नेभिगेशन
दृष्टिकोण

शिक्षाको पुनर्विचारः शिक्षा किन ?

विद्यालय र महाविद्यालय शिक्षा दिने स्थल हुन्, सत्य पनि हो । तर, विद्यालय र महाविद्यालयले बिर्सिएको हुन्छ कि विद्यालयको गेटमा आउँदा नै बालबालिकाले धेरै कुरा सिकिसकेका हुन्छन् । आमाको गर्भबाट नै शिक्षा सुरु हुन्छ भनेर पूर्वीय दर्शन विश्वास गर्दछ । प्रत्येक बालबालिका जीवनको यात्रामा आफ्नो दैनिकी पूरा गर्न सक्ने सिप जस्तैः बोल्न, हिँड्न, खाना खान, अभिवादन गर्न सिकेपछि मात्र विद्यालयको ढोकासम्म पुगेका हुन्छन् र खुला आकाशमुनि धेरै विषय सिकेका हुन्छन् । 
मानव सभ्यताको विकासक्रमलाई नियाल्दा शिक्षा केवल अक्षर र अंकको पहिचान गर्ने माध्यममात्र हो कि जस्तो देखिन थालेको छ । यही शिक्षाले मानिसलाई पशुत्वबाट देवत्वतर्फ डो¥याउने एउटा सेतुका रूपमा कार्य गर्नुपर्छ । 
वास्तवमा प्रत्येक मानिसले बुझ्नुपर्छ, शिक्षा किन चाहिन्छ ? यस प्रश्नको प्रश्नको उत्तर खोज्दा हामीले यसका तीनवटा आयामसँग साक्षात्कार गर्नैपर्छ ः
आत्म–बोध र आन्तरिक रूपान्तरणः शिक्षाको पहिलो र मुख्य उद्देश्य व्यक्तिलाई आफ्नै पहिचान गराउनु हो । आफूभित्र रहेको अज्ञानता, काम, क्रोध, लोभ, मोह,  अहंकार र ईष्र्याजस्ता अवगुणहरूलाई चिनेर तिनलाई त्याग्ने सामथ्र्य शिक्षाले दिनुपर्छ ।
सामाजिक र नैतिक मूल्यको संरक्षणः गीताले भन्छ मानिस एक्लै नांगै जन्मन्छ त्यसपछि घरपरिवारले वस्त्र  लगाइदिन्छन् अनि जब आत्माले शरीर त्याग्छ मानिसले मृत्यु संस्कारमा उसलाई नांगै पारेका हुन्छन् । अर्थात् जसरी ऊ धर्तीमा आयो त्यसरी नै ऊ बिदा भएर जान्छ । दया, करुणा, समानुभूति, परोपकार र क्षमाशीलता जस्ता मानवीय सद्गुणहरू शिक्षाकै माध्यमबाट एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने कुरा शिक्षाले सिकाउन सक्नुपर्छ ।
श्रम र स्वावलम्बनको आधारः शिक्षाले मानिसलाई परनिर्भर होइन, आत्मनिर्भर बनाउनुपर्छ । जीवन जिउनका लागि आवश्यक पर्ने श्रम, सीप र प्रविधिको ज्ञान दिएर व्यक्तिलाई राष्ट्रको उत्पादन प्रणालीसँग जोड्ने काम शिक्षाको हो । विद्यालय तह कक्षा ५ सम्ममा नै विद्यार्थीलाई श्रमसँग परिचित गराउने, कक्षा ६, ७ र ८ मा उनीहरूलाई श्रम चाहे त्यो खेतबारीमा होस चाहे त्यो उद्योगधन्दा कलकारखानामा किन नहोस् त्यसमा संलग्न गराउनका लागि सिप सिकाउन सक्नुपर्छ । त्यसपछि कक्षा ९ देखि १० सम्म प्रयोगात्मक शिक्षामा जोड दिँदै दिनमा १÷२ घन्टा काम गरुन् जसले श्रमको मूल्य सिकाउने हुनेछ । त्यसपछि ११ र १२ को कक्षामा अध्ययन गर्दै गर्दा त पढ्दै कमाउँदैको नीति अबलम्बन गर्नुपर्छ । 
शिक्षाले प्रमाणपत्र प्राप्त गर्न र जागिर खाने लाइसेन्स मात्र नभएर गर्भदेखि घाटसम्म चल्ने यस्तो अनवरत प्रक्रिया हो, जसले मानिसलाई बोलीमा विनम्रता, ओठमा मुस्कान, सोचमा सकारात्मकता र कर्ममा इमानदारिता प्रदान गर्दछ । 
आजको शिक्षा कहाँ चुक्यो ?
आज संसारभरि नै विद्यालय र विश्वविद्यालयहरूको संख्या बढेको छ । साक्षरताको दर माथि उक्लिएको छ । मानिसहरूका हात–हातमा महँगा प्रमाणपत्रहरू छन् । तर, विडम्बना ! जति–जति शिक्षाको प्रचार भइरहेको छ, त्यति नै समाजमा अपराध, भ्रष्टाचार, अहंकार र असन्तुष्टि बढ्दै गएको देखिन्छ । ठूला–ठूला घातक हतियारको निर्माण र तिनको प्रयोग भइरहेको छ । जसले गर्दा मानिसले बिर्सिएको छ पृथ्वी उसको मात्र होइन भन्ने सन्देश । एआई तथा रोबोटले समाज सञ्चालन गरिसकेको छ । तर पनि मानिसले मानिसलाई हत्या गर्न छोडेको छैन । यसले एउटा गम्भीर प्रश्न खडा गर्छ—आजको शिक्षा कतै न कतै पक्कै चुकेको छ ।
कुनै पनि राष्ट्रका लागि आयातित शिक्षा र आयातित सोच हितकारी हुन सक्दैन । आफ्नो नागरिकलाई दिइने शिक्षा आफ्नो राष्ट्रको हावापानी, माटो, धर्म, संस्कार र संस्कृतिसँग मेल खाने हुनुपर्छ । आज जसरी कृषिमा उत्पादनको होडमा मानिसहरू उन्नत जातका बिउबिजनको उपयोग गर्न थाले र पुराना बिजको लोप भए र हुँदै छन् । भोलि गएर मानिसको भाषा, धर्म, संस्कार र संस्कृतिको पनि अवस्था त्यही हुनेछ ।
आजको आधुनिक शिक्षा प्रणाली मुख्य गरी निम्नलिखित स्थानहरूमा चुकेको छ ः
अक्षर चिनाउने तर भावना नबुझ्ने शिक्षाः
आजको शिक्षाले विद्यार्थीलाई अक्षर र अंक चिन्न त सिकायो, तर ती अक्षरभित्र लुकेको मानवीय संवेदना र अंकभित्र लुकेको न्यायको भाव सिकाउन चुकेको छ । हामीले ‘चोरेर वा ठगेर खानु पाप हो’ भन्ने कुरा परीक्षाको उत्तरपुस्तिकामा लेख्न त सिकायौं, तर त्यसलाई आचरणमा उतार्न सिकाएनौं । परिणामस्वरूप, आजका शिक्षित भनिएका वर्ग नै नीतिगत भ्रष्टाचार र सामाजिक विभेदमा अगाडि देखिएका छन् ।
बजारमुखी र व्यापारिकतातर्फ उन्मुखः
वर्तमान शिक्षा प्रणाली बजारको माग पूरा गर्ने ‘मेसिन’ वा ‘मजदुर’ उत्पादन गर्ने कारखाना जस्तो बनेका छन् । शिक्षालाई व्यापार बनाइएको छ, जहाँ महँगो शुल्क तिरेर डिग्री त किनिन्छ, तर संस्कार र संस्कृति जोगाउने शिक्षा दिइँदैन । यसले गर्दा विद्यार्थीमा ‘जसरी पनि पैसा कमाउनु पर्छ’ भन्ने उपभोक्तावादी सोचको विकास भएको छ, जसले गर्दा ‘मागेर खानु गलत हो र गरेर खानु गौरव हो’ भन्ने श्रमको दर्शन हराउँदै गएको छ ।
श्रम र सीपसँग सम्बन्धविच्छेदः
केही अपवादलाई छोडेर विश्वको शिक्षाले जगैदेखि व्यावहारिक र व्यावसायिक सीप सिकाउन सकिरहेको छैन । कक्षा १२ पास गरिसकेको युवा आफ्नो खेतको माटो चिन्न सक्दैन, रैथाने प्रविधि बुझ्दैन र कृषि वा उद्योगमा श्रम गर्न लाज मानिरहेको हुन्छ । उत्पादन र सिर्जनासँग जोडिने व्यावहारिक समाज बन्न सकिरहेको छैन । जसका कारण लाखौं युवा जनशक्ति आफ्नो देशमा सम्भावना नदेखेर खाडीको तातो बालुवामा पसिना बगाउन बाध्य भइरहेका छन् ।
अधिकारको रटान, कर्तव्यको विस्मरणः
आजको शिक्षाले नागरिकलाई आफ्ना अधिकारहरूका लागि आवाज उठाउन त सिकायो, तर राष्ट्र, समाज र परिवारप्रतिको उत्तरदायित्व र कर्तव्य भुलाइदियो । कर्मलाई विश्वास नगरी, आफ्नो जिम्मेवारी पूरा नगरी केवल अधिकारमात्रै खोज्ने प्रवृत्ति आजको शिक्षाको सबैभन्दा ठूलो असफल मार्ग हो । 
ज्ञान, सूचना, विज्ञान, प्रविधि र आत्मज्ञान
आधुनिक युगमा मानिसहरू प्रायः सूचना, ज्ञान र प्रविधिलाई एउटै डालोमा राखेर हेर्ने गल्ती गरिरहेका देख्छौं । तर, यी सबैका बीचमा गम्भीर भिन्नता र एकआपसमा गहिरो सम्बन्ध रहेको हुन्छ । शिक्षाको पुनर्संरचना गर्दा यिनको सही परिभाषा र सन्तुलन बुझ्न आवश्यक छ ।
सूचनाः सूचना भनेको तथ्यांक वा विवरणहरूको संग्रह मात्र हो । आजको डिजिटल युग र एआईको समयमा सूचना तुरुन्तै पाउन सकिने अवस्था छ । त्यसका लागि बाईफाई अर्थात् इन्टरनेट सुविधा हुनु जरुरी छ । कुनै विषयमा जानकारी लिन प¥यो भने गुगल वा विभिन्न उपकरणले क्षणभरमै सोधिएका प्रश्नहरूको संसारभरिका सूचना दिन सक्छन् । 
ज्ञानः प्राप्त सूचनाहरूलाई जब मानिसले आफ्नो मस्तिष्क प्रयोग गरेर बुझ्छ, विश्लेषण गर्छ र त्यसको उपयोगिता पहिचान गर्छ, तब त्यो ‘ज्ञान’ बन्दछ । सूचना बाहिर पाइन्छ, तर ज्ञान मानिसको चेतनामा निर्माण हुन्छ । ज्ञान भनेको अध्ययन, अनुभव वा सूचनाबाट प्राप्त हुने तथ्य र विषयवस्तुको बुझाइ हो, जसले हामीलाई ‘के हो’ भन्ने कुरा सिकाउँछ । ज्ञान प्राप्तिले मात्र केही हुँदैन । तर त्यही  ज्ञानलाई सही समय, परिस्थिति र स्थानमा सही ढंगले प्रयोग गर्न सक्ने आन्तरिक क्षमता र चेतना हो, जसले हामीलाई ‘के ठीक र के बेठिक’ भनी निर्णय गर्न सघाउँछ जसलाई  बुद्धि (विवेक) भनिन्छ । यसलाई यसरी बुझ्न सकिन्छः धूम्रपान गरेको मानव शरीरमा रहेको फोक्सोको कालोले भरिएको तस्बिर कसैलाई देखाउँदा यो त खराब वस्तु रहेछ भन्ने ज्ञान मानिसको मस्तिष्कमा पर्दछ । त्यही तस्बिर देखेर धूम्रपानको अम्मलीले धूम्रपान त्याग्छ भने त्यहाँ बुद्धिको प्रयोग भएको हुन्छ । त्यसैले आजको शिक्षाले ज्ञानको माध्यमबाट बुद्धिमा परिणत गराउन सदैव उत्प्रेरित गराउन सक्नुपर्छ । 
विज्ञान र प्रविधिः विज्ञान प्रकृति र ब्रह्माण्डका नियमहरूको खोजी हो भने प्रविधि त्यस खोजलाई मानव जीवन सहज बनाउन गरिने व्यावहारिक प्रयोग हो । विज्ञान र प्रविधिको विकासले भौतिक संसारलाई साँघुरो र सुविधायुक्त  बनाउँछ, तर यसले मानिसलाई विवेकशील बनाउने ग्यारेन्टी दिन सकेन । आजको शिक्षाले विज्ञान र प्रविधिलाई सही अर्थमा प्रयोग गर्न सिकाउन सक्नुपर्छ । प्रविधिले हतियार त बनाउन सक्छ, तर त्यसको प्रयोग कहाँ गर्ने र कहाँ नगर्ने भन्ने कुरा प्रविधिको क्षेत्रभित्र पर्दैन ।
आत्मज्ञानः विज्ञान र प्रविधिका कारण मानिसको जीवनमा आमूल परिवर्तन आउँदा–आउँदै पनि यो सही रूपमा प्रयोग हुन सकेको छैन । दैनिक रूपमा विभिन्न खाताहरू ह्याक गर्दै एकको खातामा रहेको रकम निकालेर प्रयोग गरिदिनु, मोबाइलमा खेलिएको खेलको कारण साँच्चै हतियार लिएर मानिसको ज्यान लिनुलाई सही अर्थमा शिक्षा भन्न सकिँदैन । विज्ञान र प्रविधिलाई सही अर्थमा उपयोगमा ल्याउने कार्य अध्यात्मबाट मात्र सम्भव छ । यी सबैभन्दा माथि र शिक्षाको अन्तिम लक्ष्य भनेको ‘आत्मज्ञान’ हो । आत्मज्ञान त्यो विवेक हो, जसले मानिसलाई आफ्नो सीमा, सामथ्र्य, ब्रह्माण्डसँगको सम्बन्ध र जीवनको वास्तविक ध्येय बोध गराउँछ । आत्मज्ञानले विज्ञान र प्रविधिलाई विनाशको बाटोमा जानबाट रोकेर कल्याणको मार्गमा डो¥याउँछ । त्यसैले भगवान् कृष्णले गुरु द्रोणाचार्यले पुत्र मोहमा परी आफ्नो छोरा अश्वत्थामालाई ब्रह्मास्त्रको  ज्ञान दिनु अधर्मको बाटो थियो भनेर बताउनुभएको छ । त्यसैले विज्ञान र प्रविधिभन्दा माथि मानिसको अध्यात्म रहेको हुन्छ । त्यसै विषयवस्तु आजको शिक्षामा जोड्न सक्नुपर्छ । 
तर आजको शिक्षा केवल ‘सूचना’ र ‘प्रविधि’ को संकलनमा सीमित भयो । यसले मानिसलाई साक्षर त बनायो तर दीक्षित बनाउन सकेन । अबको शिक्षाले सूचनालाई ज्ञानमा, ज्ञानलाई विज्ञानमा र विज्ञानलाई आत्मज्ञानको कसीमा घोटेर एउटा पूर्ण मनुष्य निर्माण गर्ने संकल्प लिनैपर्छ । तब मात्र ‘शिक्षाको पुनर्विचार’ले सार्थकता पाउनेछ । 
(लेखक पण्डित शिक्षासेवी हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्