नेभिगेशन
खेलकुद

नतिजा उल्ट्यायो कनेक्टेड बल टेक्नोलोजीले

एटलान्टा (एपी) – फुटबलमा प्रयोग हुँदै आएको ‘कनेक्टेड बल टेक्नोलोजी’ले विश्वकप इतिहासकै सबैभन्दा नाटकीय क्षणमध्ये एक सिर्जना गरेको छ । यही प्रविधिका कारण पोर्चुगलविरुद्ध खेलको इन्जुरी समयमा क्रोएसियाले गरेको बराबरी गोल रद्द भयो, जसले पोर्चुगल अन्तिम १६ मा पुगेको छ भने क्रोएसियाको यात्रा समाप्त भएको छ ।
गत बिहीबार टोरोन्टोमा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित ग¥यो । खेलको अन्तिम समयमा जोस्को ग्भार्डियोलले गरेको गोलले क्रोएसियालाई बराबरीमा पु¥याएको जस्तो देखिएको थियो । तर भिडियो सहायक रेफ्री (भीएआर)को समीक्षा र रेफ्री एस्पेन एस्कासको निर्णयपछि उक्त गोल अफसाइड ठहर गर्दै रद्द गरियो ।
क्रोएसियाली खेलाडी र समर्थकहरूले उक्त निर्णयलाई विवादास्पद मानेका थिए । उनीहरूको दाबी थियो कि भिडियो रिप्लेमा पनि इगोर मान्तानोभिचले बल छोएको स्पष्ट देखिँदैन । तर फिफाले भने एडिडासले विकास गरेको ‘ट्रियोन्डा’ आधिकारिक विश्वकप बलमा जडान गरिएको अत्याधुनिक सेन्सरले मान्तानोभिचको टाउकोले बललाई अत्यन्त हल्का रूपमा छोएको पुष्टि गरेको जनाएको छ । त्यसपछि बल मारियो पलासिचतर्फ गएको र उनी अफसाइड अवस्थामा रहेकाले गोल अमान्य भएको फिफाको निष्कर्ष छ ।
फिफाका अनुसार बलभित्र जडान गरिएको सानो ‘इनर्सियल मेजरमेन्ट युनिट (आईएमयू)’ सेन्सरले प्रतिक्षण ५०० पटक अर्थात् ५०० हर्जको दरमा बलको गति र तीन आयाममा हुने सूक्ष्म चाल मापन गर्छ । यसले खेलाडीले बल छोएको ठ्याक्कै क्षण पत्ता लगाउन सक्छ ।
यो प्रविधि रंगशालाभरि जडान गरिएका क्यामेराबाट प्राप्त खेलाडीहरूको ट्रयाकिङ तथ्यांकसँग जोडिएको हुन्छ । यी सबै विवरण वास्तविक समयमै भिडियो सहायक रेफ्रीसम्म पुग्ने भएकाले अफसाइड मात्र होइन, ह्यान्डबल र पेनाल्टीजस्ता निर्णय लिन पनि सहयोग पुग्छ ।
यस निर्णयलाई लिएर विवाद चर्किनुको मुख्य कारण भिडियो रिप्लेका विभिन्न कोणबाट हेर्दा पनि मान्तानोभिचले इभान पेरिसिचको क्रसमा बल छोएको स्पष्ट रूपमा देखिँदैनथ्यो । त्यसपछि भीएआरले रेफ्री एस्कासलाई मैदानछेउको मनिटरमा दृश्य हेर्न आग्रह गरेको थियो । रिप्लेमा फिफाले ‘हार्टबिट ग्राफिक’ भन्ने संकेत देखाएको थियो, जसमा बल छोएको भनिएको क्षणमा स्पष्ट तरंग देखिएको थियो ।
जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी (जर्जिया टेक)को विद्युतीय तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्राध्यापक मानोस टेन्टजेरिसका अनुसार यो प्रविधिले बल जतिसुकै तीव्र गतिमा गुडिरहेको वा घुमिरहेको भए पनि त्यसको अवस्थिति अत्यन्त सटिकतासाथ पत्ता लगाउन सक्छ । ‘बलको अवस्थिति ९९.९९ प्रतिशतसम्म सही रूपमा पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘खेलाडीहरू कहाँ छन्, जुत्ताको टुप्पोसम्म पनि ठ्याक्कै देख्न सकिन्छ, जुन कहिलेकाहीँ अफसाइड वा अनसाइड छुट्याउने आधार बन्छ ।’
फिफाले पहिलोपटक सन् २०२२ को विश्वकपमा यो कनेक्टेड बल टेक्नोलोजी प्रयोग गरेको थियो । त्यसपछि सन् २०२४ को पुरुष युरोपियन च्याम्पियनसिप (युरो)मा पनि यसको प्रयोग गरिएको थियो । सन् २०२० देखि २०२२ सम्म विभिन्न परीक्षण गरिएपछि अरब कप र क्लब विश्वकपजस्ता प्रतियोगितामा पनि यो प्रविधिको परीक्षण गरिएको थियो ।
यसअघि पनि युरो २०२४ मा यही प्रविधिले निर्णायक भूमिका खेलेको थियो । आयोजक जर्मनीविरुद्धको खेलमा डेनमार्कका योआखिम एन्डरसनले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेको सेन्सरले पत्ता लगाएपछि भीएआर समीक्षा गरियो र जर्मनीले पेनाल्टी पायो । काइ हाभेट्र्जले गोल गर्दै जर्मनीलाई २–० को जित दिलाएका थिए ।

त्यसपछि डेनमार्कका प्रशिक्षक कास्पर ह्युलमान्डले भनेका थिए, ‘मेरो विचारमा फुटबल यसरी खेलिनु हुँदैन ।’
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले पनि आफ्नो टोलीको पीडादायी बहिर्गमनपछि यस्तै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यस्ता निर्णयहरूले फुटबलको आनन्द नै समाप्त गरिदिन्छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्