नेभिगेशन
दृष्टिकोण

एउटा मानिसको खोजी

विभिन्न आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालहरूको बढ्दो लोकप्रियतासँगै गुञ्जिरहेको ‘छोडेर काम सारा, यो काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु’ भन्ने गीत नेपालको समकालीन समाजमा दिनानुदिन सान्दर्भिक भइरहेको छ । यो सन्दर्भ प्रत्येक नेपालीका लागि भए पनि त्यस्तो मानिस भेट्न सकेजस्तो लाग्दैन । देश दिनानुदिन अभाव, निराशा, कुशासन, भ्रष्टाचार र आतंकको दलदलमा फसिरहेको छ । जगजाहेर छ, देश नेता र पथप्रदर्शकविहीन छ ।
समयले जन्माएको योग्य नेता थिए, पृथ्वीनारायण शाह । बीपीको क्षमता प्रस्फुटन हुनै नपाई मासियो भने मदन भण्डारीको मूल्यांकन हुनै पाएन । कृष्णप्रसाद भट्टराईको त्याग पनि स्मरणीय छ । त्यसपछि जति नेता र पथप्रदर्शकहरू यो देशले पायो ती प्रायः सबैमा एक गुण र उनान्सय वैगुण भेटिन्छन् । त्यसैले आज लामो युग बित्यो, नेपाल र नेपाली नेता र नेतृत्वविहीन छन् । फलतः जनता अब अलि धेरै भाग्यवादमा विश्वास गरेर पुर्पुरो ठोक्न बाध्य छन् । फेरि अर्को कुरा, नेता समय र युग सापेक्षित हुन्छ । पृथ्वीनारायण शाहको काल र समयमा उनी जेजस्ता रूपमा थिए, आदर्श र वीर थिए । बीपीको समयमा उनी जेजस्ता रूपमा लोकतान्त्रिक र भविष्यद्रष्टा थिए, आजको समय र सन्दर्भमा तिनका गुण र चरित्रहरूले काम नगर्ला किनभने संसारमा सबै कुरा सापेक्षित हुन्छन् । त्यसर्थ आजको समय, समाज र परिवेशलाई तिनका शैली र चरित्रले सुन्दर प्रतिनिधित्व गर्छ नै भन्न सकिँदैन ।
नेता वा देश हाँक्ने मानिससँग स्पष्ट विचार, नीति र उद्देश्य हुनुपर्छ । व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रको आत्मा नै अर्थ र आर्थिक पक्ष हो । यो सन्दर्भमा कार्ल माक्र्सलाई जति निन्दा गरे पनि उनले देखाएको ‘इकोनोमिक डिटर्मिनिजम’ एक हदसम्म सत्य हो कि मानिस खानलाई नै बाँच्ने र बाँच्नलाई नै सबै थोक गर्छ । त्यसर्थ आर्थिक विकासका लागि स्पष्ट कार्यदिशा एउटा प्रस्तावित नेतासँग हुनैपर्छ, तर त्यो नेताले यो बुझ्न जरुरी छ कि आर्थिक विकासका लागि शान्ति नैसर्गिक सर्त हो र शान्ति ल्याउने अरुणोदय भनेको विधिको शासन, मानवअधिकारको राम्रो अभ्यास र एक अर्कामा हुनुपर्ने भाइचारा हुन् । यी सबैलाई संयोजन गरेर लान सक्ने र लानुभन्दा अगाडि अनुयायीहरूलाई विचारले, भावनाले र तर्क अनि बुद्धिले स्पष्ट पार्न सक्नुपर्छ । त्यसमा चरित्रको कुरा फेरि भिन्नै छ ।
यस्तो भन्दै गर्दा महात्मा गान्धीको विचार मस्तिष्कमा सलबलाउन थाल्छ । उनी भन्छन्, मानिसले एक शब्द नबोली उसको व्यवहारबाट अरूलाई अनुयायी बनाउन सक्छ । कुनै पनि कुराको उदाहरण दिँदा तिमी आफ्नो जीवन र अनुभवलाई अगाडि सार ताकि त्यो अति मिठो र वास्तविक बनोस् । त्यसैले आर्थिक उन्नतिको कुरा गर्दा नेता आफैंले एउटा राम्रो आर्थिक उन्नति गरेको होस्, जीवन रूपान्तरण गरेको होस् । फेरि त्यसो भन्दै गर्दा पैसा कमाउने वा पैसा जम्मा गर्ने नेताभन्दा प्रसंगले अर्कै अर्थ लाग्ला । घटना वा प्रसंगले अर्को अर्थ नलागेमा आफ्नो मेहनत, बाहुबल र इमानले आर्थिक रूपान्तरण गरेको मानिस मात्र उदाहरणीय नेता बन्न सक्छ । यो एक्काइसौं शताब्दी हो र हामी नयाँ–नयाँ आविष्कार, सृष्टि र संरचनामा रमाउने र रमाउन खोज्ने पुस्ता हौं । त्यसैले हामीलाई ‘धन नकमाऊ, धनी बन्नु जीवनको उद्देश्य होइन र हुनु पनि हुँदैन’ भनेर कसैले भन्छ भने त्यो भुटो बोलेझैं लाग्छ । फरक यति हो— त्यो धन, समृद्धि र प्राप्ति कडा मेहनत, नवीन सृजना र प्रतिभाको फल हुनुपर्छ । कुनै पनि हालतमा राज्य, भाइ र जनता मारेर, ठगेर वा झुक्याएर संकलन गरेको हुन हुँदैन । तसर्थ नेता त्यो हो जो कम्तीमा आफैंले संघर्ष गरेर मिठो खाएको होस्, राम्रो लगाएको होस् र कथाले मागेअनुसार एउटा राम्रो बाइक वा गाडी नै चढेर हिँडेको होस् ।
सिलसिला अब यसरी जोडिन्छ । त्यसरी समृद्ध भएको अनुकरणीय नेता पेसाविहीन हुन सक्दैन ऊ एउटा राम्रो पेसेवर हुनुपर्छ । ऊ व्यापार गरोस् इमानदारीतासाथ, राम्रो वकिल भएर क्षमता देखाउँदै जीवन छेलोखेलो पारोस् वा ऊ चिकित्सक नै होस् ताकि उसको हातले धेरैलाई नयाँ जीवन दिएको होस् । पेसाले उसलाई लक्ष्मी बर्साइदियोस् वा ऊ अर्थविद्, समाजशास्त्री जे होस्, राम्रो अन्वेषक होस्, ताकि उसका कलमका मसी जति पोतिन्छन्, त्यति पैसा लिपियोस् । श्रम र दुःख गरेर सम्पन्न हुन खोज्नु अपराध कहिल्यै हुँदैन, त्यो जिन्दगीका लागि कलापूर्ण वरदान हो ।
यस्तो भन्दै जाँदा नेता वा पथप्रदर्शक मानसिकरूपमा स्वस्थ र बलियो बन्छ । न त उसलाई कसैको राग हुन्छ, न त द्वेष, न छल, न कपट; ऊ पवित्र परमात्माको द्वारतर्फ बढिरहेको हुन्छ । ऊ जीवन बन्छ, ऊ उदाहरण हुन्छ । फेरि त्यसका लागि उससँग सग्लो, सुन्दर र पवित्र शिक्षा र शैक्षिक प्रमाणपत्र हुन जरुरी छ तर यो जरुरी छैन ती प्रमाणपत्रहरू विदेशी विश्वविद्यालयका होऊन् जसले उसलाई नचाहिँदो प्रचार गर्न र अहंकार देखाउन सहयोग गरून् । देशमै भिजोस्, माटोबाटै उठेको शिक्षा लियोस्, तब त्यो बुझकी हुन्छ, संवेदनशील हुन्छ र उसको कुरा गराइमा नक्कली र बनावटीपन नआओस् ।
मलाई देश हाँक्छु भन्ने नेतामध्ये उसको विश्वास लाग्छ, पहिला त ऊ घरमै सफल होस् । उसको जीवनसाथी आफैं पनि केही गरिरहेको होस्, उसको आफ्नै छवि र परिचय होस् । अझ भन्नुपर्दा विवाहपछिका तिनका उन्नति अझै दिन दुईगुना, रात चौगुना बनेको होस् । छोराछोरी पनि प्रगति पथमा कुदिरहेको होस् । घरमा वृद्ध बाबुआमा उसको स्वर र आवाज सुन्दा पनि कोखप्रति गर्व गरून् र सार्थक जीवनको श्वास बन्न सकून् ।
पथप्रदर्शक वा नेतामा सेन्स अफ ह्युमर पनि जरुरी छ । मिठामिठा कविता भनून्, सुनून्, चुट्किला रचून् । मुख्य कुरा उसको जीवन नै संगीतमय बनोस्— बाबुआमासँग बसेर मिठो भजन गाओस्, प्रियसँगको आलिंगनमा मधुमास बोलाओस् अनि छोराछोरीको रक र पपलाई पनि सहर्ष स्वीकारेर मुक्त कण्ठले प्रशंसा गरोस् । त्यस्तो नेता मात्र सबल र सक्षम हुन सक्छ भन्ने मेरो ठम्याइ हो । त्यो मानसिक रूपमा स्वस्थ मानिसले मात्र देश बनाउन सक्छ; त्यसैबाट मात्र विश्वासको पालुवा अंकुराउँछ, आशाको दियो झलमलाउँछ, मरुभूमिमा मुहान कल्कलाउँछ ।
सबैभन्दा पहिले उसले साथीलाई प्रेम गर्छ, साथीको उन्नतिमा नाच्न थाल्छ, साथीको प्रतिभाको प्रशंसा गर्छ अनि ओशोले भनेझैं संसारको प्रत्येक मानिस महान् हुन्छ— ऊजस्तो पहिला न कोही थियो, न पछि हुने नै छन् भन्ने महान् वाणीलाई आत्मसात् गर्छ । उसले आफ्नो साथीलाई भगवानको अद्वितीय सृजना देख्छ, अनि प्रारम्भ हुन्छ बाहिरी यात्रा । यात्राको दौरानमा विविध भाव र विचारको कदर गर्छ, कमजोरी स्वीकार्छ, परिष्कृत बन्न खोज्छ । जीवनलाई केवल आफ्नो दृष्टि र आयामबाट मात्र हेर्दैन; यसका बहुआयामिक चित्रलाई केलाउँछ र यो बोध गर्छ— सत्य जताबाट हे¥यो उतै देखिन्छ, यसमा विवाद गर्नु व्यर्थ छ भनेर एउटा मानसपटल तयार गर्छ जहाँ उसको लागि जीवन देखिएको मात्र सत्य हुँदैन, छाम्नुपर्छ; र छामिएको मात्र पनि सत्य हुँदैन, महसुस गर्नुपर्छ । इन्द्रिय, ज्ञानेन्द्रिय र कर्मेन्द्रिय सबैलाई खेलाएर अध्यात्मको सहारा लिन्छ अनि मानिसलाई जीवनभन्दा पर पूर्ण ब्रह्म देख्छ र भन्छ, सबैलाई प्रेम गर कि जीवनभन्दा पर धेरै जीवन छ । मोक्ष र सफल जीवनका लागि आवेग, उत्तेजना र बनावटीपनबाट माथि उठ्नुपर्छ ।
अन्ततः कोही देखिन्छन् त यस्ता मानिस हाम्रा वरिपरि ? जो भौतिकताको भरपुर आनन्द लिएर योभन्दा पर अझ मिठो केही छ भनेर सोचोस्, अनि राजनीतिक कुरा गरोस्, देशलाई छातीमा राखोस्, आँखामा भरोस् । अर्को कुरा— सस्तो लोकप्रियताका लागि छिमेकीलाई गाली गरेजस्तो गरेर जनतालाई अझ दुःख हुने काम कहिल्यै नगरोस् । हो, यदि त्यस्तो मानिस कोही छ कि भनेर म पनि युगौंदेखि खोजीरहेछु ।
(लेखक अर्थविद् तथा अधिवक्ता हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
खामेनेईको उत्थान र पतन

खामेनेईको उत्थान र पतन

फागुन २१: दलहरूको अग्निपरीक्षा

फागुन २१: दलहरूको अग्निपरीक्षा

घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

भर्खरै