राजाराम तण्डुकार ललितपुर क्षेत्र नं. २ बाट उज्यालो नेपाल पार्टी (चिम चिह्न) का तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार हुन् । करिब एक दशकदेखि सांस्कृतिक अधिकार, सम्पदा संरक्षण, भाषा अधिकार र नागरिक हकहितका विषयमा निरन्तर आवाज उठाउँदै आएका तण्डुकार सामाजिक अभियन्ता पनि हुन् । एमबीएसम्मको अध्ययन गरेका उनी पेशागत रूपमा हस्तकला उद्योग तथा व्यापार व्यवसायसँग आबद्ध छन् भने सामाजिक सरोकारका मुद्दामा निरन्तर संघर्षशील छन् । तण्डुकारसँग समसामयिक राजनीतिक एजेन्डा, विकास दृष्टिकोण र उम्मेदवारीका विषयमा गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंले सामाजिक अभियन्ता र विभिन्न सडक आन्दोलन हुँदै संसद्को यात्रा थाल्ने विचार कसरी बनाउनुभयो ?
म १० वर्षदेखि निरन्तर रुपमा सांस्कृतिक एवं प्राकृतिक सम्पदा र भाषाको संरक्षण, वातावरणका मुद्दाहरुमा सक्रिय रुपमा कार्य गरिरहेको छु । यस अवधिमा यी मुद्दाहरु उठाएर कार्यान्वयनमा लाने सन्दर्भमा नीति निर्माण तहमै समस्या देखेँ । सो तहका जिम्मेवार पदाधिकारीहरुले कुरा नबुझेको वा हेल्चेक्राईँ गरेको देखियो । धेरै शुभचिन्तकहरुले पनि सडकबाट मात्र होइन सदनमा पुगेर यी महत्वपूर्ण विषयमा कुरा उठाउनु पर्छ भनेर सुझाव दिनुभयो । यी सुझाव र चुनौतीले मलाई प्रभाव पा¥यो । कति गुनासो गर्दै हिंड्ने बरु कामै गरेर देखाउँछु भन्ने भावनाबाट प्रेरित भई चुनावमा उठेको हुँ ।
खोला मापदण्डको मुद्दामा तपाईंले १८ महिना लामो आन्दोलनको नेतृत्व गर्दै गर्दाको अनुभवले राजनीतिक अभिमुखीकरण कस्तो प्रभाव पा-यो ?
खोला मापदण्डकै विषयमा मैले धेरै सांसद, मन्त्रीहरुलाई नयाँ मापदण्ड लागू गर्नु हुँदैन, यसबाट करिव ८० हजार घरधुरीका झण्डै १० लाख मानिस प्रत्यक्ष प्रभावित हुन्छन् भनेर अनुरोध गरेँ । दुईजना प्रदेश सांसदबाहेक कतैबाट पनि सुनवाई भएन । त्यसबेला मैले बेलुकीपख खोला मापदण्डपीडित र अन्य सरोकारवालाहरुबीच हरेक दिन जस्तो जुममा छलफल चलाउने गरेको थिएँ । तर त्यस क्षेत्रका सांसदलाई अनुरोध गर्दा एकपटक पनि छलफलमा उपस्थित हुनु भएन । पीडित पक्षहरुमा निकै तनाव भएको, कतिपयको रक्तचाप बढेको र कतिपयको त हृदयघात पनि भएको थियो । कतिको त विहे गर्न भनेर सुपारी पठाइसकेकोमा घर २० मिटरको मापदण्डमा पर्छ भनेर विहे नै तोडिएको थियो । त्यस्तो अवस्थामा पनि सांसदले सहयोग गरेनन् । त्यसपछि समूह बनाएर लगातार १८ महिनासम्म आन्दोलनको नेतृत्व गरेँ । परिणामस्वरुप सर्र्वोच्च अदालतबाट फैसला भइसकेको मुद्दालाई पनि उल्टाउन सफल भयौँ । मैले खोलाको मापदण्ड २१ सालको नापी नक्साअनुसार नै हुनुपर्छ, पचासौँ वर्षदेखि बसोवास गरिरहेका मानिसलाई सडकमा पु¥याउने स्थिति आउनु हुँदैन भनेर यो मुद्दा अघि बढाएको हुँ ।
विभिन्न अभियानदेखि गुठी विधेयक, सम्पदा संरक्षण र सडक विस्तारविरुद्धको आन्दोलनसम्का अभियानहरूले तपाईंलाई के महशुस गरायो ?
काठमाडौ उपत्यकाका रैथाने समुदायलाई विस्थापनबाट जोगाउन सक्रिय रुपमा अभियान चलाएँ, न्युन वा विना मुआाब्जा घरजग्गा गुमाइरहेका जनताको पक्षमा ‘सेभ नेपाल भ्याली’ अभियान चलाएको, फास्ट ट्रयाकका कारण संकटमा परेका प्राचीन सिखली सभ्यता, सिकाली मन्दिर, बुङ्ग र खोकनाको भूमि जोगाउने, गैर न्यायिक सडक विस्तारबाट विस्थापित हुँदै गरेका उपत्यकावासीका निजी घर जग्गा सम्पत्तिको अधिकारका लागि निरन्तर सक्रिय भएर लागेँ ।
यस्तैगरी गुठी विधेयक विरुद्ध र मेलम्ची खानेपानी आयोजना ढिलासुस्ती विरुद्ध अभियान चलाएको, धर्म संस्कृतिको रक्षा, नेपाली नेवाः समुदायको भुमिको संरक्षणमा सक्रिय अभियान चलाएको, लगनखेल सप्तपाताल पोखरी पुनस्र्थापना गर्न र पुल्चोक नपुखुमा बन्न लागेको भवन रोक्न निणायक भूमिका खेलेको, सडक कुकुर तथा जनावरको अधिकारको लागि आवाज उठाएको, रानी पोखरी, काष्ठमण्डपलगायत सम्पदालाई प्राचिन स्वरुपमै बनाउन सामूहिक रुपमा दबाव दिएको छु ।
काठमाडौंलाई हरित शहर बनाउने र साइकल सिटीका रुपमा चिनाउने, स्वच्छ वातावारणका लागि अभियान चलाएको छु । अभियन्ताका रुपमा काम गर्दा आफूले देखेका नीतिगत कमीकमजोरीलाई सुधार गर्ने उद्देश्यले म अहिले चुनावी अभियानमा होमिएको छु । आम मतदाताको भावना बुझ्दा मेरो मन उत्साहले भरिएको छ ।
अभियन्ता भएर बाहिरबाट दबाब दिनु र सांसद भएर भित्रबाट नीति बदल्नुबीचको मुख्य फरक के हो ?
मैले उठाएका मुद्दाहरु स्थानीय, क्षेत्रीय मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका थिए तर पनि सामान्य समस्या भनेर वास्ता नगरिएको होला । मैले देशमा बोलिने सम्पूर्ण मातृभाषाको कुरा उठाएको थिएँ । मैले प्राकृतिक सम्पदा र विश्व सम्पदाहरुको संरक्षणको कुरा उठाएको थिएँ तर कतिपयले बुझेर पनि संकुचित भावना राखे । अनि म अभियन्ताका रुपमा मात्र बोलेर भन्दा नीतिगत तहमा पुगेर अरु सांसदहरुलाई पनि बुझाउन र यी मुद्दालाई सशक्त रुपमा उठाउनका लागि संसदीय निर्वाचनमा उमेद्वार भएको हुँ ।
घरदैलो कार्यक्रममा मतदाताबाट पाएको प्रतिक्रिया कस्तो छ ? के तपाईंको उम्मेदवारीले वैकल्पिक राजनीतिक आशा जगाएको महसुस गर्नुभएको छ ?
घरदैलो कार्यक्रमको सिलसिलामा म थसी (सिद्धिपुर) पुग्दा एक जना आमाले उज्यालो नेपाल पार्टीको लोगो ‘चिम’ सुकुलबाट बनाएर उपहार दिनुभएको थियो । उहाँको माया देखेर म धेरै भावुक भएँ । मैले यस्ता किसिमका मन छुने माया आफ्नो क्षेत्रका धेरै ठाउँहरुबाट पाइरहेको छु । त्यसबाट म निकै उत्साही छु ।
मेरो उम्मेद्वारी घोषणा भएपछि मतदाताले फोन गरेर ‘हामी कसलाई भोट हाल्ने भनेर अल्मलमा थियौँ, ल तपाईं उठ्नुभयो बधाइ छ, हाम्रो क्षेत्रमा आफ्ना कुरा राख्न आउनुहोस्’ भनेर बोलाउनुभयो । मैले कहिँ मानिसको भेला बोलाउनु परेको छैन । बोलाएको स्थानमा जाँदा स्वस्फूर्त मानिसहरु समर्थन जनाउन आउनुभएको छ । मेरो उमेद्वारीबाट मेरो क्षेत्रका मतदाता एकदमै खुसी भएको मैले पाएँ । विगत दस वर्षदेखि सामाजिक अभियन्ताका रुपमा मैले गरेका कामको प्रतिफल अहिले पाइरहेको अनुभव भएको छ ।
मलाई भोट हाल्छु भनेर फोन गर्नेहरुको कुरा सुनेर म दङ्ग छु, अरु पार्टीमा लागेकाहरुले पनि स्वतःस्फूर्त रुपमा फोन गरेर भोट दिने कुरा गर्नु भएको छ ।
पाटनलाई ‘जीवित संग्रहालय’को रूपमा विकास गर्ने तपाईंको अवधारणा के हो ? पर्यटन प्रवद्र्धनमा तपाईंको मोडेल कस्तो हुनेछ ?
सांस्कृतिक एवं ऐतिहासिक हिसाबले अन्यन्तै महत्वपूर्ण छन् । यो क्षेत्रमा व्यवस्थापकीय कमी कमजोरी भए पनि प्रचूर सम्भावना भएको शहर हो । यी सम्भावनाहरुको लाभ आमजनतालाई दिन सक्नुलाई मैले आफ्नो दायित्व सम्झेको छु ।
हाम्रो क्षेत्रका मूर्तिकारहरुले बनाएका कलाकृति नेपालका उच्चस्तरका होटलदेखि विश्वका प्रसिद्ध स्थानहरुमा समेत माग छ । यस्तो महत्वपूर्ण कलाको केन्द्र रहेको यस स्थानमा मूर्तिहरु उत्पादनमा व्यवस्थापन तथा सहजीकरण गरिदिने र विश्व बजार प्रवद्र्धनमा सहयोग गरिदिन आवश्यक छ । त्यसो गर्न सके आर्थिक आम्दानी बढ्ने मात्र होइन, रोजगारीको समस्या पनि समाधान हुनसक्छ । विश्व सम्पदा लगायत अन्य महत्वपूर्ण सम्पदाहरु छन् र विश्वबाट पर्यटकहरु आइरहेका छन् । तर सामान्यतया आधा दिन मात्र ललितपुरमा बिताउने गरेको पाइएको छ । सांस्कृतिक हिसाबले जीवित संग्राहलय जस्तो पाटन शहरको महत्व बुझाउन सकिए यस क्षेत्रमा पर्यटक बस्ने अवधि २–३ दिन लम्ब्याउन सकिन्छ ।
ललितपुर विश्वका बज्रयान बुद्धधर्मको ज्ञानको अभ्यासको लागि आध्यात्मिक केन्द्र नै हो । हामीले यहाँको हस्तकला, काष्ठकला, धातुकलाको ज्ञानलाई पर्यटकीय दृष्टिले अरुलाई बेच्न सकिन्छ । विदेशीलाई छोटो अवधिको तालिम र ज्ञान दिन सकिन्छ । विदेशी विद्यार्थीलाई स्थानीय सीप सिकाउन, भ्रमण गराउन सकिन्छ । छोटो तालिम दिन सकिन्छ ।
स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा विशेष गरी महालक्ष्मी नगरपालिका क्षेत्रका लागि तपाईंका प्राथमिकता के–के हुन् ?
महालक्ष्मी नगरपालिकाको १० वटै वडा (थसि, सिद्धिपुर, लुभु आदि) सांस्कृतिक हिसाबले महत्वपूर्ण छन् । लामाटार, लाँकुरी भञ्ज्याङ लगायतका क्षेत्रमा प्राकृतिक संपदाहरु प्रसस्त छन् । यसलाई हाइकिङ गर्ने बाटोहरु बनाउने, होमस्टेहरु बनाउनु हरेक हिसावले महत्वपूर्ण छ । तर पूर्वाधारको राम्रो विकास भएको छैन । यो क्षेत्रमा स्वास्थ्य र शिक्षाको विस्तार बलियो हुन सकेको छैन । स्थानीय जनताले हेल्थपोष्ट नमागे पनि राखिदिन आवश्यक छ । पाटन अस्पताललाई अझ सुदृढ बनाउन पहल गर्न सकिन्छ । सेवा सुविधा र पूर्वाधारमा सुधार गर्न सकिन्छ । स्वास्थ्य नागरिकको अधिकार पनि भएकाले स्थानीय बासिन्दाले आफ्नै ठाउँमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्नुपर्छ । हाम्रो क्षेत्रमा साइकल टुरिज्मको पनि विकास गर्न सकिन्छ । स्थानीय बासिन्दालाई पनि स्वास्थ्यका दृष्टिले धेरै राम्रो हुन्छ ।
युवा रोजगारी, सीप विकास र स्टार्टअप प्रवद्र्धनका लागि तपाईंको स्पष्ट कार्ययोजना के छ ?
युवालाई सीपमूलक तालिम, स्टार्टअप सहयोग, ब्रान्डिङ, मार्केटिङ, सोशल मिडिया र एआई प्रयोग गर्ने सीप सिकाउने सोच रहेको छ । ललितपुरको हस्तकला विश्वभर प्रवद्र्धन गर्ने डिजिटल अभियान, परम्परागत मिठाई लगायतका स्थानीय मौलिक खानालाई काठमाडौंभर डेलिभरी प्रणालीमार्फत विस्तार गर्ने, इन्टरप्रेनरशिप तालिम दिने, महिलाका लागि उद्यमशीलता कोष निर्माण गर्ने मेरो सोच रहेको छ । परम्परागत नेवारी खाना आतिथ्य परिवारसँगै बसेर खाने, कोठा बेच्ने भन्दा पनि अनुभव बेच्न जोड दिनुपर्छ भन्ने मेरो विचार छ । मंगलबजारका मन्दिरहरुमा मर्निङवाक गर्ने, माटोको भाँडा बनाउने, पौभा चित्रकारी गर्न, मौलिक संगीतको प्रबर्धन गर्न, परम्परागत खाना बनाउने तरिका सिकाएर उद्यमशीलता प्रबर्धन गर्न सकिन्छ र यी आदि कार्यका लागि मैले पहल गर्ने विश्वास दिलाउँदै आएको छु ।
राजनीतिक नेतृत्वमा पुस्तान्तरणको बहस चलिरहेको छ । तपाईं उमेर र अनुभवबीचको सन्तुलनलाई कसरी व्याख्या गर्नुहुन्छ ?
हो, उमेरले विचार फरक पार्छ । तर सवै कुरा उमेर चाहिँ होइन । यहाँ कहिले उमेर समूहका आधारमा त कहिले पुस्ताका नाममा, कहिले जातीय हिसावले द्वन्द्व सिर्जना गर्न खोजिन्छ । यो ठीक होइन । उमेर हिसाबले नै सबै कुरा सही र गलत भन्ने मान्दिन । कहिलेकाहिँ बच्चाहरु र वृद्धहरुले भनेका कुरा पनि सही हुन्छन् । त्यसैले राजनीतिमा उमेरको त्यति धेरै महत्व देख्दिन । ७०–८० वर्षका पुगेकालाई त हाम्रो संस्कृति परम्पराको हिसाबले पनि दुःख दिनु हुँदैन । आराम दिनुपर्छ, उहाँहरुले नचाहेर पनि गल्ती गर्न सक्नुहुन्छ । त्यसैले राजनीति गर्ने उमेर भनेको ६० वर्षको उमेरको सेरोफेरोसम्म हो । अनुभव कम भएका र कम उमेरका युवालाई निर्वाचित गराउँदा पनि गल्ती धेरै हुनसक्छ ।
स्वस्थ राजनीतिक संस्कृतिको विकासका लागि तपाईंको भूमिका कस्तो हुनेछ?
उमेर पाको भए पनि ललितपुरका मेयर चिरीबाबु महर्जनले ललितपुरमा देखाउनु भएको अनुशासन, फोहोर व्यवस्थापन र प्रशासनिक सुधार प्रशंसनीय छ । राम्रो कामको विरोध गर्नु हुँदैन बरु त्यसलाई निरन्तरता दिनुपर्छ । म प्रतिस्पर्धा गर्न आएको हुँ, विरोध गर्न होइन । राम्रो कामलाई अझ बलियो बनाउन आएको हुँ म त्यो गरेरै छोड्ने छु ।