नेभिगेशन
खेलकुद

नर्वेको बाल फुटबल प्रणालीले जन्माएको हालान्ड

नर्वेको समुद्री तटीय एउटा सानो सहरका केही केटाहरू एउटै युवा फुटबल क्लबमा खेल्न थालेका बेला, २० वर्षपछि उनीहरूको भविष्य कहाँ पुग्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन ।
त्यो क्लब सबैका लागि निःशुल्क र खुला थियो । त्यहाँ जितभन्दा रमाइलोलाई बढी महŒव दिइन्थ्यो, खेलको स्कोरसमेत कहिलेकाहीँ मात्र राखिन्थ्यो । स्क्यान्डिनेभियाको कठोर जाडो र लामो अन्धकारका बीच वर्षभरि अभ्यास गर्न मिल्ने सानो इनडोर डोमभित्र ब्रायने एफकेका बालखेलाडीहरू कुनै दबाबबिना फुटबल खेल्थे । स्वयंसेवी प्रशिक्षकहरूको एउटा सरल सिद्धान्त थियो, ‘जति धेरै सम्भव हुन्छ, त्यति धेरै बालबालिकाले, सकेसम्म लामो समयसम्म र सकेसम्म उत्कृष्ट रूपमा खेल्न पाऊन् ।’
अर्को शब्दमा भन्नुपर्दा, यो अमेरिकी शैलीको ठीक विपरीत थियो । तर अमेरिकामा अपनाइने युवा फुटबल विकासको मोडेलभन्दा फरक, नर्वेको यो प्रणाली अत्यन्त सफल साबित भयो । त्यस टोलीका ४० बालखेलाडीमध्ये ३५ जनाले बाल्यकालदेखि वयस्क अवस्थासम्म फुटबल खेलिरहे । छ जना व्यवसायिक खेलाडी बने भने पाँच जना युवा राष्ट्रिय टोलीमा छनोट भए र तीमध्ये एक जना संसारकै सबैभन्दा भयंकर स्ट्राइकर बने— एर्लिङ हालान्ड ।
शनिबार इंग्ल्यान्डसँग विश्वकपको क्वार्टरफाइनल खेल्दै पहिलोपटक सेमिफाइनल पुग्ने लक्ष्य राखेको नर्वे, प्रतियोगितामा बाँकी रहेका सबैभन्दा सानो जनसंख्या भएको देश हो । त्यस टोलीको नेतृत्व गरिरहेका छन् ६ फिट ५ इन्च अग्ला, गोलको मेसिन भनेर चिनिने एर्लिङ हालान्डले । सुनौलो पोनीटेल, सुख्खा हास्यबोध र बललाई असाधारण शक्तिले प्रहार गर्ने क्षमताका कारण उनी विश्वकपका सबैभन्दा चर्चित खेलाडीमध्ये एक बनेका छन् । उनी आज नर्वेका सबैभन्दा प्रभावशाली विश्वदूतसमेत हुन् । तर फियोर्डहरूको देशका यी खेलाडीमा सबैभन्दा ‘नर्वेली’ कुरा भने उनी बाल्यकालमा हुर्किएको वातावरण हो ।
हालान्ड एउटा कम खर्चिलो तर धेरैभन्दा धेरै बालबालिकालाई खेलमा सहभागी गराउने खेल प्रणालीमा हुर्किए, जुन अमेरिकी दृष्टिकोणबाट हेर्दा निकै अनौठो लाग्न सक्छ । उनका एक पूर्वसहकर्मी सम्झन्छन्, ‘हामी सबैले बराबरी खेल्नुपर्छ, सबैले रमाइलो गर्नुपर्छ भन्ने मान्यता थियो । सानै उमेरमा खेल जित्नु नै सबैभन्दा ठूलो कुरा मानिँदैनथ्यो ।’
इंग्लिस प्रिमियर लिगका पूर्वव्यावसायिक खेलाडी तथा हेप्टाथलन च्याम्पियन आमाबुबाका छोरा हालान्ड आफ्नो बाल्यकाल १४ हजार जनसंख्या भएको ब्रिने नगरमा बिताए । संयोगले, उनले ब्रिनेको युवा क्लबमा खेलिरहेका बेला नर्वेको खेल प्रणालीबारे अहिलेसम्मकै महŒवपूर्ण वैज्ञानिक अध्ययन पनि सुरु भएको थियो । करिब एक दशकअघि सुरु गरिएको उक्त अध्ययनमा एउटै समुदायका समान उमेरका बालबालिकाको विकासलाई पछ्याइएको थियो । त्यसबेला तीमध्ये कसैले इतिहासकै महान् नर्वेली फुटबलर जन्मिनेछन् भन्ने कसैले सोचेको थिएन ।
खेल वैज्ञानिक मार्टिन एरिकस्टाडले एउटा यस्तो ठाउँबारे सुने जहाँ प्रतिभा विकाससँगै सबै खेलाडी खुसी पनि थिए । त्यसपछि उनले ब्रिनेको सफलताको रहस्य खोज्ने निर्णय गरे । उनले तथ्यांक संकलन गरे, अभ्यास तालिका अध्ययन गरे, प्रशिक्षक र खेलाडीहरूसँग अन्तर्वार्ता लिए । अन्ततः उनले हालान्डको सफलताको एउटा स्पष्ट कारण फेला पारे । उनले भने, ‘संसारकै सबैभन्दा लोकप्रिय र प्रतिस्पर्धात्मक खेलमा उच्चतम स्तरमा पुग्न राम्रो आनुवंशिक क्षमता मात्र पर्याप्त हुँदैन, त्यसका लागि लगभग आदर्श वातावरण पनि चाहिन्छ ।’
नर्वेको खेल संस्कृतिमा ट्रफीभन्दा सहभागितालाई बढी महŒव दिइन्छ । नर्वेलीहरू जन्मँदै स्की र स्केट चढ्ने संस्कृतिमा हुर्किए पनि, देशका दुईतिहाइ ११ वर्षका केटाहरू अझै फुटबल खेलिरहेका हुन्छन् । सामाजिक समानता, रमाइलो, सही विकास र सबैका लागि खेल भन्ने आदर्शमा नर्वे यति दृढ छ कि १३ वर्ष नपुग्दासम्म बालबालिकालाई प्रतिभाका आधारमा छुट्याइँदैन । त्यस उमेरसम्म पुग्दा अमेरिकाका धेरै प्रतिभावान् बालखेलाडी भने अत्यधिक प्रतिस्पर्धाको दबाबले खेलबाट नै थाकिसकेका हुन्छन् ।
नर्वेका बालबालिकाले एउटा खेल रोज्नुअघि धेरै खेलको अनुभव लिन्छन् । हालान्ड पनि बाल्यकालमा क्रस–कन्ट्री स्कीइङ, ह्यान्डबल खेल्थे । अझ उनको सबैभन्दा सफल खेल सायद लङ जम्प नै थियो, जहाँ उनले विभिन्न कीर्तिमान बनाएका थिए । हिउँमा स्की गर्ने र बालुवामा लामो फड्को मार्ने दिन सकिएपछि मात्र उनले आफ्नो रगतमा बगेको खेल—फुटबल—लाई पूर्ण रूपमा रोजे । उनका पिता आल्फ–इन्गे हालान्डले पनि ब्रिनेबाटै करियर सुरु गरी पछि नटिङ्घम फरेस्ट, लिड्स युनाइटेड र म्यानचेस्टर सिटीमा खेलेका थिए । अहिले एर्लिङ स्वयं म्यानचेस्टर सिटीबाट युरोपका रक्षापङ्क्तिलाई आतंकित गरिरहेका छन् ।
२००० को दशकमा ब्रिनेका बालबालिकाले हप्तामा एक–दुई पटक मात्र औपचारिक अभ्यास गर्थे । बाँकी समय उनीहरू आफैं फुटबल खेल्थे । औपचारिक प्रशिक्षण बढेपछि पनि उनीहरूले सुरुमा व्यक्तिगत सीप विकास गरे, त्यसपछि मात्रै निश्चित पोजिसनमा विशेषज्ञता हासिल गरे । उनीहरूको विकासमा प्रशिक्षण प्रणालीभन्दा पनि क्लबको पूर्वाधार अझ प्रभावकारी बन्यो ।
हालान्ड करिब पाँच वर्षका हुँदा ब्रिने नगरको बीचमा एउटा इनडोर फुटबल डोम बनाइयो, जुन सधैं खुला हुन्थ्यो र सबैका लागि सहज पहुँचमा थियो । त्यो समय अत्यन्त उपयुक्त थियो । हालान्ड बालक छँदै उनको गृहनगरमा यस्तो फुटबल डोम खुल्नु भनेको लिभरपुलमा किशोर अवस्थामा द बिटल्सका लागि काभर्न क्लब खुलेसरह ऐतिहासिक अवसर थियो । हालान्ड र उनका साथीहरू हरेक साताको अन्त्य बिहान त्यही कृत्रिम घाँसे मैदानमा बिताउँथे । त्यसको एउटा कारण थियो—उनीहरू अमेरिकाका बालखेलाडीझैं अभिभावकसँग घण्टौं टाढाका प्रतियोगितामा यात्रा गर्न बाध्य थिएनन् । अमेरिकामा युवा टोलीहरू निरन्तर टाढाटाढा प्रतियोगितामा जान्छन् भने नर्वेका साना टोलीहरू प्रायः आफ्नै स्थानीय क्लबहरूसँग मात्र प्रतिस्पर्धा गर्छन् ।
ती खेलहरू यति नर्वेली शैलीका हुन्छन् कि, खेलपछि सुन्तलाको फाँक बाँड्नुको सट्टा उनीहरूले परम्परागत ब्राउन चीज बाँडेको देख्दा पनि अचम्म लाग्दैन । आज भने नर्वेका लाखौं मानिस हालान्डको टोली जित्छ कि हार्छ भन्ने कुरामा चासो राख्छन् । तर देशको मूल दर्शन भने अझै परिवर्तन भएको छैन । ब्रिनेमा उनका बाल्यकालका प्रशिक्षकले एकपटक भनेका थिए, ‘कसैले बल राम्रोसँग हान्न सक्छ वा सक्दैन भन्ने आधारमा हामी मानिसको मूल्यांकन गर्दैनौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्