नेभिगेशन
विश्व

फ्रान्सेली र अमेरिकी लालन-पालनमा फरक

एक समय बेलायती र अमेरिकी अभिभावकहरू आफ्ना फ्रान्सेली समकक्षीहरूलाई उत्सुकता र सायद केही ईष्र्याका साथ हेर्ने गर्थे किनभने फ्रान्सेली बालबालिका तुलनात्मक रूपमा बढी सभ्य, आज्ञाकारी र राम्रो भोजन संस्कार भएका ठानिन्थे । खाना खाँदा ‘धन्यवाद’ र ‘कृपया’ भन्नु, खानेकुरा नफाल्नु र लामो बिदा मनाउन जाने क्रममा रेलभित्र नच्याँठिनु जस्ता कुराहरूलाई फ्रान्सेली प्यारेन्टिङ अर्थात् हुर्काइको परम्परागत शैलीका सकारात्मक नतिजाका रूपमा हेरिन्थ्यो ।
तर, अहिले फ्रान्सका मध्यमवर्गीय अभिभावकहरू पहिले जस्तो कठोर हुन छाडेका छन् । सन् १९९० को दशकदेखि धेरैले बेलायती र अमेरिकी मोडलको नम्र हुर्काइ शैली (जेन्टल प्यारेन्टिङ) लाई अपनाउन थालेका छन् । यसलाई फ्रान्समा ‘सकारात्मक शिक्षा’ (एडुकेशन पोजिटिभ) को नाम दिइएको छ । यो बदलावले परम्परावादीहरूलाई भने आक्रोशित बनाएको छ । उनीहरू अमेरिकी शैलीको दया र समझदारीको सिद्धान्तलाई नै बालबालिका बिग्रिनु र उनीहरूको व्यवहार अनियन्त्रित हुनुको मुख्य कारक मान्छन् ।
फ्रान्सेली राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रका समाजशास्त्री तथा एमेरिटस निर्देशक क्लोड मार्टिनका अनुसार यो परिवर्तन हुनुमा केही हदसम्म बजारको प्रभाव पनि जिम्मेवार छ । “अचेल अभिभावकहरूलाई विशेष गरी अनलाइनमा बालबालिका कसरी हुर्काउने भन्ने सल्लाहको बाढी नै आउँछ । उत्कृष्ट अभिभावक बनेर देखाउनै पर्ने एउटा दबाब छ र ‘सकारात्मक शिक्षा’लाई राम्रो हुर्काइको ग्यारेन्टी दिने उपायका रूपमा प्रस्तुत गरिन्छ,” मार्टिन भन्छन्, “बालबालिका हुर्काउने सम्बन्धी सल्लाह दिने ठूलो व्यापार बनेको छ । अभिभावकहरू भविष्यलाई लिएर झन्–झन् अनिश्चित र चिन्तित बन्दै गएकाले उनीहरू यस्ता सल्लाहका सजिला ग्राहक बनिरहेका छन् ।”
धेरै अभिभावकका लागि पुराना कडा तरिकाहरू आधुनिक सोचसँग नमिल्ने जस्ता लाग्न थालेका थिए । तर, रुढिवादीहरूका लागि भने यो नयाँ लचिलोपन फ्रान्सेली संस्कृति विपरीत हो । उनीहरूको बुझाइमा यसैले गर्दा परम्परागत रूपमा बालबालिकाप्रति स्नेही मानिने देशमा अहिले ‘बालबालिका निषेधित’ क्षेत्रहरू बन्न थालेका छन्; जस्तै वयस्कहरूका लागि मात्रै तोकिएका होटेल, रेस्टुरेन्ट र रेलका डिब्बाहरू । यसै वर्ष सरकारी रेल कम्पनीले १२ वर्ष मुनिका बालबालिकालाई केही बिजनेस क्लासका डिब्बाहरूमा प्रवेश रोक लगाएको छ । बालबालिका सम्बन्धी पूर्वमन्त्री तथा सरकारकी उच्चायुक्त सारा एल हैरी भन्छिन्, “बालबालिका न त बाधा हुन्, न त टाढा राख्नुपर्ने कुनै समस्या नै । उनीहरू दोस्रो दर्जाका नागरिक होइनन् ।”
अभिभावकको साविककै अनुशासन र पकडमा फर्किनुपर्छ भन्ने मान्यता राख्ने बाल मनोवैज्ञानिक क्यारोलिन गोल्डम्यान भने यस्ता बालबालिकारहित ठाउँहरू थपिँदै जानुमा अचम्म मान्दिनन् । साझा निर्णय प्रक्रियामा जोड दिने फ्रान्सेली शैलीको ‘जेन्टल प्यारेन्टिङ’ अलि बढी नै अगाडि बढेको गोल्डम्यानको ठम्याइ छ । उनका अनुसार जुनसुकै सजाय वा कडाइलाई बालबालिकामाथिको हिंसा बराबर मान्ने फ्रान्सेली विज्ञहरूले यस सिद्धान्तलाई नै बंग्याइदिएका छन् ।
“फ्रान्सेली अभिभावकहरूले आफ्नो व्यावहारिक चेत गुमाएका छन्,” उनी भन्छिन्, “बालबालिकाका लागि निश्चित सीमा र अनुशासन आवश्यक हुन्छ । उनीहरूले आफ्ना आमाबुबालाई साथी मात्र नभएर अभिभावकीय अधिकार भएको व्यक्तिका रूपमा देख्न जरुरी छ ।”
अर्कोतर्फ, नम्र हुर्काइ शैलीकी पक्षधर इजाबेल फिलियोजातको तर्क बेग्लै छ । “यदि तपाईंले बच्चालाई ‘जुत्ता लगाऊ’ भन्नुभयो भने उसले मान्दैन तर ‘पानी पर्दा हामी जुत्ता लगाउँछौँ’ भन्नुभयो भने उसले खुसीसाथ लगाउँछ,” उनी भन्छिन् । बालबालिका हुर्काउनेसम्बन्धी उनका पुस्तिकाहरू २० लाखभन्दा बढी प्रति बिक्री भइसकेका छन् । परम्परागत रूपमा युरोपमै उच्च जन्मदर भएको फ्रान्समा गत वर्ष दोस्रो विश्वयुद्धयता पहिलो पटक जन्मभन्दा मृत्युको संख्या बढी भएपछि चिन्ता बढेको थियो ।
सन् २०१० सम्म युरोपेली मापदण्ड अनुसार फ्रान्सको प्रजनन दर राम्रै थियो तर अहिले यो घटेर प्रति महिला १.५ भन्दा केही मात्र बढी छ जुन बेलायतको भन्दा थोरै मात्र धेरै हो । अहिलेका युवा पुस्ता (मिलिनेअल्स र जेन जी) अभिभावक बन्न खासै उत्सुक देखिएका छैनन् । यसैलाई ध्यानमा राख्दै राष्ट्रपति म्याक्रोनले ‘जनसांख्यिकीय पुनरुत्थान’ का लागि आह्वान गरेका छन् । यद्यपि, सरकारले बजेटमा कटौती गरेपछि फ्रान्सको पहिलेको राम्रो अभिभावकीय सहयोग प्रणाली भने कमजोर बन्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्