नेभिगेशन
साहित्य

बरहथवाका विष्णु कमरेडको आत्मकथा

कुनै बेला थियो उनी घोडा दौडाउँदै गाउँ डुल्थे । गाउँमा हुने कुस्ती हेर्दै, पौडी खेल्दै, मेला हेर्दै दिन बिताउँथे । गाउँमा अनेक बिज्याइँ गर्थे । एउटा सम्पन्न जिम्वालको छोरा उनले त्यस्तो गर्नु त्यो बेला अस्वभाविक थिएन । उनी अर्थात– विष्णुप्रसाद पोखरेल ।

तर बाल्यकालको स्वच्छन्दता लामो समय टिक्न पाएन । पाँच वर्षमै आमा बितेपछि जजमानी गर्ने बुवालाई भातभान्छामा सघाउनुपर्‍यो । खेती देखभाल गर्नुपर्‍यो । यता व्यवहारले च्याप्यो, उता गाउँमा स्कूल नभएकाले औपचारिक शिक्षाबाट वञ्चित हुनुपर्‍यो । यद्यपि त्यतिखेरको चार पासको व्यवहारिक शिक्षा भने लिए ।

विस्तारै उमेर बढ्दै जाँदा समाजमा कोही खान लाउन पुगेर पुगिसरी हुने कसैलाई खान लाउनै धौधौ हुने अवस्था देखे । यस्तो किन हुन्छ होला भन्ने किशोरावस्थामा उब्जिएको प्रश्नको निदान उनले समानता र समतामूलक समाजमा हुने देखे । त्यस्तो समाज निर्माणको परिकल्पना उनले कम्युनिष्ट साहित्यमा पाए । कम्युनिष्ट धारणा आरोपित गरिदिने काम गाउँका अग्रजहरूले गरे ।

समाज परिवर्तनको हुटुहुटी उरालिँदै आउँदा उनी विष्णुबहादुर मानन्धर, कृष्णप्रसाद भण्डारी, तुलसीलाल अमात्यजस्ता नेताको सम्पर्कमा पुगे । त्यो सम्पर्क बाक्लै हिमचिममा बदलियो । अनि जमिनदारको छोरो कम्युनिष्ट आन्दोलनमा होमियो । उनी लाग्दाको नेपाल कम्युनिष्ट पार्टी फुटेर अनेक टुक्रा भइसक्दा पनि उनी भने आफ्नो धारको पार्टीमा अनवरत लागिरहेकै छन् । विगतमा पञ्चायतको विरोध गर्दा जेलनेल भोगे । त्यो क्रम ०६२ सालसम्म चलिरहेकै थियो ।

आजभन्दा साठी वर्षअघि राजनीति समाजसेवा थियो भने समाजसेवा पनि राजनीति मानिन्थ्यो । त्यो क्रममा उनले गाउँमा दुई–दुईवटा स्कूल स्थापना गर्न खटिए । रेडक्रस लगायत अनेक संस्थाका लागि जग्गा दिए, पैसा दिए, समय दिए । तर पद र प्रतिष्ठाको लोभ कहिल्यै राखेनन् । आज ८६ वर्षमा हिँडिरहँदा उनको कुरा लोककथाझैं सुनिन्छ । त्यस्तै कथाले भरिएको आफ्नो जीवनीलाई अन्तिम रूप दिन व्यस्त छन् । 

यो काममा उनलाई सहकर्मी ठाकुर शर्माले साथ दिइरहेका छन् । ‘त्यो बेला कामको मात्र जोश हुन्थ्यो । अभिलेखको वास्ता भएन अहिले पो त्यसको महत्व बुझ्दैछु,’ पोखरेल भन्छन्, ‘आखिर व्यक्तिको निर्माणमा समाजको प्रभाव हुन्छ । समाजलाई पनि व्यक्तिले प्रभाव पारिरहेको हुन्छ । त्यो वातावरण कस्तो थियो भन्ने सम्झिरहेको छु।’

जेनजी आन्दोलनपछिको माहोलमा उनी पार्टीहरूले पुरा नगरेका वाचाहरूमा गम खाइरहेका छन् । राजनीतिक स्थिरता हुन नसकेको चुरोको चिन्तनमा चिन्तित भइरहेका छन् । आफ्नो पुरानो प्रवृत्तिलाई पनि जारी राखेका छन् । केही साताअघि आफ्नो टोल पासिकोटमा रहेको श्रीराम आधारभूत विद्यालयमा विपन्न विद्यार्थी लक्षित एक लाखको अक्षय कोष खडा गरिदिए ।

तिहारलगत्तै आफूले स्थापना गरेको महोत्तरी र सर्लाहीका दुई स्कूलमा पनि त्यस्तै छात्रवृत्ति कोष राख्ने तयारीमा छन् । उनको यो उमेरको जोश नै युवापुस्तालाई प्रेरणादायी छ । ‘हामीले धेरै नेता देख्यौं भोग्यौं । तर उहाँजस्तो सच्चा कार्यकर्ता पाउन दुर्लभ छ,’ पुस्तक लेखनमा सघाइरहेका ठाकुर शर्मा भन्छन् । 

उनको जीवनको आरोहअवरोह वास्तवमै देशको अवस्था जस्तै छ । अलिकति खुशी अनि दुःख, अनि फेरि त्यस्तै क्रमको निरन्तरता । ‘मलाई समाज र देश नै परिवार हो भनेर सिकाए,’ पोखरेल भन्छन्, ‘मैले पनि त्यही सिकें । मैले केही गरेको छु भने समाजकै लागि गरेँ । जतिञ्जेल गोडा चल्ला समाजकै लागि सक्रिय हुन्छु।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य