नेभिगेशन
दृष्टिकोण
सन्दर्भः विश्व बाघ दिवस

बाघ संरक्षणः चुनौती र समाधानका उपाय

विश्व बाघ दिवस हरेक वर्ष जुलाई २९ मा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ऐतिहासिक बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । तत्कालीन समयमा तीव्र रूपमा घटिरहेको बाघको संख्या रोक्न र तिनको प्राकृतिक बासस्थान सुरक्षित गर्ने उद्देश्यले यसको स्थापना भएको थियो । 
नेपालमा बाघको ऐतिहासिक यात्रा
बाघ नेपालसहित भारत, चीन, बंगलादेश, भुटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रसिया, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्र पाइन्छ । सन् २०१० मा विश्वभर करिब तीन हजार दुई सयको संख्यामा रहेको बाघ सन् २०२५ को तथ्यांकअनुसार बढेर पाँच हजार तीन सय ५७ पुगेको छ । विश्वमा सबैभन्दा बढी भारतमा तीन हजार एक सय ६७ र रुसमा सात सय ५० बाघ छन् भने नेपाल तीन सय ५५ बाघसहित चौथो स्थानमा पर्छ । सन् २०१० को सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यअनुरूप नेपालले आफ्नो प्रतिबद्धता पूरा गरेर विश्वमै उदाहरणीय काम गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार नेपालमा बाघको संख्या क्रमशः सन् २०१० मा एक सय २१, सन् २०१४ मा एक सय ९८, सन् २०१८ मा दुई सय ३५ र सन् २०२२ मा तीन सय ५५ रहेको छ । 
पछिल्लो बाघ सर्वेक्षण
नेपालमा बाघको संख्या, यसको आहार प्रजाति र बासस्थानको अवस्था बुझ्न हरेक चारदेखि पाँच वर्षको अन्तरालमा विस्तृत सर्वेक्षण गरिन्छ । यस कार्यका लागि वैज्ञानिक ‘राष्ट्रिय बाघ तथा आहारा प्रजातिको अनुगमन विधि (प्रोटोकल)’ अवलम्बन गरिन्छ । निकुञ्ज विभागका अनुसार पछिल्लो सर्वेक्षण अत्यन्तै व्यवस्थित र प्रविधिमैत्री थियो । बाघको बासस्थानलाई समेटेर सम्पूर्ण क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्स गरी तीन क्षेत्रमा विभाजन गरिएको थियो । यी कम्प्लेक्सहरूभित्र २ किमी लम्बाइ र २ किमी चौडाइका वर्गाकार ग्रिडहरू बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित ‘ट्याप क्यामेरा’ जडान गरी निरन्तर कम्तीमा १५ दिन (रात) सम्म बाघको तस्बिर खिचियो र ती तस्बिरहरूको वैज्ञानिक विश्लेषण गरी संख्या निकालिएको हो ।
बृहत् जनशक्ति र संस्थागत समन्वय
करिब तीन महिना चलेको यो बृहत् अभियान निकुञ्ज विभागको नेतृत्वमा वन तथा भूसंरक्षण विभाग, प्रदेश सरकार, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लूडब्लूएफ नेपाल र जेडएसएल नेपालको सहयोगमा सम्पन्न भएको हो । यस कार्यमा राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय, हात्तीसार, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, वन प्राविधिक र स्वयंसेवकहरू परिचालन गरिएको थियो । यो राष्ट्रिय अभियान सफल बनाउन करिब दुई सय ५० जना जनशक्ति र एक हजार एक सयभन्दा बढी स्वचालित क्यामेरा प्रयोग गरिएको थियो ।
नेपालमा बाघको पारिस्थितिकीय महत्व
नेपालको तराई भूपरिधिका ५ वटा राष्ट्रिय निकुञ्जहरू, तिनीहरूका मध्यवर्ती क्षेत्र र जैविक मार्गमा मात्र बाघ सीमित छन् । सन् २०२२ को तथ्यांकअनुसार चितवनमा एक सय २८, बर्दियामा एक सय २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेका छन् । वन क्षेत्रमा भएको सुधार र आहार प्रजातिको वृद्धिका कारण आज सार्वजनिक हुने नयाँ नतिजामा बाघको संख्या अझै थपिने सकारात्मक अनुमान छ । बाघ स्वस्थ पारिस्थिकीय प्रणालीको मुख्य सूचक र प्राकृतिक खाद्य शृंखलाको उच्च तहमा रहने प्रजाति भएकाले यसको संरक्षणले सिंगो मानव जातिको पर्यावरणलाई सुरक्षित राख्दछ ।
चुनौती र धान्ने क्षमता
बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, बासस्थान र मानव–बाघ द्वन्द्वका विविध चुनौतीहरू थपिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाहरू घाँस–दाउरा, निहुरो टिप्न र गाईभैंसी चराउन जंगल जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । कतिपय अवस्थामा बाघको चोरी–सिकारी हुने, स्थानीय जनताको आक्रोशको निसानामा पर्ने र ठूला पूर्वाधारहरू वारपार गर्ने क्रममा बाघ मर्ने क्रम पनि उत्तिकै छ । पछिल्लो अध्ययनअनुसार तत्कालको वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संख्या ‘धान्ने क्षमता’ चार सयको हाराहारीमा मात्र रहेको देखिएको छ, जसले गर्दा थप संख्या व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्छ ।
‘टाइगर सेन्चुरी’ को नयाँ योजना
संख्या वृद्धिसँगै निकुञ्ज र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको संख्या पनि बढेको छ । हाल मुलुकभर मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका १६ वटा समस्याग्रस्त बाघलाई उद्धार गरी विभिन्न खोरमा राखिएको छ । जसमा चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ५–५ वटा र बाँके राष्ट्रिय निकुञ्जमा १ बाघ रहेका छन् । यिनीहरूको दैनिक आहारा, हेरचाह र उपचार निकै खर्चिलो बन्दै गएको पृष्ठभूमिमा मन्त्रालयले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ बनाउने योजना अघि बढाएको हो । यो सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघहरूले प्राकृतिक वातावरण पाउने मात्र नभई नेपालको पर्यापर्यटनमा समेत ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
निष्कर्ष
बाघ संरक्षणमा नेपालले हासिल गरेको सफलता विश्वमा नै प्रशंसनीय छ । तर केवल संख्या बढाउनु मात्रै उपलब्धि होइन, बढेको संख्याको वैज्ञानिक व्यवस्थापन नै अब मुख्य चुनौती हो । मानव–बाघ द्वन्द्व कम गर्न, बाघको प्राकृतिक बासस्थान तथा आहारको वृद्धि गर्न र समस्याग्रस्त बाघका लागि अघि बढाइएको ‘टाइगर सेन्चुरी’ जस्ता योजना तथा पूर्वाधार बनाई तत्कालै कार्यान्वयनमा ल्याउनुपर्छ । प्रकृतिमा बाघ नरहे मानव जातिको पनि अस्तित्व संकटमा पर्ने भएकाले बाघ संरक्षणका चुनौतीहरूलाई कम गर्दै आगामी दिनमा नयाँ पद्धतिको विकास गर्नु आजको आवश्यकता हो ।
(लेखक दाहाल समसामयिक विषयमा कलम चलाउँछन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्