नेभिगेशन
स्वास्थ्य

मन पढ्ने मस्तिष्क प्रत्यारोपणले नयाँ नैतिक प्रश्नहरू उठाउँदै

पहिलोपटक, अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्तासहितको मस्तिष्क प्रत्यारोपण प्रयोग गरेर मौन विचारहरूलाई वास्तविक समयमा अभिव्यक्त गर्न सफल भएका छन् । यो प्रविधिले पक्षाघात भएका व्यक्तिहरूलाई नयाँ किसिमको सञ्चारको माध्यम दिने वाचा गर्छ । तर यसले सहमति र गोपनीयतासम्बन्धी चिन्ताहरू पनि जन्माएको छ ।

यो कुनै काल्पनिक सुपरहिरोको शक्ति होइन तर वास्तविक जीवनमा सम्भव भएको नयाँ उपलब्धि हो । मस्तिष्क–कम्प्युटर इन्टरफेस (बीसीआई) भनिने प्रत्यक्ष स्नायु इन्टरफेसमार्फत मन पढ्ने क्षमता पछिल्ला वर्षहरूमा तीव्र गतिमा अगाडि बढिरहेको छ । स्ट्यानफोर्ड विश्वविद्यालयको हालैको अध्ययनले कुनै हाउभाउ वा ध्वनि बिना, मानिसको भित्री बोली वा मनमा भइरहेको कुरालाई सीधै डिकोड गर्न सम्भव बनाएको छ ।

बीसीआईले मानिसको स्नायु प्रणालीलाई प्रत्यारोपित इलेक्ट्रोडसँग जोड्छ, जसले मस्तिष्क गतिविधि व्याख्या गर्न सक्छ र यसरी व्यक्तिले विचार प्रयोग गरेरै मात्र पनि कम्प्युटर चलाउन वा कृत्रिम हात हल्लाउन सक्छ । यसले अपाङ्गतालाई नयाँ किसिमको स्वतन्त्रताको अनुभूति दिन सक्छ ।

अघिल्ला अनुसन्धानहरूले बोल्न नसक्ने व्यक्तिहरूका मुख, जिब्रो, ओठ र स्वरयन्त्र चलाउँदा मस्तिष्कका मोटर–कोर्टेक्समा देखिने संकेतहरू अध्ययन गरी आवाज निकाल्थे । तर स्ट्यानफोर्डको नयाँ अध्ययनले यो चरण नै बाइपास गरेर भित्री वाणी सीधै डिकोड गरेको छ ।

न्यूरोसाइन्सकी अनुसन्धानकर्ता तथा अध्ययनकी प्रमुख लेखिका एरिन कुन्जले न्यूयोर्क टाइम्सलाई भनिन्, ’यदि हामी भित्री भाषलाई डिकोड गर्न सक्यौं भने शारीरिक मेहनतको आवश्यकता पर्दैन । यसले थकान घटाउँछ र प्रयोगकर्ताले लामो समयसम्म प्रणाली प्रयोग गर्न सक्छन् ।’

गएको २१ अगस्टमा सेल नामक वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययन अनुसार, यो प्रणालीले वास्तविक समयमा ७४% सटीकतासहित विचार डिकोड गरेको छ । यस प्रकारको प्रविधिमा यो अभूतपूर्व सफलता हो । तर अन्तरात्माको आवाज बुझ्न खोज्दाका केही जोखिम पनि छन् । कहिलेकाहीँ इम्प्लान्टले अप्रत्याशित संकेतहरू टिप्ने हुँदा केही विचारहरू जोगाउन मानसिक पासवर्डको आवश्यकता पर्न सक्छ ।

कुन्जको भनाइ छ, ’तपाईंले बोल्ने कुरा सोच्दा के हुन्छ र मस्तिष्कमा के कस्ता गतिविधि हुन्छन् भन्ने पहिलोपटक हामी बुझ्न सफल भयौं ।’ खासमा चार जना प्रयोगमा बसेका रोगीहरूको मल्टी–युनिट रेकर्डिङमा देखिएअनुसार, भित्री वाणी मोटर कोर्टेक्समा प्रस्ट रूपमा प्रकट हुन्छ र कल्पना गरिएका वाक्यहरू वास्तविक समयमा डिकोड गर्न सकिन्छ ।

यसका लागि, टोलीले मोटर कोर्टेक्समा माइक्रोइलेक्ट्रोड प्रत्यारोपण गरी स्नायु संकेतहरू रेकर्ड गर्‍यो । सहभागीहरू गम्भीर रूपमा पक्षाघात भएका थिए । कसैलाई एमिट्रोफिक लेटरल स्लोरोसिस त कसैलाई स्ट्रोकका कारण हलचल गर्न सक्दैनथे । 

शब्दहरूको ध्वनि इकाइ (फोनिम्स) पहिचान गरेर ती संकेतलाई शब्द र वाक्यमा अनुवाद गर्न एआई मोडललाई प्रशिक्षण दिइयो । प्रदर्शनमा, मस्तिष्क चिपले ७४% सटीकतासम्म कल्पित वाक्यहरूको अनुवाद गर्‍यो ।

स्ट्यानफोर्डका न्यूरोसर्जन फ्रांक विलेटका अनुसार, भविष्यमा हार्डवेयर र सफ्टवेयर अझ सुधारिँदा, भित्री भाषणमार्फत धाराप्रवाह र सहज कुराकानी सम्भव हुनेछ । तर यस प्रगतिले गोपनीयताको गम्भीर चिन्ता पनि देखाएको छ । अध्ययनले देखाएअनुसार, बीसीआईले प्रयोगकर्ताले सोच्न नचाहेका भित्री विचारहरू समेत टिप्न सक्छ, जसले जबरजस्ती मन पढिने डर पैदा गर्छ ।

ड्युक विश्वविद्यालयकी प्राध्यापक तथा द ब्याटल अफ योर ब्रेन पुस्तककी लेखिका नीता फराहनीले चेतावनी दिँदै भनिन्, ‘निजी र सार्वजनिक विचारबीचको सिमाना हामीले सोचेभन्दा धेरै धमिलो हुन सक्छ ।’ स्ट्यानफोर्डका अनुसन्धानकर्ताहरूले यो समस्या सम्बोधन गर्न पासवर्ड प्रणाली विकास गरेका छन् । प्रयोगकर्ताले पहिले पासवर्ड सोचेनन् भने, प्रणालीले विचार डिकोड गर्न सक्दैन ।

प्रयोग गरिएको पासवर्ड थियो—चिट्टी चिट्टी ब्याङ ब्याङ—यो लामो र अनौठो भएकाले गोप्य किसिमका विचारहरू डिकोड हुन दिँदैनथ्यो । यस प्रणालीले ९८% सफलता दर देखाएको छ । यद्यपि, एमआईटीकी न्यूरोसाइन्स विज्ञ एभेलिना फेडोरेन्कोका अनुसार, मानवीय विचारको धेरै हिस्सा भाषिक हुँदैन । उनले भनिन्, ‘जब मानिसलाई आफ्ना स्वतः विचार व्यक्त गर्न भनिन्छ, रेकर्ड भएको धेरै कुरा त ‘बकवास’ हुन्छ ।’

मुख्य लेखिका कुन्जका अनुसार, यो प्रविधि अझै पनि सुरुवाती चरणमा छ । अहिले सम्म शब्दसंख्या ज्यादै सीमित छ, सटीकता पनि उति धेरै छैन । ठूलो स्तरमा प्रयोग गर्न अझै धेरै वर्ष लाग्नेछ ।

तर यी उपलब्धिहरूले ‘न्यूरोराइट्स’ अर्थात् मानवीय मानसिक जीवनलाई अतिक्रमणबाट जोगाउने अधिकारका बारेमा बहसलाई चर्चामा ल्याइदिएको छ । एकातिर यो सफलताले बोल्न नसक्ने मानिसलाई आवाज दिने वाचा गर्छ भने अर्कोतर्फ भविष्यमा मौन विचार पनि जबरजस्ती आवाज बन्न सक्ने सम्भावना बढेर गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्