इतिहासको कालखण्ड केवल घटनाहरूको निरन्तरतामात्र होइन, यो त मानवीय चेतनाको आरोह–अवरोहको जीवन्त साक्षी पनि हो । प्राच्य वाङ्मयका महान् मनिषी, आयुर्वेदका प्रखर प्रयोक्ता आचार्य वाग्भटले सातौं शताब्दीको पूर्वार्धमा मानव सभ्यतालाई एउटा यस्तो ऐना देखाउनुभएको थियो, जसमा शरीर, मन र ब्रह्माण्डको सम्बन्ध स्पष्टरूपमा प्रतिविम्बित हुन्थ्यो । आज एक्काइसौं शताब्दीको उत्तरार्धतर्फ दौडिरहेको आधुनिक समाज प्रविधि र भौतिक विकासको उच्चतम चुचुरोमा उभिएको दम्भ त गर्छ, तर विडम्बना, ऊ भित्रभित्रै रोग, आधुनिक जीवनशैलीका असाध्य विकार र मानसिक शून्यताको गहिरो खाडलमा भासिँदै गएको छ ।
जब हामी वाग्भटको चिकित्सा दर्शन र प्राचीन पूर्वीय स्वास्थ्य चिन्तनको इतिहास खोतल्न थाल्छौं, तब हामी केवल एउटा प्राचीन चिकित्सा पद्धतिको पानामात्र पल्टाइरहेका हुँदैनौं, बरु त्यस गहिराइभित्र पस्दा हामीले आधुनिक मानव सभ्यताले गुमाउँदै गएको मानवीय संवेदनशीलता, प्रकृतिप्रतिको अगाध आदर र जीवनको शाश्वत लयलाई पुनःप्राप्त गर्ने एउटा अपूर्व, वैज्ञानिक र आध्यात्मिक मार्गचित्र फेला पार्छौं । आजको मानिस अस्पतालका भव्य भवनहरू, अत्याधुनिक डायग्नोस्टिक यन्त्रहरू र औषधि पसलहरूमा सजिएका थरिथरिका रंगीन रासायनिक बट्टाहरूको संख्या बढेकोमा गौरव गर्छ । तर, यस कृत्रिम चमकधमकभित्र एउटा भयानक अँध्यारो सत्य लुकेको छ, स्वास्थ्य त बजारको वस्तु बनिसक्यो र मानिस स्वयं त्यो बजारको एउटा लाचार उपभोक्ता ।
यस्तो विरोधाभासपूर्ण समयमा यो शाश्वत सत्यलाई पुनः स्थापित गर्न जरुरी छ कि ‘स्वास्थ्य केवल औषधिको बट्टामा हुँदैन, यो त प्रकृतिको काखमा र संयमित जीवनको अनुष्ठानमा मात्र सम्भव छ ।’ रोगको उत्पत्ति शरीरमा वात, पित्त र कफजस्ता त्रिदोषहरूको असन्तुलनबाट हुन्छ । यो असन्तुलन कुनै आकस्मिक रूपमा घट्ने प्राकृतिक प्रकोप वा दैवी श्राप होइन, यो त हाम्रा चेतना, आहार र व्यवहारको विकार हो । जब हामी रासायनिक औषधिको बट्टामा मात्र स्वास्थ्य खोज्छौं, तब हामी वास्तवमा स्वास्थ्यको व्यापार गर्ने बहुराष्ट्रिय कम्पनीहरूको दास बनिरहेका हुन्छौं । स्वास्थ्य त एउटा भित्री सन्तुलन हो, जसलाई बाहिरबाट किनेर शरीरभित्र कोच्न किमार्थ सकिँदैन ।
पूर्वीय दर्शनको मूल आधार नै ‘यत् पिण्डे तत् ब्रह्माण्डे’ भन्ने सिद्धान्त हो । आचार्य वाग्भटले अष्टांगहृदयम् र अष्टांगसंग्रहमा यसै ब्रह्माण्डीय नियमलाई मानव शरीरको क्रिया–विज्ञानसँग जोडेर त्रिदोषको अवधारणा प्रस्तुत गर्नुभयो । ब्रह्माण्डलाई सञ्चालन गर्ने जुन तीनवटा मुख्य शक्तिहरू छन् वायु, सूर्य र चन्द्रमा, तीनै शक्तिहरू मानव शरीरमा क्रमशः वात, पित्त र कफका रूपमा विद्यमान हुन्छन् ।
वात दोष यो आकाश र वायु तŒवबाट निर्मित हुन्छ । शरीरभित्र हुने हरेक प्रकारको गति, रक्तसञ्चार, श्वासप्रश्वास र स्नायु प्रणालीको सञ्चालन यसैको जिम्मेवारी हो । पित्त दोष यो अग्नि र जल तŒवको सम्मिश्रण हो । शरीरको तापक्रम, पाचन क्रिया, हर्मोनको सन्तुलन र रूपान्तरणको प्रक्रिया यसको अधीनमा हुन्छ ।
कफ दोष यो पृथ्वी र जल तŒवबाट बन्दछ । यसले शरीरलाई स्थायित्व, शक्ति, रोग प्रतिरोधात्मक क्षमता र अंगहरूलाई चिल्लोपना प्रदान गर्दछ ।
अनुसन्धानात्मक दृष्टिले हेर्दा, यी तीन दोषहरू केवल काल्पनिक अवधारणा होइनन्, बरु आधुनिक चिकित्सा विज्ञानले व्याख्या गर्ने शरीरको आन्तरिक वातावरणलाई सन्तुलनमा राख्ने प्रणालीका सूक्ष्म संवाहक हुन् । जबसम्म यी तीन दोषहरू आ–आफ्नो प्राकृतिक परिमाण र गुणमा रहन्छन्, तबसम्म शरीर निरोगी रहन्छ । तर, जब यिनको सन्तुलन बिग्रिन्छ, तब शरीरमा रोगको बिजारोपण हुन्छ । यो असन्तुलन बाहिरबाट आएको कुनै परजीवीको आक्रमणमात्र होइन, यो त हाम्रै आन्तरिक त्रुटिहरूको संगालो हो ।
वाग्भटको दर्शनले रोगको वर्गीकरण र निदान गर्दा केवल भौतिक लक्षणहरूलाई मात्र हेर्दैन, बरु त्यसको उत्पत्तिको गहिराइमा पुगेर तीनवटा मुख्य कारणहरूको विवेचना गर्छ ।
चेतनाको विकार
संसारको सबैभन्दा पहिलो र खतरनाक रोग ‘राग, द्वेष, मोह, क्रोध र लोभ’ हुन् । आधुनिक चिकित्सा विज्ञानले यसलाई साइकोसोमेटिक रोग भन्दछ । तर, वाग्भटले सातौं शताब्दीमै स्पष्ट भन्नुभएको थियो कि मनमा उत्पन्न हुने विकारले सिधै शरीरका त्रिदोषलाई दूषित बनाउँछ । आजको नेपाली समाज र समग्र विश्व नै प्रतिशोधको राजनीति, तीव्र ईष्र्या र आत्मबोधको भयानक खडेरीबाट प्रताडित छ । जब चेतना अशान्त र ईष्र्याग्रस्त हुन्छ, तब शरीरमा वात र पित्तको गति विकृत हुन थाल्छ, जसले अन्ततः उच्च रक्तचाप, अनिद्रा र हृदयघात जस्ता गम्भीर समस्या निम्त्याउँछ ।
आहारको विकार
पूर्वीय दर्शनमा आहार धर्मको ठूलो महिमा छ । हामी जे खान्छौं, हाम्रो विचार र शरीर त्यस्तै बन्दछ । वाग्भटले ‘विरुद्ध आहारको सिद्धान्त’ प्रतिपादन गर्दै आधुनिक मानवको खानपान शैलीमाथि ठूलो प्रश्नचिन्ह खडा गर्नुभएको छ । दुई विपरीत गुण भएका पदार्थहरू (जस्तैः तातो र चिसो सँगै खानु, दूध र अमिलो फल मिसाउनु वा रासायनिक पदार्थयुक्त जंकफुडको सेवनले शरीरभित्र आमदोष पैदा गर्छ । भोजनलाई केवल स्वादका लागि पेटमा कोच्नु प्रकृतिको नियमविपरीत छ । भोक नलागी खानु, क्षमताभन्दा बढी खानु र प्रकृतिको काखबाट सिधै प्राप्त हुने ताजा भोजन छोडेर बट्टामा बन्द गरिएका मृत भोजन खानु नै आहारको विकार हो ।
व्यवहारको विकार
प्रकृतिले मानव शरीरलाई एउटा निश्चित जैविक घडीअनुसार चल्ने गरी बनाएको छ । सूर्योदय र सूर्यास्तसँगै हाम्रो शरीरको पाचन अग्नि र हर्मोनहरू सक्रिय र निष्क्रिय हुन्छन् । वाग्भटले ‘दिनचर्या’ र ‘ऋतुचर्याको माध्यमबाट यसै प्राकृतिक लयमा बाँच्ने कला सिकाउनुभयो । तर, आधुनिक मानिस डिजिटल कोलाहलमा डुबेर रातभरि स्क्रिनमा घोरिन्छ । अबेरसम्म ब्युँझिन्छ र दिउँसो सूर्य टाउकामाथि आइसक्दा पनि सुतिरहेको हुन्छ । शारीरिक श्रमलाई अपमान वा दण्ड सम्झने र विलासितालाई नै सुख मान्दा शरीरमा कफ र वात दोष चरम रूपमा असन्तुलित हुन पुग्छ ।
जब हामी रोग र उपचारको कुरा गर्छौं, तब यसको भावनात्मक पक्षलाई बिर्सन मिल्दैन । रोग केवल कोषिका र तन्तुहरूको समस्या होइन, यो त जीवनको लय बिग्रिँदा शरीरले प्रकट गर्ने एउटा आन्तरिक रोदन हो । आधुनिक अस्पतालको चिसो, मेसिनीकृत वातावरणमा बिरामीले आफूलाई एउटा ‘आर्थिक कारोबारको ग्राहक’ का रूपमा मात्र पाउँछ । त्यहाँ मानव स्पर्श, सहानुभूति र करुणाको अभाव हुन्छ । आचार्य वाग्भटले चिकित्साको पहिलो शर्त नै ‘करुणा’ र ‘मैत्रीभाव’ लाई मान्नुभएको छ । एउटा बिरामी मानिस मानसिक रूपमा अत्यन्तै संवेदनशील र कमजोर हुन्छ । यस्तो अवस्थामा चिकित्सकको आँखामा देखिने करुणाको कोमल स्पर्शले मात्रै पनि आधा रोग निको हुन सक्छ । प्राकृतिक चिकित्सामा भावनात्मक शुद्धीकरणलाई उच्च प्राथमिकता दिइन्छ । मनभित्र वर्षौंदेखि गुम्सिएर रहेका पीडा, ग्लानी, रिस र प्रतिशोधका गाँठोहरूलाई नखोलिएसम्म शरीरका त्रिदोषहरू कहिल्यै सन्तुलनमा आउन सक्दैनन्। त्यसैले, वास्तविक उपचार त्यो हो जसले मानव शरीरको भौतिकतालाई मात्र होइन, उसको घाइते आत्मालाई पनि करुणाको मलम लगाउन सकोस् ।
अटोफेजी अर्थात् सातौं शताब्दीका आचार्य वाग्भटबाट आविष्कार भएको उपवास विज्ञानमा ओसुमीलाई दिइएको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कारले नेपाल भारत दुवै देशका प्राच्य मनिषीको नाम उल्लेख नहुनु पश्चिमाहरूको कृतघ्नताभन्दा अत्युक्ति नहोला । यहाँनेर एउटा गम्भीर, बौद्धिक र प्रखर अनुसन्धानात्मक प्रश्न खडा हुन्छ, आजको आधुनिक विश्व र पश्चिमा जगत् प्राच्य दर्शन र हाम्रा ऋषिमुनिहरूको अनुसन्धानप्रति कति कृतघ्न छ ? यो विषय आजको वैश्विक बौद्धिक मञ्चमा बहस हुनु अपरिहार्य भइसकेको छ । सन् २०१६ मा जापानी वैज्ञानिक योशिनोरी ओशुमीलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरियो । उनको अनुसन्धानको विषय थियो अटोफेजी । अटोफेजी अर्थात् शरीरका कोषिकाहरूले आफैंभित्रका फोहोर, पुराना र मृत कोषहरूलाई खाएर आफैंलाई सफा गर्ने र नयाँ जीवन दिने वैज्ञानिक प्रक्रिया । जब शरीर भोको रहन्छ तब शरीरले ऊर्जाका लागि बाहिरबाट इन्धन नपाएपछि भित्रकै क्यान्सरजन्य र विषाक्त कोषहरूलाई उपभोग गर्न थाल्छ । यो जापानी वैज्ञानिकको अटोफेजीको आविष्कारका वास्तविक गुरु र पथप्रदर्शक सातौं शताब्दीका आचार्य वाग्भट हुनुहुन्थ्यो । वाग्भटले शताब्दीऔं पहिले आफ्नो ग्रन्थमा स्पष्ट घोषणा गर्नुभएको थियोः ‘लङ्घनं परमौषधम् ।’ उहाँले प्रतिपादन गर्नुभएको ‘उपवास विज्ञान’ वा ‘लंघन चिकित्सा’ वास्तवमा अटोफेजीकै सबैभन्दा परिष्कृत, व्यावहारिक र पूर्ण स्वरूप थियो । तर, विडम्बना ! जब नोबेल पुरस्कार कमिटीले यस उपवास विज्ञानको योगदानलाई पुरस्कृत ग¥यो, तब न वाग्भटको नाम सम्झियो, न प्राच्य दर्शनको कतै उल्लेख गरियो । यो पश्चिमा बौद्धिक एकाधिकार र चरम कृतघ्नताको एउटा ज्वलन्त प्रमाण हो । उनीहरू हाम्रा ग्रन्थहरूबाट ज्ञान चोर्छन् । त्यसलाई आधुनिक प्रयोगशालाको प्राविधिक शब्दावलीमा रूपान्तरण गर्छन् र संसारकै ठूलो आविष्कारक बनेर विश्वमा आफ्नो प्रभुत्व जमाउँछन् ।
अब नेपाल र भारत जस्ता प्राच्य दर्शनका संवाहक राष्ट्रहरूले यो नोबेल पुरस्कारको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा जोडदार प्रश्न उठाउनुपर्छ । हाम्रा ऋषिमुनिहरूको विरासत र ग्रन्थहरूसँग जोडिएका अनुसन्धानहरूलाई पुरस्कृत गर्दा उनीहरूको प्राच्य दर्शनको ऐतिहासिक सम्मान हुनुपर्छ भन्ने विषयलाई कूटनीतिक र प्राज्ञिक रूपमा दृढताका साथ राख्नुपर्छ । हाम्रो सम्पदामाथि पश्चिमाहरूले गर्ने ‘बौद्धिक डकैती’ विरुद्ध अब पूर्वको चेतना जागृत हुन आवश्यक छ । आजको युगमा प्राचीन रैथाने बुद्धिमत्तालाई प्रविधिसँग संयोजन नगरेसम्म यसको व्यावहारिक प्रवद्र्धन सम्भव छैन । प्राकृतिक चिकित्सा र प्रविधिको यो फ्युजन नै २१औं शताब्दीको वास्तविक उपचार पद्धति हो ।
प्राचीन कालको उपवासलाई आज प्रविधिसँग जोडेर बायोमेट्रिक डेटाको आधारमा स्मार्ट फास्टिङका रूपमा विकास गरिएको छ । बिरामीको रगतको अवस्था र त्रिदोषको प्रकृति हेरेर निश्चित पोषक तŒवयुक्त उपचारात्मक रस तय गरिन्छ । यससँगै आधुनिक कोलोन हाइड्रोथेरापी प्रविधिको प्रयोग गरेर ठूलो आन्द्रामा जमेर बसेको आमदोषलाई सफा गरिन्छ, जसले पाचक अग्निलाई पुनः जीवित गराउँछ ।
वात दोषलाई ठीक गर्न प्राचीन कालदेखि नै मालिस (अभ्यंग) र एक्युपञ्चर पद्धतिको प्रयोग गरिँदै आएको छ । आधुनिक प्रविधिको फ्युजनले यसलाई बायो–इलेक्ट्रिक थेरापीमा रूपान्तरण गरिदिएको छ । जसले शरीरका मुख्य सुक्ष्म ऊर्जा केन्द्रहरूमा हल्का विद्युतीय तरंग पठाएर स्नायु प्रणालीलाई तुरुन्तै पुनर्ताजगी गराउँछ । पञ्चकर्मका अन्य विधिहरू जस्तै ‘शिरोधारा’ गर्दा आधुनिक ब्रेनवेभ मोनिटरको प्रयोग गरेर बिरामीको मस्तिष्क कुन ध्यानको अवस्थामा पुग्यो भनी वैज्ञानिक मापन गरिन्छ ।
आजको मानिस डिजिटल उपकरणको दास बनेको छ । प्राकृतिक चिकित्साले यस समस्याको समाधानका लागि डिजिटल डिटोक्सको प्रविधि अपनाउँछ । अस्पताल वा स्वास्थ्य केन्द्रहरूमा कृत्रिम नीलो प्रकाशलाई प्रतिस्थापन गरी सूर्यको प्राकृतिक प्रकाश जस्तै गुण भएको क्रोनो–बायोलोजिकल लाइट थेरापीको प्रयोग गरिन्छ । यसले मानिसको शरीरमा मेलाटोनिन र कोर्टिसोल हर्मोनको सन्तुलन मिलाई प्राकृतिक निद्रा जगाउँछ, जसले कफ र वात दोषको असन्तुलनलाई पूर्ण रूपमा सच्याउँछ ।
संक्षेपमा भन्नुपर्दा, आचार्य वाग्भटको इतिहास र उहाँको त्रिदोष सिद्धान्तको खोजी गर्नु भनेको कुनै पुरानो जमानाको अन्धानुकरण वा रुढिवाद होइन । यो त आधुनिक मानवलाई मानसिक अशान्ति, शारीरिक शिथिलता र उपभोक्तावादको दासत्वबाट मुक्त गराई पुनःजीवनको लयमा फर्काउने एउटा सार्वभौमिक र वैज्ञानिक मार्गचित्र हो ।
स्वास्थ्य कुनै औषधिको बट्टाभित्र कैद गरिएको निर्जीव रसायन होइन, यो त प्रकृतिको काखमा खेलिने एउटा जीवन्त र सन्तुलित खेल हो । यो त हाम्रो चेतनाको निर्मलता, आहारको शुद्धता र व्यवहारको अनुशासनको महायोग हो । जबसम्म हामी बाहिरको कृत्रिम बजारमा स्वास्थ्य खोजिरहन्छौं, तबसम्म हामी रोगी र दासमात्र रहिरहनेछौं । नोबेल पुरस्कार जस्ता वैश्विक मञ्चहरूले पूर्वको ज्ञानलाई नजरअन्दाज गरे पनि शाश्वत सत्य बदलिँदैन । जुन दिन हामीले आफ्नो भित्री सन्तुलनलाई बुझेर, राग–द्वेषका विकारहरूलाई त्यागेर, प्रकृतिको नियम, भावनात्मक शुद्धता र आधुनिक प्रविधिसहितको उपवासको अनुष्ठानलाई आफ्नो जीवनको अभिन्न अंग बनाउनेछौं, त्यही दिनदेखि वास्तविक आरोग्यको उदय हुनेछ । आऔं, उपभोक्तावादको भ्रमबाट मुक्त बनौं र प्रकृतिको विशाल, करुणादायी काखमा फर्केर जीवनलाई एउटा सुन्दर, निरोगी र आनन्दमय उत्सव बनाऔं । यही नै आचार्य वाग्भटप्रतिको सच्चा श्रद्धाञ्जली र मानव सभ्यताको परम कल्याणको शाश्वत मार्ग हो ।
(लेखक ढकाल नेपालकै पहिलो प्राकृतिक चिकित्सा विज्ञान कलेज रजहरका प्राचार्य हुन् ।)