नेभिगेशन
खेलकुद

विश्वकप पर्खिरहेको भारत

विश्व फुटबलको महाकुम्भ सुरु हुँदा मैदानमा स्टार खेलाडीहरूको जादुमय प्रदर्शनले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ । एकातिर ३८ वर्षको उमेरमा पनि लियोनेल मेस्सी आफ्नो महानता प्रमाणित गरिरहेका छन् भने, अर्कोतिर फ्रान्सका युवा स्टार किलियन एमबाप्पे आफ्नै देशका अग्रजहरूको कीर्तिमान तोड्दै नयाँ इतिहास रच्दैछन् । तर, युरोप र दक्षिण अमेरिकाका यी स्टारहरूले विश्व फुटबलमा राज गरिरहँदा, १.४ अर्ब जनसंख्या भएको विशाल देश भारत भने अझै पनि टेलिभिजनको पर्दामा अरुकै खेल हेरेर चित्त बुझाउन बाध्य छ ।
फुटबलको कुरा गर्दा लियोनेल मेस्सीको नाम आफैंमा एउटा युग हो । कान्सास सिटीको रंगशालामा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दा मैदानको सम्पूर्ण केन्द्रविन्दु ३८ वर्षीय मेस्सी नै थिए । फ्रान्सका एमबाप्पे र नर्वेका हालाान्डजस्ता युवा स्टारहरूले गोल गरेर चर्चा बटुलेकै दिन, मेस्सीले विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक गर्दै सबैको ध्यान आफूतिर ताने ।
यस खेलसँगै मेस्सीले विश्वकप इतिहासमा ६ वटा संस्करण खेल्ने पहिलो पुरुष खेलाडी बनेर नयाँ इतिहास रचे । सन् २००६ मा १८ वर्षको उमेरमा डेब्यु गरेका उनले २० वर्षपछि आफ्नो २००औँ खेलमा पनि उस्तै धारिलो प्रदर्शन गरे । १८औँ मिनेटमा उत्कृष्ट घुमाउरो प्रहारमार्फत गोलको खाता खोलेका उनले ६०औँ र ७६औँ मिनेटमा थप गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानी १६ गोलसँग बराबरी गरे ।
खेलको सुरुवातमै अल्जेरियाका खेलाडीमाथि भएको एउटा ट्याकललाई लिएर केही विवाद भए पनि, मेस्सीको समग्र प्रदर्शनले सबैलाई चकित पा¥यो । अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले २० वर्षदेखि मेस्सीले फुटबल समर्थकलाई प्रेरणा दिइरहेको भन्दै उनको प्रशंसा गरे । खेलपछि हजारौं समर्थकले रंगशालामा उनको नाम गुञ्जाउँदा, मेस्सीले आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनमा सोचेभन्दा बढी सफलता पाएको भन्दै खुसी व्यक्त गरे ।
मेस्सीले आफ्नो विरासतलाई निरन्तरता दिइरहँदा, उता फ्रान्सका २७ वर्षीय स्ट्राइकर किलियन एमबाप्पे भने आफ्नै देशको इतिहास नयाँ सिराबाट लेखिरहेका छन् । सेनेगलविरुद्धको खेलमा गोल गर्दै उनले ओलिभियर जिरुडलाई पछि पारे र फ्रान्सको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । केवल ९९ खेलमा ५८ गोलको आँकडा छुनु उनको असाधारण प्रतिभाको प्रमाण हो ।
एमबाप्पेको यो सफलता अचानक प्राप्त भएको होइन । यसको पछाडि उनको परिवारले बाल्यकालदेखि नै तयार पारेको ‘प्रोजेक्ट एमबाप्पे’ को ठूलो भूमिका छ । पेरिसको बाहिरी क्षेत्र बोन्डीमा हुर्किएका उनलाई सानैदेखि उत्कृष्ट खेलाडीहरूसँग खेल्ने र महान् बन्ने सपना देखाइएको थियो । १३–१४ वर्षको उमेरमै युरोपका ठूला क्लबहरूको नजरमा परेका उनले मोनाको हुँदै पेरिस सेन्ट जर्मेन र अहिले रियल मड्रिडसम्मको यात्रा तय गरेका छन् ।
फ्रान्सेली फुटबल विशेषज्ञहरूका अनुसार एमबाप्पे जिनेदिन जिदान र मिशेल प्लाटिनीलाई पछि पार्दै फ्रान्सको इतिहासकै सर्वकालीन महान् खेलाडी बन्ने बाटोमा छन् । सानै उमेरमा विश्वकप जितिसकेका र फाइनलमा ह्याट्रिक गरिसकेका उनीसँग अझै धेरै वर्ष फुटबल खेल्ने समय छ । अब उनको नजर बालोन डी’ओर र च्याम्पियन्स लिग उपाधिमा छ । उनी केवल एक गोलकर्ता मात्र नभएर मैदानका एक सशक्त नेताका रूपमा समेत उदाएका छन् ।

युरोप र दक्षिण अमेरिकामा फुटबलको यस्तो रोमाञ्चक विकास भइरहँदा छिमेकी राष्ट्र भारतको अवस्था भने फरक छ । पश्चिम बंगाल, केरल र गोवाजस्ता राज्यमा फुटबलप्रतिको पागलपन कुनै विश्वकप खेल्ने देशको भन्दा कम छैन । तर, भारतीय राष्ट्रिय टोली फिफा वरीयतामा १३६औँ स्थानमा संघर्ष गरिरहेको छ ।
पूर्व कप्तान भाइचुङ भुटियाका अनुसार भारतले विश्वकप खेल्ने सम्भावना रहे पनि यसको कुनै छोटो बाटो छैन । प्रतिभाको कमी नभए पनि बलियो ग्रासरुट कार्यक्रम र संरचनाको अभावले भारतीय फुटबल पछाडि परेको उनको बुझाइ छ । अर्का पूर्व खेलाडी श्याम थापाले अभिभावकहरूको ध्यान क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) तिर बढी आकर्षित हुँदा फुटबलमा बालबालिकाको सहभागिता सोचेजस्तो नभएको गुनासो गरेका छन् ।
सन् २०१४ मा सुरु भएको इन्डियन सुपर लिग (आईएसएल) ले केही आशा जगाए पनि पछिल्लो समय यसको भविष्य अनिश्चित बन्दै गएको छ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले ३ करोड ५० लाख बालबालिकालाई फुटबलमा ल्याउने ’भिजन २०४७’ ल्याए पनि त्यो कागजमै सीमित हुने डर आलोचकहरूमा छ ।
जोर्डन र उज्वेकिस्तानजस्ता देशले विश्वकपमा स्थान बनाइरहँदा, १.४ अर्ब जनसंख्या भएको भारतले भने संरचना, योजना र धैर्यको पर्खाइमा बस्नुपरेको छ । विदेशमा जन्मिएका भारतीय मूलका खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्न सकिने नियम परिवर्तनले केही आशा देखाए पनि, समग्र फुटबल विकासका लागि भारतले अझै लामो यात्रा तय गर्न बाँकी छ । जबसम्म सही योजना र लगानी हुँदैन, तबसम्म भारतीय समर्थकले क्युराकाओजस्तो सानो देश विश्वकपमा पुगेको हेर्दै टेलिभिजनमै चित्त बुझाउनुपर्ने यथार्थ कायमै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्