नेभिगेशन
अर्थतन्त्र

अर्बौं डलरको ‘प्रिपर’ बिजनेस

अच्युत कोइराला
केही साताअघि हलिउडमा एउटा फिल्म रिलिज भएको थियो । अस्कर अवार्ड विजेता क्याथरिन जिगोलोद्वारा निर्देशित ‘अ हाउस अफ डाइनामाइट’मा अमेरिकामाथि भइरहेको आणविक आक्रमणको अन्तिम अवस्थामा कर्मचारी, सेना र सरकारको अवस्था कति निरीह हुन्छ भन्ने देखाइएको थियो । यस्तो अवस्थामा उनीहरूले सर्वसाधारणका बारेमा सोच्ने फुर्सद पनि पाउँदैनन् ।

यस्तो बेलामा कोही व्यक्ति अर्बपति छ भने त उसका लागि कसैले पहिल्यै बंकर, सुरक्षा र खानपिनको व्यवस्था मिलाइसकिएको हुनसक्छ । ‘बिलेनियर्स बंकर्स’ नामक नेटफ्लिक्सको फिक्सनल शृंखलामा विस्तारमा हेर्न सकिन्छ, बरु सर्वसाधारणले पो के गर्ने ?

यसको तयारी भने अहिलेदेखि नै अमेरिकीहरूले गरिरहेका छन् । आणविक आक्रमण भए, देशको ठूलो नेटवर्क ध्वस्त भएर महिनौं एक्लै बाँच्नुपर्ने अवस्था आए के गर्ने भन्ने सिकाउने र त्यसमा विश्वास गरी हजारौं डलर खर्च गर्नेहरू अमेरिकामा दिनदिनै बढ्दो छ । यस्ता व्यक्तिलाई ‘प्रिपर’ (आपत्कालीन तयारी गर्ने व्यक्ति) भनिन्छ । यही डरलाई बिजनेसमा परिणत गर्नेको संख्या पनि बढ्दै जाँदा अर्बौं डलरको व्यापारमा परिणत भइरहेको छ ।

के हो प्रिपर ?
सामाजिक आतंक वा कुनै पनि प्रणालीले काम नगर्ने अवस्था आइपर्ने विपत्तिको अपेक्षा गर्ने र स्वतन्त्ररूपमा एक्लै कसरी बाँच्न सकिन्छ भन्ने योजना बनाउने वा तयारी गर्नेलाई प्रिपर भनिन्छ । यस्ता व्यक्तिले आपतकालीन झोला बनाउँछन् । त्यसमा बन्दुक, स्प्याम (कन्डेन्स्ड मिट) र नसड्ने खान्कीले भरिएका भुइँतलाहरू बनाउँछन् । भुइँतला बंकरमा लगानी गर्ने प्रविधि र तिनका महारथीहरूसम्मलाई प्रिपर भनिन्छ । उनीहरू मौसमी प्रकोप, आणविक हमला, गृहयुद्ध, महामारी, बाइबलको अन्त्यसमयको आगमन र अन्य कुनै पनि कारणले गर्दा नागरिकहरूले आफू एक्लै बाँच्ने डरले काम गरिरहेका हुन्छन् । सिलिकन भ्यालीका उद्यमी र ‘द प्रिपर्ड’ (एउटा ‘तार्किक’ वेबसाइट जसले बगआउट ब्यागको आवश्यक सामान, उत्तम बडी आर्मर र सर्भाइभल चक्कु जस्ता विषयहरूका बारेमा बताउँछ) का संस्थापक जोन रामेले भन्छन्, ‘आजका प्रिपरहरूलाई जोड्ने एउटा मात्र कुरा छः तिनीहरू यस्ता मानिस हुन् जो संसार कस्तो छ भन्ने कुरा बुझ्न पर्याप्त रूपमा बुद्धिमान छन्... र यसको बारेमा केही गर्ने साहस पनि राख्छन् ।’

कति छन् प्रिपर ?
यतिबेला संसारभर २० लाखभन्दा बढीको संख्यामा प्रिपरहरू छन् । यो संख्या अमेरिकी सेनाका कर्नल र यो आन्दोलनको प्रमुख अनुसन्धानकर्ता क्रिस एलिसको अनुमान हो । ३० दिनसम्म स्वतन्त्र रूपमा बाँच्न सक्ने व्यक्तिलाई प्रिपरको रूपमा वर्गीकरण गर्ने गरिएको छ । यो संख्या सन् २०१७ देखि लगभग दोब्बर भएको उनले विश्लेषण गरेका छन् । 

अमेरिकाको टेक्ससमा रहेको सर्भाइभलिस्ट पसल चलाउने रोमन ज्राजेभ्स्की भन्छन्, ‘कोभिड महामारीले यसलाई एउटा नयाँ स्तरमा पु¥याएको छ ।’ त्यो बेला सर्भाइभल किटको माग यति बढ्यो कि उनले इमेलहरूको जवाफ दिन मात्र सात जना नयाँ कर्मचारी भर्ना गर्नुपरेको थियो । उनी भन्छन्, ‘यो एक प्रकारले सपनामा पनि नचिताएको काम पाएका थियौं ।’ 

यसपछिका अन्य डरलाग्दा घटना र प्रकोपहरूले थप प्रिपरहरूलाई आकर्षित गरेको छ । मोन्टानास्थित ३० वर्षकी क्यारी स्मिथ भन्छिन्, ‘सन् २०२३ मा अमेरिकामाथि चिनियाँ जासुसी बेलून देखिएपछि संकटको अवस्थामा कसरी बाँच्ने, त्यो सरकारको जिम्मामा नछाडी आफैं सम्हाल्नुपर्ने महसुस भएर आयो ।’ 

त्यसपछि उनी र उनका पतिले चारवटा जेनेरेटर, तीनवटा ५५ ग्यालन पानीका ड्रम, ड्राई फूड, बन्दुक र अन्य आवश्यक चिजबिजहरू किने । 

आन्दोलनमा परिणत हुँदै
पछिल्लो समय उदारवादी, शहरी बासिन्दा र रंगीन मानिसहरू पनि प्रिपर हुन थालेका छन् । विशेष गरी राष्ट्रपति ट्रम्पको पुनःनिर्वाचनपछि यो संख्या निकै बढ्दो छ । न्यूयोर्क राज्यको उत्तरी भागमा सर्भाइभल कौशल सिकाउने शेन होबेलले भने, ‘हाम्रा ग्राहकहरूमा अब सोल्जर अफ फच्र्युन मात्र होइनन्, सामान्य महिला र डेमोक्रेट पनि छन् । हामीसँग जोडिएका कतिपय त पहिले यो कौशल सिक्ने स्कूललाई खिल्लीसमेत उडाउने गर्थे ।’

आखिर किन कोही प्रिपर भइरहेका छन् त ? 

यसको उत्तरमा धेरैले संकटका बेलामा सरकारले केही गर्न नसक्ने अवस्था देखेको बताउँछन् । अमेरिका चाँडै नै राजनीतिक हिंसाको मैदानमा परिणत हुने डर हुनेहरू नै प्रिपर भइरहेका छन् । प्रिपर न्यूजलेटर ‘ह्वेन÷इफ’का लेखक एरिक शोन्कविलर भन्छन्, ‘हामीले जस्तो संसारलाई चिनेका थियौं र त्यसलाई भर गथ्र्यौं, त्यो संसार अब रहेन ।’

यो डर बामपन्थी र दक्षिणपन्थी दुवैतर्फ बढ्दा, प्रिपिङ समुदायलाई सेवा प्रदान गर्ने  उद्योगमा परिणत मात्र भएको छैन, निकै नाफामूलक पनि बनेको छ ।

११ अर्ब डलरको उद्योग
फाइन्डर डटकमको एक सर्वेक्षणअनुसार, अमेरिकी प्रिपरहरूले सन् २०२३ मा सामानहरूमा ११ अर्ब डलर खर्च गरेका थिए र बजार अझै ठूलो हुँदै जाँदैछ । प्रिपरहरूले पानी फिल्टरेसन प्रणाली, हातले घुमाउने रेडियो, हातले सञ्चालन गरिने अन्न पिस्ने मिल र पेपर स्प्रे तथा अन्य आत्मरक्षाका उपकरणहरू थुपारिरहेका छन् । कस्टकोले १०० डलरको ‘रेडीवाइड इमर्जेन्सी फूड सप्लाई’ बेच्छ । यसमा शुद्ध पिउने पानी पनि निकै महँगो दाममा बेचिन्छ । यसमा ५० डलरको आधारभूत मोडेलदेखि पाँच हजार डलरको अल्ट्रा एड्भान्स्ड ब्यागसम्म पाइन्छन् । 

नाइट भिजन स्कोप, रेस्पिरेटर मास्क र टोइलेट्रीजजस्ता ‘लक्जरी सुविधाहरू’ तिनमा समावेश छन् । एटलस सर्भाइभल शेल्टरका प्रमुख कार्यकारी  रन हबार्डले सन् २०२० देखिको अशान्तिको डरले उनको बंकरको बिक्री तेब्बर बढेको बताउँछन् । त्यस्ता बंकरको मूल्य २० हजार डलरदेखि लाखौं डलरसम्म छ । उनले आफ्ना ग्राहकहरूको बारेमा भने, ‘उनीहरू गृहयुद्ध वा क्रान्तिको दिन आउँदैछ भन्नेमा विश्वस्त छन् ।’ अन्य कतिपय कम्पनीले भने सर्भाइभलिस्ट समुदायहरूमा ठाउँहरू पनि बेच्ने गरेका छन् ।

ती समुदायहरू कस्ता छन् ?
क्यालिफोर्नियास्थित ‘भाइभोस ग्रुप’ले दक्षिण डकोटाको घाँसे मैदानमा रहेका सेनाका ५७५ वटा खाली कंक्रीट बंकरहरूमा सञ्चालन गरेको बंकरलाई विश्वको ‘सबैभन्दा ठूलो सर्भाइभल शेल्टर समुदाय’ भनेर चिनाइरहेको छ । त्यो ठाउँ भाडामा लिएर उसले चलाइरहेको छ । 

कन्सास राज्यमा ‘सर्भाइभल कन्डो’ सञ्चालित छ । यो एउटा पूर्व मिसाइल राखिएको स्थान हो । यसलाई फिल्म थिएटर, बार, स्विमिङ पुल, चट्टान चढ्ने भित्ता र १२ लाख डलरदेखि सुरु हुने इकाइहरू भएको १५ तले सर्भाइभल आवासमा परिवर्तन गरिएको छ । त्यसपछि ‘फोर्टिच्युड रेन्च’ छ, जुन अमेरिकी वायुसेनाका सेवानिवृत्त कर्नलद्वारा स्थापना गरिएको देशभरि रहेका आठवटा कम्पाउन्डहरूको संग्रह हो । 

यसमा एक हजार भन्दा बढी सदस्यहरूले लगभग दुई हजार डलर (साझा बंकर स्पेसका लागि) देखि ४१ हजार डलरसम्म तिरेर सदस्यता लिएका छन् । कतिपयले थप १५५० डलरसम्मको वार्षिक शुल्क पनि तिर्ने गरेका छन् । कम्पाउन्डहरूमा सोलार प्यानल, खाना र औषधि, पशुधन र गार्ड कुकुरहरू छन् । यसमा लगानी गरेका सेवानिवृत्त सीआईए अधिकारी भन्छन्, ‘पुरानो भनाइ छ– कुनै समस्या देखिन थालेमा, बुद्धिमान व्यक्तिले सतर्कता अपनाउँछ ।’

प्रिपरहरूको योजनाहरूले काम गर्छ त ?
वास्तविक विपत्तिमा एक्लै बाँच्ने कला भएकाहरूले कस्तो अवस्था बेहोर्छन् भन्ने बारेमा विश्लेषकहरूलाई भने सन्देह छ । शोन्कविलर एउटा उदाहरण दिँदै भन्छन्, ‘एक्लो प्रिपरले मागा ह्याट लगाएको अवस्थामा खुट्टा भाँच्चियो भने उसको खेल सकियो । विश्व अन्त्यको एक महिनापछि र उसका सबै बन्दुकहरूले उसका लागि केही पनि गर्न सक्दैनन् ।’

केही विश्लेषकहरू भने विपत्तिको अवस्थामा समुदाय र पारस्परिक सहयोगलाई जोड दिनुपर्ने धारणा राख्छन् । केहीले भने प्रिपरहरूलाई सनकी र पागलको समूह भन्छन् । तर प्रिपरहरूको अध्ययन गर्ने बेलायती सामाजिक वैज्ञानिक माइकल मिल्स भन्छन्, ‘सामाजिक विघटनको बढ्दो चिन्ताको बीचमा, ठूलो संख्यामा केही व्यक्तिले यसलाई साँच्चै घट्ने घटनाका रुपमा लिइरहेका छन् भने के सबै पागल नै हुन् त ?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र