वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्र«हरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार हो । वारमेन एवं हेल्टमेनको विचारअनुसार ‘अन्र्तराष्ट्रिय अर्थशास्त्रको अध्ययन एवं व्यवहारको क्षेत्र वस्तुहरू, सेवाहरू, उपहारहरू, पूँजी र बहुमूल्य धातुहरूको त्यो व्यापार हो जसमा ती वस्तुहरूको स्वामित्व दुई देशहरूको बासिन्दाहरूको बीच परिवर्तित हुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक कारोबार गर्न पनि नयाँ किसिमका समस्याहरू आइराखेका छन् । यी समस्याहरूको उचित समाधानका लागि अन्तराष्ट्रिय व्यापारको वैज्ञानिक अध्ययन आवश्यक छ । त्यसका लागि अन्र्तराष्ट्रिय व्यापारको एउटा पृथक् सिद्धान्तका रूपमा अध्ययन गर्नु जरुरी हुन्छ ।
वैदेशिक व्यापारबाट उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । वैदेशिक व्यापारबाट अनिकाल जस्तो संकटको सामना पनि गर्दछ । बजार क्षेत्रको विस्तार हुनुको साथै उत्पादन विधिमा सुधार गर्न मद्दत गर्छ । योजनाबद्ध आर्थिक विकासका लागि मेशिन, औजार, कच्चा पदार्थ र प्रविधिहरू विदेशबाट झिकाउन मद्दत पु¥याई योजना सफल पार्न सहयोग गर्छ । विदेशी मुद्रा आर्जनमा टेवा पु¥याउनुको साथै उत्पादकहरूले देशमा आफ्नो वस्तुलाई उचित मूल्यमा बेच्न सक्छन् । यसले गर्दा उनीहरूले नाफा प्राप्त गर्न सक्छन् । वैदेशिक व्यापारले सरकारको आम्दानी वृद्धि गराउन मद्दत पु¥याउँछ । देशले समुचित औद्योगिक विकास गर्न नसकेर देशभित्र उत्पादन हुन सक्ने वस्तुहरू जस्तै–कपडा, प्लास्टिक, नाइलन कागज र रासायनिक पदार्थ र धातुका सामान वैदेशिक व्यापारबाट नै प्राप्त गर्न सकिन्छ ।
नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिको उल्लेख भएको छ । उद्योगको विकास र विस्तारद्धारा निर्यात प्रवद्र्धन गर्दै वस्तु तथा सेवाको बजार विविधीकरण र विस्तार गर्ने, राष्ट्रिय हित अनुकूल पूर्वाधार विकासमा प्रोत्साहन एवम् परिचालन गर्ने उल्लेख छ । विश्व बजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा कम गर्ने र क्षेत्रिय तथा विश्व बजारमा वस्तु, सेवा र बौद्धक सम्पत्तिको पहुँच वृद्धि गर्ने उद्देश्य लिएको पाइन्छ ।
नेपालले चालु आर्थिक वर्ष २०८२÷८३ को आठ महिनामा करिब दुई खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ९९ अर्ब ११ करोड रुपैयाँको वस्तु निर्यात भएको हो । अघिल्लो फागुनसम्म १ खर्ब ५८ अर्बको निर्यात भएकोमा चालु आवको निर्यात २०.८३ प्रतिशतले बढी हो । निर्यात बढे पनि आयातको परिमाणसमेत बढ्दा नेपालले झण्डै ११ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ । विभागका अनुसार फागुन मसान्तसम्म व्यापार घाटा ११.२२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको फागुनसम्म नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड व्यापार घाटा बेहोरेको थियो । निर्यातको वृद्धिदर खुम्चिएको छ भने आयातमा उल्लेख्य वृद्धि भइरहेको छ । फागुनसम्म १२ खर्ब ८९ अर्ब २५ करोडको वस्तु आयात भएको छ । अघिल्लो वर्ष ११ खर्ब ४५ अर्ब ५६ करोडको आयात भएकोमा चालु आवमा १२.५४ प्रतिशतले बढेको हो । यसरी आयात र निर्यातमा भएको वृद्धिसँगै कुल वैदेशिक व्यापार पनि १३.५५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको फागुनसम्म १३ खर्ब ३ अर्ब ७३ करोडको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ । कुल वैदेशिक व्यापारमा निर्यातकी हिस्सा भने बढ्न सकेको देखिँदैन । अघिल्लो वर्ष १२.१३ प्रतिशत रहेको वैदेशिक व्यापारमा निर्यातको हिस्सा चालु आवको फागुनसम्म १२.९१ प्रतिशतमा सीमित छ ।
आर्थिक सर्वेक्षण २०८२÷२०८३ मा उल्लेख गरिएअनुसार वैदेशिक व्यापार अन्तर्गत बाह्य क्षेत्र थप सबल हुँदै गएको छ । पर्यटन, विप्रेषण आप्रवाह तथा निर्यात व्यापारमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षको फागुनसम्म शोधनान्तर स्थिति एवं चालु खाता उच्च बचतमा रहेका छन् भने बाह्य क्षेत्रका प्रायः अन्य सूचक सकारात्मक छन् । चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड पुगेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म भारत र अन्य मुलुकतर्फको निर्यात कमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु व्यापारमा निर्यातको अंश १२.९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो अंश १२.१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म भटमासको तेल, अलैची, पाम तेल, जुटका सामान, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ११.२ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको फागुनसम्म भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.१ प्रतिशत, २१.२ प्रतिशत र २६.० प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को फागुनसम्म भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरण तथा पाट्र्सलगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट इन क्वाइल, लसुन, दाल, एम.एस. विलेट लगायतका वस्तुको आयात घटेको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल वैदेशिक व्यापार १३.५ प्रतिशतले बढेर १४ खर्ब ८० अर्व ३६ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १५.३ प्रतिशतले बढेर १३ खर्ब ३ अर्ब ७४ करोड रहेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ फागुनमा निर्यातको एकाइ मूल्य सूचकाङ्क २.५ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकाङ्क १.९ प्रतिशतले बढेको छ । २०८२ फागुनमा व्यापार ०.५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले बढेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म शोधनान्तर स्थिति रु.६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत३ खर्ब १० अर्ब ३७ करोड रहेको थियो । अमेरिकी डलरमा गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको फागुनसम्म ४ अर्ब ६१ करोडले बचतमा रहेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई २०८२ फागुन मसान्तमा रु.३४ खर्ब ३ अर्ब ७७ करोड पुगेको छ । यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलरमा रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्व ८ करोड अमेरिकी डलर पुगेको छ। चालु आर्थिक वर्षको फागुनसम्मको आयातलाई आधार मान्दा बैङ्किङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । २०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चितिको अंश ८८.९ प्रतिशत रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ३५ अर्व ११ करोड पुगेको छ ।
सोह्रौं योजना– आर्थिक वर्ष २०८१÷८२–२०८५÷८६) मा वैदेशिक व्यापार विकासको कार्यक्रमअन्तर्गत नेपाल एकीकृत व्यापार रणनीतिले निर्यात सम्भावना भएका भनी पहिचान गरेका वस्तु र सेवाको उत्पादन गरी निर्यात प्रवद्र्धन गर्ने देशगत र वस्तुगत रूपमा निर्यात प्रवद्र्धन रणनीति बनाई कार्यान्वयन गर्ने प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उपयुक्त प्रविधि, स्वदेशी श्रम र कच्चा पदार्थको प्रयोग गरी उत्पादन लागत घटाउने र परिवहन लागत न्यून हुने कम तौल र बढी मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गर्ने नीति राखिएको छ ।
वैदेशिक व्यापार प्रवद्र्धनका लागि पूर्वाधार विकासमा जोड दिने स्वदेशमा नै कम लागतमा उत्पादन हुन सक्ने तर हाल उच्च परिमाणमा आयात भइरहेका वस्तु पहिचान गरी आन्तरिक उत्पादन बढाउने; स्वदेशी उत्पादन संरक्षण गर्ने राजस्व नीति लिने; विकासशील मुलुकमा स्तरोन्नति भएपछि वैदेशिक व्यापारमा पर्ने सम्भावित असर न्यून गर्न राष्ट्रिय रणनीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्यात प्रवद्र्धन तथा द्विपक्षीय र बहुपक्षीय व्यापार तथा पारवहन सम्झौताको कार्यान्वयनका लागि कूटनीतिक पहल गर्ने रणनीति राखिएको पाइन्छ ।
बैदेशिक व्यापारको आयात र निर्यातबीच असन्तुलन हुनाका कारणहरू र यसमा देखापरेका बाधा तथा समस्याहरूमा नेपालको निर्यात व्यापार सीमित वस्तु र सीमित देशमा केन्द्रित छ । नेपालको मुद्रा र पूँजी बजार शिशु अवस्थामै हुनु । निकासी वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चा पदार्थको आयात वृद्धि हुँदै गएको छ । देशमा स्थापना भएका आयात प्रतिस्थापन गर्ने उद्योगहरूको पनि आयातीत मेशिनरी र कच्चा पदार्थको आयातमा आश्रित रहेको छ । देशमा तीव्र रूपमा वृद्धि भई राखेको वैदेशिक सहायताको आधारभन्दा पनि बढी रकम वस्तुगत आधारमा खर्च हुने गरेको छ । कूल निकासीमा कृषिजन्य वस्तुहरूको अग्रन्य स्थान भएको र कृषि क्षेत्रको उत्पादनमा मौसमको निर्णायक भूमिका कायमै रहेको छ । निर्यातयोग्य वस्तुहरूको उत्पादनमा विविधीकरण हुन सकेको छैन । परम्परागत निर्यात हुँदै आएका कृषिजन्य वस्तुहरूको निर्यातमा ह्रास आएको छ । पर्यटन उद्योगको आयबाट शोधनान्तर स्थितिमा सुधार गर्न थप योगदान नहुनु । निकासी व्यापारले अर्थतन्त्रमा आशातित योगदान पु¥याउन नसकेको देखिन्छ । नेपाली बैंकहरूले निर्यातको क्षेत्रमा प्रशस्त वित्तीय सुविधा पु¥याउन सकेका छैनन् । नेपालको निर्यात व्यापार सीमित वस्तु र सीमित देशमा केन्द्रित छ । नेपालको अधिकांश निर्यात वस्तुहरू उनी गलैंचा र तयारी पोशाक हुन् । तयारी पोशाक अधिकांश रूपमा अमेरिकामा निर्यात हुन्छ । यसले नेपाली निर्यातलाई चिन्ताजनक स्थितिमा पु¥याएको छ । नेपालको मुद्रा र पूँजी बजार शिशु अवस्थामै छ । निर्यात बढाउनको लागि व्यावसायिक संस्थाहरूलाई प्रशस्त निर्यात कर्जाको आवश्यकता पर्छ । नेपाली बैंकहरूले निर्यातको क्षेत्रमा प्रशस्त वित्तीय सुविधा पु¥याउन सकेका छैनन् । निकासी वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चा पदार्थको आयात वृद्धि हुँदै गएको छ । देशमा स्थापना भएका आयात प्रतिस्थापन गर्ने उद्योगहरूको पनि आयातीत मेशिनरी र कच्चा पदार्थको आयातमा आश्रित रहेको छ । देशमा तीव्र रूपमा वृद्धि भई राखेको वैदेशिक सहायताको आधारभन्दा पनि बढी रकम वस्तुगत आधारमा खर्च हुने गरेको छ । कूल निकासीमा कृषिजन्य वस्तुहरूको अग्रन्य स्थान भएको र कृषि क्षेत्रको उत्पादनमा मौसमको निर्णायक भूमिका कायमै रहेको छ ।
वैदेशिक ब्यापारमा असन्तुलनको स्थिति समस्याहरूलाई हटाउने महत्वपूर्ण सूत्रहरूअन्तर्गत निर्यात वृद्धि लागत कटौती गुणस्तर सुधार, नियमित आपूर्ति, परिणाम वृद्धि नयाँ वस्तु र सेवाको पहिचान सहजीकरण मार्केटिङ विविधिकरण जस्ता पक्षहरूलाई ध्यान दिन आवश्यक छ । बीमा बंैकिङको विकास तथा प्रबद्र्धन गर्नु जरुरी छ । मुद्रा अबमूल्यन, प्रत्यक्ष नियन्त्रर्ण, भन्सार र गैरभन्सार अवरोधहरू लगाउने, विदेशी मुद्राको सीमित उपलब्धता, आयात कर्जामा बढी व्याज, बढी मार्जिन दर, कर्जा सीमा तोक्ने, उद्योगलाई सुविधा र अनुदान दिने स्वदेशी वस्तु र सेवाको उपभोगमा प्रोसाहन दिनुपर्दछ । नेपालको शोधनान्तर स्थितिलाई अनुकूल बनाउने प्रयासहरूमा कर छुट र सहुलियतमा वृद्धि । स्वदेशी वस्तुको खरिदमा प्रोत्साहन, भन्सार सरलीकरण, लचिलो कर भन्सार, वैदेशिक लगानी नीति, नेपाल भ्रमण वर्ष, नयाँ पदयात्रा रुट आदिको व्यवस्था गर्नु पर्दछ ।
वाणिज्य क्षेत्रसँग सम्बन्धित रोजगारमूलक सीप र उद्यमशीलता विकासमा जोड दिने । भन्सार दस्तुर बढाएर बिलासी सामानको पैठारी हतोत्साहित पार्ने । व्यापार तथ्यांकको बहुआयामिक विश्लेषण गर्ने, मूल्य श्रंखलाको सम्बन्ध सरल र सुनिश्चित गर्ने, समयानुकूल व्यापारिक रणनीतिहरू अवलम्बन गर्नु जरुरी छ । निर्यात–योग्य वस्तुको उत्पादन बढाउने ार्यमा विशेष जोड दिने । निर्यात गरिने वस्तुको गुण र स्तर बढाउने, उत्पादन–लागत घटाउने र प्रतिस्पर्धात्मक क्षमता बढाउने । नेपाली वस्तुको निर्यात प्रवद्र्धनको निमित्त बाह्य खपत बढाउनेतर्फ आवश्यक अन्वेषण गर्ने, निर्यात व्यापारमा प्रोत्साहन दिन निर्यात महसुल घटाउने र हरसम्भव सहुलियत तथा सुविधा प्रदान गर्ने, विप्रेषण आप्रवाह कम भइरहेको र आगामी दिनमा झनै घट्न सक्ने भए पनि आन्तरिक उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा जोड दिएर विप्रेषणको क्षतिलाई कम गर्दै जानुपर्छ । सीमा नाकामा आएका मालसामानहरूमा लागेको डिमरेज तथा डिटेन्सन छुटको लागि पहल गर्नु आवश्यक छ ।
(लेखक हाडा अवकासप्राप्त सह–प्राध्यापक हुन् ।)