नेभिगेशन
दृष्टिकोण

पर्यटन विकासमा जाल्पादेवी केबलकार र प्याराग्लाइडिङ

‘हाम्रो सुन्दर सुदूरपश्चिम प्रदेश हामी चिनाउँछौं’ कर्णाली नदीपारिका नेपाली जनताको पर्यटकीय स्पन्दन अब साकार हुँदैछ । सपना साकार नहोला तर परिकल्पना पूरा हुन्छ । यो कार्य धमाधम बन्दै गरेको ‘चिसापानी–‘जल्पादेवी केबलकार’ र प्रस्तावित ‘राजकाँडा– (मालिका मन्दिर) बाल्चौर÷मालताना–कुइने प्याराग्लाइडिङ ४÷५ कि.मि. उडानले सुदूरपश्चिम प्रदेशका आमजनसमुदायमा पर्यटन विकासको अपेक्षा रूपान्तरण गर्न सक्नेछ । निजी क्षेत्रको ‘जल्पादेवी केबलकार’ सफल उद्योगपति चन्द्रप्रसाद ढकाललगायत समूहको सहयोगमा ‘एक ठाम अनेक मनोरञ्जन, बहुआयामिक काम’ सम्पन्न हँुदैछन् । यो व्यवसायले सुन्दर सुदूरपश्चिम प्रदेशको ‘मूलढोका’ कर्णाली चिसापानीले कैलाली जिल्लाको अति विकट मोहन्याल गापा र लम्कीचुहा नगरपालिका साथै ऐतिहासिक नमुनाको अर्को आधुनिक सहर टिकापुर नगरपालिका र नेपालकै सबैभन्दा ठूलो टिकापुर पार्क (८५ बिगाहा क्षेत्रफलमा फैलिएको) र झण्डै १७÷१८ बिगाहामा व्यवस्थित गरिएको नमुना पार्कसहितको सहरीकरणको मापदण्ड पालन (७०÷७२ फिट दूरी कायम) गरी बनेको क्षेत्रलाई चिनाउने कार्य गर्दछ ।
     भविष्यमा यी दुई पर्यटनका गन्तव्यहरूले कर्णालीको ‘शान’ कुनै बेला एसियाकै एक महान् नमुनाकै जापानिज प्रविधिद्वारा निर्मित ‘कर्णाली पुल’, कर्णाली नदीले बनाएको कैलाली र बर्दिया जिल्लाबीच बनेका स–साना टापुहरू– राजापुर, गेरुवा, सत्ति, बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी मकर (गोही), डल्फिन संरक्षण मोहना नदीमा अवलोकन गर्न पाइने डल्फिनको चटकदेखि थारु संस्कृति, पहाडी–मधेसी जातजातिको समिश्रण, सामाजिक सद्भाव सुन्दर सहिष्णुता जीवनमा टिकापुर कालु हमालको दिनेश ब्राण्ड ४० थरिका केराका व्यञ्जनहरू रसास्वादन गर्न पाइने, अझ पश्चिमतर्फ लाग्दा सिमसारले भरिपूर्ण जैविक विविधताको घोडाघोडी ताल, अझै सुदूरपश्चिम महाकाली पारिसम्म पुग्दा दोधारा–चाँदनी झोलुंगे (१.४५३ कि.मि.) लामो पुल, छेवैमा रानाथारु होमस्टे पार्कभित्र पस्दा र हजारौं हजारको संख्यामा अवलोकन गर्न पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बाह्रसिंगेलगायत थुप्रै वन्यजन्तुहरूको अवलोकन जंगल सफारीबाट विश्वलाई चिनाउन सकिन्छ । यी बाहेक चक्रिय धार्मिक आस्थाका मन्दिर– वेदकोट, ब्रह्मदेव (सिद्धनाथ), बेहडाबाबा यी आदि प्रथम पाइलामा सम्पदा अर्थात् पर्यटकीय गन्तव्यहरूका साथै अरु पहाडी र हिमालका थप ७ जिल्लामा अथाह गन्तव्यहरू, अन्वेषण, पहिचान र सार्वजनिक गरी प्रचारप्रसार गर्नु छ । यस कार्यमा सुदूरपश्चिम प्रदेशले धेरै कार्य सम्पादन गर्नु छ । ती हुन् पर्यटन विकासका शिक्षा, जनचेतना, आतिथ्य कला, नयाँ सम्पदा र गन्तव्यहरूको खोजी, अध्ययन अनुसन्धान र प्रचार–प्रसार । विगतमा पनि कैलाली उद्योग वाणिज्य संघलगायत राजेन्द्र थापा, वेद उप्रेती, विभिन्न सञ्चारमाध्यमहरूले नगरेका होइनन्, उनीहरूले पहल गरेका थालनीहरूलाई अब पालिकाहरू, समुदाय र निजी क्षेत्रले थप प्रयास गर्नु आवश्यक देखिन्छ । 
    पूर्व–पश्चिम राजमार्गको कर्णाली चिसापानीमा हालसम्म गाडी रोक्ने, खाना–नास्ता खाने कर्णालीको पानीको माछा सम्झी धादिङ मलेखुकै शैलीमा क्षणिक विश्राममात्र हुने गरेको नदीमा राफ्टिङ, कायशयर, ६÷७ कि.मि. नौका शयर, रिभरबीच भलिबल, सबाथ र रिभरसाइड इभेन्टहरू आयोजना गर्नुपर्छ । गोही र डल्फिन अवलोकन गराउने, जलप्राणी सीप प्रदर्शन, नदी छेउछाउका ढुंगामा स्थानीय कला संस्कृतिको प्रदर्शन, प्रस्थरकला सिंगार्ने, हाटबजार, मार्ट, स्थानीय उत्पादनका परिकारहरू प्रदर्शन एवं खानपान गराउने, चाडपर्वहरूको आयोजना गरी आन्तरिक, सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला, ८८ पालिकाहरू र अन्य ६ प्रदेशमा फैलाउँदै राष्ट्रव्यापी र छिमेकी मुलुक भारत (दक्षिण–पश्चिम) र उत्तरतर्फ ताक्लाकोट पुरन काउन्टी मानसरोभर तिब्बतसम्म सञ्जाल निर्माण गर्दा सुदूरपश्चिम प्रदेशको पर्यटकीय भविष्य सुनिश्चित छ । 
 प्याराग्लाइड र केबलकारको सेवाले चिसापानी क्षेत्र, लम्कीचुहा नपा र टिकापुर नपालाई प्रत्यक्ष प्रभाव त पार्छ नै त्यसले बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्ज, गेरुवा गापा, राजापुर नपा, ठाकुरद्वार र भुरेगाँउ र कर्णाली करिडोर–सुर्खेत, अछाम सडक सञ्जाललाई पनि प्रशस्त फाइदा पु¥याउन सक्छ । अर्कातर्फ केबलकारको ल्याण्डिङ साइट राजकाँडा– जल्पा मन्दिर छेउ मोहन्याल–७ र कुइने क्षेत्रलाई प्रत्यक्ष व्यापक प्रभाव पार्छ । हिजो हजार आनामा नबिक्ने जमिन र खानेपानी र बिजुलीको अभाव, ठाउँको सुलभ, सडक सञ्जालको अभाव, गाउँ, उराठलाग्दो बस्ती  लाख होइन करोडमा बिक्री हुन थालेको छ । त्यसैगरी बल्चौर लम्कीचुहा–३ र लम्की बजार, चिसापानी, रानी जमरा कुलरिया सिँचाइ क्षेत्रको उत्पादन र बसोबासलाई सुगम र बजारीकरण भई हराभरा बस्तीमा हालको सुकुम्वासी, वादी समुदाय, मुक्त कमैया बस्ती र तिनैको एउटा थारु होमस्टे सफल रूपमा परिणत हँुदैछन् ।
   ‘भाग्यमा छ भन्दैमा चाल्नामा दूध दुहेर’ खाना पाइँदैन भने झैं यी पर्यटकीय गतिविधिहरूले परिवर्तन र रूपान्तरण ढिलो चाँडो ल्याउलान् तर स्थानीयवासीहरूको तत्परता, क्षमता अभिवृद्धि र स्रोतसाधनको व्यवस्थापकको कार्यकुशलता अपरिहार्य छ । यसमा व्यक्ति, समुदाय र स्थानीय तहका तर्फबाट आवश्यक पूर्वाधारहरू निर्माण गरी उपयुक्त वातावरण तयारीतर्फ प्रदेश र स्थानीय सरकार सरोकार नागरिक समाज, आमसञ्चारमाध्यम, राज्यका सुरक्षा निकायहरू, निजी क्षेत्रमैत्री वातावरण आदिको अपेक्षाका साथै प्रत्यक्ष एवं परोक्ष सरोकार व्यक्ति र संघसंस्थाहरूको सहयोग र अर्थपूर्ण सहभागिता अपरिहार्य छ । यसतर्फ खासगरी स्थानीय तह, प्रदेश र आवश्यक परेमा संघीय तीनै तहका सरकारहरूको समन्वय, सहकार्य एवं साझा दायित्व निर्वाहको अपेक्षा पनि गरिन्छ । यो एउटा सानो स्थानीय उद्यम व्यवसायबाट प्रदेश र समग्र राष्ट्रको विकास हुन्छ र समृद्ध नेपाल र सम्पन्न नेपालीको सपना पूरा हुन्छ । 
  यो केबलकार करिब ३१०० मि लामो हुने लगानीकर्ता सूर्यबहादुर थापा बताउनुहुन्छ । प्याराग्लाइडिङ करिब ४÷५ किमि दूरी र उडान समय झण्डै ३० मिनेटदेखि १ घण्टासम्म लम्बाउन सकिनेछ । उपभोक्ताहरूले भरपुर मनोरञ्जन लिन पाउनेछन् । कर्णाली नदीको सृष्टिमा स–साना टापुहरू, नदीको कहिले निलो त कहिले खैरो कर्णालीको पानी, नदीमा राफ्टिङ, सुन्दर चिसापानी बजार, मोहन्यालको कुइने क्षेत्र, चुरे वन क्षेत्र र प्रसिद्ध जल्पादेवीको पुरानो र नयाँ मन्दिर, उत्तर–पूर्व, दक्षिण र पश्चिमतर्फका मनमोहक बस्तीहरू, हरिया खैरा चुरे जंगल एवं झाडी र जनजातिहरूको पुराना बस्ती र पूर्व–पश्चिम राजमार्ग, टीकापुर पार्क र मनमोहक कर्णाली आधुनिक पुल जो आजसम्म नेपाली र भारतीय पाहुनाहरूको टिकटक र क्यामेरामा मात्रै कैद छ । भोलि घरघरका बैठक कोठाको भित्तामा जल्पादेवी मन्दिर र कर्णाली पुलका तस्वीरहरूले स्थान पाउँनेछन् ।
    अन्त्यमा नेपालको विकास कृषि, पर्यटन र जलस्रोतका माध्यमबाट हुन सक्छ ।  त्यसमा पर्यटन सानो स्रोतसाधन, लगानी र स्थानीय जनसमुदायबाट सहजै अगाडि बढाउन सकिन्छ, किनभने नेपाल विविधता नै विविधताको मुलुक छ । यहाँ अथाह पर्यटकीय स्रोत साधन र गन्तव्यहरू छन् । यसको बजारका लागि छिमेकी मित्र राष्ट्र भारत र चीन पर्याप्त छन् । यस क्षेत्रमा पर्यटन विकासका आयामहरू प्रचुर मात्रमा छन् । सुदूरपश्चिम प्रदेश नेपालको दूरदराजका रूपमा पछाडि परेको र ओझेलमा पारे–परेको छ, जस्तैः– कुनै बेला पृथ्वी राजमार्ग सञ्चालन हुँदा मुग्लिन–कुरिनटार चेपाङहरूको खोस्रेर घुमन्ते खेती गर्ने पाखो थियो । आज त्यो कहाँ छ ? त्यसैगरी राजकाँडा गाउँ हाल १५÷१६ घर धुरी (२÷३ होमस्टे) खानेपानी, बत्ती र सुलभ यातायातविहीन अवस्थामा छ । कल्पना गरौं, त्यो पिछडिएको गाउँ र ठाउँ,  बल्चौर, चिसापानी सुकुम्बासी मुक्त कमैया बस्ती, वादी समुदाय र लालपुर्जाविहीन चिसापानी बजारलाई व्यवस्थित बस्ती र शहर बजारमा रूपान्तर गर्न जल्पादेवी केबलकार र भविष्यमा सञ्चालन हुने प्रस्तावित प्याराग्लाइडिङ उडानले के नगर्ला ? त्यो क्षेत्रमात्रै होइन सम्पूर्ण सुदूरपश्चिम प्रदेशमा नेपालको मुहार फेरिने छ । कल्पना गरौं, त्यो साकार हुनेछ !

(शर्मा त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक हुन् ।) 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण