नेभिगेशन
विश्व

दीर्घायुका लागि कला र संस्कृतिमा रमाउनुस्

न्यू योर्क, (एजेन्सी)  । डा. सामन्था बोर्डम्यान न्यूयोर्कस्थित वेल–कर्नेल मेडिकल कलेजमा मनोचिकित्साकी क्लिनिकल प्रशिक्षक र सहायक चिकित्सक छिन् । उनकी एक जना मिल्ने साथी ९० वर्षको उमेर पार गरिसकिन्  । उनी डा बोर्डम्यान नजिक भएका जीवन्त व्यक्तिहरूमध्ये सबैभन्दा पाको उमेरकी हुन् । वर्षौंदेखि उनीहरू न्यू योर्कका आर्ट ग्यालरी र संग्रहालयहरूमा सँगै घुम्न जाने गर्छन् । यस्तो संग्रहालय यात्रालाई उनी ‘भ्रमण’ भन्न रुचाउँछिन् ।
मेट्रोपोलिटन म्युजियम अफ आर्टमा क्यास्पर डेभिड फ्रेडरिकको प्रदर्शनी हेरेपछि, उनले डा. बोर्डम्यानलाई एउटा सन्देश पठाइन् । उनको त्यो दिन निकै कठिन बितेको भए पनि जसै उनी ती ग्यालरीहरूमा पुगिन्, उनले ‘खुसीभन्दा पनि माथिको ठूलो मानसिक परिवर्तन’ महसुस गरिन् । उनले समुद्री दृश्यका नबिर्सिने नीला रङहरू, रूखहरूका वाटरकलर चित्रहरू र आकाशको कुहिरोयुक्त सौन्दर्यको बारेमा वर्णन गरेर सुनाइन् ।
फ्रेडरिकले आफ्नो चित्र ‘वान्डरर एभोब द सी अफ फग’का बारेमा एकपटक भनेका थिए, “यसले मलाई म कति सानो छु भन्ने सम्झाउँछ, अनि यो जीवन कति चामत्कारिक छ भन्ने पनि बुझाउँछ ।” ९० वर्षीयालाई पनि त्यस्तै महसूस भएको थियो ।
क्लिनिकल मनोचिकित्सकको रूपमा डा. बोर्डम्यानले बिरामीहरू मलाई स्वस्थ रूपमा उमेरलाई स्वीकार्ने (हेल्दी एजिङ) बारे सोध्न आउने गरेका छन् । उनीहरू स्वस्थ रहन चाहन्छन् तर कोही पनि संग्रहालय जाने कुरा गर्दैनन् । यसको सट्टा उनीहरू दीर्घायु बनाउने प्रविधि र औषधीतिर ध्यान मोड्ने गर्छन् । जैविक उमेरको परीक्षण, निद्राको स्कोर, निरन्तर ग्लुकोज नाप्ने मेसिन र थरीथरीका भिटामिन वा सप्लिमेन्टहरूमा उनीहरूको बढी जोडबल हुने गरेको छ ।
बोर्डम्यानकहाँ बिरामी आउँदा उनले नाप्न मिल्ने हरेक कुरा आफैँले नापेकी थिइन् । उनको ग्लुकोजको स्तर कस्तो छ, मुटुको धड्कनको भिन्नता कति छ, उनको जैविक उमेरअनुसारको गतिविधि कस्तो छ भन्ने उनलाई सबै थाहा थियो तर पनि उनी अन्तिम पटक कुन कुरामा साँच्चिकै उत्साहित भएकी थिइन् भनेर बताउन भने सकिनन् । उनले आफ्नो शरीरलाई एउटा मेसिनजस्तो मर्मत र निगरानी गर्नुपर्ने प्रणालीको रूपमा व्यवहार गरिरहेकी थिइन् । यसमा कुनै खराबी त छैन भनेर सचेत थिइन् तर यो ऊर्जाशील र जीवन्त जीवन बाँच्नुजस्तो पक्कै होइन भन्ने अझै बुझिसकेकी थिइनन् ।
युनिभर्सिटी कलेज लन्डनको एउटा नयाँ अध्ययनले ग्यालरी जाने, सांगीतिक कार्यक्रममा सहभागी हुने, गाउने र नाच्नेजस्ता कला र संस्कृतिमा नियमित सहभागी हुँदा यसले शारीरिक व्यायामले जत्तिकै जैविक रूपमा बुढ्यौलीको गतिलाई सुस्त बनाउने पत्ता लगाएको छ । जो मानिसहरू प्रायः यस्ता गतिविधिहरूमा धेरै सहभागी हुन्छन् र विभिन्न प्रकारका कलामा रमाउँछन्, उनीहरू सहभागी नहुने मानिसहरूभन्दा जैविक रूपमा करिब एक वर्ष कान्छा देखिए । अनुसन्धानकर्ताहरूका अनुसार, कलामा सहभागी हुनुले वंशाणुगत तह (एपिजेनेटिक लेभल) मै काम गर्छ भनेर देखाउने यो पहिलो अध्ययन हो । प्रमुख लेखकले यसलाई जिम जानुको सांस्कृतिक विकल्पको रूपमा वर्णन गरेका छन् ।
कलामा सहभागी हुनु भनेको धेरै मानिसले सोचेभन्दा निकै फराकिलो कुरा हो । यो सङ्ग्रहालय जाने र कन्सर्टमा सहभागी हुने मात्र होइन । आफ्नो ५० औं जन्मदिनमा, एक बिरामीले हप्तामा एउटा कला कार्यक्रममा सहभागी हुने निर्णय गरिन् । ग्यालरीको उद्घाटन, नाटक, पुस्तक पठनजस्ता कुराले उनको ध्यान तान्थ्यो । तिनै कार्यक्रमहरूमा उनी जान्थिन् । केही महिनाभित्रै उनले आफ्नो ऊर्जा र मुडमा स्पष्ट परिवर्तन महसुस गरेको बताइन् ।
भर्खरै सेवानिवृत्त (रिटायर) भएकी अर्की एक व्यक्तिले सामुदायिक केन्द्रमा बलरूम डान्स क्लासमा नाम लेखाइन् र संगीत, अन्य नर्तकहरू र केही नयाँ कुरा सिक्न पाउँदाको खुसीले उनी पूरै परिवर्तन भएर फर्किन् । तेस्रो व्यक्ति एउटा बुनाइ (निटिङ) क्लबमा सामेल भइन् र त्यो उनको हप्ताको सबैभन्दा रमाइलो समय बन्न पुग्यो । 
डा. बोर्डम्यान भन्छिन्, ‘हामीलाई पहिल्यै के थाहा छ भने निरन्तरको तनावले हाम्रो आयु घट्छ । त्यस्ता तनावका कारण हामीले जीवनका वर्षहरू घटाइरहेका हुन्छौँ । तनावको हर्मोन (कोर्टिसोल) को उच्च स्तरले मुटुको रोग र स्मरणशक्ति घट्ने जोखिम बढाउँछ अनि जैविक बुढ्यौलीलाई तीव्र बनाउँछ । कलामा सहभागी हुँदा यस्ता क्षतिहरूलाई कम गर्न सकिन्छ । यस्ता कुरा अहिले जैविक स्तरमै नाप्न सम्भव भएको छ ।”
यसको सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ । म्यानचेस्टर आर्ट ग्यालरीमा गरिएको एउटा अध्ययनले आफूले देखेको कुरा अरूसँग छलफल गर्ने दर्शकहरू ग्यालरीबाट निस्कँदा आफूसँगै आएका मानिसहरूसँग अझ बढी सकारात्मक, जोडिएको र नजिक भएको महसूस गर्ने गरेको पत्ता लगाएको थियो । दीर्घायुको रहस्य हामीले सोचेभन्दा धेरै सरल र धेरै रमाइलो हुन सक्छ । द वाल स्ट्रिट जर्नलमा डा. बोर्डम्यान लेख्छिन्, कुनै ग्यालरी घुम्नुहोस्, नाटक हेर्नुहोस्, नृत्य कक्षामा नाम लेखाएर मस्तले नाच्न थाल्नोस् वा पुस्तक पठनमा सहभागी हुनुहोस् । कुनै साथीलाई सँगै लैजानुहोस् र यस्तो गतिविधि छान्नुहोस् जसले तपाईंलाई जीवन कति चामत्कारिक छ भन्ने सम्झाओस् । यसपछि तपाईंले आफूमा कति परिवर्तन भयो भन्ने तुरून्तै महसूस गर्न थाल्नुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्