नेभिगेशन
विश्व

एआईको सुविधा वातावरणमाथि भारी

विज्ञहरूको सुझाव– ‘आवश्यक नभएसम्म प्रयोग नगर्नुस्’

वासिङ्टन । विश्व मानव सृजित जलवायु परिवर्तनको दुष्प्रभाव कम गर्ने र पानीजस्ता सीमित प्राकृतिक स्रोतको संरक्षण गर्ने प्रयासमा लागिरहेका बेला कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो प्रयोगले वातावरणमा थप दबाब सिर्जना गरिरहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
विशेषगरी एआई सेवा सञ्चालनका लागि आवश्यक पर्ने विशाल डेटा सेन्टरहरूले ठूलो मात्रामा विद्युत् र पानी प्रयोग गर्ने भएकाले इन्टरनेटमा गरिने हरेक एआई–आधारित खोज वा प्रश्नले ऊर्जा खपत र पानीको प्रयोग बढाउने उनीहरूको भनाइ छ । एआई कम्पनीहरूले भने आफूहरूले गर्ने ऊर्जा र पानी प्रयोगका विषयमा पर्याप्त पारदर्शिता देखाएका छैनन् । 
सस्टेनेबल एआई ग्रुपकी सहसंस्थापक तथा प्रमुख वैज्ञानिक साशा लुच्चियोनीले ‘एआई डिकार्बोनाइजेसन अर्थात् कार्बन उत्सर्जन घटाउने प्रयासको ठीक विपरीत दिशामा गइरहेको छ । हामी कहाँ पुग्दैछौं भन्नेबारे सोच्नुपर्छ । यदि तपाईं पुनःप्रयोग (रिसाइकल) गर्नुहुन्छ, शाकाहारी हुनुहुन्छ, तर सामान्य गुणा गर्न पनि च्याटजीपीटी प्रयोग गर्नुहुन्छ भने त्यो वातावरण जोगाउने प्रयाससँग मेल खाँदैन’ भनिन् ।
उनका अनुसार एआई प्रयोगबारे दैनिक बानीमा पुनर्विचार गर्न अझै ढिलो भएको छैन । ‘तपाईंले हरेक कामका लागि एआई प्रयोग गर्नैपर्छ भन्ने छैन ।  चाहनुहुन्छ भने प्रयोग नगर्न पनि सक्नुहुन्छ । यो प्रविधिसँग कसरी संलग्न हुने भन्ने निर्णय तपाईं आफैं गर्न सक्नुहुन्छ,’ उनले भनिन् ।
तर ठूला प्रविधि कम्पनीहरूले भने एआईलाई लगभग सबै सेवामा समावेश गरिरहेका कारण प्रयोगकर्तालाई त्यसबाट टाढा रहन कठिन बनाइरहेको उनको भनाइ छ । ‘अहिले पहिलेजस्तै प्रयोग गरिरहेका उपकरणहरूमा पनि जेनेरेटिभ एआई जोडिएको छ । प्रयोगकर्तालाई विकल्प कम हुँदै गएको छ,’ उनले बताइन् ।
विज्ञहरूका अनुसार वातावरणप्रति सचेत व्यक्तिले एआईको प्रभाव कम गर्न सक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको यसको प्रयोग आवश्यक पर्दा मात्र गर्नु हो ।
क्यानडास्थित संयुक्त राष्ट्रसंघ विश्वविद्यालयको पानी, वातावरण तथा स्वास्थ्य संस्थानका निर्देशक तथा जल वैज्ञानिक काभेह मदानीले भने, ‘एआईको सबैभन्दा सफा प्रयोग भनेको प्रयोग नै नगर्नु हो । जहाँ एआई प्रयोग नगरी काम गर्न सकिन्छ, त्यहाँ त्यसको प्रयोग नगर्नुस् ।’
लुच्चियोनीका अनुसार सामान्य हिसाब–किताब, बाटो पत्ता लगाउने, पसल खुल्ने समय हेर्ने, खाना बनाउने विधि खोज्ने वा किनमेल सूची तयार गर्ने जस्ता कामका लागि एआई प्रयोग गर्नु अनावश्यक हो । यस्ता काम पहिले पनि मानिसहरूले एआईबिनै गर्दै आएका थिए ।
चकलेट चिप कुकीको विधि क्लाउडबाट बनाउनुको सट्टा किताब पनि खोल्न सकिन्छ । दैनिक कामका लागि यी जेनेरेटिभ एआई प्रविधि आवश्यक छैन । ‘केही उत्पादकत्व वृद्धि भएको हुन सक्छ, तर अहिले मानिसहरूले प्रयोग गरिरहेका अधिकांश काममा यसको आवश्यकता छैन,’ भनिन् ।
विज्ञहरूले एआईमा प्रश्न सोध्दा पनि छोटो र आवश्यक मात्र लेख्न सुझाव दिएका छन् । धेरै पृष्ठभूमि विवरण वा अनावश्यक शिष्टाचारका शब्द प्रयोग गर्दा कम्प्युटिङ क्षमता बढी आवश्यक पर्ने भएकाले ऊर्जा र पानीको खपत पनि बढ्ने उनीहरूको भनाइ छ ।
संयुक्त राष्ट्रसंघ विश्वविद्यालयको नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभरका डेटा सेन्टरहरूले ४४८ ट्रिलियन वाट–घण्टा विद्युत् खपत गरेका थिए । यो विश्वका १० देशबाहेक अन्य सबै देशको कुल विद्युत् खपतभन्दा बढी हो । आगामी चार वर्षमा यो खपत दोब्बरभन्दा बढी हुने अनुमान गरिएको छ ।
प्रतिवेदनका सहलेखक मदानीका अनुसार सन् २०३० सम्ममा डेटा सेन्टरहरूलाई आवश्यक पर्ने विद्युत् उत्पादनका लागि मात्र करिब २.५ ट्रिलियन ग्यालन अर्थात् ९.३ ट्रिलियन लिटर पानी आवश्यक पर्नेछ । यो विश्वका सबै मानिसलाई करिब १.७ वर्षसम्म पिउन पुग्ने पानी बराबर हो ।
उनका अनुसार च्याटजीपीटीबाट एउटा सामान्य पाठ्य उत्तर प्राप्त गर्नु भनेको ऊर्जा–दक्ष बत्ती करिब साढे दुई मिनेटसम्म बालेर राख्नु बराबर हो । तर च्याटजीपीटीमा मात्रै दैनिक करिब २.५ अर्ब पटक यस्ता प्रश्न सोधिने भएकाले यसको कुल प्रभाव निकै ठूलो हुन्छ ।
त्यस्तै, एआई प्रयोग गरेर जटिल भिडियो तयार गर्दा ४२ घण्टासम्म त्यही बत्ती बाल्दा लाग्ने ऊर्जा बराबर खपत हुने र करिब एक ग्यालन अर्थात् चार लिटर पानी प्रयोग हुने उनले बताए ।
विज्ञहरूका अनुसार एआई कम्पनीहरूले ऊर्जा र पानीको वास्तविक खपतबारे पर्याप्त विवरण सार्वजनिक नगरेकाले समस्या झन् गम्भीर बनेको छ ।
लुच्चियोनी र अन्य अनुसन्धानकर्ताले ओपन सोर्स एआई मोडेलका आधारमा मात्र अनुमान गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
मिसिगन विश्वविद्यालयका कम्प्युटर विज्ञानका प्राध्यापक मोशर्फ चौधरीले भने, ‘हामीसँग एआईले कति ऊर्जा प्रयोग गर्छ भन्ने ठ्याक्कै थाहा पाउने कुनै उपाय छैन ।’

अमेजन वेब सर्भिसेजकी दिगोपनसम्बन्धी पूर्वअधिकारी तथा डेटा वैज्ञानिक आना पिन्हेइरो प्रिभेटले भनिन्, ‘पारदर्शिता नभएसम्म उपभोक्ताले आफूले के उपभोग गरिरहेको छ भन्ने बुझ्न पाउँदैन । वास्तवमा हामीसँग छनोट गर्ने अवसर नै छैन । हामीलाई जे दिइन्छ, त्यही प्रयोग गर्न बाध्य बनाइन्छ ।’
हाल धेरै सर्च इन्जिनले प्रयोगकर्ताले नचाहे पनि एआईमार्फत उत्तर दिने सुविधा स्वतः सक्रिय गरेका छन् । लुच्चियोनीका अनुसार प्रयोगकर्ताले एआई प्रयोग गर्न चाहेको अवस्थामा मात्र ‘अप्ट इन’ गर्नुपर्ने व्यवस्था हुनुपर्ने भए पनि अहिले त्यसको उल्टो अवस्था छ ।
उनले गुगलमा एआई उत्तरबाट बच्न खोज शब्दको अन्त्यमा ‘–एआई’ लेख्न वा ’वेब’ विकल्प रोज्न सकिने बताइन् । साथै वातावरणीय प्रभाव कम गर्ने प्रयास गर्ने इकोसिया तथा एआईविहीन विकल्प उपलब्ध गराउने डकडकगो र स्टार्टपेजजस्ता खोज इन्जिन प्रयोग गर्न पनि सुझाव दिइन् ।
प्रिभेटका अनुसार उपभोक्ताको दबाबले कम्पनीहरूको व्यवहार परिवर्तन गराउन सक्छ । ‘मैले अमेजनमा काम गर्दा उपभोक्ताको मागलाई कम्पनीले निकै गम्भीर रूपमा लिएको देखेकी थिएँ । यदि धेरै मानिसहरूले आफ्नो वातावरणीय प्रभावबारे चासो दिन थाले भने कम्पनीहरूले त्यसलाई बेवास्ता गर्न सक्दैनन्,’ उनले भनिन् ।
पहिले कुनै क्षेत्रमा डेटा सेन्टर निर्माण हुँदा खासै विरोध नहुने गरेको भए पनि अहिले ती तीव्र रूपमा बढ्दै जाँदा स्थानीय समुदायले विरोध गर्न थालेका छन् । उदाहरणका रूपमा अमेरिकाको भर्जिनियाका दुई काउन्टीमा रहेका डेटा सेन्टरहरूले सन् २०२३ मा मात्रै २.१ अर्ब ग्यालन अर्थात् ८ अर्ब लिटर पानी प्रयोग गरेका थिए ।
ऊर्जा–तयार डेटा सेन्टर परिसर निर्माण गर्ने कम्पनी बारुपअनका प्रमुख सञ्चालन अधिकृत बालाजी तम्माबत्तुलाले भने, ‘आजकाल डेटा सेन्टर बनाउने भन्यो भने तत्काल विरोध सुरु हुन्छ । डेटा सेन्टर नयाँ ’भूत’ जस्तै बनेको छ ।’

उनका अनुसार समुदायको चासोलाई सम्बोधन गर्दै कम्पनीहरूले पानी र ऊर्जा खपत घटाउने उपाय अपनाउन थालेका छन् । ‘एआई अब कतै जानेवाला छैन । यसको विकास रोकिने छैन । तर यो समुदायको सहकार्य र उनीहरूको चिन्तालाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ,’ उनले भने । (एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्