नेभिगेशन
दृष्टिकोण

नागरिकको अपेक्षा र जिम्मेवार पत्रकारिता

अहिले नेपाली समाज र पत्रकारिताको अवस्था ‘जोगीदेखि भैंसी डराउने र भैंसीदेखि जोगी डराउने’ भन्ने नेपाली उखान जस्तै भएको छ । आममानिस सुनाउँछन्– असल पत्रकारितालाई खराबले विस्थापित गर्ने खतरा सबैभन्दा डरलाग्दो छ । आमनागरिक पनि बोल्न डराइरहेका छन् । कुन बेला कसले ट्र«ोल बनाइदिने हो ? सामाजिक सञ्जालबाट गालीको वर्षा हुने हो ? त्यसैले बोल्नु, लेख्नुभन्दा चुपचाप बसेकै फाइदा छ ।’ व्यावसायिक पत्रकारहरू भन्छन्– जति मेहेनत गरेर लेखे पनि हामीले गरेको काम कमै नागरिकले हेर्छन् । समाजको ठूलो हिस्सा हल्ला, हल्काफुल्का विषय, व्यक्तिगत गोपनीयताका कुरा र अश्लील विषयवस्तुमा केन्द्रित छ ।’ 
आखिर यस्तो अवस्था किन आयो त ? पहिलो, परम्परागत मिडिया कमजोर भए । जहाँ सम्पादकीय प्रक्रिया पूरा गरेर मात्र समाचार तथा विचारको प्रकाशन तथा प्रसारण हुन्छ । २०७२ सालको महाभूकम्प, कोरोना महामारी, सूचना तथा प्रविधिको क्षेत्रमा आएको आमूल क्रान्ति, विज्ञापन बजारको कमी, दक्ष जनशक्तिको पलायन, धान्नै नसक्ने ठूलो लगानी आदि कारण कमजोर बन्दै गएका छन् । आमपाठक पनि यिनको तुलनामा सामाजिक सञ्जालमा छिटो छिटो प्रवाह हुने सूचनामा भर परिरहेका छन् । 
आमनागरिकलाई मिडिया र सामाजिक सञ्जालमा प्रवाह हुने सामग्रीबीचको भिन्नतासमेत थाहा छैन । उनीहरू दुवैलाई पत्रकारिता भनिरहेका छन् । त्यसले गर्दा सामाजिक सञ्जालबाट प्रवाह हुने समाग्रीमा भर पर्दा आमनागरिक मिसइन्फर्मेसन, डिस इन्फमेसन, प्रोप्रोगाण्डाको शिकार भएका छन् । पत्रकारले गलत सूचना दिए भन्ने आमबुझाइ छ । सामाजिक सञ्जाल पत्रकारिता होइन भन्ने कुरा हामीले नागरिकलाई बुझाउन जरुरी छ । 
पत्रकारितामा सूचनाको संकलन, प्रशोधन र वितरण प्रणाली हुन्छ । व्यावसायिक जनशक्तिले सूचनाको संकलन गर्छ, त्यसको प्रशोधनका लागि विभिन्न चरणको सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्छ । सत्य, तथ्य जाँच गरिन्छ । पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यता र सामाजिक उत्तरदायित्व बुझेर पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन वा अन्य माध्यमबाट समाचार प्रकाशन, प्रसारण गरिन्छ । सिद्धान्तः सूचनाको शतप्रतिशत प्रमाणीकरण नहँुदासम्म समाचार प्रवाह गर्न पाइँदैन । 
यसको ठीकविपरीत सामाजिक सञ्जाल व्यक्तिको आफ्नो एकाउण्टमात्र पनि हुन सक्छ । सम्पादकीय चरण पार नगरी कुनै व्यक्तिले पोष्ट गरेको सूचना समाचार होइन र त्यो पत्रकारिता कहलिँदैन । खासगरी सामाजिक सञ्जाल आमनागरिक, राजनीतिक दलका कार्यकता, स्वार्थ समूह, कन्टेन्ट क्रिएटर जसले पनि चलाउन सक्छन् । 
सामाजिक सञ्जाल सञ्चालक सामाजिक उत्तरदायित्व पूरा गर्नेभन्दा पनि भ्यूज, लाइक, मोनिटाइजेसनको पछि दौडिँदा समाजमा गलत सूचनाको प्रवाह भइरहेको छ । जसका कारण हल्काफुल्का विषयवस्तु, अश्लील सामग्री, व्यक्तिको गोपनीयता हनन हुने सामग्री तथा समाजमा विकृति विसंगति फैलाउने माध्यम बन्ने खतरा छ । त्यसैले आमजनताले पनि विश्वसनीय सञ्चारमाध्यमको सूचनामा भर पर्नुपर्छ र सम्भव भएसम्म धेरै मिडियाको अध्ययन गर्ने र आफंै बुझेर सूचना लिने गर्नुपर्छ । 
मिडियाको काम सूचना, शिक्षा र मनोरञ्जन दिने अनि समाजका मुद्दामा छलफल, बहस गराई आमपाठकलाई सत्यको नजिक पुग्न सघाउने र स्वस्थ जनमतमार्फत लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउने हो । सशक्त मिडियाको अभावमा लोकतान्त्रिक शासन प्रणाली कमजोर हुन्छ र सुशासन कायम हुन सक्दैन । 
दुर्भाग्य केही समययता नेपाली मिडियाले सत्य, तथ्य र विश्वसनीय सूचनाका आधारमा समाजलाई सुसूचित गर्ने आफ्नो दायित्व पूरा गर्न सकेको छैन । आर्थिक स्रोतको अभाव, दक्ष जनशक्तिको पलायनका कारण मिडियामा खोजमूलक तथा पाठक, श्रोता र दर्शकको रुचिअनुसारका सामग्री पाइन छाडेका छन् । अधिकांश मिडियामा समाचार समितिले उपलब्ध गराएका एकै खाले सामग्री प्रकाशन प्रसारण हुन्छन् । मिडियाका नाम र प्रकृति फरक छन् तर तिनले दिने सामग्रीमा भिन्नता नभएकाले आमनागरिकका लागि रुचिकर छैनन् । त्यसैले पनि अडियन्सले ती मिडिया रुचाइरहेका छैनन् । 
नेपाली मिडियाले भोग्नुपरेका यावत् समस्याको हल गरी यिनको सबलीकरण गर्ने दायित्व सरकार, राजनीतिक दल, सरोकारवाला निकायको हो । ती निकाय पनि क्षणिक स्वार्थका लागि मिडियामाथि आक्रमण गर्ने र कमजोर बनाउनेतर्फ केन्द्रित भएको विगत छ । सबै मिडियालाई १२ भाइको संज्ञा दिइनु, पत्रकारलाई पत्रुकार भन्ने शब्दको प्रयोग गरी होच्याउनु, मिडियामा राजनीतिक दल, व्यापारिक तथा धार्मिक र अन्य समुदायको स्वार्थ हावी हुनु आदि कारण यो क्षेत्रलाई ठूलो असर परेको छ । त्यही कारण मिडिया जगत् डुब्ने अवस्थामा पुग्दासमेत यसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा सम्पादक र सरोकारवाला निकायबीच सघन छलफल हुन नसक्ने अर्को दुर्भाग्यपूर्ण अवस्था हो । 
अहिले नेपाली मिडिया जुन प्रकारले कमजोर भएको छ, समाज र मिडियाबीच विश्वसनीयताको संकट पैदा हुने अवस्था बनेको छ । यस अवस्थाको समयमै सम्बोधन गर्न आवश्यक छ । परम्परागत मिडिया चरम आर्थिक स्रोतको अभावमा छन्, दक्ष जनशक्तिले सामाजिक सुरक्षा महसुस गर्न सकेको अवस्था छैन, अनुभवी पत्रकारले समयमै पारिश्रमिक नपाएर काम छोडेको अवस्थामा नयाँ जनशक्तिलाई मिडिया उद्योगले आकर्षित गर्न सकेको अवस्था छैन । सामाजिक सञ्जालको बढ्दो लोकप्रियता र यिनले प्रवाह गर्ने अपरिपक्व, अविश्वसनीय तथा सामाजिक उत्तरदायित्व वहन नगर्ने सामग्रीका कारण नेपाली समाजमा लोकतान्त्रिक शासन प्रणालीलाई सबल बनाउने स्वस्थ जनमत निर्माण हुन नसक्ने अवस्था बनिरहेको छ । 
त्यसैले राज्य, सरोकारवाला निकाय, पत्रकार जगत् र नेपाली समाजले संकटमा रहेको पत्रकारिता क्षेत्रलाई उकास्न ठोस नीति र योजना तर्जुमा गर्नेतर्फ तत्काल पहल हुन आवश्यक छ । 
(प्रस्तुत विचार सम्पादक समाज नेपालको कार्यक्रमामा डा. नेपालको कार्यपत्रमा आधारित रहेको छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्