नेभिगेशन
दृष्टिकोण
निर्जला एकादशी

परम्परागत संस्कारभित्र लुकेको आधुनिक स्वास्थ्य सूत्र

सनातन धर्म र संस्कृतिमा एकादशी व्रतको विशेष स्थान छ । वर्षभरि पर्ने २४ वटा एकादशीहरूमध्ये ज्येष्ठ शुक्ल पक्षमा पर्ने निर्जला एकादशीलाई सबैभन्दा कठिन, सर्वोत्कृष्ट र महŒवपूर्ण एकादशी मानिन्छ । यस एकादशीको महŒव धार्मिक कर्मकाण्डमा मात्र सीमित नभएर मानव स्वास्थ्य, पर्यावरण र जीवन व्यवस्थापनसँग समेत गहिरोसँग जोडिएको छ ।
प्रस्तुत लेखमा निर्जला एकादशीको अर्थ, महŒव, औचित्य, यसका धार्मिक तथा स्वास्थ्यसम्बन्धी फाइदाहरू र हामीले भावी पुस्तालाई यस व्रतका माध्यमबाट दिनुपर्ने सन्देशबारे विस्तृत विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ ।
निर्जला शब्दको सामान्य अर्थ हुन्छ जलविना वा पानी पनि नपिई गरिने व्रत । सनातन परम्परामा सामान्यतया एकादशी व्रत बस्दा फलाहार गर्ने र पानी पिउने छुट हुन्छ । तर,ज्येष्ठ महिनाको प्रचण्ड गर्मीको समयमा सूर्यको ताप उच्च बिन्दुमा पुगेका बेला, पानीको एक थोपा पनि ग्रहण नगरी पूर्ण उपवास बस्नु नै निर्जला एकादशी हो । यस एकादशीको व्रत सूर्योदयदेखि सुरु भएर भोलिपल्ट (द्वादशी)को सूर्योदयसम्म चल्छ । कठोर आत्मसंयम र दृढ इच्छाशक्तिको जगमा मात्र यो व्रत सम्भव हुन्छ । जल नै जीवनको आधार भएकाले, जल त्यागेर ईश्वरप्रति पूर्ण समर्पित हुनुले मानव मनको पराकाष्ठा र ईश्वरप्रतिको अनन्य भक्तिलाई दर्शाउँछ ।
निर्जला एकादशीलाई पौराणिक कालदेखि नै ‘भीम एकादशी’ वा पाण्डव एकादशी भनिन्छ । यसको पछाडि एउटा रोचक र सन्देशमूलक कथा छ । महाभारत कालमा पाँच पाण्डव र द्रौपदीले प्रत्येक एकादशीमा नियमपूर्वक व्रत बस्ने गर्थे । तर, पाँच भाइमध्येका माहिला भाइ भीमसेनको शरीरमा ‘वृक’ नामक अग्नि (अत्यधिक भोक लाग्ने शक्ति)भएकाले उनी भोक सहन सक्दैनथे । अरू भाइहरू व्रत बसेको देख्दा भीमलाई आफू व्रत बस्न नसकेकोमा ग्लानि हुन्थ्यो । आफ्नो यो समस्या लिएर भीमसेन पितामह वेदव्यासकहाँ गए र भने हे पूज्य मुनि, मेरा भाइहरू र द्रौपदी प्रत्येक एकादशीमा व्रत बस्छन् र मलाई पनि बस्न आग्रह गर्छन् तर म भोक सहनै सक्दिनँ । के म स्वर्ग जान पाउँदिनँ ? मलाई कुनै यस्तो उपाय बताउनुहोस्, जसले गर्दा वर्षभरिका सबै एकादशीको फल एकैदिन प्राप्त होस् ।’
भीमको व्याकुलता बुझेर महर्षि वेदव्याशले भन्नुभयो, ‘हे भीम ! यदि तिमी वर्षभरिका सबै एकादशीमा व्रत बस्न सक्दैनौ भने, ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशीको एक दिन मात्र पूर्ण रूपमा जलबिना व्रत बस्नु । निर्जला एकादशीको एउटै व्रतका प्रभावले तिमीलाई वर्षभरिका २४ वटै एकादशीको पुण्य प्राप्त हुनेछ र मृत्युपश्चात् वैकुण्ठ वास हुनेछ । व्यासजीको आज्ञा शिरोधार्य गरी भीमसेनले यो कठिन व्रत बसे । पानी नपिई व्रत बसेका कारण उनी भोलिपल्ट बिहान मूच्र्छित जस्तै भए । त्यसपछि भाइहरूले उनलाई गंगाजल पिलाएर व्रत पारण गराए । भीमसेनले समेत सफलतापूर्क पुरा गरेको हुनाले यस एकादशीलाई भीम एकादशी भनिएको हो ।
निर्जला एकादशीको अर्को पाटो प्रकृतिको सामीप्य र कृषिसँग जोडिएको छ । यसै दिन सनातन धर्मावलम्बीहरूले आफ्नो घरको आँगनमा रहेको मठमा तुलसीको बिउ रोप्ने कार्य गर्दछन् । धार्मिक दृष्टिकोणले तुलसीलाई साक्षात् लक्ष्मीको रूप र भगवान् विष्णुको प्रिय मानिन्छ । ‘हरिको जयजयकार’ गर्दै, विष्णु सहस्रनाम वा भजन कीर्तन गर्दै तुलसीको बिउ रोपिन्छ ।
पर्यावरणीय र स्वास्थ्य दृष्टिकोणले हेर्दा तुलसी यस्तो वनस्पति हो जसले चौबीसै घण्टा अक्सिजन प्रवाह गर्छ र वरपरको वातावरणलाई कीटाणुमुक्त बनाउँछ । ज्येष्ठ महिनाको अन्त्यतिर मनसुन सुरु हुनुअघि बिउ राख्दा आषाढ महिनाको ‘हरिशयनी एकादशी’सम्ममा बिरुवा सार्न योग्य हुन्छ । यसरी हाम्रा चाडपर्वहरूलाई प्रकृति संरक्षणको महाअभियानसँग जोडिएको छ ।
निर्जला एकादशीको बहुआयामिक महŒव छ । सनातन शास्त्रहरूका अनुसार यस दिन भगवान् विष्णुको कीर्तन, भजन र आराधनाको विशेष महŒव छ । यस व्रतको विधिपूर्वक पालना गर्नाले मानिसका ज्ञात–अज्ञात सम्पूर्ण पापहरू नष्ट हुन्छन । व्रत सम्पादन गर्ने श्रद्धालुले मृत्युपश्चात् यमलोकको कष्ट भोग्नुपर्दैन र सिधै विष्णुलोक अर्थात् वैकुण्ठको बास पाउँछ भन्ने विश्वास छ । यस दिन पानीका घैंटो, छाता, जुत्ता, पंखा र वस्त्र दान गर्नाले अक्षय पुण्य प्राप्त हुन्छ । गर्मीको समयमा तिर्खाएकालाई पानी खुवाउनु सबैभन्दा ठुलो धर्म हो भन्ने सन्देश यसले दिन्छ ।
आधुनिक विज्ञान र आयुर्वेदले पनि एकादशी व्रत, विशेष गरी निर्जला उपवासको स्वास्थ्य महŒवको प्रशंसा गरेका छन् । निर्जला एकादशी उपवासले पाचन प्रणालीलाई पूर्ण विश्राम दिन्छ । हाम्रो शरीरले निरन्तर खाना पचाउने काम गरिरहेको हुन्छ । वर्षमा कम्तीमा एकपटक पूर्ण रूपमा जल र अन्न त्याग गर्दा कलेजो, आमाशय र मिर्गौलाजस्ता भित्री अंगहरूले विश्राम पाउँछन् । यसले शरीरभित्र जमेका विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ । प्रचण्ड गर्मीमा पानी नपिई बस्नुले मानिसको इच्छाशक्ति र आत्म–नियन्त्रण क्षमताको विकास गर्छ । यसले मस्तिष्कलाई शान्त र तनावमुक्त बनाउन मद्दत गर्छ । कोशिकाको नवीकरण अर्को विशेषता हो । चिकित्सा विज्ञानका अनुसार जब शरीरले बाहिरबाट ऊर्जा पाउँदैन तब यसले शरीरभित्र रहेका खराब, पुराना र क्यान्सरजन्य कोशिकाहरूलाई आफैं नष्ट गरेर ऊर्जामा बदल्छ । यस प्रक्रियालाई ‘अटोफेजी’ भनिन्छ, जसले मानिसलाई दीर्घायु र निरोगी बनाउँछ ।
आजको आधुनिक, प्रविधिमैत्री र पश्चिमा संस्कृतिको प्रभावमा हुर्कंदै गरेको युवा तथा भावी पुस्तालाई निर्जला एकादशी जस्ता व्रतहरूको महŒव बुझाउनु निकै चुनौतीपूर्ण र उत्तिकै आवश्यक छ । हामीले उनीहरूलाई केवल अन्धविश्वास वा डर देखाएर होइन, तार्किक र व्यावहारिक रूपमा शिक्षा दिनुपर्छ ।
आजको पुस्ता तुरुन्तै परिणाम चाहन्छ । उनीहरूमा धैर्यको कमी देखिन्छ । निर्जला एकादशीले सिकाउँछ कि जीवनमा ठूलो उपलब्धि हासिल गर्न वा आत्मिक रूपमा बलियो हुन ‘चाहना र तृष्णा’माथि विजय पाउनुपर्छ । भोक र तिर्खालाई जित्न सक्ने युवाले जीवनका जस्तोसुकै मानसिक र आर्थिक संकटहरू पनि सहजै पार गर्न सक्छ । पानीबिनाको एक दिन कति कष्टकर हुन्छ भन्ने अनुभव गरेपछि मात्र भावी पुस्ताले जलको वास्तविक मूल्य बुझ्नेछन् । यसले उनीहरूलाई पृथ्वीमा द्रुत गतिमा घटिरहेको स्वच्छ पिउने पानीको संरक्षण गर्न, नदीनाला सफा राख्न र पानीको अपव्यय नगर्न प्रेरित गर्छ ।
पर्यावरणप्रति उत्तरदायी बनाउने अर्को महŒवपूर्ण भूमिका हुन्छ । तुलसीको बिउ रोप्ने परम्परा सिकाएर हामीले भावी पुस्तालाई प्रकृतिप्रेमी बनाउन सक्छौं । ग्लोबल वार्मिङ र वातावरणीय प्रदूषणको यो युगमा हरेक घरमा बिरुवा रोप्नु र त्यसको स्याहार गर्नु कति आवश्यक छ भन्ने कुरा यस पर्वले सिकाउँछ ।
आफू भोको–तिर्खाएको रहेर अरूलाई पानी, छाता वा अन्न दान गर्ने यो परम्पराले ‘वसुधैव कुटुम्बकम्’ संसार नै एक परिवार हो र ‘परोपकाराय पुण्याय’को भावना विकास गराउँछ । समाजमा रहेका गरिब, असहाय र भोका मानिसहरूप्रति सहानुभूति राख्न यसले नयाँ पुस्तालाई प्रेरित गर्छ ।

उपसंहार
निर्जला एकादशी केवल एउटा धार्मिक कर्मकाण्ड मात्र होइन, यो त शरीर,मन र आत्माको शुद्धीकरण गर्ने एउटा महान् विज्ञान हो । भगवान् विष्णुको कीर्तन र भजनले मनलाई सकारात्मक ऊर्जा दिन्छ भने जलबिनाको उपवासले शरीरलाई निरोगी बनाउँछ । सबैको कल्याण होस् भन्ने पवित्र भावनाका साथ गरिने यस व्रतले समाजमा शान्ति, सद्भाव र भ्रातृत्व फैलाउँछ । हाम्रो संस्कृतिले सिकाएको यो अमूल्य जीवनपद्धति, स्वास्थ्य विज्ञान र पर्यावरणीय चेतनालाई भावी पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता र हाम्रो परम कर्तव्य हो । हरिको जयजयकार गर्दै, प्रकृतिको सम्मान गर्दै मनाइने यो निर्जला एकादशीले सम्पूर्ण मानव जातिको कल्याण गरोस् ।
एकादशी र मानव स्वास्थ्य खासगरी निर्जला एकादशीबीचको अन्तरसम्बन्ध पूर्वीय दर्शन, आयुर्वेद र आधुनिक चिकित्सा विज्ञानको दृष्टिकोणबाट अत्यन्तै गहिरो र वैज्ञानिक छ । हाम्रो संस्कृतिमा एकादशीलाई केवल एउटा धार्मिक व्रतका रूपमा मात्र हेरिएन, यसलाई शरीर र मनको शुद्धीकरण गर्ने एउटा उत्कृष्ट जैविक माध्यमका रूपमा विकास गरियो । निर्जला एकादशी र मानव स्वास्थ्यको अन्तरसम्बन्धलाई निम्न बुँदाहरूमा विश्लेषण गर्न सकिन्छ ।
१. उपवास र अटोफेजीः कोषीय शुद्धीकरण
आधुनिक चिकित्सा विज्ञानले उपवासको महŒवलाई भर्खरै मात्र गहिरो गरी प्रमाणित गरेको छ । सन् २०१६ मा जापानी वैज्ञानिक योशिनोरी ओशुमीले अटोफेजीको संयन्त्र पत्ता लगाएबापत नोबेल पुरस्कार पाएका थिए ।
के हो अटोफेजी ? जब शरीर लामो समयसम्म भोको रहन्छ, तब कोषहरूले भित्र रहेका पुराना, खराब, र मृत भागहरूलाई आफैं खाएर नष्ट गर्छन् र नयाँ ऊर्जा उत्पन्न गर्छन् । निर्जलाको विशेषताः वर्षभरिका २४ वटा एकादशीमध्ये निर्जला एकादशीमा अन्न मात्र होइन, पानी समेत ग्रहण गरिँदैन । यसले शरीरलाई गहिरो उपवासको अवस्थामा पु¥याउँछ । जसले गर्दा शरीरका विषाक्त पदार्थहरू द्रुत गतिमा निष्कासन हुन्छन् र क्यान्सर जस्ता रोग लाग्न सक्ने कोषहरू स्वतः नष्ट हुन्छन् ।
२. पाचन प्रणालीलाई विश्राम र पुनर्जागरण
हाम्रो पाचन प्रणाली वर्षको ३६५ दिन नै क्रियाशील रहन्छ । लगातारको कामले गर्दा यसको कार्यक्षमतामा ह्रास आउँछ । निर्जला एकादशीको कठोर उपवासले कलेजो आमाशय र आन्द्रालाई पूर्ण रूपमा विश्राम दिन्छ । पानी समेत नपिउँदा पाचन रसहरूले आन्द्रामा जमेर रहेका पुराना मल र विषाक्त अवशेषहरूलाई सोसेर सफा गर्ने मौका पाउँछन् । यसले उपवासपछिको समयमा पाचन शक्तिलाई थप तीव्र र सबल बनाउँछ ।
३. चन्द्रमाको गुरुत्वाकर्षण र शारीरिक तरल पदार्थको सन्तुलन
हाम्रो ब्रह्माण्ड र मानव शरीरको सम्बन्ध ‘यत् पिण्डे तत् ब्रह्माण्डे’ (जे ब्रह्माण्डमा छ, त्यही शरीरमा छ) को सिद्धान्तमा आधारित छ । पृथ्वीमा जस्तै मानव शरीरमा पनि लगभग ७०% पानी हुन्छ ।
चन्द्रमाको गुरुत्वाकर्षणले समुद्रमा ज्वारभाटा ल्याए जस्तै यसको प्रभाव मानव शरीरका तरल पदार्थ र मानसिक अवस्थामा पनि पर्छ । एकादशी तिथिका दिन चन्द्रमा र पृथ्वीको दूरी र आकर्षण यस्तो हुन्छ, जसले शरीरको वायु र तरल पदार्थलाई माथितिर आकर्षित गर्दछ । यो समयमा अन्न र पानीको मात्रा शून्य वा न्यून राख्दा शरीरमा अत्यधिक तरल पदार्थको दबाब हुन पाउँदैन, जसले गर्दा रक्तचाप सन्तुलित रहन्छ र मुटुको कार्यभार कम हुन्छ ।
४. मानसिक स्वास्थ्य र ‘सिटामिन’को विकास
एकादशीको उपवास केवल शारीरिक स्वास्थ्यमा मात्र सीमित छैन । यसको सोझो सम्बन्ध मस्तिष्क र चेतनासँग छ । उपवासको समयमा शरीरले ‘कीटोन बडीज’ उत्पादन गर्छ, जुन मस्तिष्कका लागि उत्कृष्ट इन्धन मानिन्छ । यसले मानसिक स्पष्टता, एकाग्रता र शान्ति प्रदान गर्छ । आयुर्वेदका अनुसार उपवासले ‘सŒव गुण’ बढाउँछ र तमोगुणलाई कम गर्छ । यसले गर्दा मानिसमा आत्मसंयम र मानसिक सन्तुलन कायम रहन्छ, जुन आधुनिक युगको तनाव व्यवस्थापनका लागि अनिवार्य छ ।
५. ऋतुचर्या र वातावरणीय अनुकूलन
निर्जला एकादशी सामान्यतया ज्येष्ठ वा आषाढ महिनाको शुक्ल पक्षमा पर्छ, जुन समयमा नेपाल र भारत वर्षमा अत्यधिक गर्मी र सुक्खा मौसम हुन्छ । वैज्ञानिक दृष्टिकोणबाट, यति धेरै गर्मीको समयमा एक दिन पानी बिना बस्नु शरीरको तापक्रम सन्तुलन गर्ने क्षमताको कडा परीक्षा हो ।
यसले शरीरलाई चरम वातावरणीय परिस्थितिमा पनि अनुकूलन हुन सक्ने गरी आन्तरिक रूपमा बलियो र प्रतिरोधात्मक क्षमता युक्त बनाउँछ ।
निर्जला एकादशी अत्यन्तै कठोर र उच्च कोटिको उपवास हो । यसबाट पूर्ण स्वास्थ्य लाभ लिनका लागि व्रत पूर्व र ब्रत पछि समेत खास–खास नियमहरू पालना गर्नुपर्छ । संक्षेपमा भन्नुपर्दा, निर्जला एकादशी धार्मिक अनुष्ठान मात्र नभएर प्रकृति र मानव शरीरलाई एकाकार गराउने, कोष–कोषको पुनर्जागरण गर्ने र दीर्घायु प्राप्त गर्ने एउटा विज्ञानसम्मत जीवनशैली हो ।

(लेखक ढकाल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरद्वारा सञ्चालित नेपालकै पहिलो प्राकृतिक चिकित्सा विज्ञान कलेजका प्राचार्य हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्