नेभिगेशन
विश्व

आठै हप्तामा इबोलाको खोप तयार, परीक्षण सुरु

लन्डन, (बीबीसी) । बेलायतको नियामक निकायले परीक्षणका लागि अनुमति दिएपछि इबोलाविरुद्ध लड्न बनाइएको नयाँ खोप मानिसमा परीक्षण गरिने भएको छ ।
गत मे १७ मा जनस्वास्थ्य आपत्काल घोषणा गरिएपछि अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले आठ हप्ताअघि यो खोपको विकास गर्न थालेका थिए ।
विकासको क्रममा रहेका चारवटा खोपमध्ये क्लिनिकल परीक्षणमा जाने यो पहिलो खोप हो ।
यसका लागि स्वयंसेवकहरू छनोट गरिँदैछ र केही हप्ताभित्रै बेलायतका स्वस्थ वयस्कहरूलाई खोपको पहिलो मात्रा दिइने अपेक्षा गरिएको छ ।
कंगो लोकतान्त्रिक गणतन्त्रमा केन्द्रित इबोला महामारीले हालसम्म ६२५ जनाको ज्यान लिइसकेको छ भने प्रयोगशालाबाट पुष्टि भएका संक्रमितको संख्या १,७९२ पुगेको छ ।
यो संक्रमण इबोलाको बुन्डिबुग्यो प्रजातिका कारण फैलिएको हो, जसले यसअघि पनि दुई पटक महामारी ल्याइसकेको थियो ।
इबोलाका छवटा फरक प्रजातिहरू एकअर्कासँग मिल्दोजुल्दो भए तापनि उनीहरूलाई छुट्टाछुट्टै उपचार र खोपको आवश्यकता पर्छ । त्यसैले यिनीहरूलाई ‘जुम्ल्याहा भन्दा पनि दिदीबहिनी’ जस्तो मानिन्छ । यसको अर्थ अहिले फैलिएको प्रजातिको लागि हालसम्म कुनै प्रमाणित औषधि वा खोप उपलब्ध छैन ।
यो महामारी अझै नियन्त्रणमा आइसकेको छैन । द्वन्द्वग्रस्त क्षेत्र र धेरै आवतजावत गर्ने जनसंख्या भएको ठाउँमा यो फैलिरहेको हुनाले रोग नियन्त्रणका लागि खोपको आवश्यकता झनै बढेको छ ।
अक्सफोर्ड विश्वविद्यालयमा आधारित यस परीक्षणकी प्रमुख अनुसन्धानकर्ता डा. कट्रिना पोलकले बीबीसीलाई बताइन्, ‘यस्तै प्रकारको महामारीको सामना गर्न तयार रहनकै लागि हामी सधैं नयाँ खोपहरूको पहिलो चरणको (सुरुवाती) परीक्षण गरिरहेका हुन्छौं ।’
यो परीक्षण १८ देखि ५५ वर्ष उमेर समूहका ५० जना स्वस्थ वयस्कहरूमा गरिनेछ । अनुसन्धानकर्ताहरूले अफ्रिकामा परीक्षणको तयारी गर्न युगान्डाका साझेदारहरूसँग पनि काम गरिरहेका छन् ।
स्वयंसेवकहरूलाई एक वर्षसम्म निगरानीमा राखिनेछ । तर, यो खोपले शरीरमा कस्तो प्रतिरोधात्मक क्षमता विकास गरिरहेको छ वा कुनै अप्रत्याशित साइड इफेक्ट (पाश्र्व प्रभाव) पो छ कि भन्नेबारे वैज्ञानिकहरूले चाँडै पत्ता लगाउनेछन् ।
अक्सफोर्डको टोलीले केही हप्तामै खोप विकास गर्न सक्नुको कारण उनीहरूले कोभिड महामारीको बेला चर्चामा आएको र अक्सफोर्ड–एस्ट्राजेनेका कोभिड खोपमा प्रयोग गरिएको प्रविधिकै प्रयोग गर्नु हो ।
यसमा चिम्पान्जीलाई संक्रमण गर्ने रुघाखोकीको भाइरसलाई सुरक्षित बनाउन आनुवंशिक रूपमा परिमार्जन गरेर प्रयोग गरिएको छ ।
यसले एउटा खाम जस्तो काम गर्छ र शरीरभित्र पठाउनु अघि अनुसन्धानकर्ताहरूले भित्रको चिठी मात्र परिवर्तन गरे पुग्छ । कोभिडको समयमा, शरीरमा पठाइएको उक्त चिठी कोभिड भाइरसको आनुवंशिक कोडको एउटा सानो अंश थियो । यसपटक भने त्यो चिठी इबोलाको बुन्डिबुग्यो प्रजातिको आनुवंशिक अंश हो ।
यो खोपले आफैंमा संक्रमण गराउँदैन, तर आनुवंशिक कोडको त्यो टुक्राले शरीरभित्र इबोलाको एउटा भाइरल प्रोटिन उत्पादन गर्न थाल्छ ।
रोग प्रतिरोधात्मक प्रणालीलाई खतरा पहिचान गर्न र त्यसको विरुद्धमा प्रतिरक्षा प्रणाली तयार गर्न यति नै पर्याप्त हुन्छ ।
यसको अर्थ, यदि भविष्यमा साँच्चिकै इबोला भाइरसको सामना गर्नुप¥यो भने शरीर त्यससँग लड्न पहिल्यै तयार भइसकेको हुन्छ ।
यो खोप मुसा र बाँदरमा परीक्षण गरेर विकास गरिएको हो र हाल भारतको सेरम इन्स्टिच्युटले यसलाई क्लिनिकल मापदण्ड अनुसार उत्पादन गरिरहेको छ । उसले करिब ६ लाख २० हजार मात्रा उत्पादन गरेर भण्डारण गरिसकेको छ ।
त्यही तथ्यांकका आधारमा बेलायतको मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले मानवमा परीक्षण गर्न अनुमति दिएको हो ।
खोप अनुसन्धानकर्ता एलेक्स स्याम्प्सनले बीबीसीसँग भने, ‘महामारी फैलिएको खबर सुन्नेबित्तिकै हामीले कामको गति एकदमै छिटो बढाउन सफल भयौं ।’
सामान्यतया एउटा खोपको अनुसन्धान गर्न, विकास गर्न र प्रभावकारी साबित हुन एक दशकसम्म लाग्न सक्छ । तर, स्याम्प्सनका अनुसार यसपटक कुनै पनि प्रक्रिया छोट्याइएको वा बेवास्ता गरिएको छैन ।
उनले थपे, ‘हामीले सामान्य अवस्थामा गर्ने सबै परीक्षणहरू नै गरिरहेका छौं, फरक यत्ति हो कि हामीले ती परीक्षणहरू एकैसाथ अघि बढायौं । विभिन्न ठाउँमा धेरै टोलीहरूले चौबीसै घण्टा काम गरिरहेका छन्, तर हामीले नियमित रूपमा गर्नुपर्ने सबै प्रक्रियाहरू पूरा गरिरहेका छौं ।’
अक्सफोर्ड कोभिड खोपले विश्वभर प्रयोगमा आएको पहिलो वर्षमै करिब ६० लाख मानिसको ज्यान जोगाएको अनुमान गरिएको थियो र यसका करोडौं मात्राहरू मानिसहरूले लगाइसकेका छन् ।
यद्यपि, रगत जम्ने दुर्लभ समस्याका कारण केही देशहरूमा यो खोपको प्रयोगमा प्रतिबन्ध पनि लगाइएको थियो । यस्तो समस्या एक लाखमा एक जनासम्मलाई देखिएको थियो ।
यो नयाँ खोपमा पनि त्यस्तै जोखिम हुन सक्ने सम्भावना छ । यद्यपि, इबोलाको बुन्डिबुग्यो प्रजातिको संक्रमणले संक्रमितमध्ये एक तिहाइको ज्यान लिने हुनाले त्यसको तुलनामा खोपको जोखिम निकै कम हो ।
डा. पोलकका अनुसार गम्भीर साइड इफेक्टहरू ‘धेरै दुर्लभ’ हुन्छन् । स्वस्थ मानिसहरूमा गरिने परीक्षणका प्रभावहरूबारे उनीहरूले ‘निकै गम्भीरतापूर्वक’ सोचेको र कुनै पनि जोखिमबारे स्वयंसेवकहरूलाई जानकारी गराइने उनले बताइन् । उनले भनिन्, ‘म के कुरामा जोड दिन चाहन्छु भने कोभिडको एस्ट्राजेनेका खोप लाखौं मानिसहरूलाई सुरक्षित रूपमा दिइएको थियो ।’ 
इबोलाको बुन्डिबुग्यो प्रजातिका लागि विकास भइरहेका अन्य तीनवटा खोप पनि छन् । तीमध्ये एउटा बायोटेक्नोलोजी कम्पनी मोडर्नाले आफ्नो एमआरएनए प्रविधि प्रयोग गरेर बनाइरहेको खोप हो । त्यसैगरी, अमेरिकास्थित इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ र पब्लिक हेल्थ भ्याक्सिनले इबोलाको अर्को प्रजातिमा प्रभावकारी साबित भइसकेको प्रविधि नै प्रयोग गरिरहेका छन्, तर त्यसको उत्पादन प्रक्रिया भने केही ढिलो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्