चापाबोटे आधारभूत विद्यालय बाल विकास कक्षामा अध्ययनरत विद्यार्थी नाम परिवर्तन विशाल तामाङ (नाम परिवर्तन)को अभिभावक रिमा तामाङ (नाम परिवर्तन)को सोच र व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको छ । अभिभावक शिक्षा सत्रमा सहभागी हुनुपूर्व रिमाले विशाललाई गाली गरेर, हप्काएर वा डर देखाएर सिकाउने गर्थिन् । उनी विचारमा बालबालिकालाई पढाउने जिम्मेवारी विद्यालय र शिक्षकको मात्र हो, अभिभावकले घरमा सिकाउन आवश्यक छैन भन्ने धारणा राख्ने गर्थिन् । विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ताले नियमित रूपमा करिब ५ महिनासम्म सञ्चालन गरेको अभिभावक शिक्षा सत्रहरूमा सहभागी भएपछि उनको बुझाइमा परिवर्तन आएको छ । उक्त कार्यक्रममा सहभागी हुँदा बालबालिकाको सिकाइ घरबाटै सुरु हुने रहेछ र दैनिक घरायसी कामका क्रममा पनि उनीहरूलाई सिकाउन सकिने रहेछ भन्ने कुरा आपूm मात्र नभएर अन्य अभिभावकहरूलाई समेत सिकाउन थालेकी छिन् ।
प्रारम्भिक बाल विकास तहलाई विद्यालय तयारीको आधारभूत चरणका रूपमा लिइन्छ, जहाँ बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका अत्यन्त महŒवपूर्ण रहन्छ । यही तथ्यलाई आत्मसात् गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारी र जिपिइ किक्स युनिभर्सिटी अफ ग्ल्यासो लण्डन स्कुल हाइजिङ ट्रोपिकल मेडिसिन, आइआरडिसी, आइसीसीडीडीआरको आर्थिक सहयोग, शिक्षा विकास तथा समन्वय इकाई तथा स्थानीय तहहरूसँगको समन्वयमा नुवाकोट र धादिङ जिल्लाका चार स्थानीय तहअन्तर्गतका २४ वटा विद्यालयहरूमा बालबालिका, अभिभावक र शिक्षकद्वारा विद्यालय तयारीको अन्तराल हटाउने र विस्तार गर्ने अनुसन्धानमूलक परियोजना सञ्चालन भइरहेको छ ।
उक्त परियोजनाअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र तालिम शाखा, भक्तपुर, राष्ट्रियस्तरका प्रारम्भिक बाल विकाससम्बन्धी विज्ञहरूसँगको सहकार्यमा प्रारम्भिक बाल विकास र समावेशी शिक्षासम्बन्धी सहजकर्ता तालिम सहजीकरण पुस्तिका (कष्टमाइज्ड) र अभिभावक शिक्षा सहजीकरण पुस्तिका विकास गरिएको थियो । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय, जिल्ला, स्थानीयस्तरमा तालिम सञ्चालनका लागि प्रशिक्षण प्रशिक्षक तयार गरिएको थियो । सोही सहजीकरण पुस्तिकाका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ताहरूलाई आवश्यक तालिम प्रदान गरिएको थियो । तालिम प्राप्त सहजकर्ताहरूले प्रत्येक २ साताको अवधिमा ९ वटा अभिभावक शिक्षा सत्र सञ्चालन गरी विद्यालय तयारीसम्बन्धी अभिभावकहरूको ज्ञान, सीप र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहजीकरण गरिएको थियो । अभिभावक सत्रमा प्रारम्भिक बाल विकास पाठ्यक्रममा केन्द्रित रही प्रारम्भिक बाल विकासका बालबालिकाहरूको विद्यालय तयारी, भाषिक, गणितीय, सामाजिक तथा संवेगात्मक सीप विकासमा अभिभावकको भूमिका र जिम्मेवारी, सकारात्मक अभिभावकत्व र समावेशी शिक्षासम्बन्धी विभिन्न विषयवस्तुहरू समेटिएका थिए ।
यसै सन्दर्भमा बच्छला माध्यमिक विद्यालयका अभिभावक सीमा पाठक (नाम परिवर्तन) भन्नुहुछ, ‘मेरी छोरीमा बोलाइसम्बन्धी समस्या थियो । पहिले उनी आफ्नो नाम भन्न नसक्ने आफूले भन्न खोजेको कुरा व्यक्त गर्न नसक्ने थिइन् । स्वभावले उनी अत्यन्त चञ्चले थिइन्, कक्षामा पटक्कै नबस्ने, निरन्तर यताउता डुलिरहने र कुनै पनि गतिविधिमा लामो समय ध्यान केन्द्रित गर्न नसक्ने गर्थिन् । साथै, खाजा आफैं खान सक्दैन थिइन, साथीहरूसँग घुलमिल भएर खेल्न रुचाउँदैन थिइन् । यसकारण म उनको व्यवहार र सिकाइप्रति निकै चिन्तित थिएँ । अभिभावक शिक्षा सत्रमा नियमित रूपमा सहभागी हुने अवसर पाएँ । सत्रमा सिकेका सीपहरूलाई मैले आफ्नो व्यवहारमा प्रयोग गर्न थालें । हाल गाली गर्नु, रिसाउनु, झर्काे मान्नुको साटो अहिले उनको भावना बुझ्ने, उनले भन्न खोजेको कुरा ध्यानपूर्वक सुन्ने र गल्ती हुँदा सजाय दिनुको सट्टा कारण बुझाएर महसुस गराउने तथा प्रोत्साहन गर्ने गर्छु । साथै, उनलाई खेल, कथा, गीत र दैनिक क्रियाकलापमार्फत सिकाइतर्फ आकर्षित गर्ने प्रयास गर्दछु । घरमा पनि उनलाई आफ्नै काम आफैं गर्न उत्प्रेरित गर्दछु र साथीहरूसँग घुलमिल हुन प्रोत्साहन दिन्छु । परिणामस्वरूप मेरो छोरीमा उल्लेखनीय सुधार आएको छ । हाल उनी आफ्नो नाम स्पष्ट रूपमा भन्न सक्छिन्, कक्षामा बसेर सिकाइ गतिविधिमा सहभागी हुन्छिन्, पहिलेको जस्तो अत्यधिक चकचक गर्दिनन् र शिक्षकको निर्देशन पनि पछ्याउन थालेकी छिन् । साथीहरूसँग खेल्न रुचाउने, आफ्ना आवश्यकताहरू व्यक्त गर्न सक्ने र दैनिक क्रियाकलापमा बढी आत्मनिर्भर बन्ने प्रयास गरिरहेकी छिन् । मेरी छोरीमा आएको यस परिवर्तनले मलाई अत्यन्त खुसी र आशावादी बनाएको छ ।’
हाल अभिभावकको व्यवहारमा आएको परिवर्तनले गर्दा बालबालिकाको सिकाइमा मात्र नभई समग्र बाल विकास शिक्षकको बुझाइ तथा अभिभावसँगको सम्बन्धमा सुधार आएको देखिन्छ ।
बागेश्वरी माध्यमिक विद्यालयका बाल विकास सहजकर्ता माया न्यौपाने भन्नुहुन्छ, ‘पहिले अभिभावकहरूले बालबालिकालाई विद्यायलमा भर्ना गर्नेबित्तिकै लेख्न र पढ्न जानेको हुनुपर्छ भन्नुहुन्थ्यो, कति जनाले त गुनासो पनि गर्नुहुन्थ्यो । तर यो अभिभावक शिक्षाको ९ सत्रसम्म आइपुग्दा उहाँहरू बालबालिकाको विकास र सिकाइबारे धेरै जानकार भइसक्नुभएको छ र अहिले उहाँहरूको गुनासो कम भएको छ ।’
अभिभावक शिक्षाको प्रभावकारिता घरमा मात्र नभई बाल विकास कक्षाकोठामा पनि देखिन थालेको छ । अभिभावकहरू समय–समयमा विद्यालय आउने, बालबालिकाको पढाइ कस्तो भइरहेको छ बुझ्ने र सामग्री निर्माणमा समेत सहयोग गर्ने गर्नुभएको थाक्रेस्थित लाटीदेवी माध्यमिक विद्यालयकी बाल विकास सहजकर्ता सीता कुँवरले बताउनुभयो । उहाँ थप्नुहुन्छ, ‘अभिभावकहरू आफ्ना बालबालिकाप्रति सकारात्मक व्यवहार विकास गर्नुका साथै उनीहरूलाई कक्षाकोठामा सिकाउन सकिने स्थानीय सामग्रीहरू जस्तैः डोको, डालो, काठका औजारहरू आदि बनाएर समेत ल्याइदिने गर्नुभएको छ । यसले गर्दा कक्षाकोठाका बालबालिकाहरूलाई वास्तविक सामग्री देखाएर सिकाउन सजिलो भएको छ ।’
यस परियोजनामार्फत ३३८ जना प्रारम्भिक बालविकास कक्षाका अभिभावकहरूले अभिभावक शिक्षा प्राप्त गरेका छन् । जसमध्ये १५ जना अपांगता भएका बालबालिकाका अभिभावकहरू सहभागी हुनुहुन्थ्यो । साथै परियोजनाअन्तर्गतका शैक्षिक सरोकारवाहरूसँग नियमित सुपरीवेक्षण, अनुगमन तथा कक्षाकोठा अवलोकनका गतिविधिहरू सञ्चालन गर्दै आएको छ । जसले कार्यक्रमको गुणस्तर अभिवृद्धि र प्रभावकारी कार्यान्वयनमा महŒवपूर्ण योगदान पु¥याएको छ । यो एक अनुसन्धानमूलक परियोजना हो र यसको विस्तृत परिणाम र उपलब्धिहरूबारे अध्ययन भइरहेको छ ।
(लेखक सुनार गोल्डेन कम्युनिटीमा आबद्ध छन् ।)