साँझको समय । कोठाभित्र मधुरो नीलो प्रकाश छ । यो उज्यालो बत्तीको होइन, समिरको हातमा रहेको स्मार्टफोनको हो । उसले भर्खरै एउटा ‘सेल्फी’ पोस्ट गरेको छ, जसमा ऊ ह्याप्पी मूडमा देखिन्छ । सँगै लेखेको छ – इन्जोइङ द इभिनिङ ।
केही मिनेटमै मोबाइलको स्क्रिन नोटिफिकेसनले भरिन्छ । कसैले ‘लभ’ रियाक्ट गर्छन्, कसैले ‘क्युट’ लेख्छन् त कसैले ‘ओहो ! कति रमाइलो’ भन्दै कमेन्ट गर्छन् । एकै घण्टामा उसको पोस्टमा लाइक, कमेन्टको ओइरो लाग्छ । यो हेर्दा लाग्छ, समिर धेरै साथीभाइ भएको र रुचाइएको व्यक्ति हो ।
तर यथार्थ फरक छ । मोबाइलको स्क्रिनभन्दा केही इन्च बाहिर समिरको आँखामा एउटा गहिरो शून्यता छ । त्यो डेरामा ऊ नितान्त एक्लो छ । उसका हजारौं डिजिटल साथीहरूमध्ये कसैलाई पनि थाहा छैन कि उसले आज साँझ खाना खायो÷खाएन, वा ऊ कुन मानसिक छटपटीबाट गुज्रिरहेको छ । उसलाई मनका कुरा सुनाउन मन छ, तर फोनको ‘कन्ट्याक्ट लिस्ट’मा भएका सयौं नामहरूमध्ये यस्तो कुनै छैन, जसलाई निर्धक्क फोन गरेर भन्न सकोस्– ‘मलाई आज निकै एक्लो महसुस भइरहेको छ ।’
समिरको यो अवस्था आजका पुस्ताको प्रतिनिधि कथा हो । हामी सयौंको भर्चुअल भीडमा छौं । तर, भीडभित्रको एक्लोपनाले हामीलाई बिस्तारै भित्रभित्रै पीर पारेको छ । प्रविधिले हामीलाई कनेक्टेड त बनायो, तर वास्तविक सामीप्यता भने कतै हरायो ।
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा सोसल स्टडिज अफ साइन्स एण्ड टेक्नोलोजीकी प्राध्यापक एवम् क्लिनिकल मनोवैज्ञानिक सेरी टर्कलले सन् २०११ मा अनुसन्धानमार्फत एउटा गम्भीर तथ्य अघि सारेकी थिइन्, जो डेढ दशकपछि पनि सान्दर्भिक छ । ‘हामी सँगै छौं, तर एक्लै छौं,’ उनले भनेकी छन्, ‘हामी प्रविधिबाट धेरै र एक–अर्काबाट थोरै अपेक्षा गर्न थालेका छौं ।’
प्रविधिले हामीलाई आफन्त र साथीभाइबाट टाढा राखेर पनि ‘सम्पर्कमा छौं’ भन्ने भ्रम दिन्छ । हामी वास्तविक संवादको जोखिम मोल्न चाहँदैनौँ, बरु ‘डिजिटल सम्पादन’ गरिएका सन्देशहरूमा रमाउन थालेका छौं, जसले गर्दा हाम्रो आत्मीयता र संवेगहरू साँघुरिँदै गएका छन् ।
टाढा जानु पर्दैन । समस्या बुझ्न समीरजस्ता पात्रको कथा पनि खोज्नु पर्दैन । एउटा कोठामा परिवारका चार सदस्य सँगै छन् । तर, सबैका आँखा आ–आफ्नै मोबाइल स्क्रिनमा गाडिएका छन् । बाहिरबाट हेर्दा हामी प्रविधिमार्फत संसारभरका मानिससँग जोडिएका छौं । फेसबुक, इन्स्टाग्राम र टिकटकमा हाम्रा ‘फलोअर्स’को संख्या सयौं होला, तर विडम्बना मनभित्रको शून्यता हटाउन एउटा भरपर्दो काँध भेट्टाउन मुस्किल छ । हामी कनेक्टेड त छौं, तर एक्लो पनि छौं ।
यो ‘भर्चुअल’ दुनियाँले हामीलाई एउटा यस्तो भ्रममा बाँधिदिएको छ, जहाँ ‘लाइक’को संख्याले आत्मसम्मान र ‘भ्युज’ले हाम्रो खुसी तय गर्छ । स्क्रिनमा देखिने चहकिलो संसार र अरूको सुखी जीवनको देखावटी प्रस्तुतिले हामीभित्र बिस्तारै हीनताबोधको विष घोलिरहेको छ । मित्रहरूको डिजिटल भीडमा हराइरहँदा हामीले बिर्सिरहेका छौं, साँचो सामीप्यता इमोजीका रंगिन संकेतहरूमा होइन, हाम्रा आँखामा झल्किने संवेदना र प्रत्यक्ष संवादको न्यानोपनमा हुन्छ । हातमा सिंगो संसार बोकेर पनि मनभित्र शून्यता बोकेको आभाष गम्भीर मनोवैज्ञानिक चुनौती छ ।
हामी जति धेरैसँग जोडिएका छौं, त्यति नै एक्लो महसुस गरिरहेका छौं । सामाजिक सञ्जालमा ‘साथी’ र ‘फलोअर्स’को संख्या बढे पनि मनको कुरा सुनिदिने मान्छेको अभाव खड्किनु नै आधुनिक समयको सबैभन्दा ठूलो विरोधाभास हो ।
सम्पर्क छ, संवाद छैन
हामी दिनभरि अरूका पोस्टहरूमा लाइक र कमेन्ट गर्छौं, तर त्यो केवल सतही सम्पर्क मात्र हो । वास्तविक संवादमा हुने आँखाको सम्पर्क (आइ कन्ट्याक्ट), आवाजको उतारचढाव र स्पर्शको अभावले गर्दा हजारौं अनलाइन ‘रियाक्सन’ले पनि मानिसको भित्री रित्तोपन भर्न सक्दैन । एकफेर सम्झनुस्, तपाईंको फ्रेण्ड लिस्टमा भएका कतिजनाले संवाद गर्छन्, कति जनाले हालखबर सोध्न च्याट गर्छन् ? तपाइँ अनलाइन हुनुहुन्छ भन्ने हरियो संकेतका बाबजुद सोध्ने नगण्य बराबर होलान् ।
तुलना र हीनताबोध
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरु आफ्नो जीवनको उत्कृष्ट क्षण (हाइलाइटेड मोमेन्ट्स) मात्र पोस्ट गर्छन् । अरूको चमकधमकपूर्ण फोटो÷भिडियो देख्दा धेरैलाई ‘मेरो जीवन मात्र किन यस्तो निरस छ ?’ भन्ने भावना पैदा हुन्छ । यो सामाजिक तुलनाले गर्दा मानिस आफूलाई अरूभन्दा एक्लो र असफल महसुस गर्न थाल्छ ।
हाइलाइट र रिलविरुद्ध वास्तविक जीवन
हामी अरूको ‘हाइलाइट’ र ‘रिल’सँग आफ्नो ‘बिहाइन्ड द सिन्स’ (पछाडिका संघर्ष) तुलना गर्छौं । कसैले घुमघाममा गएको, जिम गरेको, विदेश घुमेको वा महँगो रेस्टुरेन्टमा खाएको तस्बिर राख्दा, कोठामा एक्लै बसेर त्यो हेरिरहेको व्यक्तिमा ‘फोमो’ (फियर अफ मिसिङ आउट) अर्थात् केही कुरा छुटिरहेको छ भन्ने डरले मानसिक तनाव निम्त्याउँछ । छुटे पनि केही फरक नपर्ने विषयले व्यक्तिमा चिन्ता बढाउँछ ।
डोपामाइनको चक्र
पोस्टमा आउने प्रत्येक ‘लाइक’ र ‘हार्ट’ले मस्तिष्कमा डोपामाइन नामक रसायन पैदा गर्छ, जसले केही बेरका लागि खुसी दिन्छ । तर यो सन्तुष्टि क्षणिक हुन्छ । जब मोबाइलको स्क्रिन बन्द हुन्छ, त्यो भर्चुअल भीड हराउँछ र वास्तविक संसारको सुनसानपन अझ बढी बिझाउन थाल्छ ।
सामाजिक सीपमा ह्रास
लगातार स्क्रिनमा झुम्मिनाले मानिसको वास्तविक सामाजिक सीप कमजोर हुँदै गएको छ । मानिसहरू अब आमनेसामने बसेर कुरा गर्न अप्ठ्यारो मान्छन् तर च्याटमा घण्टौं बिताउँछन् । यसले गर्दा गहिरो र अर्थपूर्ण मानवीय सम्बन्धहरू बन्न छाडेका छन् ।
तपाईं सम्झनुस् पछिल्लोपल्ट कुन जमातसँग चिया गफमा बस्नुभयो ? भेला भेटघाट घट्छन् । चिया पिउने बहानामा पनि सुन्ने–सुनाउने सम्बन्धको बाटो छेकिन्छ ।
के गर्ने ?
एक्लोपनबाट बच्न प्रविधिलाई त्याग्नु पर्दैन, तर यसको प्रयोगमा सन्तुलन आवश्यक छ । बाहिर निस्केर हेर्नुस् । भेला भेटघाटमा जानुस् । कुरा मिल्ने साथीभाइसँग चियाको बहानामा केहीबेर भेटघाटको समय मिलाउनुस् । चिया पिउन भेला हुने भनेको मात्रै चियाका लागि हुन्न । छलफल, संवादले हामीलाई एक्लो हुन दिँदैन ।
डिजिटल डिटक्सः दिनको निश्चित समय मोबाइलबाट टाढा रहने । एउटा भेलामा बस्दा तपाइँ आफूलाई विचार गर्नुस्– कतिपटक विनाकारण मोबाइल झिक्नुहुन्छ, हेर्नुहुन्छ ? यो बानी घटाउनुस् । आवश्यक नपरेसम्म त्यो ग्याजेटसँग सन्तुलित दुरी बनाउनुस् ।
गुणस्तरीय समयः परिवार र साथीभाइसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिने । साताको एक दिन सँगै खाना खाने वा चिया भेटघाट गर्ने । साथीभाइकहाँ जाने, आफूकहाँ उनीहरुलाई बोलाउने ।
सचेत प्रयोगः सामाजिक सञ्जाल मनोरञ्जनका लागि मात्र हो, यो वास्तविक जीवनको मापन होइन भन्ने बुझ्ने । कामका प्रकृतिअनुसार मान्छेलाई सामाजिक सञ्जाल सहयोगी पनि छ । यसलाई आफूले चलाउनु पर्छ, सामाजिक सञ्जालले जब हामीलाई चलाउन थाल्छ, हामी अर्कै हुन्छौं । सचेत प्रयोगले लाभ दिन्छ । चित्त शुद्ध राख्छ ।
अमेरिकी मनोवैज्ञानिक लियोन फेस्टिन्जरले सन् १९५४ मा प्रतिपादन गरेको ‘सामाजिक तुलनाको सिद्धान्त’अनुसार मानिसले आफ्नो योग्यता र स्थितिको मूल्यांकन अरूसँग तुलना गरेर गर्छ । सामाजिक सञ्जालमा हामी अरूको ‘श्रेष्ठ’ पक्षसँग आफ्नो ‘सामान्य’ पक्ष तुलना गर्छौं । यसले गर्दा हामीमा ‘तुलनात्मक हीनताबोध’ पैदा हुन्छ, जसले हजारौं फलोअर्सका बीचमा पनि आफूलाई एक्लो र कमजोर महसुस गराउँछ ।
बेलायती मानवशास्त्री रोबिन डुनबारले सन् १९९० को दशकमा एउटा सिद्धान्त प्रस्तुत गरे, जस अनुसार एउटा मानिसले अधिकतम १५० जनासँग मात्र अर्थपूर्ण सामाजिक सम्बन्ध कायम राख्न सक्छ । जब फलोअर्स धेरै हुन्छन्, हाम्रो मस्तिष्कले ती सबैलाई ‘आफ्नो’ भनेर चिन्न सक्दैन । फलस्वरूप, ती हजारौं नामहरू केवल तथ्यांक मात्र बन्छन्, भावनात्मक सहारा बन्न सक्दैनन् ।
हार्वर्ड विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक बीएफ स्किनरले सन् १९३० को दकशमा अघि सारेको व्यवहारवादी सिद्धान्तलाई आजका एपहरूले प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जालमा आउने लाइक र नोटिफिकेसनले हाम्रो मस्तिष्कमा डोपामाइनको झड्का दिन्छ । यो एक किसिमको लत हो । जब हामीलाई अनलाइनमा सोचेजस्तो प्रतिक्रिया मिल्दैन, हामी सामाजिक रूपमा तिरस्कृत भएको महसुस गर्छौं, जसले अन्ततः गहिरो एक्लोपन र चिन्ता (एन्जाइटी) तर्फ धकेल्छ ।
मानिस सामाजिक प्राणी भएकाले नै स्वभावतः जैविक र भावनात्मक सामीप्यता चाहिन्छ । भर्चुअल दुनियाँले सम्पर्क दियो, सामीप्यता खोस्यो । हामी स्क्रिनमा मान्छे होइन, केवल पिक्सेल र अक्षरहरू हेरिरहेका छौं, जसले हाम्रो सामाजिकीकरणमा सामीप्यताको भोक मेट्न सक्दैन ।
अनुसन्धानहरूले देखाएका छन्, हामी एक्लोपनबाट भाग्न खोज्दै जाँदा त्यही बाटोले हामीलाई अझ गहिरो एक्लोपनतिर धकेलिरहेको छ । अमेरिकाको टेक्सासस्थित बेलोर विश्वविद्यालयका प्रोफेसर जेम्स ए. रोबट्र्स र मेरडिथ डेभिडद्वारा गरिएको सन् २०२४ मा प्रकाशित एक दीर्घकालीन अध्ययन अनुसार एक्लोपन महसुस गर्नेहरू सामाजिक सञ्जालमा बढी समय बिताउँछन्, तर प्रयोगको अधिकताले एक्लोपन झन् बढाएको अनुभव गराउँछ । यसलाई मनोवैज्ञानिकहरूले ‘फिडब्याक लूप’ अर्थात् दुष्चक्र भन्छन्, जहाँ समस्या समाधान खोज्दा नै समस्या पुनः बलियो बन्छ ।
रोबट्र्स र डेभिडको नौ वर्ष लामो अनुसन्धान ‘पर्सनालिटी एन्ड सोसल साइकोलोजी बुलेटिन’मा प्रकाशित भएको थियो । सामान्यतया ‘निष्क्रिय प्रयोग’ (अरूको पोस्ट मात्र हेर्ने) लाई मात्र हानिकारक मानिन्थ्यो, तर यो अध्ययनले ‘सक्रिय प्रयोग’ (पोस्ट गर्ने, कमेन्ट गर्ने) गर्दा पनि एक्लोपन खासै नघटेको र कतिपय अवस्थामा बढेको देखाएको छ । अनलाइनमा गरिने कुराकानीले मानिसको वास्तविक सामाजिक आवश्यकता पूरा गर्न सक्दैन, जसले गर्दा प्रयोगकर्ताले झन् बढी रित्तोपन महसुस गर्छन् ।
रिपोर्टले औंल्याएको मुख्य के हो भने हामी जसलाई ‘कनेक्सन’ (सम्पर्क) भनिरहेका छौं, त्यो वास्तवमा ‘डिस्ट्रयाक्सन’ (ध्यान भड्काउने माध्यम) मात्र भइरहेको छ । सामाजिक सञ्जालले हामीलाई धेरै मानिससँग जोडिएको आभास त दिन्छ, तर भित्रैदेखि महसुस हुने भावनात्मक सामीप्यता भने प्रदान गर्न सक्दैन । एक्लोपनबाट भाग्न प्रयोग गरिएको त्यही बाटोले हामीलाई झन् गहिरो एक्लोपनतिर धकेलिरहेको कुरालाई यस अध्ययनले पुष्टि गरेको छ ।
अर्कोतर्फ, केवल स्क्रोल गर्ने र पोस्ट गरेर सक्रिय रहने दुवै व्यवहारले अपेक्षित राहत नदिने देखिएको छ । लामो समयको अध्ययनहरूले संकेत गर्छन् कि समस्या प्रयोगको प्रकारमा होइन, सम्बन्धको गुणस्तरमा छ । हजारौं ‘लाइक’ र ‘कमेन्ट’ले क्षणिक सन्तुष्टि त दिन सक्छ, तर त्यो सन्तुष्टि चाँडै हराउँछ र त्यसपछि आउने खालीपन अझ गहिरो महसुस हुन्छ ।
रोचक त के भने दैनिक ३० मिनेटमा सामाजिक सञ्जाल सीमित गर्दा नै चिन्ता, हीनताबोध र एक्लोपनमा उल्लेखनीय कमी आएको पाइएको छ । यसले देखाउँछ, समाधान पूर्ण बहिष्कार होइन, सचेत सन्तुलन हो । साथै, ‘फोमो’ (केही छुटिरहेको छ भन्ने डर) लाई एक्लोपनको प्रमुख इन्धन मानिएको छ । जब हामी अरूको जीवनको ‘हाइलाइट रिल’ मात्र देख्छौं, हाम्रो आफ्नै जीवन अपूर्ण जस्तो लाग्न थाल्छ ।
न्युरो–मनोवैज्ञानिक दृष्टिले हेर्दा, दीर्घकालीन एक्लोपनले हाम्रो मस्तिष्कको सामाजिक संकेत बुझ्ने तरिका नै बदल्न सक्छ । हामी झन् बढी असुरक्षित, संवेदनशील र टाढा हुने प्रवृत्तितर्फ झुक्छौं । अनुसन्धानहरूका निष्कर्षमा छ, डिजिटल सम्पर्कले ‘कनेक्ट’ त गर्छ, तर मानवीय सामीप्यको आवश्यकता पूरा गर्न सक्दैन । त्यसका लागि अझै पनि प्रत्यक्ष संवाद, स्पर्श र उपस्थिति नै अपरिहार्य छन् ।
समस्या प्रविधि होइन, हाम्रो प्रयोगको तरिका हो । त्यसैले एक्लोपनबाट बाहिर निस्कन पहिलो कदम डिजिटल दुनियाँ त्याग्नु होइन, त्यसलाई सचेत रूपमा सीमित गर्नु हो । दिनको निश्चित समय ‘नो स्क्रिन जोन’ बनाउनु । जस्तै, बिहान उठेपछि पहिलो एक घण्टा र सुत्नुअघि अन्तिम एक घण्टा मोबाइल नछुने, यो सानो तर प्रभावकारी सुरुवात हुन सक्छ । यसले मस्तिष्कलाई निरन्तर उत्तेजनाबाट आराम दिन्छ र आफूसँगै बस्ने क्षमता बढाउँछ ।
तर केवल दूरी पर्याप्त हुँदैन, त्यसको सट्टा के भर्ने भन्ने अझ महŒवपूर्ण हुन्छ । वास्तविक सम्बन्धलाई पुनर्जीवित गर्न जानाजानी प्रयास गर्नुपर्छ । हप्तामा कम्तीमा एकपटक साथी वा परिवारसँग प्रत्यक्ष भेटघाट, ‘नो–फोन डिनर’ वा छोटो दुरी सँगै हिंडडुलजस्ता गतिविधिले हराउँदै गएको सामीप्यता फर्काउन मद्दत गर्छ । कहिलेकाहीँ केवल ‘तिम्रो खबर के छ ?’ भनेर सोध्नु र उत्तर धैर्यपूर्वक सुन्नु नै गहिरो सम्बन्धको सुरुवात हुन सक्छ ।
सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सचेतता आवश्यक छ । आफूलाई अरूसँग तुलना गर्ने बानी देखिएमा तुरुन्त ब्रेक लिनु, ‘हाइलाइट रिल’ र वास्तविक जीवनबीचको फरक सम्झिनु र आफूलाई राम्रो महसुस गराउने सामग्री मात्र हेर्नु उपयोगी हुन्छ । आवश्यक परे केही समयका लागि एपहरू हटाउनु वा नोटिफिकेसन बन्द गर्नु पनि व्यावहारिक उपाय हुन् ।
अर्को महत्वपूर्ण पक्ष हो, आफूसँगको सम्बन्ध । लेख्ने बानी (जर्नलिङ), ध्यान (माइन्डफुलनेस) वा सिर्जनात्मक कामले मनभित्रको आवाज सुन्न मद्दत गर्छ । दैनिकी लेख्ने बानी हितकर हुन्छ । जब हामी आफ्नै भावनालाई बुझ्न थाल्छौं, अरूसँग खुल्न पनि सजिलो हुन्छ । यदि एक्लोपन लामो समयसम्म गहिरिँदै गएको छ भने मनोवैज्ञानिक वा काउन्सेलरसँग कुरा गर्नु कमजोरी होइन, साहस हो । साँचो परिवर्तन अनलाइन कनेक्टिभिटी बढाएर होइन, ‘अफलाइन आत्मीयता’ गहि-याएर आउँछ । हामीलाई धेरै मान्छे होइन, केही यस्ता मान्छे चाहिन्छन्, जसले हामीलाई सुन्छन्, बुझ्छन् र नजिकै हुन्छन् । हामीले मोबाइलको स्क्रिन त सफा गरिरह्यौं, तर के मनको शून्यता पुछ्ने समय निकालेका छौं ?