नेभिगेशन
विश्व

माओ सुटमा सजिएका चिनियाँ राष्ट्रपतिको के सन्देश थियो ?

काठमाडौं (एजेन्सीहरू) – नेपालमा प्रधानमन्त्री बालेन शाहलाई न्यूयोर्कमा कसले र कसरी स्वागत गरे भन्ने चर्चा चलिरहँदा उता चीनका राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमा नै स्वागत गर्न पुगे । त्यति मात्र होइन, बिहीबार राति आफ्नो सम्मानमा आयोजित राजकीय रात्रिभोजमा सी सहभागी हुँदा ट्रम्प उनीसँगै कालो औपचारिक पोसाकमा थिए । सी भने माओ सुटमा देखिए । यो पोसाक कम्युनिस्ट पार्टीको सत्तासँग लामो समयदेखि जोडिँदै आएको छ ।
अमेरिका–चीन मित्रताको उत्सव मनाउन बनाइएको भव्य समारोहमा सी आफूले नेतृत्व गरिरहेको आधुनिक अधिनायकवादी प्रणालीको प्रतिनिधिका रूपमा उपस्थित भएका थिए । यो प्रणाली व्यापक पार्टी नियन्त्रणसँगै विश्वकै अत्याधुनिक निगरानी प्रविधिसँग जोडिएको छ ।
सीको पोसाकले ट्रम्प र सीले दिनभर प्रस्तुत गरेको सम्बन्धको एउटा महŒवपूर्ण पक्ष झल्काएको थियो । ट्रम्पले सीसँगको आफ्नो सम्बन्धको खुलेर प्रशंसा गर्दै यसलाई दुई देशका नेताबीच अहिलेसम्मकै उत्कृष्ट सम्बन्ध भएको बताए । उनले सीलाई अमेरिकी राष्ट्रिय प्रतीक गरुडको मूर्ति उपहार दिए र आफूहरूबीच ‘यसअघि कहिल्यै नभएको जस्तो राम्रो सम्बन्ध’ रहेको घोषणा गरे ।
तर सीले त्यसको बदलामा त्यस्तै भाव व्यक्त गरेनन् । अमेरिकी राष्ट्रपतिले व्यक्तिगत मित्रताले घटनाक्रमको दिशा बदल्न सक्ने ठानिरहेका बेला चिनियाँ नेताले त्यस्तो सम्बन्धलाई उपयोगी तर सावधानीपूर्वक सञ्चालन गर्नुपर्ने एउटा साधनका रूपमा हेरेका देखिन्छन् । ट्रम्पको राष्ट्रपतीय कार्यकालमा अमेरिका–चीन कूटनीतिमा यही असमानता बारम्बार देखिन्छ ।
बेइजिङका लागि अप्रत्याशित स्वभावका अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष सम्पर्क कायम राख्नु सम्बन्धलाई स्थिर राख्न र अचानक उत्पन्न हुन सक्ने संकट रोक्न सबैभन्दा उपयोगी माध्यम हो । तर चिनियाँ अधिकारीहरू सी ट्रम्पको सद्भावनामा निर्भर रहेको देखाउन भने सावधान छन् । उनीहरूलाई ट्रम्पको व्यवहार रातारात बदलिन सक्ने कुरा थाहा छ ।
यस जोडीमा सी सावधानी अपनाउने पक्ष हुन् । उनी आफ्ना अभिव्यक्तिमा पनि अत्यधिक आत्मीयता देखाउँदैनन् र बिहीबार राति उनले रोजेको पोसाकले पनि त्यही सन्देश दिएको थियो ।
चिनियाँ नेता तथा राजनीतिका अध्येता र सीका पिता विषयमा पुस्तक लेखेका जोसेफ टोरिजियनले सीको पोसाकलाई फरक अर्थमा व्याख्या गरेका छन् । उनका अनुसार सीले सायद यस्तो सन्देश दिन खोजेका थिए, ‘हामीले आफ्नो राष्ट्रिय चरित्र परिवर्तन नगरे पनि तपाईंहरूले हामीलाई सम्मान गरिरहनुभएको छ । हामी यस्तो व्यवहार पाउन सक्छौं र त्यसका लागि आफूलाई परिवर्तन गर्नुपर्दैन ।’
सीको यो शैलीले अमेरिका–चीन सम्बन्धमा देखिएको एउटा पुरानो तस्बिरलाई उल्ट्याएको थियो । सन् १९७९ मा तत्कालीन चिनियाँ नेता देङ सियाओपिङ सुधारको बाटोमा अघि बढिरहेको चीनलाई पश्चिमसँग जोड्न उत्सुक थिए । अमेरिका भ्रमणका क्रममा उनले टेक्सासको रोडियो कार्यक्रममा प्रसिद्ध रूपमा ठूलो काउब्वाय टोपी लगाएका थिए । तर यसपटक देङको भ्रमण भएको झन्डै आधा शताब्दीपछि सी माओ सुटमा देखिए । यसले ठीक उल्टो सन्देश दिएको थियो, चीनले वासिङ्टनबाट प्राप्त हुने सम्मान र व्यवहार स्वीकार गर्नेछ तर त्यसका लागि आफ्नो राजनीतिक प्रणालीमा कुनै परिवर्तन गर्ने छैन ।
सीको पोसाकको छनोट अझ उल्लेखनीय थियो । राजकीय समारोहमा उनी प्रायः गाढा रङको औपचारिक पश्चिमी सुट लगाउँछन् । यसका अपवाद निकै कम छन् । सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले वासिङ्टनमा आयोजना गरेको आफ्नो अघिल्लो राजकीय रात्रिभोजमा पनि सीले माओ सुट लगाएका थिए ।
यसपटक ट्रम्पले आफ्ना चिनियाँ अतिथिलाई निकै महŒव दिए । सी अमेरिका आइपुग्दा ट्रम्प विमानस्थलको धावनमार्गमै उनलाई स्वागत गर्न पुगे, जुन अमेरिकी राष्ट्रपतिहरूले विरलै गर्ने शिष्टाचार हो । उनले चीनको सरकारी सञ्चारमाध्यमको समेत प्रशंसा गर्दै त्यसलाई अमेरिकी सञ्चारमाध्यमभन्दा आफूअनुकूल भएको बताए । चिनियाँ राष्ट्रपतिको स्वास्थ्यबारे चलिरहेको अड्कलबाजीलाई पनि ट्रम्पले सामाजिक सञ्जालमार्फत खारेज गर्ने प्रयास गरे । बिहीबार उनले सी ‘शक्तिशाली, ऊर्जावान् र तन्दुरुस्त मात्र होइन, पहिलाभन्दा पनि राम्रो’ देखिएको लेखे ।
सी राजकीय रात्रिभोजका लागि ह्वाइट हाउस प्रवेश गर्दा बाहिर प्रदर्शनकारीहरूले उनका विरुद्ध नाराबाजी गरिरहेका थिए । तर, समारोहभित्र भने करिब ३० देखि ४० जना पाहुनाले चिनियाँ नेताको स्वागत गर्दै उनीसँग तस्बिर खिचाउन आग्रह गरेका थिए । मोन्टाना राज्यका रिपब्लिकन सिनेटर स्टिभ डेनिसले कार्यक्रममा अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूसँग आफूले कुराकानी गरेको बताए । उनका अनुसार दुवै पक्षले व्यापारसम्बन्धी केही मतभेद समाधान गर्ने दिशामा प्रगति गरेको देखिएको थियो ।
अमेरिका–चीन ‘बोर्ड अफ ट्रेड’ अहिले सञ्चालनमा आएको छ । दुवै पक्षका टोलीले कम संवेदनशील र सामान्य प्रकृतिका वस्तुको व्यापार सहज बनाउन काम गरिरहेका छन् । दुवै सरकारले कृषि क्षेत्रलाई व्यापार विस्तारका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा अघि सारेका छन् ।
तर भव्य समारोह र मित्रवत् प्रस्तुतिले अमेरिका–चीन सम्बन्धका गम्भीर मतभेद र प्रतिस्पर्धालाई छोपिदिएको थियो । भेटबाट अमेरिकाले ठोस उपलब्धि हासिल गरेको देखिएन । ट्रम्पले देखाएको आत्मीयतामाथि दुवै दलका केही सांसदले आलोचना गरे । यो विषय आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनतर्फ अघि बढिरहेका ट्रम्पकै रिपब्लिकन पार्टीका लागि असहज विषय बनेको छ ।
सीसँगै ठूलो चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डल आउने व्यापक अपेक्षा गरिएको थियो । तर, रात्रिभोजमा कुनै पनि चिनियाँ कम्पनीका प्रमुख कार्यकारी सहभागी भएनन् । यसले दुई नेताबीच ठूला व्यापारिक सम्झौता घोषणा गर्ने र अमेरिकी उद्योगका प्रतिनिधिहरूले आफ्ना चिनियाँ समकक्षीसँग प्रत्यक्ष छलफल गर्ने अवसर गुम्यो ।
दुवै नेताको भ्रमणका क्रममा सडकमा पनि सम्बन्धको दुई फरक चित्र देखिएको द वाल स्ट्रिट जर्नलले लेखेको छ ।
शुक्रबार ट्रम्प र सी राष्ट्रिय अभिलेखालय पुगेका बेला केही दर्जन प्रदर्शनकारीले सी र चिनियाँ कम्युनिस्ट पार्टीको विरोधमा ब्यानर प्रदर्शन गरे । उनीहरूको ठीक विपरीत करिब त्यति नै संख्यामा मानिसले चिनियाँ र अमेरिकी झन्डा फहराइरहेका थिए । प्रहरीले दुवै समूहलाई अलग राख्यो र कुनै भौतिक झडप भएन ।
यति धेरै प्रदर्शन र समारोहका बाबजुद दुवै नेता दिनको अन्त्यमा लगभग त्यही अवस्थामा फर्किए, जहाँबाट उनीहरूले यात्रा सुरु गरेका थिए । ट्रम्पले मित्रताको उत्सव मनाए भने सीले आफूले प्रतिनिधित्व गर्न आएको राजनीतिक प्रणालीबारे कुनै त्याग वा परिवर्तनको संकेत दिएनन् ।
इरान विषयमा चीन अनिच्छुक
यसैबीच, यस साता वासिङ्टनमा भएको ट्रम्प र सीबीचको भेटमा इरानको विषयमा पनि छलफल भएको थियो । ट्रम्पले चीनले अमेरिकासँग युद्ध गरिरहेको इरानलाई सहयोग गर्न रोक्नुपर्ने आग्रह गरेको अमेरिकाका लागि चीनका राजदूत डेभिड पड्र्युले बताए ।
पड्र्युले शुक्रबार सीएनबीसीसँग कुरा गर्दै भने, ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा, गुप्त सूचना, पार्टपुर्जा वा सैन्य उपकरणका माध्यमबाट इरानलाई दिइने कुनै पनि सहयोग पूर्ण रूपमा अस्वीकार्य हुने कुरा हामीले उनीहरूलाई स्पष्ट रूपमा बताएका छौं ।’
उनका अनुसार राष्ट्रपति ट्रम्पले अघिल्लो दिनको भेटमा पनि यो कुरा स्पष्ट रूपमा दोहो¥याएका थिए । पड्र्युका अनुसार यो विषय ताइवानसम्बन्धी अमेरिकाका कुनै प्रतिबद्धतासँग जोडिएको थिएन । ताइवान स्वशासित लोकतान्त्रिक टापु हो, जसलाई बेइजिङले आफ्नो नियन्त्रणमा लिन चाहन्छ ।
सीले तेहरानमाथि अर्थपूर्ण दबाब सिर्जना गर्ने खासै इच्छा देखाएका छैनन् । चीनले इरानबाट तेल खरिद गर्न रोक्नुका साथै अप्रत्यक्ष सैन्य सहयोग उपलब्ध गराउन पनि अस्वीकार गरेको छैन । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ट्रम्पसँगको भेटमा सीले अमेरिका र इरान दुवैलाई पुनः वार्ताको टेबलमा फर्किन आह्वान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्