३९ वर्षको उमेरमा लियोनल मेसी खेलको अधिकांश समय कि त हिँडेर वा उभिएरै बिताउँछन्, जबकि उनका अर्जेन्टिनी सहखेलाडीहरू उनको संकेत कुरेर धैर्यतापूर्वक साना पासहरू खेलिरहेका हुन्छन् । जब उनी दौडिन थाल्छन्, यसको अर्थ उनी नजिकै गोलको सम्भावना देखिरहेका छन् र बल चाहन्छन् ।
गत शुक्रबार केप भर्डेविरुद्धको खेलमा, सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले ४० यार्ड टाढाबाट बल पास दिए । अरू कुनै खेलाडीका लागि टाउको माथिबाट आएको त्यो बल गोल गर्ने निकै कम सम्भावनाको अवसर हुन्थ्यो । तर मेसीका लागि यो सामान्य कुरा थियोः एक टचमा बल नियन्त्रणमा लिए, र अर्को टचमा गोलरक्षकलाई छक्याउँदै प्रतियोगिताको चार खेलमा आफ्नो सातौं गोल पूरा गरे ।
अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि जोगाउने पहिलो टोली बन्ने लक्ष्यमा छ । आज अटलान्टामा इजिप्टविरुद्ध हुने अन्तिम १६ को खेलबाट सुरु हुँदै, उनीहरूको फाइनलसम्मको यात्रा तुलनात्मक रूपमा सहज छ । यो पक्कै पनि नीलो र सेतो जर्सीमा मेसीको अन्तिम संस्करण हो । तर यो कस्तो रूपमा देखिँदैछ त?
उनी आफैंलाई यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । सन् २०२२ को कतार विश्वकपको सेमिफाइनल जितेपछि, ३५ वर्षको उमेरमा उनले भनेका थिए, “विश्वकपको मेरो यात्रा फाइनल खेलेर टुंग्याउन पाउँदा म निकै खुसी छु ।“ फ्रान्समाथिको जित कुनै लेखिएको कथाको अन्त्य जस्तै थियो । अन्ततः उनले डिएगो म्याराडोनाको त्यो भारी विरासतलाई पूरा गरेका थिए, जसले सन् १९८६ मा लगभग एक्लै अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । महिनौंपछि, झन्डै २० वर्षको गम्भीर फुटबलपछि आराम गर्न मेसी अमेरिकी मेजर लिग सकरको क्लब इन्टर मियामी पुगे । तर उनकै लागि पनि आश्चर्यको कुरा, उनको फुटबल कला अझै सकिएको थिएन ।
मेसी सार्वजनिक रूपमा विरलै बोल्छन्, तर मैले बार्सिलोना क्लबको बारेमा मेरो पुस्तकका लागि उनका सहखेलाडी, प्रशिक्षक र निर्देशकहरूसँग लिएको अन्तर्वार्ताबाट उनको स्वभाव बुझ्ने मौका पाएँ ।
त्यहाँ धेरै जना उनीसँग डराएको जस्तो देखिन्थे, किनकि क्याटालन क्लबमा उनको निकै ठूलो प्रभाव थियो । हरेक ठूला निर्णयहरूमा – जस्तै कुन प्रशिक्षक ल्याउने वा कुन खेलाडी अनुबन्ध गर्ने भन्ने विषयमा – जिम्मेवार व्यक्तिहरू आफैंलाई सोध्थे, “लियो के चाहन्छन्?“ यदि उनी खुसी थिएनन् भने, उनी शब्दबाट होइन, आफ्नो हेराइ र रिसाइबाट त्यो कुरा व्यक्त गर्थे । बार्सिलोना पनि अर्जेन्टिना जस्तै उनको चाहनाको वरिपरि घुम्थ्यो । बदलामा, मेसीलाई पनि राम्रो प्रदर्शन गर्नुपर्ने दायित्व महसुस हुन्थ्यो । विशेषगरी अर्जेन्टिनाको लागि, उनले नतिजाको जिम्मेवारी लिन्थे । त्यो बोझ यति धेरै हुन्थ्यो कि कहिलेकाहीँ उनी खेलअघि तनावका कारण बान्ता समेत गर्थे ।
आज, उनी बिना कुनै दबाब खेल्छन्, प्रमाणित गर्नुपर्ने केही बाँकी छैन । उनी भन्छन्, “भगवानले मलाई धेरै दिनुभयो । अब सबथोक केवल रमाइलोका लागि हो ।“
विश्वकप उनकै प्रतियोगिता हो । धेरै गोल (२०), असिस्ट, अवसर सिर्जना र खेलिएको मिनेटसहित विश्वकपका कीर्तिमानहरूमा उनको दबदबा छ । मियामीमा रहेका लगभग हरेक अर्जेन्टिनी समर्थकको जर्सीको पछाडि “मेसी“ लेखिएको हुन्थ्यो ।
आफ्नो सामान्य स्वभावविपरीत, उनी आजकल आफ्ना भावनाहरू पनि व्यक्त गर्छन् । अर्जेन्टिनी टोलीको जाँच गर्ने क्रममा विमानस्थलका सुरक्षाकर्मीले उनका सहखेलाडी क्रिस्टियन रोमेरोको बार्बेक्यु चिम्टा भेटाउँदा उनी मज्जाले हाँसेका थिए । अल्जेरियाविरुद्धको खेलमा उनी मैदानमै रोए, सायद आफ्ना बिरामी बुबाको सम्झनामा, र विपक्षी खेलाडीलाई खुट्टाले कुल्चिए । उनलाई कुनै कार्ड पनि देखाइएन, किनकि मेसीका लागि फुटबलमा छुट्टै नियम छ – जस्तै कि, उनलाई फउल भएको लाग्यो भने उनी आफैं फ्रि–किक माग्न सक्छन् ।
उनी स्वतन्त्र महसुस गर्छन् किनभने अर्जेन्टिनाले उनीले चाहे जस्तै खेल्छ । हरेक पटक उनी मैदानमा उत्रिँदा, दुवै टोलीसँग “मेसी रणनीति“ हुन्छः उनका सहखेलाडीहरू उनलाई खुला छोड्न चाहन्छन्, भने विपक्षी उनलाई रोक्न । वर्षौंसम्म अर्जेन्टिनाले आफ्नो रणनीति मिलाउन सकेको थिएन ।
सन् २०१८ मा लियोनल स्कालोनी अर्जेन्टिनाको प्रशिक्षक बन्दा, उनले सुरुमा टोलीले युरोपेलीहरूले जस्तै छिटो खेलोस् भन्ने चाहेका थिए । तर मेसीलाई त्यो मन परेन ।
उनको आदर्श फुटबल बुझ्न, राकुटेन टिभीको वृत्तचित्र शृंखलामा देखाइएको बार्सिलोनाको खेलअघिको उनको कुराकानी हेर्दा हुन्छ । खेल सुरु हुनुअघि प्रशिक्षकको कुरा सकिएपछि, मेसी आफ्नो सामान्य स्वरमा केही कुरा थप्थे, जसमा उनी प्रायः शान्त भएर खेल्न सल्लाह दिन्थे ।
उदाहरणका लागिः “शान्त, सधैं जस्तै, आत्तिनु हुँदैन । धेरै हतार पनि नगरौं ।“ सन् २०१९ मा लिभरपुलसँग घरेलु मैदानमा खेल्दा, लिभरपुलले चाहेजस्तो मैदानमा “तल–माथि“ नगर्न उनले चेतावनी दिएका थिए । “यदि खेल हाम्रो नियन्त्रणमा छ भने, कुरा अर्कै हुन्छ,“ उनले भनेका थिए ।
बल नियन्त्रणमा राखेर खेल्नु नै अहिले अर्जेन्टिनाको खेल हो । उनीहरूका सहायक प्रशिक्षक माटियस मन्ना, जो एक उपन्यासकार पनि हुन्, भन्छन् अर्जेन्टिनाको शैली भनेको “छोटा पास... सँगै मिलेर बल छुने, अर्जेन्टिनी टच हो, युरोपेली मोडलको नक्कल होइन ।“ सन् २०२२ मा उनले मलाई त्यो शैलीलाई पुरानो भन्नु “युरोपेलीकरण“ हो भनेका थिए ।
त्यसैले अर्जेन्टिना मिडफिल्डमा जटिल पासहरू खेल्छ, र विरलै क्रस वा छिटो काउन्टर–अट्याकको प्रयास गर्छ । मेसी आफूलाई मन लागेको ठाउँमा घुम्छन्, कहिले खेल बनाउन पछाडि सर्छन्, कहिले बाहिर दायाँतिर डुल्छन्, तर उनको लक्ष्य सधैं पेनाल्टी क्षेत्रको ठ्याक्कै बाहिर पुग्नु हुन्छ । अर्जेन्टिनाको आक्रमण त्यहीँ केन्द्रित हुन्छ । विंग्समा खेल्ने खेलाडीहरूले मुख्यतया विपक्षीलाई झुक्याउने काम गर्छन्, र उनीहरूलाई बीचमा रहेको मेसीको क्षेत्रबाट टाढा लैजान्छन् ।
उनले आफ्नो गति गुमाइसकेका छन्, र आजकल विरलै मात्र ड्रिबल गर्छन् । यसको सट्टा, उनी त्यस्तो खेलाडी बनेका छन् जुन उनका ४१ वर्षीय पोर्चुगिज प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो बन्ने सपना देख्छन्ः एक निश्चित गोलकर्ता ।
यति हुँदाहुँदै पनि सानो टोली केप भर्डेलाई ३–२ ले हराउन अर्जेन्टिनाले निकै संघर्ष गर्नुप¥यो । उनीहरूको “मेसीप्रतिको निर्भरता“ अत्यधिक छ । गतिबिना खेल्नु उनीहरूको कमजोरी हो । उनीहरूको रक्षापङ्क्ति कमजोर छ, र बल भएका विपक्षीलाई विरलै मात्र दबाब दिन्छन् । यदि ३९ वर्षीय खेलाडीले उनीहरूलाई अर्को विश्वकप जिताउन सके भने, त्यो यस प्रतियोगिताको इतिहासमै सबैभन्दा उल्लेखनीय व्यक्तिगत उपलब्धि हुन सक्छ ।