नेभिगेशन
दृष्टिकोण

व्यावहारिक शिक्षा आजको आवश्यकता


आफ्नै परम्परित शिक्षालाई सुधारेर आजको युगानुकूल गरिनुपर्छ । विदेशतिरका विकसित देश यसै गरी बनेका हुन् । आजको अवस्थामा आएको बेलायती संस्करणको शिक्षाले हामीलाई अन्धभक्त बनाएको छ । शिक्षा चेतना ब्युँझाउने हुनुपर्छ, मौका खोजुवा र खन्चुवा हुनुहुँदैन ।

नेपालको हालको शिक्षाले बेरोजगारी, परजीवी, पलायनवादी युरोप, अमेरिकामा गएर काम गरी जीवन बिताउन विवश जनशक्ति उत्पादन गरेको छ । अहिले नेपालमा चलिरहेको शिक्षा स्वदेशको विकास, उन्नति र प्रगतिका लागि हुँदै होइन । यसले त विदेशीको नक्कल गरेको छ ।   
नयाँ शिक्षा योजना २०३० ले नैतिक, व्यावसायिक र स्वावलम्बीपनमा कुठाराघात ग–यो भनेर सर्वत्र विरोध हामीले नै गरेका हौँ । यस शिक्षाले राष्ट्रिय विकास सेवा नामक कार्यक्रम चलाएको थियो । त्यो राम्रो थियो तर अरूको दानमा चलेको हुनाले हामीले थेग्न सकेनौँ । अहिले नेपालमा चलेको शिक्षा हाम्रो होइन, बेलायती दिमागको हो ।  
अंग्रेजी भाषा वैज्ञानिक भाषा हो र प्राचीन भारतीय आर्य भाषा  अवैज्ञानिक र आध्यात्मिक भाषा हुन् । यिनले आधुनिक विकास गर्न सक्दैनन्, यिनमा ज्ञान भए पनि विज्ञान र तर्क तथा शिल्पशास्त्र छैन भनेर आलोचना गरियो । अहिले हामीले बुझ्दा इञ्जिनियरिङअन्तर्गतका सबै विधा, उपविधा हाम्रो शिल्पशास्त्र या स्थापत्य शास्त्रको पश्चिमीकरण गरिएको रहेछ । पश्चिमी शिक्षाले हाम्रो देशको विकास कदापि गर्न सक्दैन ।  
अर्कोतर्फ चीन, जापान, जर्मनीले आ–आफ्नै भाषामा रहेका ज्ञान, विज्ञान र शिल्प तथा स्थापत्य शास्त्रलाई प्राचीन भारतीय आर्य भाषाको वैदिक स्थापत्य चिन्तनलाई मिसाएर त्यत्रो विकास गरेका रहेछन् भन्ने चाल पाउँदा त हामी अंग्रेजको पुत्ला पो बनिसकेछौँ ।
भाषा, संस्कृति ज्ञानविज्ञान सबै एकअर्कासँग आबद्ध हुन्छन् । यो कुरो नबुझेर हामीले हाम्रा पौरस्त्य संस्कारलाई युगानुकूल गर्ने शिक्षा योजना बनाउनुको बदला अर्कै संस्कार तथा संस्कृतिको शिक्षा लागू गर्दा हाँस न बकुल्लो बनायौँ हामीले हाम्रा उत्तर पुस्तालाई । यसले गर्दा उत्तर पुस्ता स्वदेश बस्न सकेनन् र दैनिक सयौँको संख्यामा युरोप, अमेरिका पलायन हुँदैछन् । यसतर्फ हामी कसैको ध्यान जाने कि नजाने ? 
अबको सरकारले प्रधानमन्त्री, शिक्षामन्त्री, राष्ट्रपति आदि जालझेल र तिगडम पण्डित होइन, विश्वविद्यालय सभामा राष्ट्रमा विख्यात भएर नाम चलेकामध्ये योग्यतमलाई कुलपति बनाउने पद्धतिको विकास गर्नुपर्छ । 
पाठ्यक्रमलाई प्रत्येक पाँच वर्षमा पढाउने प्राध्यापक, शिक्षकले नै पुनर्मूल्यांकन र परिमार्जन गर्ने गर्नुपर्छ । तिनले भनेबमोजिमको पठनपाठनको वातावरण सिर्जना गर्ने, बेतनको व्यवस्था गर्ने, तालिम र अभिमुखीकरण गोष्ठी सञ्चालन गर्ने,  अनुसन्धान गर्ने र उपयुक्त तथ्यलाई कार्यान्वयनमा लैजाने कामचाहिँ सरकारले गर्नुपर्छ ।
आफ्नै परम्परित शिक्षालाई सुधारेर आजको युगानुकूल गरिनुपर्छ । विदेशतिरका विकसित देश यसै गरी बनेका हुन् । हाम्रा सरकारमा जाने, शिक्षामा काम गर्ने सबै ज्ञान बेचुवा, चेतना चेपुवामात्र भएछन् । आजको अवस्थामा आएको बेलायती संस्करणको शिक्षाले हामीलाई अन्धभक्त बनाएको छ । शिक्षा चेतना ब्युँझाउने हुनुपर्छ, मौका खोजुवा र खन्चुवा हुनुहुँदैन । 
अतः यसलाई परिमार्जन गरेर ज्ञानका क्षेत्रमा ज्ञानीकै दबदबा चल्ने पद्धति विकास गर्नुपर्छ । अनिमात्र शिक्षाले राज्यलाई र समाजलाई मात्र होइन, विश्वलाई नै आलोकित पार्न सक्छ ।
आत्मिक, आध्यात्मिक, अधिभौतिक विद्याको पठनपाठन आवश्यक हुन्छ । आत्मिक विद्याले नैतिकता, सदाचार, संस्कार, संस्कृति आदि सिकाएर शिक्षार्थीलाई विवेकी, दूरदर्शी र चिन्तनशील बनाउँछ । 
आधुनिकतम विज्ञान र प्राचीनतम विधा उपविधाको केन्द्र बनाएर अघि बढाइएको देखिन्छ । खिचडीतन्त्रमा कुनै पनि विद्याका विधाको विकास गर्न सकिँदैन । त्यसैले नेपाली माटो सुहाउँदो शिक्षा नै आजको आवश्यकता हो । यसतर्फ सबै सचेत हुन जरुरी छ । अन्यथा पछुताउनुको विकल्प देखिँदैन ।
(लेखक दाहाल शिक्षासेवी हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्