काठमाडौं । नखिपोट निवासी दीपक गुरुङ दशैंको छेको पारेर लामो हिँडाइमा जाने योजनामा छन् । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि काठमाडौंमा कार्यरत गुरुङलाई यसै पनि अफिसबाट बिदा मिल्न गाह्रो हुन्छ । उनी बिदा जोगाइ–जोगाइ वर्षको एकफेर लामो हिँडाइमा साथीभाइको झुण्ड बनाएर निस्कने गर्छन् ।
यो वर्ष पनि उनीहरू दशैंअघि नै निस्किएर दशैंलाई घर आउने योजनामा थिए तर वर्खा लम्बिएकाले उनीहरूको योजना दशैंपछिलाई सर्यो । उनीहरू अन्नपूर्ण बेस क्याम्पको उत्तरी मोहडा वा आमादाब्लाम बेस क्याप जाने तयारीमा छन् ।
उनीहरू यसरी साथीभाइको झुण्ड बनाएर हिँड्ने गरेको नौ–दश वर्ष भइसकेको छ । कालिञ्चोक, गोसाइँकुण्ड, अन्नपूर्ण क्षेत्र, तिलोचो, थोरुङला, च्छोरोल्पाजस्ता ठाउँमा गइसकेका छन् भने अबको चार पाँच वर्षमा नेपालका सबै चल्तीका पदमार्गको यात्रा सक्ने योजनामा छन् ।
दीपक गुरुङ मात्रै होइन उनको उमेरका युवापुस्ता अहिले वर्षमा एकाध पटक घुम्ने गरेका छन् । कामकाजी युवापुस्ताले पुनर्ताजगीका लागि पनि आफ्नो वार्षिक क्यालेण्डरमा घुमन्ते दैनिकीलाई समेट्ने गरेका छन् ।
घुमफिर गर्न नेपालीहरूको लागि दुईवटा मौसम ठिक हुने उनीहरूको बुझाइ छ, एउटा दशैंतिहारको मौसम अर्को नयाँ वर्षको छेको । जोरपाटीका व्यावसायी नवराज राउतले पनि लामो हिँडाइलाई आफ्नै दैनिकीमा समावेश गरेका छन् । उनी पनि वर्षको भरसक दुईपटक नत्र एकपटक लामो हिँडाइमा निस्कने गर्छन् ।
‘हिड्नु र ध्यान गर्नु उस्तै हो,’ उनी भन्छन्, ‘जसरी जेन गुरुहरू ध्यानपूर्वक काम गर्न सुझाव दिन्छन् । लामो यात्राको हिँडाइ र ध्यान उस्तै देखिन्छन् । जहाँ केवल शरीर, श्वास र मनको मात्र अस्तित्व देखिन्छ ।’ यस्तो यात्रापछि आफूहरूमा ताजगी आउने अनुभव यात्रीहरू सुनाउँछन् । कामको तनाव र एकैखालको दैनिकीबाट मुक्त भएर मनलाई चंगा बनाउन पनि यात्रा सहायक हुने गर्दछ ।
यस वर्ष जनेजी विद्रोहले विदेशी पर्यटक आउने दशैं–तिहारलाई मार पारेपछि अब आन्तरिक पर्यटनले नै बजार धान्ने आशा गरिएको छ । विगतमा लामो हिँडाइमा विदेशीहरू मात्र हिँड्थे भने अचेल नेपाली पर्यटकहरू पनि राम्रै संख्यामा हिँड्न थालेको पाइन्छ ।
‘झण्डै नौ वर्षअघि हामी अन्नपूर्ण बेस क्याम्प जाँदा धेरैले विदेशी ठानेका थिए,’ गरुङ सुनाउँछन्, ‘कतिले ए नेपाली पनि हिँड्छन् भनेर आश्चर्य जनाएका थिए । अहिले त हामी जहाँ जाँदा पनि विदेशी भन्दा नेपाली नै धेरै देख्छौं ।’
नेपालीलाई घुमफिर गर्न उद्यत गराउने एउटा उत्तोलक सामाजिक सञ्जाल पनि हो । सामाजिक सञ्जालमा पर्यटकीय गन्तव्यका बारेमा आउने सामग्रीहरूले पनि मान्छेलाई घुम्न लोभ्याउने गरेको छ ।
‘मध्यमवर्गको उदयसँगै युवापुस्ताले घुम्ने वातावरण पाएका हुन् भने पर्यटकीय बजार विस्तार हुँदा मूल्य घटेको हुँदा नेपालीले पहिला विदेशी पर्यटकले घुमेजस्तै घुम्न थालेका हुन्,’ मानवशास्त्री नवीन गोदारको विश्लेषण छ । अहिलेको युवापुस्ताले प्रविधिमार्फत अन्तर्राष्ट्रिय पहुँच पाएकाले पनि उसले धेरै कुरा देखेको छ, जानेको छ उनी बताउँछन् ।