हरेक खेलमा ४ मिनेट २० सेकेन्ड । सम्पूर्ण प्रतियोगिताभर जोड्दा ७ घण्टा ३० मिनेट ४० सेकेन्ड । यति समय विश्वकपका अनिवार्य ‘हाइड्रेसन ब्रेक’का क्रममा विश्वका धेरै देशका दर्शकहरूले अतिरिक्त टेलिभिजन विज्ञापन हेर्न बाध्य भइरहेका छन् ।
बेलायतमा भने अवस्था फरक छ । त्यहाँ बीबीसी र आईटीभीमार्फत खेल हेर्ने दर्शकहरूले खेलाडीले पानी पिएको, प्रशिक्षकको रणनीति र विश्लेषकहरूको टिप्पणी हेर्न पाउँछन् । तर, अन्य धेरै देशमा भने यही समय विज्ञापनदाताहरूका लागि सुनौलो अवसर बनेको छ । खेल रोकिएलगत्तै दर्शकलाई कम्पनीका उत्पादन र सेवाका विज्ञापन देखाइन्छ ।
फिफाको नियमअनुसार रेफ्रीले तीन मिनेटको हाइड्रेसन ब्रेक घोषणा गरेको २० सेकेन्डपछि विज्ञापन सुरु गर्न पाइन्छ र खेल पुनः सुरु हुनुभन्दा ३० सेकेन्डअघि समाप्त गर्नुपर्छ । यसरी प्रत्येक खेलमा एउटा प्रसारकले अधिकतम आठवटा ३०–सेकेन्डका विज्ञापन प्रसारण गर्न सक्छ । सम्पूर्ण विश्वकपभर यसको संख्या ८३२ वटा विज्ञापन स्लट पुग्छ ।
विशेषज्ञहरूका अनुसार अमेरिकामा फक्स स्पोट्र्समा विश्वकपको ३० सेकेन्डको एउटा विज्ञापनको मूल्य औसतमा २ लाखदेखि ३ लाख अमेरिकी डलरसम्म पर्छ । अमेरिकी टोलीका खेल तथा अन्तिम चरणका खेलमा यही शुल्क ७ लाख ५० हजार डलरसम्म पुग्छ ।
यस हिसाबले अमेरिकामा मात्र हाइड्रेसन ब्रेकका विज्ञापनबाट २५ करोड डलरभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।
समर्थकको असन्तुष्टि
हाइड्रेसन ब्रेकले खेलको गति र लय बिगारेको भन्दै प्रशिक्षक, खेलाडी र समर्थकबाट व्यापक आलोचना भइरहेको छ । धेरैजसो रंगशालामा ब्रेक घोषणा हुँदा दर्शकले हुटिङसमेत गरेका छन् । तर फिफाले भने उत्तर अमेरिकाको गर्मीमा खेलाडीको स्वास्थ्य सुरक्षाका लागि हाइड्रेसन ब्रेक अनिवार्य गरिएको जनाएको छ । खेलको निष्पक्षता कायम राख्न सबै खेलमा एउटै नियम लागू गरिएको फिफाको भनाइ छ । त्यसैले वातानुकूलित र छाना भएका रंगशालामा पनि यो व्यवस्था लागू गरिएको छ । बेलायतका दर्शकले हाइड्रेसन ब्रेकमा विज्ञापन हेर्नु नपर्नुको कारण प्रसारणसम्बन्धी नियम हो ।
बीबीसी सार्वजनिक प्रसारक भएकाले विज्ञापन नै देखाउँदैन । आईटीभीलाई पनि बेलायती सञ्चार नियामक अफकमको नियमले खेल चलिरहेका बेला निश्चित सीमाभन्दा बढी विज्ञापन देखाउन अनुमति दिँदैन । यदि आईटीभीले खेलकै बीचमा विज्ञापन चलायो भने मध्यावधि (हाफटाइम)मा देखाउन पाउने विज्ञापन घटाउनुपर्ने हुन्छ ।
अमेरिकामा त झन् ‘अमेरिकी शैली’
अमेरिकामा भने फक्स स्पोट्र्सले हाइड्रेसन ब्रेकको अधिकतम समय विज्ञापनका लागि प्रयोग गरिरहेको छ । खेल पूर्ण रूपमा हटाएर पूरा स्क्रिनमा विज्ञापन देखाइन्छ । यति मात्र होइन, हाइड्रेसन ब्रेकलाई नै एउटा कम्पनीको नाममा ‘स्पोन्सर्ड’ भनेर प्रस्तुत गरिन्छ । त्यसमाथि फिफाको प्रायोजक कोकाकोलाका पेय पदार्थ खेलाडीले पिउँदै गरेको दृश्य पनि देखिने भएकाले दर्शकले एउटै ब्रेकमा तीन तहका ब्रान्ड सन्देश देखिरहेका हुन्छन् ।
पेन्सिल्भेनिया विश्वविद्यालयको व्हार्टन स्कुलका खेल व्यवस्थापनका प्राध्यापक रोब डी जिसी भन्छन्, ‘अमेरिकी दर्शक दशकौंदेखि खेलकै बीचमा विज्ञापन हेर्न अभ्यस्त छन् । त्यसैले यस्तो परिवर्तन उनीहरूलाई अस्वाभाविक लाग्दैन ।’ तर स्पेनी भाषामा खेल प्रसारण गर्ने अमेरिकी च्यानल टेलिमुन्डोले भने विज्ञापन नदेखाउने निर्णय गरेको छ ।
क्यानडाको पहिलो खेल प्रसारणका क्रममा टेलिमुन्डोका कमेन्टेटरले भनेका थिए, ‘हामी पुरानै शैली मन पराउँछौं । खेलाडीहरूले ब्रेकमा के गरिरहेका छन्, त्यो दर्शकले हेर्न पाउनुपर्छ । हामी समर्थकहरूको उत्साह देखाउन चाहन्छौं, फुटबलमाथि कर्पोरेट प्रभाव होइन ।’
विश्वभर अर्बौं डलरको बजार
अमेरिका मात्र होइन, मेक्सिको, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, स्पेन, चीन, जापान, भारत, अस्ट्रेलिया, मध्यपूर्व र सहारा दक्षिण अफ्रिकाका प्रसारकहरूले पनि हाइड्रेसन ब्रेकमा विज्ञापन प्रसारण गरिरहेका छन् । यी देशहरूमा विज्ञापनको शुल्क अमेरिकाजति महँगो नभए पनि विश्वभर जोड्दा यसको मूल्य करिब एक अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
ओरेगन विश्वविद्यालयकी मार्केटिङ विभाग प्रमुख टी. बेटिना कर्नवेल भने यसमा प्रश्न उठाउँछिन् । उनका अनुसार खेलको स्वाभाविक प्रवाह तोडेर विज्ञापन देखाउँदा दर्शकमा नकारात्मक भावना उत्पन्न हुन सक्छ, जसले विज्ञापनको प्रभाव नै घटाउन सक्छ । हाइड्रेसन ब्रेकका विज्ञापनबाट फिफाले प्रत्यक्ष आम्दानी गर्दैन । विज्ञापन बेच्ने काम प्रत्येक देशका प्रसारकले आफैं गर्छन् तर यसले विश्वकपको प्रसारण अधिकारको मूल्य बढाउँछ । किनकि प्रसारकले थप विज्ञापन बेचेर बढी आम्दानी गर्न सक्ने भएकाले भविष्यमा फिफाले प्रसारण अधिकार अझ महँगो मूल्यमा बेच्न सक्छ ।
फिफाले भविष्यका विश्वकपमा पनि हाइड्रेसन ब्रेक कायम रहने वा नरहनेबारे औपचारिक निर्णय गरेको छैन । तर सन् २०३० को विश्वकप मोरक्को, स्पेन र पोर्चुगलजस्ता गर्मी हुने देशमा आयोजना हुने भएकाले यो व्यवस्था निरन्तर रहने सम्भावना बलियो देखिन्छ ।
‘लाइभ स्पोट्र्स मिडिया’ पुस्तकका लेखक डेनिस डेनिंगर भन्छन्, ‘फक्स स्पोट्र्सले यो विश्वकपको प्रसारण अधिकार करिब ४८ करोड ५० लाख डलरमा किनेको थियो । यदि हाइड्रेसन ब्रेकबाट मात्रै २५ करोड डलर कमाउँदैछ भने त्यो सम्झौता निकै सस्तो सावित भयो ।’ उनका अनुसार अर्को पटक प्रसारण अधिकार बेच्दा फिफाले प्रसारकलाई थप विज्ञापन बेच्न सकिने आधार देखाएर अझ बढी रकम माग्नेछ ।
उनले थपे, ‘थप पैसा कमाउने अवसर पाएपछि कसैले पनि ‘अब कम कमाऔँ’ भन्ने गर्दैन ।’ विशेषज्ञहरूका अनुसार विश्वकपले सामान्य दर्शक पनि धेरै तान्ने भएकाले यस्तो परिवर्तन स्वीकार गर्न सजिलो भएको हो । तर इङ्लिस प्रिमियर लिग वा युरोपेली च्याम्पियन्स लिगजस्ता प्रतियोगितामा भने हाइड्रेसन ब्रेकलाई व्यापारिक अवसरका रूपमा प्रयोग गर्ने सम्भावना कम छ । बेलायतमा अफकमका नियम बाधक छन् भने युरोपेली फुटबल महासंघ यूईएफएले पनि निकट भविष्यमा नियम परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । यूईएफएले बीबीसी स्पोर्टलाई दिएको प्रतिक्रियामा भनेको छ, ‘च्याम्पियन्स लिग र युरो २०२८ सहित आगामी कुनै पनि प्रतियोगिताका लागि हाइड्रेसन ब्रेकसम्बन्धी नियम परिवर्तन गर्ने हाम्रो कुनै योजना छैन ।’