काठमाडौं । गत साता बाढीको भेलले उनको दुर्गम गाउँलाई तहसनहस बनाउन थालेपछि पेमा तामाङ र उनका छिमेकीहरू ज्यान जोगाउन डाँडातर्फ भागे । उनीहरूले गुम्बामा शरण लिए, जो २०७२ वैशाखको भूकम्पले भत्किएकाले अघिल्लो वर्ष मात्रै पुनर्निर्माण गरिएको थियो ।
पहिले नै भूकम्पको उच्च जोखिममा रहेका भिराला पहाडी भूभागमा हिमनदी पग्लिँदै जाँदा आकस्मिक बाढी पनि बढ्दै गएका छन् । यसले नदीको बहाव र स्वरूप अत्यन्त तीव्र गतिमा परिवर्तन गरिरहेको छ । एउटा विपत्तिबाट उठेर पुनर्निर्माण गर्न नपाउँदै अर्को विपत्ति आइपुग्न थालेपछि जलवायु परिवर्तन तीव्र हुँदै जाँदा हिमाली समुदायहरूले यस्तो जोखिम थेग्न सक्लान् कि नसक्लान् भन्ने चिन्ता बढेको छ ।
‘भूकम्पमा ध्वस्त भएपछि हामीले अघिल्लो वर्ष मात्रै स्तूप पुनर्निर्माण गर्न सकेका थियौं,’ तामाङले बताइन्, ‘बाढीबाट ज्यान जोगाउने क्रममा हामीले त्यहीँ शरण लियौं ।’ उनी अहिले काठमाडौंस्थित एक गुम्बामा बनाइएको अस्थायी आश्रयस्थलमा छिन् ।
नेपाल र छिमेकी चीनमा गत साता आएको बाढी तथा पहिरोमा परी एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौं अझै बेपत्ता छन् । जलविद्युत् आयोजनाहरूका सुरुङभित्र सयौं जना फसेको आशंका छ । अझै उनीहरूको उद्धार हुन सकेको छैन । हिमालयका विभिन्न नदीमा चट्टान र हिमनदीको बरफ खस्दा त्यसले पानी र गेग्रानलाई एकैपटक तीव्र गतिमा तलतिर बगाएपछि विनाशकारी बाढी आएको थियो ।
वैज्ञानिकहरूले पछिल्लो विपत्तिलाई तत्कालै विश्वव्यापी तापक्रम वृद्धिसँग प्रत्यक्ष रूपमा जोड्न हतार हुने बताएका छन् । तर तेल, ग्यास र कोइला जलाउँदा पृथ्वीको तापक्रम तीव्र गतिमा बढिरहेका बेला यस्ता विपत्तिको सम्भावना भने बढ्दै जाने उनीहरूको भनाइ छ । अन्य धेरै भूभागको तुलनामा हिमालय क्षेत्रमा तापक्रम वृद्धि अझ तीव्र रहेकाले जोखिम झनै गम्भीर बनेको छ ।
काठमाडौंस्थित इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) का विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलता विज्ञ शाश्वत सन्यालले भने, ‘जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्रमा ठूलो भूमिका खेलिरहेको छ। यसले यस्ता जटिल विपत्तिहरू निम्त्याइरहेको छ, जसको प्रत्यक्ष असर तल्लो तटीय समुदाय र त्यहाँ भइरहेको लगानीमा परेको छ ।’
सन्यालका अनुसार हिमाली क्षेत्रले एकपछि अर्को विपत्तिलाई जोडेर ल्याउने जोखिमको सामना गरिरहेको छ । तापक्रम बढ्दा हिमाली क्षेत्रमा बरफ पग्लिने क्रम तीव्र हुन्छ । त्यसले चट्टान खस्ने, हिमपहिरो जाने र बाढी आउने घटना बढाउन सक्छ । हिमपहिरोले नदी थुन्न सक्छ र पछि त्यो बाँध फुट्दा आकस्मिक बाढी आउन सक्छ । त्यसमाथि प्रारम्भिक विपत्तिपछि ठूलो वर्षा भयो भने क्षति अझ भयावह बन्न सक्छ ।
गत वर्ष पनि यही क्षेत्रमा आएको आकस्मिक बाढीमा नेपालमा नौ जनाको मृत्यु भएको थियो भने लाखौं डलर बराबरको क्षति भएको थियो । व्यापक हिन्दुकुश हिमालय क्षेत्रमा सन् २०१३ को केदारनाथ बाढी, सन् २०२१ को चमोली विपत्ति, सन् २०२३ को दक्षिण ल्होनाक हिमताल विस्फोटबाट आएको बाढी तथा पछिल्ला वर्षहरूमा भएका अन्य पहिरो र बाढीका घटनामा हजारौं मानिसको ज्यान गएको छ र सयौं अर्ब डलर बराबरको क्षति भएको छ ।
‘गत वर्षको बाढीबाट मानिसहरू अझै पूर्ण रूपमा तंग्रिन सकेका थिएनन्,’ सन्यालले भने, ‘उनीहरूले त्यससँग पूर्ण रूपमा अनुकूलन गर्न नपाउँदै अर्को विपत्ति आइपुग्यो ।’ हिन्दुकुश हिमालय अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, म्यान्मार र चीनका केही भूभागमा फैलिएको छ । यो क्षेत्र ध्रुवीय क्षेत्रबाहेक विश्वमै सबैभन्दा ठूलो हिमभण्डार रहेको भूभाग हो । यही हिमाली क्षेत्रबाट उत्पत्ति हुने नदी प्रणालीले करिब दुई अर्ब मानिसको जीवन र जीविकालाई सहयोग पु¥याउँछ ।
सन्यालका अनुसार सन् २००० यता हिमनदीको बरफ हराउने क्रम तीव्र रूपमा बढेको छ । अर्को जोखिम लामो समयदेखि जमेको जमिन अर्थात् पर्माफ्रस्ट पग्लिनु पनि हो । यस्तो जमिन पग्लिँदा पहाडका ढलान कमजोर हुन सक्छन् र पहिरोको जोखिम बढ्न सक्छ ।
गत साता हिमनदी खसेको क्षेत्रका भूउपग्रहबाट खिचिएका तस्बिरले ठूलो परिमाणमा चट्टान र हिमनदीको बरफ तलको उपत्यकामा खसेको देखाएका छन् । त्यसपछि पानी र हिलोको कयौं तले भवनजत्रो उचाइको भेल बनेर धेरै किलोमिटर तल रहेका बस्तीहरूतर्फ तीव्र गतिमा बगेको थियो ।
जलवायु विज्ञहरूका अनुसार कतिपय स्थानमा जोखिम यति उच्च हुन सक्छ कि त्यहाँ पुनर्निर्माण गर्नु नै सम्भव नहुन सक्छ । यस्तो अवस्थामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने हुन सक्छ । जलवायु परिवर्तनले सडक, पुल र जलविद्युत् आयोजना निर्माणमार्फत हिमाली क्षेत्रको विकास गर्ने प्रयासमा समेत गम्भीर असर पार्न सक्छ ।
नेपाली जलवायु नीति विज्ञ तथा संयुक्त राष्ट्रसंघका जलवायु वार्ताकार मन्जित ढकालले भने, ‘केही क्षेत्रमा अनुकूलनको सीमा पार भइसकेको छ ।’
उनका अनुसार भूकम्पले घर भत्काउँदा कतिपय अवस्थामा घरभित्रका सामान तथा अन्य सम्पत्ति निकाल्न सकिन्छ । तर विनाशकारी बाढीले घर मात्रै होइन, घर रहेको जमिन नै बगाउन सक्छ । त्यससँगै सडक, खानेपानी प्रणाली, विद्यालय र विद्युत् संरचनासमेत नष्ट हुन सक्छन् । त्यसैले भविष्यमा गरिने पुनर्वासको योजना सुरुदेखि नै जलवायु जोखिमलाई ध्यानमा राखेर बनाउनुपर्ने उनको भनाइ छ ।
जोखिम न्यूनीकरणका लागि भू–उपयोगसम्बन्धी कडा नियम, पूर्वाधार निर्माण स्वीकृत गर्नुअघि विस्तृत जोखिम मूल्यांकन, सीमापार निगरानी प्रणाली र प्रभावकारी पूर्वसूचना प्रणालीलाई बलियो बनाउन सकिन्छ । तर सन्यालका अनुसार भदौ १० को बाढीअघि करिब ६ लाख ७० हजार मानिसले मोबाइलमा चेतावनी सन्देश पाए पनि तीमध्ये केही पर्यटक वा आप्रवासी कामदार थिए, जसले नेपाली भाषा बुझ्न सकेनन् । केहीले चेतावनीलाई गम्भीर रूपमा लिएनन् । नदीको अवस्था मापन गर्न बनाइएका कतिपय उपकरणसमेत बाढीले बगाएको वा अत्यधिक बहावका कारण काम गर्न नसक्ने अवस्थामा पुगे ।
भोटेकोशी बाढी रसुवाबाट नुवाकोट आइपुग्नु केही अघि गाउँलेले सूचना नपाएका होइनन्, तर धेरैले त्यो बाढीको स्वरुप भयानक हुने कल्पना गरेका थिएनन् । नुवाकोटका ६२ वर्षीय चन्द्रलाल चित्रकारले चेतावनी सन्देशलाई खासै ध्यान नदिएको बताए । पानीको सतह बढ्दै गएपछि भने उनी ज्यान जोगाउन डाँडातर्फ भागेका थिए ।
सन्यालका अनुसार पूर्वसूचना प्रणालीले विपत्ति आउँदैछ भन्ने जानकारी मात्रै नभई मानिसहरूले त्यसपछि के गर्नुपर्छ भन्ने स्पष्ट जानकारी पनि दिनुपर्छ । उनले जोखिम कम भएका क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिन, पूर्वाधारको मूल्यांकन गर्दा एकैपटक धेरै प्रकारका विपत्तिको जोखिम हेर्न तथा विपद् व्यवस्थापनको योजना बनाउँदा आदिवासी तथा स्थानीय समुदायको परम्परागत ज्ञानलाई समेत समेट्न सुझाव दिए ।
जलवायु वार्ताकार ढकालले विश्वव्यापी तापक्रम वृद्धिका लागि जिम्मेवार हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम रहेको उल्लेख गरे । तर जलवायु परिवर्तनका गम्भीर असर भने नेपालले भोगिरहेको छ ।
‘विश्वको तापक्रम बढाउन जिम्मेवार र लामो समयदेखि जीवाश्म इन्धनमा आधारित अर्थतन्त्रबाट लाभ लिइरहेकाहरूलाई हामीले दोष दिनुपर्छ,’ ढकालले भने, ‘कम्तीमा यो विनाशकारी घटनालाई कार्बन उत्सर्जन तत्काल घटाउन प्रेरणा दिने उदाहरणका रूपमा प्रयोग गर्न सकिन्छ ।’ (एपी)