काठमाडौं, २८ साउन । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरको महालक्ष्मी–४ इमाडोल बस्ने धरान–८ का ३८ वर्षीय प्रदेशविक्रम थाम्सुहाङलाई गत सोमबार प्रहरीले पक्राउ गरेर विराटनगर पठाएको छ ।
उक्त मुद्दामा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले थापाथलीबाट पक्राउ गरेको थियो ।
बैंकिङ कसुरका धरपकडमा यो प्रतिनिधि घटना हो । पक्राउ पर्नेमा विभिन्न पेसा व्यवसायीससँगै शेयरबजारका चर्चित कारोबारी पनि परेका छन् । बैंकिङ कसुरका उजुरी दिनहुँ देशभरका प्रहरी कार्यालयहरुमा पर्छन् । मुद्दा अदालतमा पुग्छ ।
हरेक दिन गोरखापत्रले छाप्ने अदालती सूचनामा प्रमुख बैंकिङ कसुरमा मुद्दा नै छन् । पैसा पाउनुपर्ने व्यक्तिले जब कसैबाट चेक काटेर पैसा झिक्नु भनिएको खातामा रकम नभइ बैंकबाट रित्तो हात फर्किनुपर्छ, ऊ सोझै उजुरी दिन पुग्छ र, चेक काट्नेमाथि बैकिङ्ग कसुरमा कार्बाही अघि बढ्छ ।
यो आर्थिक अपराधका घटना बढेसंगै संघीय राजधानीमा प्रहरीका लागि चुनौति बढेको छ । आर्थिक अपराध उजुरी हेर्न छुट्टै इकाइ चाहिने बेला भइसकेको छ ।
चेक बाउन्सले बढायो धरपकड
चेक बाउन्सले देशभर बैंकिङ कसुरका मुद्दाको चाप उच्च बनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-८० मा बैंकिङ कसुरका मुद्दा तीव्र रूपमा बढ्दै १२ हजार ५२ पुगे, जुन अघिल्लो वर्षको ५ हजार ३ सय ८३ भन्दा करिब २.२ गुणा बढी थियो ।
आव २०८०-८१ मा बैंकिङ कसुरका मुद्दाहरू १३ हजार २ सय ६३ पुगे, जसमा चेक बाउन्सका मात्रै ७ हजार १ सय ५३ मुद्दा थिए । यस अवधिमा मुद्दाहरुको बिगो रकम ७ अर्ब ६ करोड रुपैयाँ कायम भएको थियो भने १ हजार ३ सय ७९ जनालाई पक्राउ गरिएको तथ्यांक छ ।
विशेषगरी काठमाडौं उपत्यकामा बैंकिङ अपराध बढी देखिएको छ, यहाँ १७ हजार ४५ वटा आर्थिक अपराध दर्ता भएका छन् । तिनमा चेक बाउन्स प्रमुख कारक छन् ।
उच्च आर्थिक मन्दी, उधारो चेक लिमिट बिना उजुरी, र डिजिटल ठगीका गतिविधिहरूलाई प्रमुख कारण मानेर प्रहरीलाई धरपकड र अनुसन्धानमा गाह्रो पर्दै आएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार आर्थिक वर्ष २०८१-८२ को गतिविधि सार्वजनिक गर्दा एसपी विश्व अधिकारीले सर्वसाधारणलाई सतर्क गराउन सञ्चारकर्मीसँग भने ‘पैसा भन्ने कुरा आउनेवित्तिकै धेरै सतर्क रहनुहोला । ३-४ पटक विचार नगरी भुक्तानीको कारोबार नगर्नु होला ।’
उनले सतर्क गराएको तथ्यलाई परिसरले सार्वजनिक गरेको तथ्यांकले पुष्टि गर्छ । गत आव काठमाडौंमा मात्रै बैंकिङ कसुरका ६ हजार ५ सय ५३ उजुरी प्रहरीमा आएका छन् । तिनमा धेरैजसो मुद्दा अदालत पुगेका छन् । अघिल्लो आर्थिक वर्ष यस्तो कसुरका उजुरी ५ हजार ७ सय १ वटा उजरी दर्ता भएको तथ्यांक छ ।
परम्परागत अपराधका घटनाहरू यथावत रहँदा पछिल्लो समय आर्थिक र साइबर अपराध प्रमुख सुरक्षा चुनौतीको रूपमा देखा परेको प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
आर्थिक वर्ष २०८१-८२ मा काठमाडौंमा १२ हजार ९ सय १५ वटा अपराधका घटना दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये प्रमुख १० प्रकृतिका अपराधले कुल घटनाको ८९.२२ प्रतिशत हिस्सा ओगटेका छन् ।
प्रहरीका अनुसार यस अवधिमा दैनिक औसतमा ३५ वटा मुद्दा दर्ता हुने भएका छन् । सबैभन्दा धेरै दर्ता भएका १० प्रमुख अपराधहरूमा बैंकिङ कसुर पहिलो नम्बरमा छ । अन्य अपराधमा अभद्र व्यवहार, चोरी, ठगी, लागु औषध, आत्महत्या, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, सवारी ज्यान र सवारी अंगभंगका छन् ।
प्रतिवेदनले अपराधको बदलिदो प्रवृत्तिलाई स्पष्ट रूपमा देखाएको छ, जहाँ आर्थिक र प्रविधिमा आधारित अपराधहरू तीव्र गतिमा बढेका छन् । पछिल्लो समय बैंकिङ कसुर, लघुवित्त तथा सहकारी ठगी, अनुचित लेनदेन (मिटरब्याज), हुण्डी, राजस्व अपचलन र वैदेशिक रोजगारमा हुने ठगीजस्ता वित्तीय अपराधहरू बढेको प्रतिवेदनमा छ ।
तथ्यांकअनुसार बैंकिङ कसुरका मुद्दाहरूको संख्या ६ हजार ५ सय ५३ पुगेको छ भने सहकारी ठगीका ३२ र अनुचित लेनदेनका ३० वटा मुद्दा दर्ता भएका छन् ।
यसैगरी सूचना–प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगबाट सिर्जित अपराधहरू पनि प्रहरीका लागि नयाँ टाउको दुखाइ बनेका छन् । साइबर अपराध, क्रिप्टोकरेन्सीको अवैध कारोबार, अनलाइन जुवा, र ‘हनी ट्रयाप’ जस्ता घटनाहरू छन् ।
साइबर अपराध सम्बन्धी २३ वटा मुद्दा दर्ता भएका छन् भने हुण्डीका १८ र क्रिप्टो करेन्सी सम्बन्धी १२ वटा मुद्दा दर्ता भएका छन् ।