नेभिगेशन
अर्थतन्त्र
भोटेकोशी बाढी

बैंकका ५५ करोडका संरचना ध्वस्त, १० अर्बको कर्जा जोखिममा

काठमाडौं । भोटेकोशी बाढीले बगाएको एउटा लकर धादिङको गल्छी–४ त्रिशूली किनारमा स्थानीयले फेला पारे । फुटाए र पैसा झिके । प्रहरीले थाहा पायो, २९ जना पक्राउ परे, ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भयो । यो गत शनिबारको घटना थियो । 
अर्को एउटा लकर प्रहरीको टोलीले भेटेर सुरक्षित राखेको छ । कृषि विकास बैंकको एउटा शाखाको लकर प्रहरीले आठ घण्टा लगाउँदै झिकेर सुरक्षित ठाउँमा सारिदिएको छ । विनाशकारी बाढीले बगाएका बैंक तथा वित्तीय संस्थाका सबै शाखा भाग्मानी रहेनन् । बाढीले रसुवा, नुवाकोटका विभिन्न स्थानमा रहेका वित्तीय संस्थाका शाखाको पैसामात्रै बगाएको छैन, कर्मचारी बेपत्ता पारेको छ, भवन, पूर्वाधार ध्वस्त बनाएको छ । 
नेपाल बैंकर्स संघको प्रारम्भिक विवरणअनुसार बाढीबाट १२ वाणिज्य बैंकका १६ शाखा र एउटा विस्तारित सेवा केन्द्र प्रभावित भएका छन् । तीमध्ये १६ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बैंकहरूको भवन, फर्निचर, उपकरण, एटीएमलगायत स्थिर सम्पत्तिमा मात्रै ५५ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
बैंकिङ क्षेत्रमा परेको भौतिक क्षतिभन्दा पनि ऋणलगानी जोखिममा पर्ने सम्भावनाले बैंकिङ्ग क्षेत्रलाई थप पीडा दिएको छ । सो क्षेत्रका जलविद्युत क्षेत्रमा मात्र १० अर्बभन्दा वढीको कर्जा लगानी रहेको छ । 
योसँगै बाढी प्रभावित शाखाहरूमा रहेका ७८ हजार २०४ निक्षेपकर्ताको ४ अर्ब ४३ करोड १८ लाख रुपैयाँ निक्षेप र २ हजार १२५ ऋणीलाई प्रवाह गरिएको २ अर्ब ४२ करोड ८० लाख रुपैयाँ कर्जा पनि प्रभावित भएको छ । 
नेपाल बैंकर्स संघले संकलन गरेको विवरणअनुसार रसुवा क्षेत्रका जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले गरेको करिब ७ अर्ब रुपैयाँ लगानी पनि बाढीको प्रभावमा परेको छ ।
यसरी शाखामार्फत प्रवाह भएको कर्जा र जलविद्युत् क्षेत्रमा रहेको लगानीलाई जोड्दा बैंकिङ क्षेत्रको करिब १० अर्ब रुपैयाँ ऋण प्रभावित भएको देखिएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । तर यसलाई बैंकले १० अर्ब रुपैयाँ गुमाइसकेको अर्थमा बुझ्न नमिल्ने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले पनि घटनालाई बैंकका भौतिक संरचनाको क्षतिमा मात्र सीमित नराखी कर्जा, निक्षेप र सेवा प्रवाहमा परेको प्रभावका रूपमा लिएको छ । गभर्नर डा. विश्वनाथ पौडेल तथा डेपुटी गभर्नर किरण पण्डित र दीर्घबहादुर रावलले प्रभावित बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै शाखाको भौतिक अवस्था, कर्मचारीको सुरक्षा, सेवा पुनःसञ्चालन र प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तरताका विषयमा जानकारी लिएका थिए । बैंकर्स संघका अध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको नेतृत्वमा बैंकका प्रतिनिधिले क्षतिको विवरण राष्ट्र बैंकलाई प्रस्तुत गरेका थिए ।
बैंकको भवनभन्दा ठूलो समस्या कर्जा
प्रारम्भिक विवरणअनुसार स्थिर सम्पत्तिमा ५५ करोड ६८ लाख रुपैयाँको क्षति भएको छ । तर प्रभावित शाखाबाट प्रवाह भएको कर्जा मात्रै २ अर्ब ४२ करोड ८० लाख रुपैयाँ छ । 
बैंकर्स संघको तथ्यांकअनुसार प्रभावित शाखाहरूमा ४ अर्ब ४३ करोड १८ लाख रुपैयाँ निक्षेप रहेको थियो । बैंकको केन्द्रीय बैंकिङ प्रणालीमा रहने भएकाले शाखाको भवन, कम्प्युटर, पासबुक, चेकबुक वा अन्य भौतिक सामग्री नष्ट भए पनि खातामा रहेको रकम स्वतः नष्ट नहुने भएकाले जोखिम भने कम नै रहेको छ । 
तर शाखा बन्द भएपछि ग्राहकले आफ्नो रकम सहज रूपमा निकाल्न, जम्मा गर्न, चेक कारोबार गर्न वा कर्जा तथा अन्य बैंकिङ सेवा लिन कठिनाइ बेहोर्ने हुन्छ ।
नेपाल राष्ट्र बैंकसँग भएको छलफलमा पनि बैंकिङ सेवा अवरुद्ध हुन नदिने वैकल्पिक व्यवस्था, क्षतिग्रस्त शाखाको पुनःस्थापना तथा ग्राहकलाई निरन्तर सेवा दिने उपायमा जोड दिइएको थियो ।
२ अर्ब ४३ करोड कर्जाको जोखिम 
प्रभावित शाखाबाट प्रवाह भएको २ अर्ब ४२ करोड ८० लाख रुपैयाँ कर्जालाई अहिले नै खराब कर्जा भन्न नमिल्ने बैंकर्स संघको भनाइ छ । तर बाढीले ऋणीको आम्दानीको स्रोत, व्यवसाय र धितोमा क्षति पु¥याएको अवस्थामा बैंकको कर्जा असुली जोखिम भने बढ्ने हुन्छ ।
बाढीबाट घर, होटल, पसल, गोदाम, उद्योग वा अन्य व्यवसायिक संरचना नष्ट भएका ऋणीले नियमित आम्दानी गर्न नसके कर्जा भुक्तानीमा समस्या आउन सक्ने सम्भावना रहेको छ । 
कृषि बैंकको त्रिशूली शाखामा ५० करोडको क्षति
बैंकहरूको भौतिक क्षतिको सबैभन्दा ठूलो हिस्सा कृषि विकास बैंकको त्रिशूली शाखामा परेको छ । आफ्नै भवनमा सञ्चालित उक्त शाखा बाढीबाट पूर्ण रूपमा ध्वस्त भएको र करिब ५० करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको प्रारम्भिक विवरण छ ।
तर यो शाखाको जोखिम भवनमा मात्रै सीमित छैन । प्रकाशित बैंकिङ विवरणअनुसार शाखामा ९ हजार १३६ निक्षेपकर्ताको ५९ करोड ५२ लाख रुपैयाँ निक्षेप र १ हजार ३५६ ऋणीलाई प्रवाह गरिएको १ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ कर्जा रहेको थियो ।
सिटिजन्स बैंकको देवीघाट शाखा पनि पूर्ण ध्वस्त
नुवाकोटको देवीघाटस्थित सिटिजन्स बैंकको शाखा पनि बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बैंकलाई स्थिर सम्पत्तिमा करिब १ करोड २० लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको विवरण छ ।
यस शाखाका ५ हजार १४ निक्षेपकर्ताको ३८ करोड ३९ लाख रुपैयाँ निक्षेप र ७८ कर्जा खातामार्फत प्रवाह भएको ८ करोड ८८ लाख रुपैयाँ कर्जा प्रभावित भएको छ ।
टिमुरेमा धेरै बैंकका शाखा प्रभावित
रसुवाको टिमुरे क्षेत्र बाढीबाट माछापुच्छ्रे, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, नबिल, एनएमबी, सानिमालगायत बैंकका शाखा तथा सेवा केन्द्र प्रभावित भएका छन् ।
माछापुच्छ्रे बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखाको स्थिर सम्पत्तिमा करिब ५७ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको र ६८५ निक्षेपकर्ताको ६ करोड ९८ लाख रुपैयाँ निक्षेप तथा ६ कर्जा खातामार्फत प्रवाह भएको ८३ लाख ९५ हजार रुपैयाँ कर्जा प्रभावित भएको विवरण छ । शाखामा रहेका पाँच कर्मचारी सम्पर्कविहीन भएको प्रारम्भिक विवरणसमेत सार्वजनिक भएको छ ।
ग्लोबल आइएमईको टिमुरे शाखा पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा रहेको भल्ट र बैंकिङ उपकरणमा क्षति पुगेको छ ।

लक्ष्मी सनराइज, नबिल, एनएमबी र सानिमा बैंकका टिमुरे शाखासमेत बाढीबाट प्रभावित भएका छन् । 
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन केन्द्र प्रभावित
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन बैंकिङ केन्द्रमा क्षति पुगेको छ । गोसाईँकुण्ड र कालिका गाउँपालिकामा रहेका तीन केन्द्रमा गरी ३० लाख ४५ हजार ३८ रुपैयाँ बराबरको स्थिर सम्पत्ति क्षति भएको प्रारम्भिक विवरण छ ।
यो बैंकको टिमुरे र स्याफ्रुबेँसी शाखासँगै मैलुङ एक्सटेन्सन काउन्टरसमेत प्रभावित भएको विवरण सार्वजनिक भएको छ । 
सबैभन्दा कम भौतिक क्षति एनएमबीको शाखामा
रसुवाको गोसाईँकुण्ड गाउँपालिकास्थित एनएमबी बैंकको शाखामा भौतिक सम्पत्तिमा २ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । 
१७ शाखामा साढे १९ करोड नगद
बाढीले बैंकको भौतिक संरचना मात्र होइन, ठूलो परिमाणको नगदसमेत जोखिममा पारेको छ । नेपाल बैंकर्स संघले संकलन गरेको विवरणअनुसार प्रभावित १७ बैंकिङ केन्द्रका भल्ट, एटीएम र काउन्टरमा गरी कुल १९ करोड ५८ लाख ९२ हजार ६९ रुपैयाँ नगद रहेको थियो । यसमध्ये भल्टमा १७ करोड २४ लाख ५७ हजार रुपैयाँ, एटीएममा १ करोड १६ लाख ६३ हजार रुपैयाँ र काउन्टरमा १ करोड १७ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
बाढीपछि हालसम्म दुईवटा भल्ट फेला परेका छन् । कृषि विकास बैंकको भल्टमा रहेको करिब १ करोड ७१ लाख रुपैयाँ भेटिएको थियो । धादिङको गल्छीमा अर्को भल्ट फेला परे पनि त्यसबाट नगद निकालेर बाँडफाँट गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
११५ कर्मचारीमध्ये २६ अझै सम्पर्कविहीन
बाढीले बैंकिङ क्षेत्रलाई मानवीय रूपमा पनि ठूलो धक्का दिएको छ । बैंकर्स संघको प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा कार्यरत ११५ कर्मचारीमध्ये २६ जना अझै सम्पर्कविहीन थिए ।
बैंकको ठूलो जोखिम जलविद्युत्मा गरिएको लगानी
भोटेकोशी बाढीको ठूलो प्रभाव बैंकहरुले जलविद्युत आयोजनामा गरेको लगानीका कारण परेको छ । 
नेपाल राष्ट्र बैंकसँग भएको छलफलमा बैंकर्स संघले प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाको लगानी करिब ७ अर्ब रुपैयाँ रहेको जानकारी दिएको थियो ।
बैंकहरूले लगानी गरेका आयोजनामध्ये मैलुङ खोला, लाङटाङ खोला, रसुवागढी र माथिल्लो त्रिशूली–३ ‘बी’मा प्रत्यक्ष क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।
लाङटाङ खोलामा तीन बैंकको ऋण
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सिद्धार्थ र कुमारी बैंकले ऋण लगानी गरेका छन् । तीन बैंकको ऋण लगानी करिब ४ अर्ब रुपैयाँ रहेको विवरण छ ।
आयोजनामा बाढीबाट क्षति पुगेपछि पुनर्निर्माण लागत, उत्पादन पुनःसञ्चालनको समय र बीमा दाबीको अवस्थाले बैंकको वास्तविक जोखिम निर्धारण गर्नेछ ।
माथिल्लो त्रिशूली–३ ‘बी’मा ५ अर्ब ७६ करोड ऋण सम्झौता
३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ परियोजनामा नबिल बैंकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी र नेपाल बैंक सहभागी छन् । परियोजनामा बैंक तथा वित्तीय संस्थाको कुल ऋण सम्झौता ५ अर्ब ७६ करोड रुपैयाँ रहेको विवरण सार्वजनिक भएको छ ।
परियोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको समेत लगानी रहेको छ । 
रसुवागढीमा पुनः विपद्, बैंकलाई दोहोरो दबाब
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना यसअघि पनि बाढीबाट प्रभावित भएको थियो । अघिल्लो क्षतिको पुनर्निर्माण तथा मर्मतका लागि कुमारी बैंकले २ अर्ब रुपैयाँ र नबिल बैंकले ४९ करोड ८० लाख रुपैयाँ आपतकालीन ऋण लगानी गरेको विवरण छ ।
अहिले फेरि बाढीबाट आयोजना प्रभावित भएपछि एउटै परियोजनामा बैंकको जोखिम दोहोरिएको छ ।
मैलुङ खोलामा पनि बैंकको ऋण
५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत लगानी भएको छ । ग्लोबल आइएमई बैंकसमेत सहभागी रहेको आयोजनामा करिब २७ करोड रुपैयाँ ऋण लगानी रहेको विवरण छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्