नेभिगेशन
दृष्टिकोण

हाम्रो संस्कार र संस्कृति

कुनै पनि देशको जस्तो संस्कार छ त्यस्तै संस्कृतिको प्रादुर्भाव भइरहेको हुन्छ । हिन्दुहरूको आफ्नै किसिमको संस्कार हुन्छ भने बौद्धहरूको पनि आफ्नै संस्कार हुन्छ । त्यस्तै अन्य धर्मावलम्वीहरूको पनि आ–आफ्नै किसिमका संस्कार हुन्छन् । त्यसै अनुरूपको संस्कृति पनि बनेको हुन्छ । 
सदाचार, सद्व्यवहार, आचरण र स्वभाव संस्कारबाटै प्राप्त हुने गर्छ । संस्कार भनेको मानिसको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न किसिमका कर्मकाण्ड र क्रियाकलाप नै हो, त्यसमा पनि जातअनुसार संस्कार पनि फरक–फरक हुन्छन् । हाम्रो जस्तो बहुभाषिक, बहुधार्मिक, बहुजातीय देशमा विभिन्न जातका विभिन्न किसिमका संस्कार रहँदै आएको पाइन्छ । 
राम्रो संस्कारमा जन्मेको बच्चाको संस्कार पनि राम्रै हुन्छ भने नराम्रो संस्कारमा जन्मेको बच्चाको संस्कार पनि नराम्रै हुन्छ । गर्भैदेखि बच्चाले आफ्ना आमाबाबुको बोलीवचन सुन्दै आइरहेको हुन्छ । आफ्ना आमा बाबुले जस्तो बोली वचन प्रयोग गरेका हुन्छन्, गर्भमा रहेको बच्चाले पनि त्यसैको सिको गरेको हुन्छ । आमाबाबुले जहिले पनि झगडा गर्ने, जथाभावी गाली गलौज गर्ने, छाडा वचन बोलेमा गर्भमा रहेको बच्चाले पनि त्यही सिकेको हुन्छ । त्यसैले पुराना बुढापाकाले भन्ने गर्थे, गर्भ रहँदा मीठो बोलीवचन बोल्नुपर्छ, धर्मकर्म गर्नुपर्छ, कोठामा पनि बालगोपाललगायतका त्यस्तै रमणीय तस्वीर झ्ुण्ड्याउनुपर्छ । श्रीमान, श्रीमती कहिल्यै झगडा गर्नुहुँदैन । धार्मिक प्रवचन, धार्मिक कथा सुन्ने गर्नुपर्छ । विभिन्न देवीदेवताका भजन सुन्ने गर्नुपर्छ । मनलाई सधैं शान्त र प्रफुल्ल राख्नुपर्छ । सधैं सकारात्मक सोच राख्नुपर्छ आदि । अनिमात्र त्यस बालक जन्मेपछि असल, अनुशासित र आज्ञाकारी हुनेछ । बच्चा जन्मिसकेपछि पनि जन्म दिने आमा नै प्रथम गुरु हुने हुँदा आफ्नो बच्चालाई राम्रा–राम्रा बोली वचनले संस्कारित पार्नुपर्छ । जथाभावी बोलेर, आमा बाबुले नै नराम्रा शब्द प्रयोग गरेर झैझगडा गरेमा त्यसको सिधा असर बच्चामा पर्नेछ र त्यो बच्चाको स्वभाव पनि त्यस्तै बन्नेछ ।
वि.सं. २०३०÷३१ सालतिरको कुरा हो, म राविसे (राष्ट्रिय विकास सेवा) गर्न चितवनको चैनपुर गाउँ पञ्चायतमा जाँदा त्यहाँ मैले अनौठो संस्कार देखें । त्यहाँ आमा चाहिँले छोराछोरीलाई गाली गर्दा मुर्दार भनी गाली गरेको सुनें । म काठमाडौंको विद्यार्थी त्यहाँको त्यस्तो बोली सुनेर छक्क परें । मैले नबुझेर त्यहाँ अर्कै मान्छेसँग सोधें, अनि उसले भन्यो– माडसाप त्यति पनि बुझ्नुभएन ? मुर्दा भनेको नि । मैले स्कुलमा पढाउनुपथ्र्यो, त्यसैले मलाई सबैले माडसाप भन्ने गर्थे । त्यतिमात्र हो र, आमाले आफ्नी छोरीलाई खेल्न हिँडी भनेर गाली गर्छिन्– ‘ए रण्डी कता हिँडेकी, गाउँ चहार्दै अनि छोरी चाहिँले पनि जवाफ फर्काउँछिन्– तैं रण्डी ।’ यसरी आमा छोरीबीचको सवालजवाफलाई के भन्ने ? अनि यस्तै संस्कारमा हुर्केका बच्चाहरूको भविष्य कस्तो हुने ? 
पेसागत रूपका परिवारमा जन्मेका बचाहरूको संस्कार पनि गर्भैदेखि प्रभाव परेको हुन्छ । जस्तै कामीको परिवारमा जन्मिने बच्चाको गर्भैदेखि उसका आमा बाबुले गरेका कामको प्रभाव परिरहेको 
हुन्छ । उसका बाबुले घनले फलाममा हानिरहेको आवाज अनि आरनको आवाजका साथै उसका आमा बाबुले बोल्ने गरेका बोलीचालीको प्रभाव आदि । त्यो बच्चा जन्मेपछि पनि आरनमै वामे सर्ने गर्छ भने बाबुले पनि काखमा राखेर आफ्नो काम गरिरहेको हुन्छ । र बच्चाले पनि सानै बेलादेखि बाबुले गरेका काम हेर्दाहेर्दै सिकिरहेको हुन्छ । त्यस्तै दमाईको परिवारमा जन्मेको बच्चा र सार्कीको परिवारमा जन्मेको बच्चाको पनि त्यस्तै संस्कार बनेको हुन्छ । अनि एउटा ब्राह्मणको कोखमा जन्मेको बच्चाले गर्भैदेखि बिहान सबेरै शंख र घण्टाको आवाज सुनेको हुन्छ भने देवीदेवताको प्रार्थना गरेको आवाज पनि सुनिरहेको हुन्छ, जसको प्रभाव बच्चामा परिरहेको हुन्छ ।  
यी त भए संस्कारका कुरा, अब संस्कृतिको कुरा गरौं । हामी जस्तो संस्कारमा हुर्किंदै आयौं त्यस्तै संस्कृति बन्दै आइरहेको पाइन्छ । हाम्रो दैनिक जनजीवनमा प्रयोग गर्दै आइरहेका संस्कारका गतिविधि नै संस्कृतिको अंग बन्न पुग्छन् । हामीले गरेका दैनिक पूजापाठ, धार्मिक चाडपर्व, जात्रा आदि नै हाम्रो संस्कृति बनेको छ । हाम्रो त्यही धार्मिक एवं सामाजिक चाडपर्व, जात्रा, विभिन्न देवदेवीका खटयात्रा, रथयात्रा आदि अनेकौं धार्मिक क्रियाकलाप नै संस्कृति बनेको छ भने त्यही संस्कृति र धार्मिक स्थल, मन्दिर आदि विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् । 
हाम्रो संस्कृति नै हाम्रो देशको पहिचान हो भने हाम्रो संस्कृति नै हाम्रो देशको धरोहर हो । हाम्रो यस्तो अमूल्य संस्कृतिको प्रयोगमा धार्मिक क्रियाकलाप, जात्रा पर्व मनाउँदा आजका युवायुवतीहरूले जाँड रक्सी खाँदै स्वछन्द रूपमा बाजा बजाउँदै गरेको देखिन्छ । ती युवा युवतीहरूलाई आफूले बजाउँदै गरेका बाजा धिमे सिक्दा नासःद्यः नाट्येश्वरको पूजा गरेर सिकेका हुन्छन् र वाद्यगुरुले सिकाउनुभएको वाद्ययन्त्र, तन्त्र पनि हो भन्ने कुरा बुझ्नुपर्छ । तान्त्रिक विधि विधानअनुसार नासःद्यःको पूजा गरेर सिकेको बाजा बजाउँदा र जात्रामा भाग लिँदा मर्यादापूर्वक अनुशासित हुनुपर्दछ । नासःद्यःले छोप्न आउन पनि सक्छ र पूरै शरीर काम्न सक्छ, होस नहुन सक्छ । यो कुरा नबुझेकाले आफ्ना वाद्यगुरुसँग सोध्दा थाहा पाउन सकिन्छ । 
(लेखक डंगोल धर्म संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्