नेभिगेशन
खेलकुद
स्पेनको चमत्कारी विजयः

अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

विश्वकपको फाइनलमा नब्बे मिनेट सकिइसकेको थियो । सन् २०१९ यता कुनै पनि ठूलो प्रतियोगितामा नहारेको, साविक विजेता र लियोनल मेसीको साथ पाएको अर्जेन्टिनाले एउटै पनि सट प्रहार गर्न सकेको थिएन । तैपनि, गर्मीको यो दिउँसो विरोधी समर्थकहरूको भीडका बीच उत्कृष्ट खेलिरहेको स्पेनले उनीहरूमाथि हाबी हुने कुनै बाटो भेटिरहेको थिएन । अर्जेन्टिना १० खेलाडीमा सीमित हुँदा पनि स्पेनिस खेलाडीहरूको निरन्तरको आक्रमण त्यही दृढ रक्षापङ्क्तिमा आएर ठोक्कियो । तनाव बढ्दै गयो र खेल अतिरिक्त समयमा प्रवेश गर्दा स्पेनलाई यो फाइनल एउटा अन्यायपूर्ण हारका रूपमा परिणत हुने हो कि भन्ने डर लाग्न थाल्यो ।
तर यसलाई त्योभन्दा निकै रोमाञ्चक कथाका रूपमा सम्झिनेछ । यो त्यो दिन थियो जतिबेला स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्यो । स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले भने, “अन्ततिर १० खेलाडीविरुद्ध पनि हामीले सङ्घर्ष गर्नुपर्यो तर हामीलाई सङ्घर्ष गर्न मन पर्छ र म फेरि भन्छु, हामी हरेक कुराका लागि तयार थियौं ।”
दक्षिण अफ्रिकामा पहिलो पटक ट्रफी उचालेको १६ वर्षपछि, विश्वको यो सबैभन्दा लोकप्रिय खेलमा स्पेन जति अरू कुनै देश हाबी हुन सक्दैन भन्ने कुरामा कुनै शङ्का राखेन । उनीहरूको खेल शैली यति परिपूर्ण र प्राविधिक रूपमा बलियो थियो कि खेलाडीहरू सधैँ निर्धक्क देखिन्थे । यसले संसारलाई जब शान्त क्षमता कलाको उच्च तहमा पुग्छ, त्यो बेला कस्तो देखिन्छ भन्ने देखायो । स्पेन एकैसाथ ओलम्पियन, युरोपेली र विश्व च्याम्पियन हुनु वा अहिले पुरुष तथा महिला दुवैतर्फको विश्वकपको उपाधि होल्ड गर्नु कुनै संयोग होइन । यो त सुन्तला र कागती फलाएजत्तिकै सहज रूपमा फुटबल खेलाडी उत्पादन गर्ने कला सिकेको देश हो ।
अन्ततः जब खेलमा सफलता मिल्यो, त्यो स्पेनको २०औँ प्रहारबाट सम्भव भयो । इतिहासकै सबैभन्दा ठूलो यो विश्वकपको च्याम्पियन टुङ्गो लगाउन १०४ खेलपछि थप आधा घण्टाको समय आवश्यक प¥यो र अब अतिरिक्त समयको १६औँ मिनेटमा फेरान टोरेसले इतिहासमा आफ्नो नाम लेखाए । निको विलियम्सले हेडरमार्फत मिलाइदिएको बलमा २६ वर्षीय टोरेसले उत्कृष्ट प्रहार गर्दै गोल गरे । विश्वकप फाइनलमा सर्वाधिक बचाउको रेकर्ड बनाएका अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज पनि यो एक प्रहारलाई रोक्न असमर्थ भए ।
यदि स्पेनको रणनीति नियन्त्रण, धैर्य र सिर्जनात्मकतामा आधारित थियो भने आइतबारको खेलमा अर्जेन्टिनाको ध्यान डर र दबाब सिर्जना गर्नमा केन्द्रित थियो । खुकुलो रेफ्रीको उपस्थितिमा अर्जेन्टिनाले हरसम्भव लाभ उठायो । कम्तीमा दोस्रो हाफको इन्जुरी समयमा एन्जो फर्नान्डेज दोस्रो पहेँलो कार्ड खाएर मैदान बाहिरिनु अघिसम्म निकै प्रयास गरेको थियो । खेललाई सकेसम्म शारीरिक र कडा बनाउने उनीहरूको योजना थियो ।
खेल कुम्भको अन्तिम दिन त्यहाँ एकसाथ अमेरिकी राष्ट्रपति ट्रम्प, स्पेनका राजा र अमेरिकी मनोरञ्जन क्षेत्रका आधाजसो दिग्गजहरू उपस्थित थिए । तर मुख्यतया, दर्शक दीर्घा अर्जेन्टिनी समर्थकहरूले भरिएको थियो । कतारमा जस्तै र हालै एटलान्टा, डालास र क्यान्साट सिटीमा जस्तै नीलो र सेतो जर्सी लगाएका समर्थकहरूले रङ्गशाला भरिपूर्ण थिए । तिनको सङ्ख्या स्पेनी समर्थकहरूको तुलनामा कम्तीमा तीन गुणा बढी थियो । अर्जेन्टिना त्यस्तो देश हो जहाँ राष्ट्रिय टोलीप्रतिको माया यति गहिरो छ कि धेरै समर्थकहरू विश्वकपलाई ध्यानमा राखेर आफ्नो आर्थिक योजना बनाउँछन् र हरेक चार वर्षमा टिकट किन्न ऋण लिन्छन् । यो विश्वमा प्रतिव्यक्ति सबैभन्दा धेरै मनोवैज्ञानिक भएको देश पनि हो । यी तथ्यहरू सायद संयोग मात्र होइनन् ।
खेलअघि अर्जेन्टिनाका मार्टिनेजले भनेका थिए, “प्रशंसकहरू साँच्चै पागल छन्, अन्य देशका भन्दा फरक । चिसो अर्जेन्टिनी मौसममा बिहान २ बजे पनि उनीहरूलाई उत्सव मनाएको देख्नु ठूलो कुरा हो ।”
१२० मिनेटको खेलमा साविक विजेताले गोलपोस्टतर्फ केवल एउटा मात्र सट प्रहार गर्न सक्यो तर २५ वटा फाउल गर्यो । मेसीले पनि खेल्ने अवसर धेरै कम पाए । पहिलो १५ मिनेटमा उनले खेल सुरु हुने किकअफको समयमा मात्र एक पटक बल छुन पाए ।
सन् २०१० मा नेदरल्यान्ड्सले पनि विश्वकप फाइनलमा स्पेनविरुद्ध यस्तै तरिका अपनाएको थियो । उत्कृष्ट पास र बल नियन्त्रणमा आधारित ‘टिकी–टाका’ शैलीको उच्च रूपसामु डचहरूले महसुस गरे कि उनीहरू स्पेनलाई फुटबलमा हराउन सक्दैनन् । तर आइतबार राति इतिहासमा चौथो पटक विश्वकप फाइनल गुमाउँदा ती दृश्यहरूको पुनरावृत्ति भएन । यसको सट्टा, १२ वर्षअघि जर्मनीसँग पहिलो फाइनल हारेको पीडा भोगेका मेसीको विश्वकप यात्रा तीनवटा फाइनलमध्ये दोस्रो हारका साथ टुङ्गिँदा अर्जेन्टिनाले चुपचाप हेरिरहनु बाहेक अर्को विकल्प थिएन । मात्र यो पटक, दुई दशकसम्म एफसी बार्सिलोनामा मेसीको क्लब करियरलाई आकार दिने देश नै उनीमाथि दण्ड दिने भूमिकामा थियो ।
विश्वकप ऐतिहासिक तर अपेक्षा पूरा गर्न सकेन
२०२६ विश्वकप समग्रमा रोमाञ्चक रहे पनि स्पेन र अर्जेन्टिनाबीचको फाइनल भने निकै निराशाजनक बन्यो । खेलको पहिलो गोल १०६औँ मिनेटमा फेरान टोरेसले गरेपछि मात्रै प्रतिस्पर्धा जीवित बनेको थियो । अर्जेन्टिनाले अधिकांश समय रक्षात्मक रणनीति अपनाउँदै अवसर वा पेनाल्टीको आशा ग¥यो भने स्पेनले बल नियन्त्रणमा राख्दै जोखिमरहित खेल प्रस्तुत ग¥यो ।
खेल मनोरञ्जनात्मक नभए पनि योग्य टोली स्पेन नै च्याम्पियन बन्यो। रोड्री र पाउ कुबार्सीले क्रमशः प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडीको पुरस्कार जित्नु पनि सही निर्णय भएको उल्लेख गरिएको छ । उपाधि वितरणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मञ्चबाट हटाइएको दृश्यलाई पनि स्मरणीय क्षण बनेको छ ।
फाइनलसँगै लामो हाफटाइम शोको पनि आलोचना गरिएको छ । विज्ञापन आम्दानीका लागि खेलको परम्परा र खेलाडीको स्वास्थ्यलाई जोखिममा पारिएको भन्दै प्रश्न उठाइएको छ । लामो विश्रामले विशेषगरी अनुभवी खेलाडी लिओनेल मेस्सीलाई असर परेको हुन सक्ने टिप्पणी गरिएको छ । यो खेलले मेसीको भविष्यबारे पनि प्रश्न उठाएको छ । स्पेनले उनलाई प्रभावहीन बनाए पनि एउटा खराब खेलका आधारमा उनको युग समाप्त भएको भन्न नमिल्ने कतिपयको धारणा छ। यद्यपि अर्को विश्वकपमा उनी खेल्ने वा नखेल्नेबारे भने अनिश्चितता रहेको उल्लेख गरिएको छ ।
फाइनलको निर्णायक मोड अर्जेन्टिनाका एन्जो फर्नान्डेजको रातो कार्ड बन्यो । त्यसपछि स्पेनले खेलमाथि पूर्ण नियन्त्रण कायम गर्दै उपाधि जित्यो । यसको विपरीत, इंग्ल्यान्ड र फ्रान्सबीचको तेस्रो स्थानको खेल ६–४ को रोमाञ्चक नतिजासहित प्रतियोगिताकै सबैभन्दा मनोरञ्जनात्मक खेलमध्ये एक बन्यो । कम दबाबका कारण दुवै टोलीले निर्भीक आक्रमणात्मक फुटबल खेलेको भए पनि यस्तो शैली उपाधि निर्णायक खेलमा दोहोरिन कठिन हुने लेखकको निष्कर्ष छ ।

धक्कामुक्की पनि...

विश्वकपको फाइनलमा अर्जेन्टिनालाई पराजित गरेपछि स्पेनका खेलाडीहरूको उत्सव अप्रिय घटनामा परिणत भएको छ । अन्तिम सिटी बजेलगत्तै मैदानमै दुवै टोलीका केही खेलाडीबीच झडप भएको थियो ।
भिडियो रिप्लेमा अर्जेन्टिनाका डिफेन्डर लिएन्ड्रो परेडेससहित केही खेलाडी झडपमा संलग्न देखिएका छन् । परेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समात्दै धक्का दिएको जस्तो देखिएको थियो । त्यसपछि हस्तक्षेप गर्न पुगेका स्पेनका वैकल्पिक खेलाडी गाभीलाई पनि परेडेसले धक्का दिँदै मैदानमा लडाइदिएका थिए ।
स्थिति थप बिग्रन नदिन अन्य खेलाडीहरू र अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी तत्काल घटनास्थलमा पुगेका थिए ।
झडपमा संलग्न खेलाडीहरूमाथि कुनै कारबाही हुने वा नहुनेबारे तत्काल स्पष्ट भएको छैन । यस विषयमा प्रतिक्रिया माग्दा फिफाले तत्काल कुनै जवाफ दिएको छैन ।
आइतबार भएको फाइनलमा स्पेनले अतिरिक्त समयमा १–० को जित निकाल्दै विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो, किनभने एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो ।
उपाधि वितरण समारोहका क्रममा अर्जेन्टिनाका खेलाडीहरू आफ्ना समर्थकतर्फ फर्किएर उभिएका थिए । उनीहरूको ढाड ट्रफी वितरण मञ्चतर्फ थियो, त्यही बेला स्पेनका खेलाडीहरूले विश्वकप ट्रफी उचालेर विजय उत्सव मनाएका थिए ।

पाँच वर्षमा १६ उपाधिः कसरी विश्व फुटबलको सबैभन्दा शक्तिशाली राष्ट्र बन्यो स्पेन ?
स्पेनले फेरि एकपटक विश्व फुटबलमा आफ्नो प्रभुत्व प्रमाणित गरेको छ । दुई वर्षअघि युरोपियन च्याम्पियन बनेको टोलीले अहिले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै २०२६ को विश्वकप उपाधि जित्यो । यसअघि पनि स्पेनले २००८ मा युरो जितेपछि २०१० मा विश्वकप जितेर यही उपलब्धि दोहोर्याएको थियो ।
पुरुष मात्र होइन, महिला फुटबलमा पनि स्पेनको दबदबा उस्तै छ । २०२३ मा महिला विश्वकप जितेको स्पेन अहिले पुरुष र महिला दुवै विश्वकपको एकसाथ च्याम्पियन बन्ने पहिलो राष्ट्र बनेको छ । पछिल्ला पाँच वर्षमा स्पेनले १७ वर्षमुनिदेखि सिनियर तहसम्म पुरुष र महिला दुवै वर्गमा गरी विश्व र युरोपका १६ प्रमुख उपाधि जितेको छ । यसमा पुरुषतर्फ विश्वकप, युरो, नेसन्स लिग र ओलम्पिक स्वर्ण तथा महिलातर्फ विश्वकप, लगातार दुई नेसन्स लिग, उमेर समूहका विश्वकप र युरोपियन उपाधिहरू समावेश छन् ।
विशेषज्ञ गिलेम बालागेका अनुसार यो सफलता संयोग होइन, बलियो फुटबल संस्कृति, एउटै खेल दर्शन र दीर्घकालीन योजनाको परिणाम हो । उनका अनुसार स्पेनले जितमा मात्र होइन, निरन्तर विकासमा विश्वास गर्छ ।
यो सफलतामा प्रशिक्षक लुइस दे ला फुएन्तेको भूमिका पनि निर्णायक मानिएको छ । २०२२ मा कतार विश्वकपबाट बाहिरिएपछि नियुक्त गरिएका उनले छोटो अवधिमै नेसन्स लिग, युरो र विश्वकप जिताए । ठूलो क्लबको अनुभव नभए पनि उनले लामो समय स्पेनका उमेर समूहका टोली सम्हालेकाले अधिकांश खेलाडीलाई नजिकबाट चिन्ने फाइदा पाए । पूर्वमिडफिल्डर हुआन माताका अनुसार अहिलेको टोली वर्तमान मात्र होइन, भविष्यका लागि पनि बलियो आधार हो ।
स्पेनको महिला फुटबलले पनि पछिल्लो दशकमा ठूलो फड्को मारेको छ । एक दशकअघि पर्याप्त पूर्वाधार र सुविधा नभएको अवस्थामा अहिले विशेष एकेडेमी, राम्रो प्रशिक्षण र लगानीका कारण महिला टोली विश्वकै उत्कृष्टमध्ये एक बनेको छ ।
भविष्य पनि स्पेनकै पक्षमा देखिन्छ । लामिन यामाल र पाउ कुबार्सी जस्ता १९ वर्षीय प्रतिभाशाली खेलाडीले विश्वकप जितिसकेका छन् भने महिलातर्फ विकी लोपेज र साल्मा पारायुएलोले पनि अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
पूर्व इंग्ल्यान्ड गोलरक्षक जो हार्टका अनुसार स्पेनको खेलशैलीसँग अहिले विश्वका कुनै पनि टोली प्रतिस्पर्धा गर्न सकेका छैनन् । फ्रान्सका महान् खेलाडी थिएरी हेन्रीले पनि स्पेनको सफलता बलियो प्रणाली र दीर्घकालीन संरचनाको परिणाम भएको बताउँदै यो प्रभुत्व अझै धेरै वर्ष कायम रहने विश्वास व्यक्त गरेका छन् ।

सन् २०२६ को विश्वकप फाइनल उत्कृष्ट फुटबलका लागि भन्दा पनि मैदानबाहिर भएका असाधारण घटनाका कारण इतिहासमा स्मरणीय बनेको छ । स्पेनले अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलसँगै अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि जित्यो । तर खेलभन्दा बढी चर्चा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिदेखि लिएर हलिउड अभिनेता टम क्रुजको सम्बोधन, सुपर बाउल शैलीको लामो हाफटाइम शो र भव्य आतिशबाजीको भयो ।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा ट्रम्पको भूमिका सुरुदेखि नै विवादमा थियो । उनले यसअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको रातो कार्डपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग कुरा गरेर निर्णय पुनरावलोकन गर्न आग्रह गरेको स्वीकार गरेका थिए । त्यसैले ट्रम्पको फाइनल उपस्थितिमाथि विशेष चासो थियो । उनी फाइनलअघि हेलिकोप्टरमार्फत रंगशालामा पुगेका थिए र इन्फान्टिनोसँगै बसेर खेल हेरे । पहिलो हाफमा उनले विश्वकप ट्रफी पनि अवलोकन गरेका थिए ।
फाइनलको अर्को प्रमुख आकर्षण २७ मिनेट लामो हाफटाइम शो रह्यो, जुन विश्वकप इतिहासकै सबैभन्दा लामो मध्यविराम मानिएको छ । यसमा म्याडोना, बीटीएस, कोल्डप्ले, शाकिरा तथा जस्टिन बिबरलगायत कलाकारले प्रस्तुति दिएका थिए । शाकिराले प्रतियोगिताको आधिकारिक गीत प्रस्तुत गरिन् भने बिबरले धुनिलो शैलीमा गिटारसहित गीत गाए । तर यो कार्यक्रमप्रति प्रतिक्रिया मिश्रित रह्यो । इंग्ल्यान्डका पूर्वस्ट्राइकर वेन रुनीले यसलाई “निराशाजनक“ भन्दै खेललाई प्राथमिकता दिनुपर्ने टिप्पणी गरे ।
खेल सुरु हुनुअघि समापन समारोहमा अभिनेता टम क्रुजले विशेष सम्बोधन गरेका थिए । उपाधि वितरणका क्रममा पनि ट्रम्प फेरि चर्चामा रहे । उनी इन्फान्टिनोसँगै विजेता र उपविजेता टोलीका खेलाडीलाई पदक वितरण गर्न सहभागी भए र ट्रफी हस्तान्तरणपछि केही समय मञ्चमै बसे । यद्यपि गत वर्षको क्लब विश्वकपको तुलनामा यसपटक उनी कम समय मात्र मञ्चमा रहे । ट्रम्प र इन्फान्टिनो मञ्चमा आउँदा दर्शकदीर्घाबाट हुटिङसमेत भएको थियो भने अर्जेन्टिनाका डिफेन्डर क्रिस्टियन रोमेरोले ट्रम्पसँग हात नमिलाई अघि बढेको दृश्य पनि देखियो ।
फाइनललाई सुरक्षित बनाउन अमेरिकी ‘सिक्रेट सर्भिस’ले सुरक्षा जिम्मा लिएको थियो । बिहानैदेखि रंगशालाबाहिर कडा सुरक्षा जाँच, लामो लाइन र प्रवेशद्वारबारे अन्योलका कारण दर्शक तथा सञ्चारकर्मीले निकै सास्ती व्यहोरे । झोला जाँच पनि अघिल्ला खेलको तुलनामा कडा बनाइएकाले प्रवेशमा ढिलाइ भए पनि अन्ततः सबै व्यवस्था मिलाइयो र खेल निर्धारित समयमै सुरु भयो । यसरी २०२६ को विश्वकप फाइनल खेलभन्दा पनि त्यस वरिपरिका घटना, मनोरञ्जन र सुरक्षा व्यवस्थाका कारण विशेष रूपमा चर्चित बन्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्