इंग्ल्यान्ड सन् १९६६ यता पहिलो पटक पुरुष विश्वकपको फाइनल पुग्ने संघारमा थियो । गत विश्वविजेता अर्जेन्टिनाविरुद्ध एटलान्टा स्टेडियममा खेलको ८४औँ मिनेटसम्म इंग्ल्यान्ड १–० ले अघि थियो । तर त्यसपछि सबै कुरा नाटकीय रूपमा उल्टियो ।
८५औँ मिनेटमा एन्जो फर्नान्डेजले शक्तिशाली प्रहारमार्फत बराबरी गोल गरे भने इन्जुरी समयको ९२औँ मिनेटमा लाउटारो मार्टिनेजले हेडमार्फत विजयी गोल गरे । दुवै गोलमा लियोनेल मेस्सीले असिस्ट गरेका थिए ।
क्षणभरमै इंग्ल्यान्डको विश्वकप जित्ने सपना चकनाचुर भयो । ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता बनाउन इंग्ल्यान्डले निकै मेहनत गरेको थियो । तर त्यसपछि टोली पछाडि हटेर केवल रक्षा गर्न केन्द्रित भयो र त्यसकै मूल्य चुकायो ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेलले रक्षात्मक रणनीति अपनाउने निर्णय गरे, तर त्यो उल्टै महँगो साबित भयो । अब आइतबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
तर प्रश्न उठेको छ—१–० ले अघि बढेपछि इंग्ल्यान्डले दोस्रो गोलका लागि आक्रामक खेल्नुपर्ने थियो कि थिएन? त्यसो भएन । अग्रता लिएपछि दोस्रो गोल खानुअघिसम्म इंग्ल्यान्डसँग जम्मा १२ प्रतिशत मात्रै बलको नियन्त्रण रह्यो ।
टुखेलले अग्रपंक्तिका मार्कस रासफोर्ड र आइभान टोनीलाई इन्जुरी समयको गहिराइमा मात्रै मैदान पठाए । त्यसअघि भने अग्रता लिएपछि एज्री कोन्सा, ड्यान बर्न र निको ओ’राइलीजस्ता रक्षकलाई मैदानमा उतारे ।
पूर्व इंग्ल्यान्ड कप्तान वेन रुनीले बीबीसीसँग भने, “हामी पूर्ण रूपमा ध्वस्त भयौँ । यो सबै प्रशिक्षकका निर्णयबाट सुरु भयो । टोली अत्यन्त निष्क्रिय भयो ।“
उनले थपे, “विश्वविजेता टोलीविरुद्ध यस्तो खेल्दा छुट पाइँदैन । यो सबैभन्दा ठूलो परीक्षा थियो, र हामी त्यसमा असफल भयौं ।“
किन पछाडि हट्यो इंग्ल्यान्ड?
यस विश्वकपमा इंग्ल्यान्डले पछाडिबाट फर्केर अन्तिम ३२ मा डीआर कङ्गो र क्वार्टरफाइनलमा नर्वेलाई हराउँदै उत्कृष्ट मानसिकता देखाएको थियो ।
तर पूर्व कप्तान एलन शियररका अनुसार अर्जेन्टिना त्यस्ता टोलीभन्दा धेरै गुणस्तरीय थियो ।
उनले भने, “नर्वे वा मेक्सिकोविरुद्ध जस्तो रक्षा गरेर समय काट्न सकिन्थ्यो, तर अर्जेन्टिनासँग बल नियन्त्रण गर्ने र अवसरलाई गोलमा बदल्ने क्षमता फरक स्तरको छ । टुखेलले आफ्ना सबै कार्ड धेरै चाँडै प्रयोग गरे र त्यसको उल्टो असर प¥यो ।“
गोर्डनले गोल गरेपछि इंग्ल्यान्डले खेल नियन्त्रणमा लिएको जस्तो देखिएको थियो ।
समर्थकहरूले खुसीयाली मनाइरहेका बेला टोली भने आफ्नै क्षेत्रमा सीमित भएर रक्षा गर्न थाल्यो ।
सन् १९९४–९५ मा ब्ल्याकबर्नसँग प्रिमियर लिग जितेका क्रिस सटनले बीबीसी रेडियो फाइभ लाइभसँग भने, “यो टुखेलको प्रशिक्षकीय विपत्ति थियो । अर्जेन्टिनाजस्तो टोलीविरुद्ध ३० मिनेट लगातार रक्षा गरेर टिक्न सकिँदैन ।“
उनले थपे, “यसको सम्पूर्ण जिम्मेवारी प्रशिक्षकमाथि जान्छ । सबै परिवर्तन उनले गरे । उनले अत्यन्त नकारात्मक सोच देखाए । अब प्रश्न उठ्छ—के अब पनि टुखेलमाथि भविष्यको जिम्मेवारी राख्न सकिन्छ?“
इतिहास दोहोरियो
अर्जेन्टिनासँग इंग्ल्यान्डको विश्वकप इतिहास पीडादायी रहँदै आएको छ । सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको कुख्यात ’ह्यान्ड अफ गड’ गोल र १९९८ को हार अझै समर्थकको स्मृतिमा ताजा छन् ।
तर यसपटक भने हारको दोष अरूलाई दिन मिल्ने अवस्था थिएन ।
पूर्व गोलकिपर जो हार्टले भने, “नर्वे र मेक्सिको इंग्ल्यान्डविरुद्ध दबाबमा परेका थिए । तर अर्जेन्टिनामा मैले कुनै डर देखिनँ । उनीहरू आत्मविश्वासी थिए । उनीहरूले मेस्सीलाई स्वतन्त्र बनाउँदै लगातार इंग्ल्यान्डमाथि आक्रमण गरे ।“
उनले थपे, “ग्यारेथ साउथगेटले पनि ठूला खेलमा अग्रता लिएपछि टोलीलाई रक्षात्मक बनाएको भन्दै आलोचना खेपेका थिए । आज हेर्दा त्यो सोचमा केही परिवर्तन देखिएन ।“
समर्थक किन आक्रोशित ?
इंग्ल्यान्ड १–० ले अघि भएपछि धेरैले दोस्रो गोलका लागि टोलीले थप आक्रमण गर्ने अपेक्षा गरेका थिए ।
तर ७२औँ मिनेटमा टुखेलले गोर्डनको स्थानमा एज्री कोन्सालाई उतार्दै पाँच रक्षकको संरचना अपनाए ।
त्यसको १० मिनेटपछि ड्यान बर्न र निको ओ’राइलीलाई पनि मैदानमा उतारियो । रासफोर्ड र टोनीलाई अन्तिम क्षणमा मात्रै मौका दिइयो ।
रुनीले भने, “१–० भएपछि गरिएका परिवर्तनले अर्जेन्टिनाले बराबरी गरेपछि हामी अतिरिक्त समयमा पुग्ने सम्भावना नै समाप्त गरिदियो ।“
पूर्व रक्षक माइका रिचड्र्सले भने, “पहिलो गोलपछि इंग्ल्यान्डले दोस्रो गोल खोज्नुपर्ने थियो । उनीहरूको गुणस्तरको सम्मान गर्नुपथ्र्यो, तर यति धेरै पछाडि हट्दा अर्जेन्टिनाले आफ्नो लय भेट्टायो ।“
“हामी अग्रता जोगाउने प्रयासमै सीमित भयौं“
अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले समेत इंग्ल्यान्डको रणनीति परिवर्तन निर्णायक बनेको स्वीकारे ।
उनले भने, “कहिलेकाहीँ अग्रता लिएपछि पनि अघि बढ्नुपर्छ । खेल योजना परिवर्तन गर्नु हुँदैन । तर उनीहरूले त्यसो गरे र थप रक्षक मैदानमा पठाए ।“
टुखेलले इंग्ल्यान्डलाई सन् २०२२ को क्वार्टरफाइनलभन्दा अगाडि पु¥याए पनि टोलीमा ह्यारी केन, जुड बेलिङ्घमजस्ता विश्वस्तरीय खेलाडी थिए ।
इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि टोलीले अझ धेरै गर्न सक्ने बताएका छन् ।
“१–० भएपछि हामी अग्रता जोगाउन मात्रै लाग्यौं । यो स्तरमा त्यति पर्याप्त हुँदैन,“ केनले थपे, “हामीले सुरुमा उच्च प्रेसिङ गरेर उनीहरूलाई निकै दबाबमा राखेका थियौं । त्यसले हामीलाई खेल नियन्त्रण गर्न सहयोग गरेको थियो । तर गोलपछि चाहे उनीहरूले बढी खेलाडी अघि सारेका हुन् वा हामीले उनीहरूलाई रोक्न नसकेका हौं, लगातार आक्रमणको लहर आयो । अन्ततः हाम्रो प्रतिरक्षा पर्याप्त भएन ।“
रुनीले भने, “यदि तपाईं आक्रमणकारी खेलाडी हुनुहुन्छ र प्रशिक्षकले यस्ता परिवर्तन गरिरहेको देख्नुहुन्छ भने तपाईंको आत्मविश्वास नै हराउँछ । त्यसपछि मनमा आउँछ—’हामी यति लामो समय रक्षा गरेर कसरी टिक्ने?’“
“हामी धेरै निष्क्रिय भयौं“
खेलपछि आफ्ना निर्णय गलत थिए कि भनेर सोध्दा टुखेलले आफूलाई कुनै पछुतो नभएको बताए । उनले भने, “हामीले पाँच रक्षकको संरचना अपनायौं ताकि खाली ठाउँ बन्द गर्न सकियोस् ।“
उनले थपे, “हामीले गोल गरेलगत्तै कुनै परिवर्तन नगर्दै पनि धेरै क्रस र अवसर दिएका थियौं । त्यसैले टोलीलाई सहयोग गर्न परिवर्तन गरेका हौं ।“
“जब नतिजा राम्रो आउँदैन, निर्णय गलत थियो भन्न सजिलो हुन्छ । हामी आज निकै नजिक पुगेका थियौं । अहिले पूरै प्रतियोगिताको समीक्षा गर्ने समय होइन ।“
यद्यपि सेमिफाइनलसम्म पुगे पनि अग्रता लिएर पनि फाइनलमा पुग्न नसक्नुका कारण टुखेलका रणनीति र निर्णयमाथि तीव्र आलोचना हुने निश्चित देखिन्छ । रिचड्र्सले भने, “सबैभन्दा ठूलो मञ्चमा उनले गल्ती गरे । अब त्यो स्वीकार गर्नैपर्छ ।“
टुखेलविरुद्ध तथ्यांक पनि कठोर
खेल विश्लेषक प्रुडेन्ट एन्सेन्गियुम्भाको विश्लेषअनुसार, थोमस टुखेलले अर्जेन्टिनाविरुद्धको हारको समीक्षा गर्दा सबैभन्दा बढी ध्यान दिने पक्ष एउटा विशेष खेल अवधिको हुनेछ ।
खेलपछि सामाजिक सञ्जालमा एउटा दाबी भाइरल बन्यो कि ६६औँ मिनेटदेखि अर्जेन्टिनाले बराबरी गोल गर्दासम्म इंग्ल्यान्डले केवल दुईवटा पास मात्रै पूरा गरेको थियो । त्यो दाबी पूर्ण रूपमा सही भने होइन । तर वास्तविक तथ्य त्यसभन्दा धेरै राम्रो पनि छैन ।
अप्टाका अनुसार ६६ मिनेट ५ सेकेन्डदेखि ८४ मिनेट ४२ सेकेन्डसम्म इंग्ल्यान्डले आठ प्रयासमध्ये केवल तीनवटा पास मात्रै सफलतापूर्वक पूरा ग¥यो । तीमध्ये दुई पास गोलकिपर जोर्डन पिकफोर्डले र एउटा सेन्टर ब्याक जोन स्टोन्सले पूरा गरेका थिए । तर त्यो एक्लो कमजोर अवधि मात्र थिएन ।
इंग्ल्यान्डले गोल गरेदेखि अर्जेन्टिनाले बराबरी नगरेसम्मको सम्पूर्ण तथ्यांक अझ निराशाजनक देखिन्छ । त्यस अवधिमा इंग्ल्यान्डसँग केवल १२ प्रतिशत बलको नियन्त्रण थियो । टोलीले ३४ मध्ये २४ पास मात्रै सफल बनायो । विपक्षीको पेनाल्टी क्षेत्रमा एउटा पनि स्पर्श गर्न सकेन ।
उता अर्जेन्टिनासँग ८८ प्रतिशत बल रह्यो भने उसले इंग्ल्यान्डको पेनाल्टी क्षेत्रमा १५ पटक बल छोयो । दबाब कम गर्न नसकेको अवस्थाको असर टोलीका प्रमुख खेलाडीहरूमा पनि स्पष्ट देखियो ।
जुड बेलिङ्घम र ह्यारी केनले प्रायः निर्णायक क्षण सिर्जना गर्दै आएका छन् । अर्जेन्टिनाको पेनाल्टी क्षेत्रमा एकपटक पनि बल छुन सकेनन् । खेल आफ्नो हातबाट फुस्किन थालेपछि इंग्ल्यान्डले यिनै खेलाडीबाट केही विशेष हुने आशा राखेको थियो । तर उनीहरू भने लियोनेल स्कालोनीको टोलीको निरन्तर अग्रसर आक्रमण रोक्नमै व्यस्त भए ।
खेलपछि टुखेलले समग्र प्रदर्शनबाट आफू धेरै हदसम्म सन्तुष्ट रहेको संकेत दिएका थिए तर तथ्यांकले भने बिल्कुलै फरक कथा सुनाउँछ ।
खेल नियन्त्रणलाई आफ्नो टोलीको पहिचान बनाएका प्रशिक्षकका लागि यही तथ्य हारको समीक्षा गर्दा सबैभन्दा पीडादायी निष्कर्ष बन्ने सम्भावना छ ।