नेभिगेशन
खेलकुद

स्पेनले फ्रान्सलाई कसरी बनायो निरीह ?

स्पेनले फ्रान्सविरुद्ध विश्वकपको सेमिफाइनलमा प्रदर्शन गरेको खेललाई धेरैले ‘फुटबलको पाठशाला’ भनेका छन् । बलमाथिको नियन्त्रण, सामूहिक समन्वय, उत्कृष्ट मिडफिल्ड र रणनीतिक अनुशासनको नमुना प्रस्तुत गर्दै स्पेनले फ्रान्सलाई २–० ले पराजित ग¥यो र इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित ग¥यो ।
प्रतियोगिताभर किलियन एम्बाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसेको आक्रमणका कारण फ्रान्सलाई सबैभन्दा बलियो दाबेदार मानिएको थियो । तर स्पेनले युरोपियन च्याम्पियन किन हो भन्ने प्रमाण फेरि एकपटक दियो । लगातार ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहने इटालीको कीर्तिमान बराबरी गर्दै स्पेनले फ्रान्सलाई खेलभर नियन्त्रणमा राख्यो ।
विश्वकपको सुरुआती चरणमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेन धेरैको नजरमा थिएन । किशोर स्टार लामिन यामालले पनि प्रतियोगिताभर एक गोल मात्र गरेका थिए । तर नकआउट चरणमा पुग्दै जाँदा टोलीले उत्कृष्ट लय समात्यो । सातमध्ये छ खेलमा क्लिनसिट राखेको स्पेन अब उपाधिको प्रमुख दाबेदार बनेको छ । उसले फाइनलमा अर्जेन्टिना वा इंग्ल्यान्डमध्ये एकसँग खेल्नेछ ।
यता फ्रान्स भने तेस्रो स्थानका लागि हुने खेल खेल्न बाध्य भएको छ । स्पेनको प्रभावशाली मिडफिल्डका कारण फ्रान्सले खेलभर लक्ष्यतर्फ केवल तीन प्रहार मात्र गर्न सक्यो ।
पूर्व प्रिमियर लिग विजेता क्रिस सटनले भने, “स्पेनले फ्रान्सलाई केवल हराएन, पूर्ण रूपमा दबायो । प्रतियोगिताभर फ्रान्सको धेरै प्रशंसा भयो तर स्पेनले उनीहरूलाई सहज रूपमा निष्प्रभावी बनायो । स्पेनले संघर्ष, रणनीति र खेल सबै पक्षमा फ्रान्सलाई उछिनेको देखियो ।”
पूर्व म्यानचेस्टर युनाइटेड कप्तान रोय किनले पनि आईटीभीसँग भने, “फ्रान्स टोलीका रूपमा खेलेन । त्यहाँ केवल उत्कृष्ट व्यक्तिगत खेलाडी थिए, तर टोली थिएन । स्पेन भने सामूहिक रूपमा अद्भुत थियो । उनीहरूको खेल हेर्न साँच्चै आनन्द लाग्यो ।”
आलोचित प्रशिक्षकबाट विश्वकप फाइनलसम्म
डिसेम्बर २०२२ मा लुइस दे ला फुएन्तेलाई स्पेनको मुख्य प्रशिक्षक नियुक्त गर्दा धेरैले उनलाई खासै नचिनेका थिए । कतिपयले त ‘लुइस दे ला को ?’ भनेर समेत व्यंग्य गरेका थिए । स्पेनजस्तो ठूला प्रशिक्षकहरूद्वारा नेतृत्व गरिने टोलीमा युवा उमेर समूहका प्रशिक्षकलाई जिम्मेवारी दिनुलाई धेरैले जोखिम मानेका थिए ।
तर ६५ वर्षीय दे ला फुएन्तेले आलोचकलाई नतिजामार्फत जवाफ दिएका छन् । उनले २०२३ मा नेसन्स लिग जिताए, त्यसपछि युरो २०२४ को उपाधि दिलाए र अहिले स्पेनलाई विश्वकप फाइनलसम्म पु¥याएका छन् ।
यदि इंग्ल्यान्डले अर्को सेमिफाइनल जितेमा दुई वर्षअघिको युरो फाइनलको पुनरावृत्ति हुनेछ ।
स्पेनका कीर्तिमानी तथ्य
स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३७ खेल अपराजित रहँदै इटालीको कीर्तिमान बराबरी गरेको छ । आयमेरिक लापोर्टे (२२), मिकेल ओयारजाबाल (२०), फाबियन रुइज (१६), मिकेल मेरिनो (१४) र लामिन यामाल (१४) विश्वकप वा युरोमा यति धेरै खेल खेल्दा कहिल्यै नहार्ने युरोपेली खेलाडी बनेका छन् ।
यामालले स्पेनका लागि अहिलेसम्म कुनै पनि खेल हारेका छैनन् । उनले विश्वकप र युरोमा सुरुदेखि खेलेका १२ वटै खेल स्पेनले जितेको छ ।
विश्वकपको एउटै संस्करणमा छ क्लिनसिट राख्ने पहिलो टोली पनि स्पेन बनेको छ । फ्रान्सविरुद्ध उसले केवल ०.३ एक्सजी (अपेक्षित गोल) मात्र सामना ग¥यो, जुन १९९४ पछि विश्वकप सेमिफाइनलमा कुनै टोलीले विपक्षीलाई दिएको सबैभन्दा न्यून अवसर हो ।
२०१० को आत्मा फर्किएको स्पेन
स्पेनको यात्रा सहज थिएन । अन्तिम १६ मा पोर्चुगललाई ९१औँ मिनेटको गोलले हरायो भने क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध ८८औँ मिनेटमा विजयी गोल गरेको थियो ।
तर फ्रान्सविरुद्ध भने स्पेनले सुरुदेखि नै खेल नियन्त्रणमा राख्यो । मिकेल ओयारजाबालको पेनाल्टी र पेड्रो पोरोको आकर्षक गोलबाट एक घण्टाभित्रै २–० को अग्रता बनायो । रोचक कुरा, स्पेनका लक्ष्यतर्फ भएका दुई प्रहार नै गोलमा परिणत भए ।
पूर्व फ्रान्स डिफेन्डर गेल क्लिसीले भने, “यो स्पेनको इतिहासकै सबैभन्दा महान टोली होइन । तर उत्कृष्ट टोलीले जित्यो । खेलका हरेक पक्ष स्पेनको नियन्त्रणमा थिए । हामी उनीहरूको शैलीसँग परिचित छौं, तर उनीहरूले त्यो शैलीलाई अत्यन्त प्रभावकारी बनाएका छन् ।”
विश्वकप विजेता प्याट्रिक भिएराले पनि स्पेनले “खेलको हरेक पक्षमा प्रभुत्व जमाएको” बताए ।
पूर्व इंग्ल्यान्ड स्ट्राइकर इयान राइटले भने, “आज व्यक्तिगत प्रतिभाभन्दा संरचना र सामूहिकता विजयी भयो । यति सजिलै फ्रान्स हार्ला भन्ने मैले सोचेको थिइनँ ।”
स्पेनी फुटबल विश्लेषक गुइयेम बालागेले थपे, “स्पेनले पूर्ण रूपमा सामूहिक फुटबलको उत्कृष्ट नमुना देखायो । उनीहरूले खेलको प्रत्येक पक्ष नियन्त्रण गरे । यस्तो प्रदर्शन फुटबल प्रशिक्षण केन्द्रहरूमा अध्ययन गराइनुपर्छ ।”
‘हामीले २०१० को भावना फर्कायौं’
खेलपछि प्रशिक्षक दे ला फुएन्तेले आफ्नो टोलीको सफलताको श्रेय खेलाडीहरूको मेहनत, प्रतिभा, त्याग र निरन्तर सुधार गर्ने चाहनालाई दिए ।
उनले भने, “हामीले २०१० को विश्वविजेता टोलीको भावना फेरि प्राप्त गरेका छौं । हाम्रो टोलीको चरित्र यति बलियो छ कि नखेलेका खेलाडीहरू पनि खेल सकिएपछि अभ्यास गर्न मैदानमै बसे । यो सबै योजनाअनुसार अघि बढेको प्रक्रिया हो ।”
स्पेनभर समर्थकहरूले जितको उत्सव मनाइरहेका बेला उनलाई राजा फेलिपे छैटौँले समेत फोन गरेर बधाई दिएका थिए ।
दे ला फुएन्तेको आफ्ना खेलाडीसँग विशेष सम्बन्ध छ । उनले यिनै धेरै खेलाडीलाई यू–१९, यू–२१ र यू–२३ टोलीमा प्रशिक्षण दिएका थिए । मिकेल मेरिनो, रोड्री, उनाइ सिमोन, ओयारजाबाल र डानी ओल्मोजस्ता खेलाडीहरू दशकदेखि उनीसँगै हुर्किएका हुन् ।
बालागेका अनुसार, “दे ला फुएन्तेले १० वर्षअघि सुरु गरेको यात्रा अहिले विश्वकप फाइनलसम्म पुगेको हो । यी खेलाडीहरू सँगै हुर्किए, सँगै उपाधि जिते र एउटा परिवार बने । व्यक्तिगत प्रतिभाभन्दा सामूहिक शक्ति ठूलो हुन्छ भन्ने भावना उनीहरूको डीएनएमै बसिसकेको छ ।”
रणनीतिले जित्यो खेल
रणनीतिक विश्लेषक उमिर इरफानका अनुसार स्पेनको जितको आधार बलमाथिको नियन्त्रण, प्रभावकारी काउन्टर–प्रेसिङ, छोटो पास र बलियो मिडफिल्ड थियो ।
फाबियन रुइज, रोड्री र डानी ओल्मोको त्रयीले फ्रान्सको दुई सदस्यीय मिडफिल्डलाई पूर्ण रूपमा दबायो । विशेषगरी ‘रोमिङ नम्बर १०’ को भूमिकामा रहेका ओल्मो बारम्बार तल झरेर मिडफिल्डमा संख्यात्मक श्रेष्ठता सिर्जना गर्थे । उनले प्रेसिङबाट सहजै उम्केर सहकर्मीलाई पास दिने क्षमता देखाए, जसले स्पेनका धेरै आक्रमण निर्माण भए ।
स्पेनले फ्रान्सका फुलब्याकतर्फ पनि निरन्तर दबाब बनायो । आफ्ना फुलब्याकलाई माथि चढाएर आक्रमण गर्दा फ्रान्सका डिफेन्डरहरू एकैसाथ दुई खेलाडी रोक्न बाध्य भए । दोस्रो गोलमा पनि यही रणनीति सफल भयो । डिजिरे डुएले पेड्रो पोरोको दौडलाई पछ्याउन नसक्दा उनले बल फर्काएर उत्कृष्ट गोल गरे ।
यसरी स्पेनले व्यक्तिगत स्टार खेलाडीभन्दा उत्कृष्ट टोली खेल नै सबैभन्दा ठूलो शक्ति हो भन्ने सन्देश विश्व फुटबललाई फेरि एकपटक स्पष्ट रूपमा दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्