नर्वेको समुद्री तटीय एउटा सानो सहरका केही केटाहरू एउटै युवा फुटबल क्लबमा खेल्न थालेका बेला, २० वर्षपछि उनीहरूको भविष्य कहाँ पुग्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन ।
त्यो क्लब सबैका लागि निःशुल्क र खुला थियो । त्यहाँ जितभन्दा रमाइलोलाई बढी महŒव दिइन्थ्यो, खेलको स्कोरसमेत कहिलेकाहीँ मात्र राखिन्थ्यो । स्क्यान्डिनेभियाको कठोर जाडो र लामो अन्धकारका बीच वर्षभरि अभ्यास गर्न मिल्ने सानो इनडोर डोमभित्र ब्रायने एफकेका बालखेलाडीहरू कुनै दबाबबिना फुटबल खेल्थे । स्वयंसेवी प्रशिक्षकहरूको एउटा सरल सिद्धान्त थियो, ‘जति धेरै सम्भव हुन्छ, त्यति धेरै बालबालिकाले, सकेसम्म लामो समयसम्म र सकेसम्म उत्कृष्ट रूपमा खेल्न पाऊन् ।’
अर्को शब्दमा भन्नुपर्दा, यो अमेरिकी शैलीको ठीक विपरीत थियो । तर अमेरिकामा अपनाइने युवा फुटबल विकासको मोडेलभन्दा फरक, नर्वेको यो प्रणाली अत्यन्त सफल साबित भयो । त्यस टोलीका ४० बालखेलाडीमध्ये ३५ जनाले बाल्यकालदेखि वयस्क अवस्थासम्म फुटबल खेलिरहे । छ जना व्यवसायिक खेलाडी बने भने पाँच जना युवा राष्ट्रिय टोलीमा छनोट भए र तीमध्ये एक जना संसारकै सबैभन्दा भयंकर स्ट्राइकर बने— एर्लिङ हालान्ड ।
शनिबार इंग्ल्यान्डसँग विश्वकपको क्वार्टरफाइनल खेल्दै पहिलोपटक सेमिफाइनल पुग्ने लक्ष्य राखेको नर्वे, प्रतियोगितामा बाँकी रहेका सबैभन्दा सानो जनसंख्या भएको देश हो । त्यस टोलीको नेतृत्व गरिरहेका छन् ६ फिट ५ इन्च अग्ला, गोलको मेसिन भनेर चिनिने एर्लिङ हालान्डले । सुनौलो पोनीटेल, सुख्खा हास्यबोध र बललाई असाधारण शक्तिले प्रहार गर्ने क्षमताका कारण उनी विश्वकपका सबैभन्दा चर्चित खेलाडीमध्ये एक बनेका छन् । उनी आज नर्वेका सबैभन्दा प्रभावशाली विश्वदूतसमेत हुन् । तर फियोर्डहरूको देशका यी खेलाडीमा सबैभन्दा ‘नर्वेली’ कुरा भने उनी बाल्यकालमा हुर्किएको वातावरण हो ।
हालान्ड एउटा कम खर्चिलो तर धेरैभन्दा धेरै बालबालिकालाई खेलमा सहभागी गराउने खेल प्रणालीमा हुर्किए, जुन अमेरिकी दृष्टिकोणबाट हेर्दा निकै अनौठो लाग्न सक्छ । उनका एक पूर्वसहकर्मी सम्झन्छन्, ‘हामी सबैले बराबरी खेल्नुपर्छ, सबैले रमाइलो गर्नुपर्छ भन्ने मान्यता थियो । सानै उमेरमा खेल जित्नु नै सबैभन्दा ठूलो कुरा मानिँदैनथ्यो ।’
इंग्लिस प्रिमियर लिगका पूर्वव्यावसायिक खेलाडी तथा हेप्टाथलन च्याम्पियन आमाबुबाका छोरा हालान्ड आफ्नो बाल्यकाल १४ हजार जनसंख्या भएको ब्रिने नगरमा बिताए । संयोगले, उनले ब्रिनेको युवा क्लबमा खेलिरहेका बेला नर्वेको खेल प्रणालीबारे अहिलेसम्मकै महŒवपूर्ण वैज्ञानिक अध्ययन पनि सुरु भएको थियो । करिब एक दशकअघि सुरु गरिएको उक्त अध्ययनमा एउटै समुदायका समान उमेरका बालबालिकाको विकासलाई पछ्याइएको थियो । त्यसबेला तीमध्ये कसैले इतिहासकै महान् नर्वेली फुटबलर जन्मिनेछन् भन्ने कसैले सोचेको थिएन ।
खेल वैज्ञानिक मार्टिन एरिकस्टाडले एउटा यस्तो ठाउँबारे सुने जहाँ प्रतिभा विकाससँगै सबै खेलाडी खुसी पनि थिए । त्यसपछि उनले ब्रिनेको सफलताको रहस्य खोज्ने निर्णय गरे । उनले तथ्यांक संकलन गरे, अभ्यास तालिका अध्ययन गरे, प्रशिक्षक र खेलाडीहरूसँग अन्तर्वार्ता लिए । अन्ततः उनले हालान्डको सफलताको एउटा स्पष्ट कारण फेला पारे । उनले भने, ‘संसारकै सबैभन्दा लोकप्रिय र प्रतिस्पर्धात्मक खेलमा उच्चतम स्तरमा पुग्न राम्रो आनुवंशिक क्षमता मात्र पर्याप्त हुँदैन, त्यसका लागि लगभग आदर्श वातावरण पनि चाहिन्छ ।’
नर्वेको खेल संस्कृतिमा ट्रफीभन्दा सहभागितालाई बढी महŒव दिइन्छ । नर्वेलीहरू जन्मँदै स्की र स्केट चढ्ने संस्कृतिमा हुर्किए पनि, देशका दुईतिहाइ ११ वर्षका केटाहरू अझै फुटबल खेलिरहेका हुन्छन् । सामाजिक समानता, रमाइलो, सही विकास र सबैका लागि खेल भन्ने आदर्शमा नर्वे यति दृढ छ कि १३ वर्ष नपुग्दासम्म बालबालिकालाई प्रतिभाका आधारमा छुट्याइँदैन । त्यस उमेरसम्म पुग्दा अमेरिकाका धेरै प्रतिभावान् बालखेलाडी भने अत्यधिक प्रतिस्पर्धाको दबाबले खेलबाट नै थाकिसकेका हुन्छन् ।
नर्वेका बालबालिकाले एउटा खेल रोज्नुअघि धेरै खेलको अनुभव लिन्छन् । हालान्ड पनि बाल्यकालमा क्रस–कन्ट्री स्कीइङ, ह्यान्डबल खेल्थे । अझ उनको सबैभन्दा सफल खेल सायद लङ जम्प नै थियो, जहाँ उनले विभिन्न कीर्तिमान बनाएका थिए । हिउँमा स्की गर्ने र बालुवामा लामो फड्को मार्ने दिन सकिएपछि मात्र उनले आफ्नो रगतमा बगेको खेल—फुटबल—लाई पूर्ण रूपमा रोजे । उनका पिता आल्फ–इन्गे हालान्डले पनि ब्रिनेबाटै करियर सुरु गरी पछि नटिङ्घम फरेस्ट, लिड्स युनाइटेड र म्यानचेस्टर सिटीमा खेलेका थिए । अहिले एर्लिङ स्वयं म्यानचेस्टर सिटीबाट युरोपका रक्षापङ्क्तिलाई आतंकित गरिरहेका छन् ।
२००० को दशकमा ब्रिनेका बालबालिकाले हप्तामा एक–दुई पटक मात्र औपचारिक अभ्यास गर्थे । बाँकी समय उनीहरू आफैं फुटबल खेल्थे । औपचारिक प्रशिक्षण बढेपछि पनि उनीहरूले सुरुमा व्यक्तिगत सीप विकास गरे, त्यसपछि मात्रै निश्चित पोजिसनमा विशेषज्ञता हासिल गरे । उनीहरूको विकासमा प्रशिक्षण प्रणालीभन्दा पनि क्लबको पूर्वाधार अझ प्रभावकारी बन्यो ।
हालान्ड करिब पाँच वर्षका हुँदा ब्रिने नगरको बीचमा एउटा इनडोर फुटबल डोम बनाइयो, जुन सधैं खुला हुन्थ्यो र सबैका लागि सहज पहुँचमा थियो । त्यो समय अत्यन्त उपयुक्त थियो । हालान्ड बालक छँदै उनको गृहनगरमा यस्तो फुटबल डोम खुल्नु भनेको लिभरपुलमा किशोर अवस्थामा द बिटल्सका लागि काभर्न क्लब खुलेसरह ऐतिहासिक अवसर थियो । हालान्ड र उनका साथीहरू हरेक साताको अन्त्य बिहान त्यही कृत्रिम घाँसे मैदानमा बिताउँथे । त्यसको एउटा कारण थियो—उनीहरू अमेरिकाका बालखेलाडीझैं अभिभावकसँग घण्टौं टाढाका प्रतियोगितामा यात्रा गर्न बाध्य थिएनन् । अमेरिकामा युवा टोलीहरू निरन्तर टाढाटाढा प्रतियोगितामा जान्छन् भने नर्वेका साना टोलीहरू प्रायः आफ्नै स्थानीय क्लबहरूसँग मात्र प्रतिस्पर्धा गर्छन् ।
ती खेलहरू यति नर्वेली शैलीका हुन्छन् कि, खेलपछि सुन्तलाको फाँक बाँड्नुको सट्टा उनीहरूले परम्परागत ब्राउन चीज बाँडेको देख्दा पनि अचम्म लाग्दैन । आज भने नर्वेका लाखौं मानिस हालान्डको टोली जित्छ कि हार्छ भन्ने कुरामा चासो राख्छन् । तर देशको मूल दर्शन भने अझै परिवर्तन भएको छैन । ब्रिनेमा उनका बाल्यकालका प्रशिक्षकले एकपटक भनेका थिए, ‘कसैले बल राम्रोसँग हान्न सक्छ वा सक्दैन भन्ने आधारमा हामी मानिसको मूल्यांकन गर्दैनौं ।’