लन्डन (एजेन्सी) । गर्मीको तापक्रम लगातार बढिरहेका बेला पनि बेलायतका कतिपय स्थानमा साउना (तातो वाफ स्नान)को लोकप्रियता झन् बढिरहेको छ । केही साउना केन्द्रहरूले त यसलाई गर्मी छल्ने उपायका रूपमा समेत प्रचार गरिरहेका छन् ।
विज्ञहरूले भने तातो मौसममा अत्यधिक पसिना बगाउने गतिविधिप्रति सावधानी अपनाउन आग्रह गरिरहेका छन् । यसैबीच, बढ्दो संख्यामा भएका अध्ययनहरूले भने नियमित रूपमा तातो वातावरणमा रहने अभ्यासले मानिसलाई गर्मीको लहर सामना गर्न तयार बनाउन सक्छ कि सक्दैन भन्ने अनुसन्धान गरिरहेको द टाइम्स पत्रिकाले जनाएको छ ।
लन्डनस्थित गैरनाफामूलक संस्था कम्युनिटी साउना बाथ्सकी सञ्चालन प्रमुख निकोला पेग्वेसका अनुसार तापक्रम बढ्न थालेपछि सुरुआतमा साउनाको बुकिङ घटेको थियो । अहिले फेरि बुकिङ बढ्न थालेको छ । संस्थाका सबै केन्द्र खुला स्थानमा छन्, जहाँ साउनासँगै चिसो पानीमा डुबुल्की लगाउने सुविधा पनि रहेको उनल बताइन ।
पूर्वी फिनल्यान्ड विश्वविद्यालयका मुटुरोग विशेषज्ञ तथा साउनाको स्वास्थ्य लाभबारे अनुसन्धान गरेका प्राध्यापक जारी लौक्कानेनका अनुसार बारम्बार तातो वातावरणमा बस्दा शरीरले क्रमशः उच्च तापक्रम सहन सक्ने क्षमता विकास गर्छ ।
‘यो खेलकुद शरीरविज्ञानमा राम्रोसँग स्थापित तथ्य हो । खेलाडीहरूले तातो मौसममा हुने प्रतिस्पर्धाअघि आफ्नो शरीरलाई अभ्यस्त बनाउन जानाजानी बारम्बार तातो वातावरणको अभ्यास गर्छन्,’ उनले भने, ‘यस्तै प्रकारका शारीरिक परिवर्तनहरू साउनामा बस्दा वा तातो पानीमा डुबुल्की लगाउँदा पनि हुन सक्छन् ।’
लौक्कानेनका अनुसार यस्तो अभ्यासले शरीरमा छिटो र प्रभावकारी रूपमा पसिना आउने, छालामा रक्तसञ्चार बढ्ने, रगतको प्लाज्माको मात्रा वृद्धि हुने तथा पुनः तातो वातावरणमा पर्दा मुटुमाथिको दबाब कम हुने जस्ता परिवर्तन ल्याउँछ ।
‘अर्को शब्दमा भन्नुपर्दा, नियमित तातो वातावरणको सम्पर्कले शरीरलाई तापक्रम नियन्त्रण गर्न अझ प्रभावकारी बनाउँछ,’ उनले थपे ।
वोर्सेस्टर विश्वविद्यालयकी शरीरविज्ञान विषयकी वरिष्ठ प्राध्यापक डा. जेसिका मीका अनुसार नियमित तातो वातावरणमा बस्ने बानीले मानिसले गर्मीलाई कसरी महसुस गर्छ र त्यसअनुसार कसरी व्यवहार गर्छ भन्ने कुरामा पनि परिवर्तन ल्याउँछ ।
‘गर्मीमा अभ्यस्त भएका मानिसहरूले आफ्नो गति सन्तुलित राख्छन्, नियमित रूपमा पानी पिउँछन् र शरीरले दिने चेतावनीका संकेत चाँडै चिन्न सक्छन्,’ उनले भनिन् । तर गर्मीसँग अभ्यस्त हुने प्रक्रिया सबैका लागि समान रूपमा लाभदायक नहुन सक्छ ।
पोट्र्समाउथ विश्वविद्यालयकी चरम वातावरण र शरीरविज्ञान विषयकी सहप्राध्यापक डा. हेथर म्यासीका अनुसार ‘यस्ता परिवर्तनहरू धेरै हदसम्म शरीरले बढी पसिना निकाल्न र छालामा रक्तप्रवाह बढाउन सक्ने क्षमतामा निर्भर हुन्छन् ।’
साथै, साउना वा तातो पानीको स्नान सबैका लागि सुरक्षित पनि हुँदैन । बिरामी, ज्वरो, अस्थिर एनजाइना (मुटुसम्बन्धी समस्या), हालै हृदयाघात भएका वा नियन्त्रणमा नरहेको न्यून रक्तचाप भएका व्यक्तिले चिकित्सकीय परीक्षण वा उपचार नभएसम्म यस्ता गतिविधिबाट टाढा रहनुपर्ने लौक्कानेनले बताए ।
उनले अर्को महŒवपूर्ण कुरा पनि स्पष्ट पारे, गर्मीसँग अभ्यस्त हुनु र गर्मीबाट सुरक्षित हुनु एउटै कुरा होइन । ‘हालसम्म साउना जानुले हीटवेभका बेला मानिसलाई गर्मीजन्य रोग वा अन्य स्वास्थ्य समस्याबाट जोगाउँछ भन्ने पर्याप्त प्रमाण छैन,’ उनले भने, ‘यसका सम्भावित फाइदा नियमित रूपमा लामो समयसम्म तातो वातावरणको अभ्यास गर्दा हुने अनुकूलनसँग सम्बन्धित छन्, न कि अत्यधिक गर्मीका बेला तुरुन्तै साउना प्रयोग गर्दा ।’
डा. मीले पनि भनिन्, ‘गर्मीसँग अभ्यस्त हुने अभ्यास चिसो वा सामान्य मौसममा गरिने तयारी हो, वर्षकै सबैभन्दा तातो दिनमा अपनाइने उपाय होइन ।’
उनका अनुसार अत्यधिक गर्मी भएको दिन साउना वा तातो पानीको स्नान गरेपछि शरीरलाई पर्याप्त रूपमा पुनः सामान्य अवस्थामा फर्किने समय नै मिल्दैन । ‘त्यसबेला शरीरले पहिले नै लगातार केही रातको राम्रो निद्रा नपाएको, केही मात्रामा पानीको कमी भएको र मुटुमाथि क्रमिक दबाब परिरहेको अवस्था सामना गरिरहेको हुन्छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा अर्को तातो चुनौती थप्नु भनेको गर्मीजन्य रोगको जोखिम झन् बढाउनु हो ।’
लौक्कानेनले हीटवेभका बेला सार्वजनिक स्वास्थ्यसम्बन्धी सल्लाहहरू पालना गर्न सबैलाई आग्रह गरे ।
‘नियमित तातो वातावरणको अभ्यास गर्नु भनेको पर्याप्त पानी पिउने, दिनको सबैभन्दा तातो समयमा कडा शारीरिक गतिविधि नगर्ने र जोखिममा रहेका व्यक्तिहरूको विशेष हेरचाह गर्ने उपायको विकल्प होइन,’ उनले भने, ‘यी नै अझै पनि सबैभन्दा महŒवपूर्ण सावधानीका उपाय हुन् ।’