नेभिगेशन
दृष्टिकोण

बेवास्तामा परेका बाथ–मुटुरोग

‘गर्भावस्थाभर कुनै समस्याको अनुभव नगरेकी महिलाको सुत्केरी हुने बेलामा मृत्यु भयो ।’ गाउँघरमा र शहरमा पनि यस्ता घटना कति सुनिन्छन् । महिला स्वास्थ्य र सुरक्षाका धेरै कार्यक्रमहरू पनि स्वास्थ्य मन्त्रालयले ल्याएको छ । यसै विषयमा काम गर्ने धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्था पनि छन् ।

तर, महिला स्वास्थ्यको कुरा गर्दा प्रायः सबैको ध्यान ‘महिला प्रजनन स्वास्थ्यमा’ मात्र केन्द्रित हुन्छ । महिलाको स्तन र पाठेघरको क्यान्सर, रक्तअल्पता र कुपोषण, पाठेघर खस्ने समस्याको बारेमा कहिले कहिले छलफल हुन्छ । तर ती पनि प्रजनन स्वास्थ्यसँगै जोडिन्छन् । यस प्रकार महिला स्वास्थ्यबारेको ९० प्रतिशत चिन्तन र प्रयास ‘पाठेघर र यसकै वरिपरि’ घुमेको पाइन्छ ।

‘प्रजनन स्वास्थ्य’ महिलाको स्वास्थ्यको एक महत्त्वपूर्ण मुद्दा हो, तर महिलाहरूलाई हुने रोग र मृत्युकै कुरा गर्दा यो समस्या जत्तिकै नसर्ने रोगहरू र विशेषगरी मुटुसँग जोडिएको समस्याहरू पनि महिला स्वास्थ्यका महत्त्वपूर्ण पक्ष हुन् । गरिबी, अशिक्षाले महिलाको प्रजनन स्वास्थ्यका साथै अनेकन नसर्ने रोगहरू पनि बढाउँछ । अनि मुटुरोगको कारणले प्रजनन स्वास्थ्यमा समेत समस्यापर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अल्पायुमै हुने महिला मृत्युको ६५ प्रतिशत (३ कारण मध्ये २) नसर्ने रोग हो । नसर्ने रोगहरूमध्ये मुटुरोगको समस्या ४० प्रतिशत छ । यसको अर्थ हो नसर्ने रोगको समस्या र यसबाट महिलाको मृत्यु हुने संभावना धेरै छ । प्रजनन उमेरका महिला मृत्युको ठूलो कारण मुटुरोग हो र मुटुरो मध्ये हृदयघात, उच्चरक्तचाप र बाथ–मुटुरोग प्रमुख हुन् । तर महिला स्वास्थ्यको कुरा गर्दा यस विषयमा प्रायः जनस्वास्थ्यकर्मिले छलफल गरेको पाइन्न ।

शहरीकरण, औद्योगिकीकरण, सामाजिक, आर्थिक उत्थानसँगै जीवनशैलीमा आएको परिवर्तनले महिलामा हुने रोग र यसले पार्ने प्रभावमा पनि परिवर्तन आएको छ । तीन दशकअघि भन्दा अहिले नसर्ने रोगको समस्या तीन गुणाले बढेको छ ।

यसबाट हुने अशक्तता र मृत्युबारे विचार गर्दा ‘महिला स्वास्थ्य’ बारेका परम्परागत सोचाइ र दृष्टीकोणमा परिवर्तन हुनु आवश्यक देखिन्छ। महिला स्वास्थ्य नीति कार्यक्रम बनाउँदा केबल प्रजनन स्वास्थ्यकाबारेमा मात्र होइन, नसर्ने रोगहरू जस्तै मुटुरोग, बाथ रोग, मधुमेह, आदिलाई पनि समेट्नुपर्छ ।

महिलाको सुत्केरी र गर्भवतीको बेला एक्कासी मृत्यु हुने धेरै कारण छन् । तर यसरी एक्कासी मृत्यु हुने कारणमध्ये बाथ–मुटुरोग एक ठूलो समस्या हो भन्ने प्रायः स्वास्थ्यकर्मीले विचार गर्दैनन् । बाथ–मुटुरोग घाँटी र टन्सिलमा हुने ब्याक्टेरियाको संक्रमणबाट सुरु भएर हात खुट्टाका जोर्नीहरू दुख्ने र सुन्निने (बाथ) हुन्छ । 

भनिन्छ ‘बाथले जोर्नीलाई चाट्छ तर मुटुलाई खान्छ ।’ यसको लागि दुख्न कम हुने दबाइ खाइन्छ तर रोग भित्रभित्रै मुटुसम्म पुग्दछ । यसले मुटुको भल्भलाई नष्ट गर्छ र बिस्तारै मुटुले काम गर्न छोड्छ । यदि सुरुमै उपचार नगरे सुत्केरी अवस्थामा महिलाको मृत्यु हुन सक्छ । विशेषगरी गाउँघरमा बाथ– मुटुरोगको समस्याका बारेमा थाहा हुँदैन ।

यसको स्वास्थ्य चौकीमा निदान हुँदैन । अनि सुत्केरीको अकालमा मृत्यु हुन सक्छ । तीमध्ये ५० प्रतिशत भन्दा बढीलाई रोग भएको थियो भन्नेसमेत थाहा हुन्न । यो भनाइ गरिब देशको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको हो । यो तथ्यांक नेपालको पनि हुन सक्छ, तर यसका बारेमा कुनै अनुसन्धान भएको छैन ।

बाथ–मुटुरोगबाट पुरुषभन्दा महिलाहरू बढी संख्यामा पीडित हुन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार यस रोगबाट पीडित हुने १०० जना बिरामीमध्ये ६० जना महिला हुन्छन् । गरिबी र अशिक्षाको असर पुरुषभन्दा महिलामा बढी छ भने स्वास्थ्य उपचारमा पहुँच पुरुषभन्दा महिलामा कम छ ।

यसका साथै अनुवांशिक कारणले पनि महिलालाई बाथ–मुटुरोग बढी हुन्छ । तर यो ‘भाग्यले वा प्रकृतिले ठगेको’ भन्ने चाहिँ होइन । यस प्रकार स्वास्थ्यमा जेण्डरको विषय उठाउँदा बाथ–मुटुरोगलाई पनि चर्चामा ल्याउनु आवश्यक देखिन्छ । विदेशमा जहाँ प्राथमिक स्वास्थ्यका कार्यक्रमहरू सहज छन्, त्यहाँ यस्तो समस्या प्रायः छैन । भइहाले पनि उपचार छ र सुत्केरी बाथ–मुटुरोगले मर्ने संभावना कम हुन्छ ।

प्रजनन स्वास्थ्य सेवाको विस्तार र गर्भवती महिलाको मृत्युदर घटाउने नेपाल सरकारको नीतिले गर्भवती महिला परीक्षणका लागि स्वास्थ्य केन्द्रमा जाने र त्यहीँ प्रसूती गराउने प्रवृत्ति बढेको छ । तर यस्ता स्वास्थ्य केन्द्रहरूमा प्रसूती जाँचगर्दा पेट भित्रको बच्चाको मुटुको घड्कन जाँच्ने गरिन्छ, तर गर्भवती महिलाको मुटुको स्थितिको प्रायः बेवास्ता गरिन्छ ।

भारतमा गरिएको अध्ययनअनुसार एक प्रतिशत गर्भवती महिलामा मुटुरोग भएको पाइन्छ । यिनीहरूमध्ये ७० प्रतिशतलाई बाथ– मुटुरोग भएको देखिन्छ । यो रोगबाट पीडित गर्भवतीहरूमध्ये एक तिहाइको बच्चा जन्माउने क्रममा मृत्यु हुन्छ । योसँग महिना नपुग्दै बच्चा जन्मिने र कम तौल भएका बच्चा जन्मिने अवस्था पनि धेरै हदसम्म बाथ–मुटुरोगसँग जोडिएको छ ।

भारतमा गरिएको अध्ययनअनुसार बाथ–मुटुरोगबाट पीडित गर्भवती महिलाले जन्माउने बच्चाहरूमध्ये ३५ प्रतिशतको कम तौल भएको पाइयो र ७ प्रतिशतले महिना नपुग्दै बच्चा जन्माए । यसरी जन्मिएका बच्चाहरूमध्ये धेरै जसोको एक वर्ष नपुग्दै मृत्यु हुन्छ । अनि हामीले निमोनिया र कुपोषणलाई दोष दिन्छौं । बाथ–मुटुरोगबाट महिलालाई बचाउने तर्फ लागेको भए यो अवस्था आउने नै थिएन होला । तर बाथ–मुटुरोग प्राथमिकतामा नपरेको हुनाले कसैले ध्यान दिँदैनन् ।

सुत्केरी हुँदा मर्ने महिलाहरू सबै प्रसूती समस्याका कारणले मात्र मर्दैनन् । तीमध्ये धेरैजना मुटुले काम गर्न नसकेर पनि मर्छन् । त्यसको कारणमध्ये उनीहरू वर्षौंदेखि पीडित भैराखेको तर निदान नभएको बाथ–मुटुरोग प्रमुख हो । नेपालमा यसबारे आधिकारिक अध्ययनहरू कम भए पनि मुटुरोग विज्ञहरूको अनुभव अनि विश्वव्यापी तथ्यांकले यही देखाउँछ ।

यसकारण मातृ मृत्युदर घटाउने नेपाल सरकारको कार्यक्रममा बाथ–मुटुरोगको निदान, उपचार र रोकथामले पनि उचित ठाउँ पाउनुपर्छ, तर जनस्वास्थ्यको बारेमा त्यति वास्ता नभएकाले त्यसो हुन सकेको छैन । 

‘सुरक्षित मातृत्व’अन्तर्गतको गर्भवती महिलाको स्वास्थ्य परीक्षण प्रटोकोलमा अल्परक्तता, कुपोषण, भ्रुणको मुटुको धड्कनका साथै महिलाको मुटुको धड्कन पनि जाँच्ने र समस्या देखिए रोग निदान र उपचारका लागि सम्बन्धित ठाउँमा पठाउनुपर्ने नीति पनि समावेश हुनुपर्छ । यसो गर्दा गर्भवती र सुत्केरीको मृत्युमा कमी ल्याउन सकिन्छ ।

यसतर्फ महिला स्वास्थ्यबारे कुरा गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरू र यसबारे नीति कार्यक्रम बनाउने सरकारको ध्यान जानु आवश्यक छ । बाथ–मुटुरोगबाट बचाउन धेरै पैसाको जरुरत पर्दैन । कुशल ब्यवस्थापन, तालिम र स्वास्थ्यकर्मीलाई यो समस्याको गहिराइ बुझाउने र केही साधारण औषधीको व्यवस्था मात्र गरे पुग्छ । 

बालिकाहरूलाई बारम्बार घाँटी दुख्ने, जोर्नी दुख्ने भएका बेला यो कतै बाथ–मुटुरोगको सुरुवात होकी भनी शंका गर्न स्वास्थ्यकर्मीलाई सिकाउनुपर्छ । टन्सील पाकेर आए ‘एन्टिबायोटिक’ पूर्ण मात्रामा दिने, उनलाई चिसोबाट बचाउने, स्वस्थकर खाना ख्वाउने, घाममा खेल्न दिने आदि गर्नुपर्छ भनी अभिभावकलाई बुझाउनुपर्छ । 

यति हुँदाहुँदै पनि कसैलाई मुटुमा समस्या देखिएमा उनलाई पेनिसिलिन सुइ दिनुपर्छ । सुइ हरेक ३ हप्तामा एक चोटी लगाउनुपर्छ । यो गर्दा वर्षभरिमा रु. ५०० भन्दा बढी पर्दैन । तर यसले आमा र बच्चा दुवैलाई बचाउँछ । यो औषधी रोगको अवस्था हेरिकन ५ देखि १५–२० वर्षसम्म गर्नुपर्छ । 

बाथ–मुटुरोगको अप्रेशनबाट उपचार गर्न सरकारले वर्षमा ३० करोड रुपैयाँ खर्च गर्छ तर बाथ–मुटुरोग हुनै नदिन वा अप्रेशन गर्न नपर्ने गराउन स्वास्थ्य मन्त्रालयले वर्षमा एक डेढ करोड पनि खर्च गर्न चाहँदैन । अनि, बाथमुटुरोगबाट सुत्केरीहरूको मृत्यु भइरहन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्