नेभिगेशन
विश्व

पुटिनको पार्टीलाई कीर्तिमानी बहुमत,  युद्धमा सहभागी ४९ सांसद निर्वाचित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थनमा रहेको युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी ३५५ सिट जितेको छ । ४५० सदस्यीय तल्लो सदन डुमामा यो पार्टीले दुई तिहाइभन्दा बढी सिट जितेको हो ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार ९५ प्रतिशतभन्दा बढी मतगणना सकिँदा युनाइटेड रसियाले ५७.८३ प्रतिशत मत पाएको थियो । यो सन् २०२१ को निर्वाचनमा प्राप्त ४९.८ प्रतिशतभन्दा बढी हो । यसअघि सन् २०१६ मा यो पार्टीले ३४३ सिट जितेको थियो । नयाँ परिणामले उसकै अघिल्लो कीर्तिमान तोडेको छ ।
सन् २०२२ मा युक्रेनमाथि रुसले सैन्य आक्रमण सुरु गरेपछि भएको यो पहिलो संसदीय निर्वाचन हो । निर्वाचनबाट युक्रेन युद्धमा सहभागी ४९ जना पूर्वसैनिक पनि डुमाका लागि निर्वाचित भएका छन् । युनाइटेड रसियाले युद्धमा सहभागी ८६ पूर्वसैनिक निर्वाचित हुने अपेक्षा गरेको थियो ।
पुटिनका प्रेस प्रवक्ता दिमित्री पेस्कोभले निर्वाचन परिणामले रुसी समाज राष्ट्रप्रमुखको वरिपरि एकताबद्ध रहेको देखाएको दाबी गरे । उनले भने, ‘यी संकेतहरूले रुसी समाज राज्य प्रमुखको वरिपरि उच्च स्तरमा एकजुट भएको प्रस्ट पार्छन् ।’
तर पश्चिमी देशहरूले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । रुसको कब्जामा रहेका युक्रेनी क्षेत्रमा समेत मतदान गराइएको भन्दै उनीहरूले त्यसको विरोध गरेका हुन् । युद्धको विरोध गर्ने याब्लोको पार्टीलाई पनि राष्ट्रिय निर्वाचनमा सहभागी हुन रोक लगाइएको थियो ।
युरोपेली संघकी विदेश नीति प्रमुख काजा कल्लासले निर्वाचनलाई रुसी लोकतन्त्रका लागि अर्को धक्का भनेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘क्रेमलिनले असन्तुष्टिका स्वरहरू दबायो र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरूलाई बाहिरै राख्यो ।’
निर्वाचनमा कम्युनिस्ट पार्टी ४० सिटसहित दोस्रो भएको छ । अति–राष्ट्रवादी एलडीपीआरले २५ र न्यु पिपुल पार्टीले २० सिट जितेका छन् । एला पाम्फिलोभाका अनुसार मतदानमा ५९ प्रतिशतभन्दा बढी मतदाता सहभागी भएका थिए ।
निर्वाचनको परिणाम सार्वजनिक भइरहेका बेला युक्रेनमा रुसको सैन्य कारबाही पनि जारी छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्धलाई थप विस्तार गर्ने संकेत गरिरहेको बताएका छन् । उनका अनुसार रुसले आइतबार युक्रेनका विभिन्न क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो ।
जेलेन्स्कीले भने, ‘रुसले आफ्नो आक्रामक कदम घटाएको छैन । बरु युद्धलाई थप विस्तार गर्ने संकेत गरिरहेको छ ।’ उनले युद्ध अन्त्यका लागि रुसमाथि निरन्तर दबाब आवश्यक रहेको बताएका छन् । (एजेन्सी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्