नेभिगेशन
राजनीति

हाम्रो अडान प्रष्ट छ – भ्रष्टाचार निर्मुल हुनुपर्छ, संविधानमा सुधार गर्नुपर्छ : रक्षा बम

हामी यो पुस्ता प्रविधिसँग जोडिएको पुस्ता हौं, यही सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको कुराले नै हामीलाई ट्रिगर गरेको हो ।
सत्तासँग हामीले तिरेको करको पैसा कहाँ जान्छ ? भ्रष्टाचारमा कसैलाई किन कारबाही हुँदैन ? यति ठूलो असमानता किन छ ? भन्ने प्रश्न गर्न र जवाफ माग्न सडकमा गएका थियौं । २३ गते जजसले ताकीताकी गोली हाने र हान्न लगाए, उनीहरूलाई र २४ गते जजसले आगो लगाए र तोडफोड गरे उनीहरूलाई कारबाही हुनुपर्छ ।

स्कूल ड्रेसमा झोला बोकेकालाई पनि गोली लागेर ढलेको देखेपछि चुप बस्न सकिएन । त्यसपछि हामीले प्रधानमन्त्रीको राजीनामा माग्यौ । गल्लीगल्लीमा भाग्दा पनि प्रहरीले गोली चलाइरह्यो ।

हामी सबै एउटा एउटा प्रतिनिधि मात्रै हौं । हामी सबै समान छौं । तर, नेतृत्व लिने वा नेतृत्वको क्षमता देखाउने अवसर सबैलाई छ ।
लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा नै जनताले चुनावमा भाग लिएर आफ्नोे नेतृत्व छान्ने कुरा हो । यदि उहाँहरूले मत दिएर तिनै व्यक्तिहरू पठाउनुभयो र संसदीय अभ्यासबाट उहाँहरूमध्ये कोही प्रधानमन्त्री हुनुभयो भने स्वीकार्नुपर्छ ।  

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्य मुख्य दुई माग राखेर गत भदौ २३ र २४ गतेको जेनजी समूह सडकमा उत्रियो । नवयुवामाथि राज्यको कठोर दमनपछि नवयुवा मात्र होइन, हरेक पुस्ता सडकमा उत्रिए । अन्ततः केपी ओली नेतृत्वको सरकार आफैं थेग्न नसक्ने अवस्थामा पुग्यो र ढल्यो ।

त्यही आन्दोलनपछि राष्ट्रिय चर्चामा आएकी जेनजी प्रतिनिधि हुन् रक्षा बम । माइतीघर मण्डलमा ‘जेन–जी प्रदर्शन’को आह्वानदेखि सहभागिता र त्यसपछिका राजनीतिक उतारचढावमा उनले सहजकर्ताका रुपमा निरन्तर भूमिका खेल्दै आएकी छन् । जंगीअड्डामा प्रधानसेनापतिसँगको पहिलो वार्ता, नागरिक सरकार निर्माणका प्रयास, र आसन्न निर्वाचनका तयारीसम्म उनले सक्रियताका साथ भूमिका निर्वाह गरिरहेकी छन् । उनकै संयोजकत्वमा शुक्रबार ‘नेपाल जेनजी फ्रन्ट’ गठन भएको छ । 

जेनजी विद्रोह, नागरिक सरकार, आगामी निर्वाचन, राजनीतिक दलहरु र समाजमा बढ्दै गएको निराशा र अन्योलबारे न्यूज २४ दैनिकका प्रधानसम्पादक नवराज चालिसे र डेक्स–सम्पादक महेश पाण्डेयले रक्षा बमसँग गरेको कुराकानी –

के जेनजी भनेको निश्चित उमेर समूह मात्रै हो वा तपाईंको केही फरक बुझाइ छ ?
धेरैले जेनजी भन्नेबित्तिकै निश्चित उमेर समूह (१३ देखि २८ वर्ष उमेर समूह २०५३÷५४ देखि २०६८÷६९ का बीचमा जन्म भएका) भनेर चिनिन्छ । त्यो परिभाषा पनि ठिक छ । तर, मेरो विचारमा मुख्यतः जेनजी भनेको जन्मँदै प्रविधिसँग नजिक र प्रविधिसँग जोडिएको पुस्ता हो । जन्मँदै हातमा मोबाइल पाएको पुस्ता हो । नेपालको सन्दर्भमा हेर्दा त यो जेनेरेसन अल्फासँग बढी मिल्न जान्छ । अहिले २४–२८ वर्षका साथीहरूले जन्मँदै नभएर केही वर्षपछि मात्र हातमा मोबाइल भयो होला तर प्रविधिसँग जोडिएको भन्न सकिन्छ । चाहे टेलिभजिन होस् वा रेडियोसँग उनीहरू जोडिएका थिए । अहिलेको जेनेरेशन अल्फा भने जन्मदै छेउमा मोबाइल भएको, एन्ड्रोइड फोन इन्टरनेट कार्टुनसँग पहुँच भएर हुर्किने पुस्ता हो । 

विश्वपरिवेश हेर्ने हो भने प्रविधिसँग जोडिएको पुस्तालाई जेनजी भनेर बुझ्न सकिन्छ । र, अब आउने नयाँ पुस्ता २५, २६ वर्षको हुँदा ऊ÷उनी जेनजी पुस्ता होइन । आजको समयमा २८ वर्षमुनिको पुस्ता जेनजी हो । अब २८ वर्ष त हरेक पुस्ता आफ्नोे समयमा पुग्छ तर ती सबै जेनजी होइन भन्ने कुरा बुझ्नुपर्छ । आफूले आफूलाई ग्लोबल सिटिजन भनेर हरिरहेको र इन्टरनेट प्रविधिसँग हुर्किएको पुस्तालाई जेनजी पुुस्ता भनेर चिन्नुपर्छ । हरेक पुस्ताका आ–आफ्नो विशेषता छन्, कोही औद्योगिक क्रान्तिका समय जन्मियो भने कसैलाई साइलेन्ट भनेर चिनिन्छ । सबैका आ–आफ्नै विशेषता भएजस्तै जेनजीका लागि पनि प्रविधि र इन्टरनेटको पहुँच भएको भनेर विशेषताका रूपमा बुझ्न सकिन्छ । 

नेपालमा जेनजी विद्रोह भएयता तपाईंको जीवनशैलीमा के–कस्तो परिर्वतन आएको छ ?
बिहान उठेदेखि मिटिङ, मिटिङ, मिटिङ... । संवाद, छलफलहरू । जेनजी आन्दोलनभन्दा पहिले ३ वर्षदेखि म उज्ज्वल थापा फाउण्डेशनमा कार्यरत थिएँ । आन्दोलनपछि उता समय दिन नसकेर मैले जागिर छाडेँ । काठमाडौं जस्तो ठाउँमा जागिर छोडेर बस्दा र यो समय नै यताउता हिडिरहनुपर्ने भएकाले निकै गाह्रो छ । सबैसँग संवाद गर्न पनि गाह्रो परिरहेको हुन्छ । आफूसँग साधन छैन, एकातिर आर्थिकरूपमा पनि गाह्रो भएको अवस्था र अर्कातिर समय व्यवस्थापन गर्न पनि नसकिरहेको अवस्था छ । एक ठाउँमा अलि बढी समय खर्च हुन्छ, अनि सबैलाई भेट्नुपर्छ जस्तो लाग्छ तर समय मिलाउनै गाह्रो भइरहेको छ । फेरि एउटा जिम्मेवारीका रूपमा लिइसकेपछि कुनै केही छुट्ला कि भन्ने पनि हुने रहेछ । अबको बाटो के गर्ने ? कसरी अगाडि भन्ने विषयहरूमा छलफल संवाद गर्दै दैनिकी बितिरहेको छ ।

आन्दोलनले सबैको जीवनमा प्रभाव पा¥यो । आन्दोलनपछिको यो डेढ महिनाको समयसम्म आइपुग्दा हामीले के पायौं र के गुमायौं भन्ने लाग्छ ? के हामी सही दिशामा छौं ?

मेरो आकलनअनुसार हामी सही ट्र्याकमै छौं भन्ने लाग्छ । सबैभन्दा ठूलो कुरा हामीले आन्दोलनमा हाम्रा साथीहरू गुमायौं । त्यसपछि हाम्रा धरोहर, देशका भौतिक संरचनाहरू पनि जले, ती पनि गुमायौं । एक किसिमले समाजमा अराजकता पनि फैलियो । त्यसकारण आम जनमानसमा डर र आशंका छ । अशान्तिको माहोल हुन्छ कि भन्ने डर फैलिएको छ । तर, सामूहिक चेतनाले सचेत समग्र एउटा पुस्ता राजनीतिकरूपमा नेतृत्वका लागि सक्षम छ भन्ने सन्देश पनि फैलियो । र, युवाहरूमा चेतना पनि आयो जस्तो लाग्छ । 

वृद्धतन्त्रमा डुबेर शासन गरिरहेका पुस्ताले ठाउँ नै नछाडेर हाम्रो राजनीति एक किसिमले जाम भएको थियो । त्यो बाजे पुस्ताका लागि हामी (जेनजी) नाति पुस्ता हौं । राजनीतिक दलहरूमा त्यो वृद्ध पहिलो पुस्ताबाहेक दोस्रो र तेस्रो पुस्ताले ठाउँ नै पाइरहेको थिएन भने हामी अझ चौथो वा जेनजी पुस्ताले त त्यहाँ निकै टाढासम्म ठाउँ देख्नसम्म पनि गाह्रो थियो । अवसर पाउने कुरा सोचेका पनि थिएनौं तर यो विद्रोहपछि दलमा समेत त्यो ठाउँ र वैकल्पिक बाटो पनि खुलेको छ ।  

सुशासनको दृष्टिले हेर्दा पनि हामी सही बाटोमा नै छौं भन्न सकिन्छ । सुशासनको र पारदर्शिताको सुरुवात भएको छ । लोकतान्त्रिक निकासको बाटो चुनाव नै हो र हामी त्यही बाटोमा छौं । यो सबै परिदृश्य हेर्दा केही सुरुवात भएको छ भन्न सकिन्छ । 

एउटा कुरा सबैले के बुझ्न जरुरी छ र मैले बारम्बार भन्ने गरेकी छु कि– हामीले व्यवस्था फेर्न आन्दोलन गरेका थिएनौं । यो केही व्यक्तिहरूका कारणले सिर्जना गरेको अवस्था फेर्नका लागि त्यो अवस्थाविरुद्ध गरिएको आन्दोलन थियो । हामीले ठूलो संघर्षपछि लोकतन्त्र ल्यायौं, संविधान बनायौं । लोकतन्त्र र संविधानमा हामीले निकै महत्त्वपूर्ण स्तम्भहरू– जवाफदेहिता, समावेशिता, पारदर्शिता, भ्रष्टाचाररहित मुलुकका कुराहरू र जनतामा निहित सार्वभौमता भनेर त लेख्यौं तर त्यो लागू चाहिँ भएन वा नेतृत्वमा रहेकाहरूले गरेनन् । त्यसकारण हामीले यो व्यवस्थाविरुद्ध नभई संविधानमा उल्लेख कुराहरूलाई नै थप बलियो बनाएर अगाडि बढ्नुपर्छ भनेर गरेको आन्दोलन हो । 

तर जेनजीका केही समूहहरू व्यवस्था परिवर्तनसहित विभिन्न माग राख्दै प्रदर्शनसमेत गरिरहेका छन् । जेनजी विद्रोहको जगमा सरकार बन्ने र त्यही सरकारविरुद्ध माइतीघर मण्डलमा जेनजी समूहहरू नै प्रदर्शनमा उत्रिने र पक्राउ पर्नुपर्ने अवस्था देखियो नि ?

उहाँहरूले अहिलेको अवस्थामा आफ्नो माग राखेर आन्दोलन गर्न पाउनु भयो । यो लोकतन्त्रमा हामी जति नागरिक हौं उहाँहरू पनि उस्तै र उत्तिकै नागरिक हुनुहुन्छ । सरकारप्रति असन्तुष्टि र असहमति राख्न पाउनुभयो । तर, आन्दोलनमा हामी दुईवटा माग राखेर सडकमा गएका थियौं । एउटा, भ्रष्टाचारविरुद्ध र अर्को सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध विरुद्ध । मैले पहिले नै भने हामी यो पुस्ता प्रविधिसँग जोडिएको पुस्ता हौं । यही सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको कुराले नै हामीलाई ट्रिगर गरेको हो । वर्षौंदेखिको दमन, शोषण गरिरहेको नेतृत्व पंक्ति, दलको दलदलमा फसिरहेको देशको अवस्था र युवाहरूको असन्तुष्टि र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा ट्रिगर ग¥यो ।

त्यही समय सामाजिक सञ्जालबाटै नेपोबेबी कीड भन्ने अभियान चलेको थियो । आम नागरिकको जीवनशैली र नेताहरूका छोराछोरीको जीवनशैलीबीच एकदमै ठूलो असमानता देखियो । हजुरबुवा र बुवा पुस्ताले राजनीति मात्र गरिरहेको तर उनीहरूकै जीवनस्तर त्यस्तो विलासी ? हामीले नै तिरेको करमा उनीहरूले आफू रमाइलो गरिरहेका रहेछन् । आफ्नोे गोजी भरिरहेका रहेछन् । कति भ्रष्टाचार रहेछ भन्ने कुरा त प्रष्ट छ नि । 

तपाईं हामी आम नागरिकले भोगिरहेका समस्या त छर्लंग छन् । एयरपोर्टको पार्किङदेखि अस्पताल होस् वा बिजुलीको बिलदेखि राहदानी विभागसम्म जहाँ हे¥यो त्यहीँ दुःख, त्यही भ्रष्टाचार छ । जनताका छोराछोरी १२ पास नगर्दै खाडी जानुपर्ने अवस्था छ । देशमै केही गरौं भनेर सपना देख्नसम्म पनि वातावरण नबनाउने, देशमै केही गरौं भनेर लागिरहेका युवाहरूले डिजिटल मिडियाबाट आफ्नोे काम गरिरहेका थिए । उनीहरूले यसैमा आफ्नोे भविष्य खोजिरहेका थिए । तर, सरकारले सामाजिक सञ्जालमै प्रतिबन्ध गरेपछि उनीहरू पनि विदेशिनुपर्ने अवस्था आयो । यसरी निषेधको राजनीति र निरंकुशता र व्याप्त भ्रष्टाचार देखेपछि हामी युवाहरू मुलतः दुई माग राखेर सडकमा आएका थियौं । जेनजी पुस्तामा पनि विभिन्न धारणा भएका साथीहरू हुनुहुन्छ । त्यसलाई हामीले कदर गर्नैपर्छ । 

भदौ २३ र २४ गतेको आन्दोलनलाई तपाईंले आफ्नोे नेतृत्वमा भएको मान्नुहुन्छ ?

योे आन्दोलन युवापुस्ताको नेतृत्वमा भएको हो । हामीले २३ गते आन्दोलन आह्वान गरका थियौं । जसरी माओवादी जनयुद्धमा प्रचण्ड थिए, यहाँ म नै नेतृत्व हूँ भनेर यहाँ कोही पनि छैन । यसको देखिने वा तोकेर यही नै नेतृत्व हो भन्ने छैन । हामी सबै एउटा एउटा प्रतिनिधि मात्रै हौं । हामी सबै समान छौं । तर, नेतृत्व लिने वा नेतृत्वको क्षमता देखाउने अवसर सबैलाई छ । 

यी दुई दिनमा (भदौ २३ र २४ गते) आन्दोलनका नाममा जे–जे भयो, इतिहासमा त यसमाथि प्रश्न उठ्ला नि ? यो कसले ग¥यो भनेर खोजिएला ?

अवश्य पनि । इतिहासले प्रश्न गर्दैगर्दा हाम्रो नाम नआउला भनेर म भन्दिनँ, त्यो पक्कै पनि खोजिएला । आउने पुस्ताले पनि प्रश्न गर्ला । हाम्रो नाम देखिन्छ पनि, नेतृत्व कोही छैन भन्दै गर्दा पनि केही जन्मिएका छन्, देखिएका छन् । यस्तो किन भयो भन्दा पनि जेनजी पुस्ताको संख्या ज्यादै ठूलो छ र व्यक्तिगत एक–एक जनासँग सरकारले पनि वार्ता गर्न सम्भव हुँदैन । जेनजीका पनि विभिन्न समूहहरू छन् र त्यसमा पनि नेतृत्व वा प्रतिनिधि हुनुहुन्छ । र, यी–यी व्यक्तिहरूले आह्वान गरेका थिए भनेर इतिहासमा केही अनुहार देखिन्छन । यसरी यसरी आएका थिए भनेर इतिहासमा देखिनेछन् भन्ने लाग्छ । 

साथै २३ र २४ को घटनालाई हामीले दुईवटा फरक परिदृश्यले हेनुपर्छ । हामीले पनि यसलाई पहिले २३ भएर २४ भएको हो । न कि २४ भएर २३ भएको भनेर हेर्छाैं । २३ गते जे भयो त्यसले २४ गतेको नियति हो । 

२३ गते हामी सत्ता फेर्न होइन उही सत्ताले जवाफ दिनुपर्छ भनेर सडकमा उत्रिएका हौं । सत्तासँग हामीले तिरेको करको पैसा कहाँ जान्छ ? भ्रष्टाचारमा कसैलाई किन कारबाही हुँदैन ? यति ठूलो असमानता किन छ ? भन्ने प्रश्न गर्न र जवाफ माग्न सडकमा गएका थियौं तर हामीमाथि जुन क्रूरता सत्ताले देखायो हाम्रा साथीहरूलाई ताकेर गोली हानियो त्यो किन भनेर हामी २४ गते गयौं । 

म के कुरा स्पष्ट भन्न चाहन्छु भने – २३ र २४ गतेको घटनाबारे निपष्क्ष अनुसन्धान हुनुपर्छ । २३ गते जजसले ताकीताकी गोली हाने र हान्न लगाए, उनीहरूलाई र २४ गते जजसले आगो लगाए र तोडफोड गरे उनीहरूलाई कारबाही हुनुपर्छ ।  सबैले के बुझ्नुपर्छ भने सिंहदरबार संसद् भवनमा आगजनी गरेका कारण सत्ता परिवर्तन भएको होइन । २३ गते ताकिताकी गोली हानेर हत्या गरेका कारण सत्ता परिवर्तन भएको हो । प्रधानमन्त्रीले राजीनामा दिएपछि भौतिक संरचनामा आक्रमण भएको छ । राजीनामा आइसकेपछि हामी सडकबाट ब्याक हुने र नयाँ नागरिक सरकार गठन गर्नेतिर लागेका थियौं । त्यसैले जे जति क्षति भयो त्यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ । सरकारले पनि आयोग गठन गरेको छ । यसमा दोषीलाई कारबाही हुनेछ भन्ने मलाई विश्वास छ । 

२३ र २४ गतेको घटना कसरी सम्झनुहुन्छ ? यसमा घुसपैठ भयो भन्ने कुरामा तपाईंको धारणा के छ ?

यसमा विभिन्न रिपोर्टहरू छन् अझै आउलान् पनि । र, आयोग पनि बनेको छ । संसद् भवन, सिंहदरबार, सर्वोच्चलगायत संरचनामा जसरी आगजनी र तोडफोड गरियो त्यो हाम्रो कल्पनाबाहिरको कुरा थियो त्यो हामीले केही सोचेका पनि थिएनौं । आक्रोश मात्रै यति थियो कि त्यो स्थलभन्दा बाहिर रहेर सोच्न पनि सकिँदैन । घटनास्थलको दृश्य आँखै अगाडिबाट गोली गइरहेको छ । पछाडिको साथीको टाउकामा गोली लागेर ढलेको छ । पोलमा शरीर लुकाएर ज्यान जोगाउनुपरेको छ । अश्रुग्यास त्यस्तै आएको छ । हामीले ‘स्टेप डाउन गन डाउन’ भनिरहेका थियौं । २३ र २४ गते नै बर्बर दमन भयो । 

२३ गते अश्रुग्यास हान्न थालेदेखि नै हामीले स्कूल ड्रेसमा भएका साथीहरूलाई घर जानुस् फर्किनुस् भनेर केही जनालाई फर्काएका पनि छौं । त्यसपछि त्यहाँ कसैले कसैको कुरा नै सुन्ने अवस्था नै भएन ।   

राज्यबाट हामीमाथि भएको त्यो दमन कसैले कल्पना पनि गर्न सक्दैन । त्यो त एकदमै क्रुर नै थियो नि । मेरो आँखाबाट हेर्दा अश्रुग्यास हानेक छ मिनेट जतिमा मेरो नजिकैको एकजनालाई गोली लागेर रगताम्य हुनुभयो । रबरको थियो वा केको थाहा छैन, उहाँलाई साथीहरूले बोकेर एभरेष्ट होटेलतिर लैजाँदै हुुनुहुन्थ्यो । विद्यार्थीहरूलाई घर पठाउँदै थियौं । पछि त स्कुल ड्रेसमै भएकालाई पनि गोली लागेको देखियो । त्यो देखेपछि त्यहाँको भीड नियन्त्रणमा नै रहेन । त्यसपछि साथीहरू संसद् भवनतिर जान थाल्नुभयो । अगाडि गएकाहरूलाई रोक्न सक्ने अवस्था थिएन तर पछाडिकालाई रोकेर घर फर्काउने प्रयास गर्दैगर्दा अन्धाधुन्ध गोली चल्यो । त्यो सबै भिडियोमा पनि हेर्न सकिन्छ । स्कूल ड्रेसमा झोला बोकेकालाई पनि गोली लागेर ढलेको देखेपछि चुप बस्न सकिएन । त्यसपछि हामीले प्रधानमन्त्रीको राजीनामा माग्यौ । गल्लीगल्लीमा भाग्दा पनि प्रहरीले गोली चलाइरह्यो । त्यसरात एकठाउँबाट अर्को ठाउँ जाँदैमा बित्यो । चिनेकै साथीहरू पर्नुभएको खबरहरू आए त्यो एकदमै क्रुर थियो अहिले सम्झदाँ पनि गाह्रो हुन्छ । हामी माइतीघरमा जम्मा भएदेखि नै सार्वजनिक सम्पत्तिमा क्षति गदैनौं भन्दै मैले नै हामी के के गर्दैनौ भनेर आचारसंहिता वाचन गरेकी थिए । सहभागिहरूले पनि हो मा हो भनेको भिडियो सार्वजनिक नै भएको छ ।

यसमा घुसपैठ पनि भएको हुनसक्छ । जुन तरिकाले देशभर एकैचोटी आगजनी र तोडफोड भएको छ । घटनामा एकै किसिमका रसायन प्रयोग भएका छन् । कसैलाई त्यस्तो केमिकल बोकेर हिँड्ने कुरा कसैले कसरी सोच्न सक्छ ? हामीसँग प्रमाण त छैन तर शंका हामीलाई पनि छ । त्यसैले यसमा निश्पक्ष र सत्यतथ्य अनुसन्धान र छानबिन हुनुपर्ने हाम्रो माग पनि हो । 

यसलाई दुई ब्लकमा हेर्नुपर्छ होला भन्ने लाग्छ । एक जो संसद् भवन बाहिर नारा लगाइरहेका थिए र अर्को जो योजनाबद्ध संसद भवन छिरेर आगो लगाइरहेका थिए । २४ गते त २३ गते छोराछोरी गुमाएका शहीद परिवारका आमाबुवा पनि सडकमा आएका छन् । आमजनता सडकमा छन् । उनीहरूले मेरो सन्तान किन मारेको भनेर सडकबाट प्रश्न गरिरहेका थिए । हामीलाई सिंहदरबार किन जलाएको भन्छन् । हामीले सिंहदरबार जलाएको होइन । पहिलो दिनदेखि नै हाम्रो नियत प्रष्ट छ । २३ गतेको क्रुरताले रातभर सहन नसकेर अब गोली नै खाने भनेर २४ गते खाली हात संसद् भवन अगाडि स्टेप डाउन केपी ओली गन डाउन नेपाल पुलिस भनेरै गएका हौं ।  

र प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिएपछि हामीले फेसबुकमै लेखेर अब रोकिऔं । संयमित बनौं, हामीले पाउनुपर्ने पाइसक्यो अब भयो भनेर अपिल गरेका हौं तर कसले सुन्ने ? सबै नियन्त्रण बाहिर गइसकेको थियो । त्यससमय कोही न कोही प्रतिनिधि भएर वार्तामा जानुपर्ने थियो । त्यसमा मैले भूमिका खेलेको मात्र हो । यसमा को ठूलो वा सानो भन्ने केही छैन । 

जेनजी विद्रोहको जगमा बनेको वर्तमान अन्तरिम सरकारका काम कारबाहीलाई कसरी हेर्नुभएको छ ?

सरकारले पाएको म्यान्डेट नै ०४६ पछिका भ्रष्टाचारका फाइलहरू र सम्पत्ति शुद्धीकरण हो । सरकारले कामै नगरेको भन्ने पनि होइन कामहरू भइरहेको पनि छ । सरकारको गोपनीयता भन्ने पनि हुन्छ । सबै कुरा बाहिर आएको छैन भन्दैमा काम नै भएन भन्न नमिल्ला । यो सरकारको जग नै सुशासन कायम गर्नु हो भन्ने सबैले बुझ्नुपर्छ । चुनाव चुनाव मात्र भनेको छैन । लोकतन्त्रका लागि चुनाव निकास हो तर चुनावअगाडि नै केही न केही त हामीले पक्कै देख्छौं । ३५–४० वर्षदेखिका समस्याहरू छन् सबै ५–६ महिनामै समाधान हुनुपर्छ भनेर धेरै अपेक्षा गर्नु कस्तो कस्तो होला तर समयमै चुनाव गरेर पाएका म्यान्डेटमा सरकार काम गरिहरेको छ भन्ने विश्वास मलाई छ ।  

कतिपयलाई चुनाव नै हुँदैन भन्ने शंका छ नि ? यो सरकारलाई नै विदेशी बनाइदिएको पनि भन्छन् । 

चुनाव नै नहुने भन्ने केको र केमा शंका हो ? कुनै पार्टीले भाग लिदैनन् भन्नेमा हो कि ? त्यो त थाहा छैन तर सरकार र हामी जेनजीहरू चुनावका लागि दृढ छौ । आरोपहरू त कसले केके लगाउनुहुन्छ लगाउन पनि पाए । प्रमाण छ भने ल्याउनुप¥यो हामी कानूनी लडाई पनि लड्न तयार छौं । यदि यो सरकार विदेशी दलाल हो विदेशबाट चलिरहेको छ भन्ने प्रमाण छ भने ल्याए हुन्छ । नभए सरकारले बोकेका मुद्दामा त स्पष्ट नै भएको जस्तो लाग्छ । चुनाव गराउने भनेको नै छ । विभिन्न स्टेक होल्डरसँग छलफल गरिरहेको छ । चुनावमा सहभागी हुन अनुरोध गरिरहेकै छ । 

तर दलका शीर्ष नेताहरूसँग सरकारले भेट्नै नखोजेजस्तो देखिन्छ । जेनजीकै प्रतिनिधि दाबी गरिरहेका व्यक्तिहरूले फेरि उनै नेताहरू चुनावमा उठे र जिते हामी रोक्छौं भनेर सार्वजनिकरूपमै भनिरहेका छन् नि ?

उहाँहरूलाई हामीप्रति बढी उत्तरदायी हुनुपर्छ यो सरकार भनेर लाग्न सक्छ । आन्दोलनको बलमा गठन भएको नागरिक सरकार हो । तर जो व्यक्तिहरूविरुद्ध यो आन्दोलन थियो फेरि उहाँहरूलाई नै भेटेर आन्दोलनको मर्मविपरीत हुन्छ कि भन्ने पनि लागेको हुनसक्छ । यो भन्दै गर्दा उहाँहरू दलको शीर्ष नेता हुनुहुन्छ निषेध भन्ने त हुँदैन । जुन अनुहारहरू हामी हेर्न चाहन्नांै भनेर भनिरहेका छौं, उहाँहरू आफैंले नैतिकताले त्यो स्थान छोडिदिनुपर्छ जस्तो लाग्छ । 

संविधानमा नै रहेर चुनावमा जाने हो भने तपाईंहरूको आन्दोलनले दुई दिन नपुग्दै प्रधानमन्त्रीबाट अपदस्त गरेका केपी शर्मा ओली वा अन्य शीर्ष अनुहार नै यदि फेरि चुनावबाट जितेर आउनुभयो तपाईंहरू स्वीकार्नुहुन्छ ?

हो । यदि जनताले नै मत दिएर जिताएर पठाउनुभयो भने त हामीले स्वीकार्नुपर्छ । लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा नै जनताले चुनावमा भाग लिएर आफ्नोे नेतृत्व छान्ने कुरा हो । यदि उहाँहरूले मत दिएर तिनै व्यक्तिहरू पठाउनुभयो र संसदीय अभ्यासबाट उहाँहरूमध्ये कोही प्रधानमन्त्री हुनुभयो भने स्वीकार्नुपर्छ । 

प्रधानमन्त्रीलाई मन्त्री चयनमा नै समस्या परेको जस्तो देखिन्छ नि ? मन्त्रीका लागि विवादित नामहरू सिफारिस हुन्छ ?

सायद प्रधानमन्त्रीको आसपासमा भएका मान्छेहरूले त्यसलाई ध्यान दिनुपथ्र्यो । नाम नै बाहिर आइसकेपछि बाहिर चर्चा हुने र सबैले रुचाएको मान्छेले रुचाएको मान्छे मात्रै मन्त्री हुने अभ्यास जस्तो देखिएको छ । यसअघि चाँही को मान्छे कसरी मन्त्री बन्यो भन्ने नै थाहा हँुदैनथ्यो । यदि विवादित मान्छे भए फिर्ता पनि भए नि । यसअघिका मन्त्रीपरिषद्मा त्यत्रा आरोप लाग्दा पनि मन्त्री नै भइरहने अभ्यास देखिन्थ्यो ।  

अहिलेको नागरिक सरकारले जनताको विश्वास जित्न नसकेको जस्तो देखिन्छ नि ?

सरकारले प्रयास गरिरहेको छ भन्ने मलाई लाग्छ । तर, मलाई के थाहा छ भने कुनैपनि अन्तरिम सरकारले चुनाव सम्पन्न नगरेसम्म जस पाउँदैन । विश्वासका लागि सरकारले भेटघाट संवाद गरिरहेको छ । हाम्रो समाज निकै विभाजित छ । विभाजित समूहका आ–आफ्नो स्वार्थहरू छन् आ–आफ्नो विचारहरू छन् । त्यसैले चुनाव सम्पन्न गरेको दिन मात्रै सरकारले तपाईंले भनेको त्यो विश्वास आर्जन गर्नेछ । 

हाम्रा पुराना दल वा नेताहरू कहाँ चुके उनीहरूको के कमजोरी रह्यो जस्तो लाग्छ ?

हामीले आम जनताको प्रतिनिधित्व गर्ने नेता नै पाएनौं । कोही पनि मेरो नेता मेरो प्रधानमन्त्री भन्ने लायक नेतृत्व नै भएन । यत्रो विविधता र सम्भावना बोकेको देश नेपाललाई कुनै नेताले बुझ्न नै सकेन जस्तो लाग्छ । म सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छु । राज्यमा सत्ताको कुर्सीमा जोसुकै पाएपनि सुदूरपश्चिमले त्यो भूगोल बुझेको बुझ्न खोज्ने नेतृत्व नै पाएन जस्तो लाग्छ । यस्तै कर्णालीमा पनि छ । मधेशमा पनि छ । यही नै ठूलो कमजोरी हो जस्तो लाग्छ । पुराना दलहरूले चुनावका पर्चा दुई दिनमै विकट ठाउँहरूमा पु¥याए तर विद्यार्थीले वर्ष सकिँदासम्म पनि पाठ्यपुस्तक पाउन सकेनन् । 

तपार्इं नै संयोजक रहेर जेनजी फ्रन्ट भनेर जेनजीलाई एकजुट बनाउन मोर्चा बनाउनुभएको छ । यसको आवश्यकता किन प¥यो ? के यसले पार्टीको रूप लिन्छ ?

अहिले पार्टी गठन गर्ने तयारी गरेका छैनौं । समयसँगै केके हुन्छ भन्ने कुरा हो । आउने चुनावमा आफू उठेर अरूजस्तै बन्ने कि सक्षम उम्मेदवारलाई सहयोग पनि गर्न सकिन्छ । फेरि चुनाव भन्ने कुरा सबै भावनात्मक मात्रै पनि हँुदैन प्राविधिक कुरा पनि हुन्छ । हामी भर्खरका छौं, धेरै कुरा बुझ्न र गर्न बाँकी छ । सबैले राजनीति नै गर्नुपर्छ भन्ने पनि छैन । आ–आफ्नोे ठाउँमा असल नागरिकको भूमिका निर्वाह गर्न सकिन्छ । म अहिले नै आर्थिकरूपमा पनि त्यति सबल पनि नभएका पनि र राजनीतिमा नै आउने भए पनि त्यागी जीवन जिउनुपर्ने रहेछ भनेर बुझेर मात्रै आउनुपर्छ भन्ने लाग्छ ।

जेनजीका नाममा विभिन्न समूहमा विभाजित पनि छौं । हामीले जेनजी फ्रन्टको एउटा डकुमेन्ट तयार पारेका छौं र त्यसमा हामीले आफ्नो कुरा प्रष्टसँग राखेका छौं । अब सो कुरामा सहमत हुने साथीहरू एकजुट हुन बाटो खुल्ला छ । 

यो आन्दोलनलाई संस्थागत गर्न सबैको सहयोग आवश्यक छ । समाजका विभिन्न पक्षहरूसँग हामीले आह्वान गरेका छांै । सरकारसँग हुने सम्झौतामा सबैको एजेण्डा एकीकृत गर्ने । यो आन्दोलनलाई वैधानिकता दिनुपर्ने छ । राजपत्रमा जेनजी आन्दोलन २०८२ लेखाउनुपर्ने छ । लगायत यसरुपमा संस्थागत गर्नका लागि यो फ्रन्टले काम गर्नेछ । भोलिका दिनमा दलहरूसँग पनि सम्झौता गरेर चुनावमा जानुपर्ने होला त्यसका लागि दलहरूसँग सम्झौता पनि होला त्यसका लागि हामीले यो शुरु गरेका छौं । राजनीतिक चेतनामा पनि यसले भूमिका खेल्नेछ र देशभर नै आन्दोलनको मर्म बचाइराख्नका लागि यो सञ्जाल वडासम्म पु¥याउने छौं । 

व्यवस्था परिवर्तन भनेर लागिरहनुभएका जेनजीलाई के भन्नुहुन्छ ?

उहाँहरूलाई मैले भन्ने कुरा आन्दोलनको पहिलो दिनदेखि नै हाम्रो अडान एउटै छ भन्ने हो । व्यवस्था परिर्वतन गर्न चाहनुहुन्छ भने संसदमा टेबल ठोकेर आफ्नोे कुरा राख्नुहोस् । चुनावमा जानुस् जनताबाट चुनिएर आउनुस् सकिन्छ भने दुई तिहाइ ल्याउनुस् र त्यो कुरा जनताले चाहे हामी पनि त्यो बहुमतका अगाडि को हौं र ? 

हाम्रो लोकतन्त्रमा समस्या छ । भ्रष्टाचार दण्डहीनता भयो होला तर यो लोकतन्त्रको विकल्प उन्नत र सुदृढ लोकतन्त्र नै हो । म के कुरा स्पष्ट पार्न चाहान्छु भने आन्दोलनको पहिलो दिनदेखि नै हाम्रो अडान एउटै छ । सडकदेखि जंगीअड्डा, जंगीअड्डादेखि शीतल निवास र शीतल निवासदेखि बालुवाटारसम्म हाम्रो अडान प्रष्ट र एउटै छ । संविधानमा सुधार हुन आवश्यक छ तर संविधानको मूल मर्म संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षतालगायतका कुराहरूलाई नचलाइकन भ्रष्टाचार निर्मुल गर्नका लागि अरू कुराहरूमा संविधान थप सुदृढ गर्न हामी तयार छौं ।  

अन्त्यमा, यो विद्रोहपछि पनि समाजमा एक किसिमको निराशा र अन्योल छ के भन्नुहुन्छ ?

समाजमा एक किसिमले शून्यता छाएको थियो । यो संक्रमणकालीन समयमा छौं । यो समयमा चुनावसँग आन्दोलनको म्याण्डेटलाई समानान्तर लैजानुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि सबै जुट्नुपर्छ । यो ६ महिनामा समाजका हरेक साझेदारहरू व्यक्तिदेखि संस्थासम्म हरेकले मिलेर आगामी सुन्दर भविष्यका लागि भूमिका खेल्नुपर्छ । हामी सबै मिलेर यो निराशा र अन्योल चिर्नुपर्छ । कोही एकजना आउने अनि यी सबै समस्या समाधान गर्ने भन्ने हुँदैन । तपाईं हामी सबै नागरिक, समाज र सरकार मिलेर जुट्नुपर्छ । तोकिएको समयमा चुनाव हुँदा देशले लोकतान्त्रिक निकास पाउँछ र संसदलाइ प्रश्न गर्दै अगाडि बढौंला । कोही पनि निराशभन्दा पहिले जिम्मेवार हुनुपर्छ भन्ने लाग्छ । हामी सहकार्य, समन्वय, सन्तुलित भएर जानुपर्छ जस्तो लाग्छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्