलिन मद्दत गर्छ । यही कारणले केही वैज्ञानिकले यो जीन प्राप्त नगरेसम्म प्लेगले ठूलो महामारी निम्त्याउन नसकेको हुनसक्ने अनुमान गरेका थिए । तर म्याक्लियोडको टोलीले बैकाल ताल वरपरका चार समाधिस्थलमा गाडिएका ४२ व्यक्तिमध्ये १८ जनामा प्लेगको जीवाणु फेला पारेको छ । यसले त्यतिबेलाका प्लेगका प्रकार पनि घातक रहेको बलियो प्रमाण दिएको छ ।
अनुसन्धानले कम्तीमा दुई पटक महामारी फैलिएको देखाएको छ । यसको पहिलो लहर करिब ५,५०० वर्षअघि सुरु भएको थियो । केही दाजुभाइ–दिदीबहिनी एउटै चिहानमा सँगै गाडिएका भेटिएका छन् । यसले उनीहरू लगभग एउटै समयमा मृत्यु भएको संकेत गर्छ । कतिपय चिहानमा चार–पाँच जना एकैचोटि गाडिएका छन् ।
मृतकमध्ये धेरै बालबालिका र किशोरकिशोरी थिए । यसअघि यस्तो धेरै सङ्ख्यामा बालबालिका किन मरे भन्ने रहस्य थियो तर ऐतिहासिक अभिलेखहरूले पनि प्लेगबाट बालबालिकाको मृत्यु हुने सम्भावना बढी हुने देखाएका छन् । अनुसन्धानले केही मानिस भने बाँचेर मृतकहरूलाई परम्पराअनुसार सम्मानपूर्वक गाड्न सफल भएको पनि देखाएको छ । म्याक्लियोडका अनुसार यसले ती समुदायले संकटको सामना कसरी गरे भन्ने भावनात्मक झलक दिन्छ ।
कहाँबाट आयो प्लेग ? अनुसन्धाताहरुको जिज्ञासा यसैमा केन्द्रित थियो । उनीहरूका अनुसार शिकारी–समुदायको जङ्गली जनावरसँग कृषकभन्दा बढी सम्पर्क हुन्थ्यो । त्यसैले जनावरबाट मानिसमा सर्ने रोग लाग्ने सम्भावना पनि बढी थियो । टोलीको अनुमानमा यी मानिसहरूलाई मार्मोट नामक मुसाजस्तै जङ्गली जनावरबाट प्लेग सरेको हुन सक्छ । मार्मोट प्लेगको मुख्य प्राकृतिक स्रोत मानिन्छ । पुरातात्त्विक प्रमाणले त्यतिबेला मार्मोटलाई खानाका लागि सिकार गरिन्थ्यो भन्ने देखाउँछ । आज पनि उक्त क्षेत्रमा मार्मोटको सम्पर्कबाट मानिसलाई कहिलेकाहीँ प्लेग लाग्ने गरेको छ ।
एक जना संक्रमित भएपछि रोग खोकीमार्फत फैलिने न्युमोनिक प्लेगको रूपमा समुदायभर फैलिएको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । जीवाणुको जीन अध्ययनका आधारमा वैज्ञानिकहरूले यर्सिनिया पेस्टिस करिब ९,८०० देखि ५,७०० वर्षअघि विकसित भएको ठान्छन् । यसमध्ये पछिल्लो समयावधि बढी सम्भावित मानिएको छ । त्यसैले यसभन्दा अझ पुराना प्लेगका घटना हुनसक्ने भए पनि धेरै पुराना भने नहुन सक्छन् ।
फ्रान्सको पाश्चर इन्स्टिच्युटका अनुसन्धानकर्ता निकोलास रास्कोभानका अनुसार यो अध्ययन विशेष छ किनभने यसले अहिलेसम्म थाहा भएको सबैभन्दा पुरानो प्लेग महामारीलाई उजागर गरेको छ । साथै, यो कृषक समुदायमा नभई शिकारी–समुदायमा भएको प्रमाणित भएकाले कृषि जीवनशैली नै प्लेगको मुख्य कारण थियो भन्ने धारणालाई कमजोर बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्