नेभिगेशन
दृष्टिकोण

असार १५ र सांस्कृतिक दर्शन

पृष्ठभूमि
‘असार’ बाह्र महिनामध्येको एउटा निरस कालखण्डमात्र होइन, यो त नेपाली कृषकको भाग्य, भविष्य, अस्तित्व र पसिनाको एउटा महाकुम्भ हो ।
यस समयमा गाउँघरका चौतारी र खेतका आलीहरूमा चल्ने आत्मीय र रैथाने संवादहरू आफैंमा जीवन्त काव्य जस्ता लाग्छन्, यसपालि रोपाइँका लागि कुलोमा पानी कत्तिको छ ? माटोले जोत पुगेर लेदो बन्यो कि बनेन ? मलको व्यवस्था गाईभैंसीको प्रांगारिक कम्पोस्ट हो कि रासायनिक ? जोत्नका लागि आफ्नै गोरु छन् कि ट्र्याक्टरको पालो पर्खिनुपर्छ ? साउने संक्रान्ति एवं पुसे पन्ध्रको सेलरोटी तथा खिरका लागि ‘अनादिको बीउ सुरक्षित छ कि छैन भनेर सोधपुछ गर्छन्, तब ती केवल सामान्य प्रश्नोत्तर मात्र रहँदैनन् । ती त धर्ती माता र अन्नपूर्णा देवीलाई जगाउने पवित्र वैदिक मन्त्रहरूमा रूपान्तरित हुन्छन् ।
‘मानु रोपेर मुरी फलाउने’ यो स्वर्णिम समय कृषक परिवार र सम्पूर्ण ग्रामीण समाजका लागि उमेर समूहअनुसारको सहकार्य र सामूहिक सद्भावको एउटा अनुपम कडी हो । बालकदेखि वृद्धसम्म सबै आ–आफ्नो गच्छे र सामथ्र्यअनुसार खेतका गराहरूमा श्रमदान गर्न स्वतःस्फूर्त रूपमा ओर्लन्छन् । कसैले दाँदे लगाएर हिलो सम्याउने, कसैले कोदाली समातेर बाउसे गर्ने, कसैले ब्याडबाट हरियो बीउ काढ्ने र रोप्ने काममा आफूलाई एकाकार गराउँछन् । यो समष्टिगत र निस्वार्थ सामूहिक श्रम नै वास्तविक ‘कृषि धर्म’ हो । 
वैदिक चेतनाः
ऋग्वेददेखि लिएर अथर्ववेदसम्मका ऋचाहरूमा र हाम्रा अनेकौं स्मृति ग्रन्थहरूमा माटोको निष्काम सेवा र अन्न उत्पादनलाई मनुष्य जीवनको सबैभन्दा पवित्र र पुण्य कर्म मानिएको छ । त्यसैले रैथाने संस्कृतिमा रोपाइँ गर्नु वा खेत जोत्नु भनेको साक्षात् जगज्जननी आमाको सेवा गर्नुसरह हो । माटोलाई जोत्नु, गोडमेल गर्नु, सिञ्चित गर्नु र यसलाई उर्वर राख्नु कृषकका लागि आफ्नो ‘मातृ–ऋण’ चुकाउने एउटा महान् धार्मिक अनुष्ठान बन्दछ । कृषि धर्मले हामीलाई स्पष्ट सिकाउँछ कि माटोलाई रासायनिक विषादी हालेर विषाक्त बनाउनु वा यसलाई सहरको घडेरी बनाउन बाँझो छाड्नु आमाप्रतिको ठूलो कृतघ्नता हो । यही गहिरो दार्शनिक चेतनाकै कारण परम्परागत नेपाली समाजमा खेतका गरामा पहिलो पाइला टेक्नुअघि वा हलोको सियो बसाल्नुअघि धर्ती मातासँग क्षमा माग्ने र भूमिलाई शिर निहुराएर ढोग्ने सुन्दर चलन बसेको हो ।
सृष्टिको निरन्तरता र ‘अन्नं ब्रह्म’ को साक्षात् स्वरूप
एउटा सानो बीउभित्र एउटा विशाल र अनन्त जीवन सुषुप्त अवस्थामा रहेको हुन्छ । माटोको गर्भगृहमा त्यो बीउ छर्नु भनेको सृष्टिको शाश्वत जीवन चक्रलाई गतिशीलता र निरन्तरता दिनु हो । सनातन दर्शनअनुसार कृषकले जब खेतमा बीउ छर्छ र त्यसलाई आफ्नो पसिना वा कञ्चन जलले सिञ्चित गर्छ, ऊ स्वयं सृष्टिकर्ता ब्रह्माको एउटा अनन्य सहयोगी बन्दछ । यहाँ बीउ सम्भावना र नवजीवनको प्रतीक हो भने सिञ्चन करुणा, श्रम र प्रकृतिप्रतिको पूर्ण समर्पण हो । अन्नले नै संसारका समस्त स्थावर–जंगम प्राणीहरूको प्राण रक्षा गर्छ । 
कृषकले केवल आफ्नो र आफ्नो परिवारको पेट भर्नका लागि मात्र अन्न उब्जाउँदैन, ऊ त सम्पूर्ण चराचर जगत्को निःस्वार्थ पालनपोषण गर्ने जगत्कै ‘अन्नदाता’ बन्दछ । सम्पूर्ण प्राणीहरू अन्नबाट उत्पन्न र जीवित हुन्छन् । अन्नको उत्पत्ति वृष्टिबाट हुन्छ र वृष्टि यज्ञबाट सम्भव हुन्छ । 
असार शब्दको वैश्विक संयोग र शाब्दिक रहस्य
भाषिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणबाट हेर्ने हो भने असार शब्दको वैश्विक फैलावट र यसको अन्तर्राष्ट्रिय उपस्थिति निकै आश्चर्यजनक, रहस्यमयी र रोचक देखिन्छ । हामीले नेपालका सन्दर्भमा ‘असार’ महिना भनिरहँदा विश्वको अर्को कुनामा यसको अर्कै अस्तित्व र उत्खनन फेला पर्छ, जसले मानव सभ्यताको गहिरो अन्तरसम्बन्धलाई उजागर गर्छ । भौगोलिक रूपमा नेपालबाट हजारौं माइल टाढा रहेको इरानको गाउँ र हाम्रो महिनाको नाम कसरी मिल्यो ? यो एउटा गम्भीर ऐतिहासिक विश्लेषणको विषय हो । प्राचीन आर्य सभ्यता र भारोपेली भाषा परिवारको ऐतिहासिक बसाइँसराइ र सम्बन्धका कारण यी शब्दहरूमा समानता आएको हुन सक्छ । त्यस्तै, प्राचीन इजिप्टको सांस्कृतिक मिथकमा मृत्यु र पुनर्जन्मका देवतालाई ‘ओसिरिस’ वा त्यहाँको स्थानीय लवजमा ‘असार’ भनिन्छ, जसलाई पुनरुत्थान र कृषिका देवताका रूपमा पुजिन्छ । अर्कोतर्फ, इस्लाम धर्ममा समय र कर्मको महŒव बुझाउने तेस्रो प्रार्थनालाई ‘अस्र’ भनिन्छ । के यी विषयवस्तुहरू हाम्रो कर्म, संस्कृति र गतिविधिहरूसँग मिल्नु केवल एउटा आकस्मिक संयोग मात्र हो, कि यसभित्र मानव सभ्यताको कुनै गहिरो ऐतिहासिक रहस्य लुकेको छ ?
असार १५ को उत्सवः प्राकृतिक चिकित्सा र रैथाने विज्ञान
नेपाली परम्परामा असार १५ लाई राष्ट्रिय धान दिवस र दही–चिउरा खाने पर्वका रूपमा विशेष उल्लासका साथ मनाइन्छ । यो दिन असारे झरीले निथ्रुक्क रुझ्दै, माटोसँग सामीप्यता गाँस्दै हिलो छ्यापाछ्याप गरेर ‘हिलो खेल’ खेलिन्छ । तर, यो केवल क्षणिक मनोरञ्जन वा रमाइलो मात्र होइन, यसको पछाडि गहिरो वैज्ञानिक र प्राकृतिक चिकित्साको रहस्य लुकेको छ ।
प्राकृतिक चिकित्सामा माटो विधिको सर्वाधिक उच्च स्थान छ । खेतको शुद्ध, प्राकृतिक र विषरहित हिलो शरीरमा लतपत्ताउँदा छालाका अनेकौं विकारहरू हट्छन् । शरीरले शीतलता पाउँछ र पृथ्वीको चुम्बकीय ऊर्जा सिधै मानव शरीरमा सञ्चारित हुन्छ र विषाक्तता निष्कासन हुन्छ । 
दही–चिउराको न्यूट्रिसन अर्को महŒवपूर्ण विषय हो । असार १५ मा खाइने दही, केरा, आँप र चिउराको सम्मिश्रणले शरीरलाई तत्काल चाहिने उच्च ऊर्जा प्रदान गर्छ । दहीमा पाइने ‘प्रोबियोटिक्स’ले पाचन प्रणालीलाई सुदृढ बनाउँछ भने कार्बोहाइड्रेट र भिटामिनयुक्त मौसमी फलफूलले कृषकको कार्यक्षमता बढाउँछन् । त्यसैले, स्वास्थ्य, कृषि, विज्ञान र उत्पादनका तीनवटै दृष्टिकोणबाट असार १५ एउटा परिपूर्ण र वैज्ञानिक पर्व हो । 
वर्तमानको मार्मिक यथार्थः युवा पलायन 
विगतमा असार महिनामा गाउँघरमा पञ्चेबाजा घन्किन्थ्यो, रोपाहार र बाउसेका अमूर्त असारे भाकाका गीतहरूले पाखापखेरा र वनजंगल गुञ्जायमान हुन्थे, आज तिनै गाउँहरू एउटा मसानघाट जस्तै सुनसान र उदास छन् । वैदेशिक रोजगारीको मृगतृष्णा र राज्यको अदूरदर्शी नीतिका कारण लाखौं ऊर्जावान् युवाहरू खाडीको ५० डिग्रीको रातो घाममा आफ्नो अमूल्य पसिना र रगत बगाउन बाध्य छन् । युवा शक्ति पलायन हुँदा नेपालका पहाडी र ग्रामीण भेगका ती उर्वर र सुन फलाउने खेतका गराहरू आज बाँझै छन् । हरियाली छाउने र धानका बाला झुल्ने खेतका गराहरूमा अहिले सिरु, काँढा र झाडी पलाएका छन् । बुढाबुढी, महिला र साना केटाकेटी मात्र बाँकी रहेको गाउँमा आज अर्मपर्म गर्ने छिमेकी र खेतालाको चरम अभाव छ । यसले गर्दा कृषि उत्पादनमा देश ऐतिहासिक रूपमा पछाडि धकेलिएको छ र हामी खाद्यान्नमा पूर्ण रूपमा परनिर्भर बन्दै गएका छौं ।
राष्ट्रिय उत्पादन र अर्थतन्त्रमा परेको यो नकारात्मक प्रभावले हाम्रो अर्थतन्त्रलाई मात्र होइन, हाम्रो मौलिक परम्परा, संस्कृति र रैथाने चाडपर्वलाई समेत धराशायी बनाउँदै लगेको छ । हाम्रो सामूहिक दुर्भाग्य हो कि आजको युवाविहीन असारले केवल आकाशबाट झरी र आँसु मात्र ल्याउँछ, देशमा उत्साह, उमंग र समृद्धिको क्रान्ति ल्याउन सक्दैन ।
गाउँको आरोग्यता र सहरी जीवनको कोलाहलपूर्ण कृत्रिमता
सहरी जीवन भौतिक रूपमा सुविधासम्पन्न, झकिझकाउ र आधुनिक देखिए तापनि यो भित्रभित्रै प्रदूषण, मानसिक तनाव, कोलाहल र मिसावटयुक्त खानपानले ग्रस्त छ । व्यस्तता र कृत्रिमताका कारण सहरी मानिसहरू क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता अनेकौं नसर्ने तथा घातक रोगहरूको सिकार भइरहेका छन् । यसको ठीक विपरीत गाउँको जीवन कठिन भए पनि प्राकृतिक, कञ्चन र स्वच्छ छ । सहरको उपभोक्तावादी र बजारमुखी जीवनशैली बिताउनेहरूभन्दा गाउँमा माटो, हिलो र पसिनासँग पवित्र नाता जोड्ने कृषकहरू धेरै निरोगी, सुखी र दीर्घायु छन् । गाउँको हावापानी, स्वच्छ पानी र शारीरिक श्रममा नै वास्तविक आरोग्यता र दीर्घजीवनको रहस्य लुकेको छ ।
राज्यको दायित्व र पुनरुत्थानको भावी दिशा
आफ्नो थातथलो छोड्ने, सहर केन्द्रित हुने र पहाडका उर्वर जमिन बाँझो राख्ने यो आत्मघाती प्रवृत्तिलाई रोक्न राज्य र सरकारले तत्कालै ठोस, व्यावहारिक र क्रान्तिकारी कदम चाल्न जरुरी भइसकेको छ । आफ्ना नागरिकलाई आफ्नै गाउँमा बस्ने, गर्वका साथ बाँच्ने र श्रम अनुसारको कमाउने वातावरण मिलाउनु लोकतान्त्रिक राज्यको प्रमुख दायित्व हो । यसका लागि निम्न कार्यहरू युद्धस्तरमा गरिनुपर्दछ ।
जब गाउँमै रोजगारी, उचित आम्दानी र सामाजिक आत्मसम्मान मिल्ने वातावरण बन्छ, तबमात्र हाम्रा युवाहरू देशको माटोमा रोकिनेछन् र हाम्रा पहाडका गराहरू पुनः असारे गीतका साथ हराभरा हुनेछन् ।
माटोको सुगन्ध र आत्मनिर्भर राष्ट्रको सपना
असार केवल बाह्र महिनाको एउटा पाना मात्र नभएर सिंगो नेपाली पहिचान, संस्कृति, श्रम र जीवनपद्धतिको जीवन्त ऐना हो । यसको वैश्विक शाब्दिक संयोगले प्राचीन मानव सभ्यताको एकात्मकता र सार्वभौमिकतालाई दर्साउँछ भने यसको माटो चिकित्सा र परम्परागत खानपानले हाम्रा पुर्खाहरूको रैथाने विज्ञान कति उन्नत थियो भन्ने प्रमाणित गर्छ । तर, वर्तमानको युवा पलायन, रित्तिँदै गरेका गाउँ र बाँझिँदै गएका खेतका गह्राहरूले हामीलाई गम्भीर रूपमा गिज्याइरहेका छन् र एउटा चुनौती दिइरहेका छन् । हाम्रो मौलिक ‘कृषि धर्मलाई जोगाउनु र माटोको सुगन्धलाई कायम राख्नु केवल कृषकको मात्र होइन, प्रत्येक देशभक्त नेपालीको साझा राष्ट्रिय कर्तव्य हो । सरकारले बेलैमा राष्ट्रिय संकट बुझेर गाउँमुखी, कृषकमुखी र व्यावहारिक नीतिहरू ल्याई युवा शक्तिलाई देशकै माटोसँग जोड्न सक्नुपर्छ । तब मात्र असार १५ को वास्तविक सार्थकता र गरिमा रहनेछ । माटो जोगिए मात्र देश जोगिन्छ र पसिना बगाउने कृषक स्वस्थ र सुखी रहे मात्र राष्ट्र आत्मनिर्भर बन्न सक्छ ।
(लेखक ढकाल प्राकृतिक चिकित्सा विज्ञान कलेजका प्राचार्य हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्