नेपालको पुँजी बजार पछिल्ला केही वर्षयता उल्लेखनीय रूपमा विस्तार भएको छ । डिम्याट खाता, ‘मेरो शेयर’, अनलाइन कारोबार प्रणाली, मोबाइल एपमार्फत लगानी तथा नयाँ पुस्ताका लगानीकर्ताको प्रवेशले बजारको दायरा फराकिलो बनेको छ । कारोबार गर्ने व्यक्तिको संख्या ८० लाख पुगेको छ भने पुँजी बजारप्रति आम नागरिकको चासो पनि निरन्तर बढ्दो छ । तर, लगानीकर्ताको सहभागिता विस्तार भए पनि बजारले अपेक्षित स्थायित्व र गति लिन सकेको छैन । सूचकमा देखिने तीव्र उतारचढाव, नीतिगत अन्योल, सुधार प्रक्रियाको सुस्तता तथा नियामकीय कमजोरीले लगानीकर्ताको विश्वासमा पटक–पटक धक्का पु¥याएको छ ।
नेपालको शेयर बजारको वास्तविक चुनौती कम्पनीको भन्दा बढी नीति, प्रणाली र विश्वाससँग जोडिएको छ । बजारलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)बीच प्रभावकारी समन्वय अपरिहार्य छ ।
हिजो ः विस्तार भयो, तर उतारचढावले सिकायो
नेपालको पुँजी बजारले पछिल्ला केही वर्षमा असाधारण उतारचढाव अनुभव ग¥यो । एक समय लगानीकर्ताको अत्यधिक आकर्षणका कारण बजारले ऐतिहासिक उचाइ छोयो भने त्यसपछि आएको गिरावटले हजारौं लगानीकर्तालाई ठूलो नोक्सानी व्यहोर्न बाध्य बनायो । त्यस अवधिले बजारको मनोविज्ञान मात्र होइन, लगानी संस्कृतिमाथि पनि गम्भीर प्रश्न उठायो ।
विगतको अनुभवले लगानीकर्तालाई सबैभन्दा ठूलो पाठ अफवाह र भीडको मनोविज्ञानको पछि नलाग्न सिकाएको छ । कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन, नाफा, लाभांश दिने क्षमता तथा भविष्यको सम्भावनाको अध्ययन नगरी गरिएको लगानी दीर्घकालमा जोखिमपूर्ण हुने गर्दछ ।
विविधीकरणलाई सफल लगानीको आधार मानिन्छ । एउटै कम्पनी वा एउटै क्षेत्रमा सम्पूर्ण लगानी केन्द्रित गर्नुको सट्टा विभिन्न क्षेत्रमा लगानी फैलाउँदा जोखिम कम हुने उनको तर्क हुन्छ । यसका साथै, बजार सधैं एउटै दिशामा नजाने भएकाले धैर्यवान र दीर्घकालीन सोच भएका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्ने सम्भावना बढी रहन्छ ।
समस्या बजारको होइन, विश्वासको
हाल नेपालको शेयर बजारमा लगानीकर्ताको सहभागिता बढ्दो छ । तर, पर्याप्त तरलता हुँदा पनि बजारले अपेक्षित उत्साह देखाउन सकेको छैन । यसको मूल कारण आर्थिकभन्दा पनि नीतिगत र मनोवैज्ञानिक हो ।
नीतिगत अनिश्चितता, नियामकीय निकायको कमजोर कार्यसम्पादन, सुधार प्रक्रियामा ढिलाइ, सीमित संस्थागत लगानीकर्ता तथा बजारप्रति विश्वासको अभाव अहिलेका मुख्य चुनौती हुन् । आजको समस्या कम्पनीको भन्दा बढी नीति, प्रणाली र विश्वासको हो ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, ब्याजदर तथा बैंकिङ प्रणालीको तरलताले नेपाली शेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । विगतमा ब्याजदर घट्दा बजारमा लगानी बढ्ने र ब्याजदर बढ्दा बजार दबाबमा पर्ने अवस्था देखिए पनि पछिल्लो समय त्यो सम्बन्ध कमजोर देखिएको छ ।
पर्याप्त तरलता हुँदा पनि बजारले सकारात्मक प्रतिक्रिया दिन नसक्नु बजारप्रतिको विश्वास कमजोर भएको संकेत हो । त्यसैले आगामी दिनमा स्थिर र पूर्वानुमानयोग्य मौद्रिक नीति आवश्यक रहेको छ । शेयर धितो कर्जाको सीमा व्यवहारिक बनाउनुपर्ने र पुँजी बजारलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गर्नुपर्दछ ।
सुधारको पर्खाइमा नियामक
नेप्से र सीडीएससी तीनवटै संस्थाले सुधारका केही काम गरे पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
धितोपत्र बोर्डले नीति निर्माणभन्दा कार्यान्वयनमा बढी ध्यान दिनुपर्छ । समयानुकूल ऐन, नियम तथा निर्देशन संशोधनमा ढिलाइ भएको र इनसाइडर ट्रेडिङ तथा बजार चलखेल नियन्त्रणमा अझ प्रभावकारी भूमिका आवश्यक रहेको छ ।
नेप्सेको हकमा नयाँ वित्तीय उपकरण ल्याउन निकै ढिलाइ भएको छ । विकसित मुलुकमा प्रयोग भइरहेका इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ, डेरिभेटिभ्स, सेक्युरिटिज लेन्डिङ जस्ता प्रणाली नेपालमा अझै लागू हुन सकेका छैनन् ।
सीडीएससीले डिम्याट प्रणाली सफलतापूर्वक सञ्चालन गरे पनि सेटलमेन्ट प्रणालीलाई हालको टी+२ बाट टी+१ हुँदै भविष्यमा टी+० मा लैजानुपर्दछ । कर्पोरेट एक्शनलाई थप छिटो र स्वचालित बनाउनुपर्ने आवश्यकता छ ।
किन ढिलो भइरहेका छन् सुधार?
ब्रोकर लाइसेन्स विस्तार, नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज, बजार आधुनिकीकरण लगायतका विषय लामो समयदेखि चर्चामा भए पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।
यसको मुख्य कारण नीतिगत निर्णयमा ढिलाइ, राजनीतिक हस्तक्षेप, नियामकीय निकायबीच समन्वयको अभाव, परिवर्तनप्रतिको अनावश्यक प्रतिरोध तथा स्पष्ट समयसीमाको अभाव हो ।
अब सुधारका लागि स्पष्ट रोडम्याप, जिम्मेवारी निर्धारण र समयबद्ध कार्यान्वयन आवश्यक छ । सुधारको घोषणा मात्र नभई परिणाम देखिने गरी काम हुनुपर्दछ ।
पारदर्शिता र सुशासन अझै चुनौती
नेपालको पुँजी बजारमा बेला–बेला इनसाइडर ट्रेडिङ, मूल्य चलखेल तथा सूचनाको असमान पहुँचबारे प्रश्न उठ्ने गरेका छन् । लगानीकर्ताको विश्वास बढाउन यी विषयमा कडा कदम चाल्नुपर्दछ ।
इनसाइडर ट्रेडिङविरुद्ध प्रभावकारी अनुसन्धान र कारबाही आवश्यक छ । कृत्रिम बुद्धिमत्ता –एआई) आधारित मार्केट सर्भिलेन्स प्रणाली लागू गरी अस्वाभाविक कारोबारको निगरानी गर्नुपर्दछ ।
सबै सूचनाको समान समयमा सार्वजनिक पहुँच सुनिश्चित गर्नुपर्ने, कम्पनीका सञ्चालक तथा प्रमुख व्यवस्थापकको शेयर कारोबार सार्वजनिक गर्नुपर्ने र ठूला कारोबारको निगरानी प्रणाली बलियो बनाउनुपर्दछ ।
सूचीकृत कम्पनीहरूको सूचना प्रकटीकरणमा पनि अझै कमजोरी रहेको छ । कतिपय कम्पनीले समयमै वित्तीय विवरण सार्वजनिक नगर्ने, कर्पोरेट सुशासन कमजोर हुने, स्वतन्त्र सञ्चालक प्रभावकारी नहुने, सम्बन्धित पक्षसँगका कारोबार पारदर्शी नहुने तथा अडिटको गुणस्तरमा सुधार आवश्यक रहेको छ ।
दीर्घकालीन सम्भावना कहाँ ?
नेपालको शेयर बजारमा बैंक, जलविद्युत्, बीमा, होटल, उत्पादन तथा अन्य क्षेत्रका कम्पनीहरू सूचीकृत छन् । आगामी दशकमा बैंकिङ, जलविद्युत्, उत्पादन तथा प्रशोधन उद्योग, सूचना प्रविधि, पर्यटन, ऊर्जा, कृषि प्रशोधन तथा पूर्वाधार क्षेत्र दीर्घकालीन रूपमा सम्भावनायुक्त रहनेछन् ।
विशेषगरी उत्पादन, ऊर्जा र सूचना प्रविधि नेपालको आर्थिक रूपान्तरणसँग प्रत्यक्ष जोडिएकाले ती क्षेत्रमा लगानीको सम्भावना अझ बलियो रहेको छ । लाभांशमुखी र पुँजीगत लाभमुखी दुवै रणनीतिलाई सन्तुलित रूपमा अपनाउन सुझाव दिएका छन् । बलियो आधार भएका कम्पनीमा दीर्घकालीन लगानी गर्दै नियमित लाभांश दिने कम्पनीलाई प्राथमिकता दिनुपर्दछ ।
संस्थागत लगानी बढाउनुपर्ने आवश्यकता
नेपालको शेयर बजार अझ परिपक्व बन्न संस्थागत लगानीकर्ताको सहभागिता अत्यावश्यक रहेको छ । विदेशी संस्थागत लगानीका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक छ । पेन्सन फण्ड, बीमा कोष तथा अन्य संस्थागत कोषलाई लगानीमा थप स्वतन्त्रता दिनुपर्ने, सार्वभौम सम्पत्ति कोषको अवधारणा विकास गर्नुपर्ने तथा कर प्रणालीलाई प्रतिस्पर्धी र स्थिर बनाउनुपर्दछ ।
त्यस्तै, विदेशी लगानीकर्ताका लागि सहज निकासको व्यवस्था भए बजारको गहिराइ र स्थायित्व दुवै बढ्ने हुन्छ ।
विश्वस्तरीय बजार निर्माणको अवसर
आगामी पाँचदेखि दश वर्षमा नेपालको पुँजी बजारलाई दक्षिण एशियाकै प्रतिस्पर्धी, पारदर्शी र लगानीमैत्री बनाउन पाँचवटा सुधार सबैभन्दा महत्वपूर्ण छन् ।
पूर्ण रूपमा प्रविधिमैत्री र विश्वस्तरीय बजार पूर्वाधार निर्माण, स्वतन्त्र तथा राजनीतिक हस्तक्षेपमुक्त नियामक प्रणाली, डेरिभेटिभ्स, ईटीएफ, आरईआईटी, बन्ड मार्केट, कमोडिटी एक्सचेञ्ज, सेक्युरिटिज लेन्डिङ तथा सर्ट सेलिङजस्ता नयाँ वित्तीय उपकरण सञ्चालन, विदेशी तथा संस्थागत लगानी आकर्षित गर्ने स्थिर नीति तथा कर प्रणाली र लगानीकर्ता शिक्षा, वित्तीय साक्षरता तथा कर्पोरेट सुशासनमा व्यापक सुधारलाई प्राथमिकतामा राख्नुपर्दछ ।
यससँगै बैंक तथा वित्तीय संस्थालाई निश्चित सीमाभित्र दोस्रो बजारमा संस्थागत लगानीको अवसर विस्तार गर्नुपर्छ । ठूला निजी कम्पनीलाई सूचीकरणका लागि कर तथा नीतिगत प्रोत्साहन दिनुपर्दछ । एसएमई प्लेटफर्मलाई प्रभावकारी, आईपीओ स्वीकृति प्रक्रिया छिटो र पारदर्शी बनाउनुपर्छ । त्यस्तै साना लगानीकर्ताको हित सुरक्षित हुने गरी आईपीओ बाँडफाँट प्रणाली पुनरावलोकन गर्नुपर्दछ ।
सेटलमेन्ट समय थप घटाउने, सम्पूर्ण नियामकीय प्रक्रिया डिजिटल प्लेटफर्ममार्फत सञ्चालन गर्ने, एआई आधारित बजार निगरानी प्रणाली लागू गर्ने तथा लगानीकर्ता क्षतिपूर्ति कोषलाई थप प्रभावकारी बनाउनुपर्दछ ।
दीर्घकालीन सोच नै सफलताको आधार
शेयर बजार रातारात धनी बन्ने माध्यम होइन, दीर्घकालीन सम्पत्ति निर्माण गर्ने माध्यम हो । अध्ययन, अनुशासन, धैर्यता र जोखिम व्यवस्थापन सफल लगानीका आधारभूत स्तम्भ हुन् ।
सामाजिक सञ्जालका हल्ला, अफवाह वा भीडको मनोविज्ञान पछ्याएर होइन, कम्पनीको आधारभूत अवस्था, आर्थिक सूचक तथा दीर्घकालीन सम्भावनाको विश्लेषण गरेर मात्र लगानी गर्नुपर्दछ ।
नेपालको पुँजी बजारले विगतमा विस्तारको यात्रा तय ग¥यो, वर्तमानमा विश्वासको संकटसँग जुधिरहेको छ र भविष्यमा विश्वस्तरीय बजार बन्ने सम्भावना बोकेको छ । तर त्यो सम्भावना साकार हुन सरकार, नियामक निकाय, बजार सञ्चालक, सूचीकृत कम्पनी र लगानीकर्ता सबैले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ । विश्वास, पारदर्शिता, प्रविधि र समयानुकूल सुधारलाई केन्द्रमा राख्न सकिए नेपालको शेयर बजारले अबको दशकमा नयाँ उचाइ हासिल गर्न सक्ने आधार बलियो बन्दै गएको छ ।
नेपालमा शेयर बजारमा सबैभन्दा ठूलो प्रभाव पार्ने निकायमध्ये नेपाल राष्ट्र बैंक प्रमुख हो ।
विगतमा ब्याजदर घट्दा बजारमा लगानी बढ्ने र ब्याजदर बढ्दा बजारमा दबाब पर्ने देखिएपनि हाल त्यो हुन सकेको छैन । पर्याप्त तरलता हुँदा बजारमा सकारात्मक प्रभाव पर्नुपर्छ ।
स्थिर तथा पूर्वानुमानयोग्य मौद्रिक नीति, शेयर धितो कर्जाको सीमा व्यवहारिक बनाउने, पूँजीबजारलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गर्ने र बजारप्रति अनावश्यक कठोर दृष्टिकोण अन्त्य गर्ने काम गर्नुपर्छ
आगामी पाँचदेखि दश वर्षमा नेपालको पुँजी बजारलाई दक्षिण एशियाकै प्रतिस्पर्धी, पारदर्शी र लगानीमैत्री बनाउन विभिन्न सुधार आवश्यक छ ।
यसका लागि पूर्ण प्रविधिमैत्री, विश्वस्तरीय र पारदर्शी बजार पूर्वाधार निर्माण हुनुपर्छ । स्वतन्त्र, सक्षम र राजनीतिक हस्तक्षेपमुक्त नियामक प्रणाली आवश्यक छ ।
यसंैगरी नयाँ वित्तीय उपकरणका रुपमा डेरिभेटिभस, इटीएफ, आरइआइटी, बोन्ड मार्केट, कमोडिटी एक्सचेन्ज, सेक्युरिटीज लेन्डिङ, सर्ट सेलिङ सञ्चालन गर्नुपर्छ ।
विदेशी तथा संस्थागत लगानी आकर्षित गर्ने स्थिर नीति र कर प्रणाली आवश्यक छ । लगानीकर्ता शिक्षा, वित्तीय साक्षरता, कर्पोरेट गर्भनेन्स र सूचना पारदर्शितामा व्यापक सुधार आवश्यक छ ।
बैंक तथा वित्तीय संस्थालाई निश्चित सीमाभित्र दोस्रो बजारमा संस्थागत लगानीको अवसर विस्तार गर्नुपर्छ ।
सूचीकरणका लागि ठूला निजी कम्पनीलाई कर तथा नीतिगत प्रोत्साहन गरिनुपर्छ । साना तथा मध्यम उद्योगलाई प्रभावकारी बनाउने र आइपीओ स्वीकृति प्रक्रिया छिटो र पारदर्शी बनाउनुपर्दछ ।
आइपीओ बाँडफाँट प्रणालीमा आवश्यक पुनरावलोकन गरी साना लगानीकर्ताको सहभागिता सुरक्षित राख्ने । सेटलमेन्ट समय थप घटाउने, आर्टिफिसियल इन्टलिजेन्स आधारित मार्केट सर्भिलेन्स लागू गर्नुपर्छ ।
शेयर बजार रातारात धनी बन्ने माध्यम होइन, दीर्घकालीन सम्पत्ति निर्माण गर्ने माध्यम हो । अध्ययन, अनुशासन, धैर्यता र जोखिम व्यवस्थापन सफल लगानीका मुख्य आधार हुन । अफवाह, सामाजिक सञ्जालका हल्ला वा भीडको मनोविज्ञान पछ्याएर होइन, कम्पनीको आधारभूत अवस्था, आर्थिक सूचक र दीर्घकालीन सम्भावनाको विश्लेषण गरेर लगानी गर्नुहोस । राम्रो कम्पनीमा समय दिएर गरिएको लगानीले नै दीर्घकालमा दिगो प्रतिफल दिन सक्छ ।