नेभिगेशन
अर्थतन्त्र

तथ्यांकमा सुध्रिए पनि यथार्थमा फरक अर्थतन्त्र

काठमाडौं । अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनले अधिकांश आर्थिक सूचकहरू सकारात्मक देखिएको छ । तथ्यांकअनुसार मुद्रास्फीति न्यून स्तरमा छ, रेमिट्यान्स आप्रवाह उच्च हुँदै गएको छ र विदेशी मुद्रा सञ्चिति उल्लेख्यरूपमा बढेको छ । चालु खाता र शोधनान्तर खाता स्थिति दुवै बचतमा छन् ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चितिबाट १६ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । जसले समग्र वित्तीय स्थायित्व सुदृढ रहेको संकेत गरेको छ ।

तर वास्तविक अर्थतन्त्र त्यसअनुसार चलिरहेको छैन । बजारको व्यवहार, लगानीको वातावरण र बैंकहरूको कर्जा प्रवाह कमजोर छ । बैंकहरूका अनुसार कर्जाको माग निकै कम छ भने अहिले वित्तीय प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पैसा छ । राजनीतिक अनिश्चितता र लगानी सुरक्षाप्रति निजी क्षेत्रको अविश्वासका कारण नयाँ उत्साह देखिएको छैन, जसले आर्थिक गतिविधिलाई सुस्त बनाइरहेको छ ।

मुद्रास्फीति नियन्त्रणमा, तर बजारमा महँगी

राष्ट्र बैंकका अनुसार असोज मसान्तमा उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो ।

असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक देखिएको छ भने गैर–खाद्य तथा सेवा समूहको ३.८० प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक देखिए पनि बजारमा उपभोक्ताले भोग्ने मूल्यस्तरमा ठोस गिरावट आएको छैन ।

तरकारी र खाने तेल लगायतका वस्तुको मूल्यमा उच्च वृद्धि छ । तथ्यांकअनुसार घ्यू तथा तेलको मुद्रास्फीति ७.७५ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशत बढेको छ । तर तरकारी समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशत र दाल तथा गेडागुडीको ४.४१ प्रतिशत घटेको छ ।

काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३, तराईको १.२९, पहाडको १.५० प्रतिशत र हिमालको २.३३ प्रतिशत छ ।

रेमिट्यान्स साढे पाँच खर्ब भित्रियो

यस आर्थिक वर्षको पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार साउन, भदौ र असोज महिनामा कुल पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३५.४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । २०८२ असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । यो तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशत बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा तीन अर्ब चार करोड भित्रिएको थियो ।

पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ ।

चालु खाता र शोधनान्तर बचतमा

राष्ट्र बैंकका अनुसार असोज मसान्तमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेकोमा समीक्षा अवधिमा एक अर्ब ६९ करोडले बचतमा छ ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ५५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब रुपैयाँ रहेको थियो । त्यस्तै, पछिल्लो तीन महिनामा एक अर्ब ७४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी–इक्विटी मात्र) चार अर्ब ८१ करोड रुपैयाँ थियो ।

असोज मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब तीन करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो ।

विदेशी मुद्रा सञ्चिति करिब ३० खर्ब

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो तीन महिनामा ११.३ प्रतिशतले वृद्धि भई असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा असोज मसान्तसम्म ८.७ प्रतिशत बढेर २१ अर्ब २१ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकामा असोज मसान्तमा १०.५ प्रतिशतले बढेर २६ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस्तै, राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १८.७ प्रतिशतले वृद्धि भई तीन खर्ब १२ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ महिना २७ दिनको वस्तु आयात र १६ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

कर्जा प्रवाह न्यून

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा जम्मा १.५ प्रतिशत मात्रै बढेको छ । जुन ८२ अर्ब ९३ करोड रुपैयाँ हो । असोज मसान्तसमम बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा रकम ५५ खर्ब ८० अर्ब रुपैयाँ छ ।

राजनीतिक अस्थिरता तथा भदौमा जेनजी आन्दोलनका क्रममा निजी उद्योगमाथि भएको आक्रमणका कारण निजी क्षेत्र लगानीका लागि तयार छैन । निजी क्षेत्रले सरकारबाट नीतिगत स्पस्टता र लगानीको सुरक्षाको प्रत्याभूति खोजिरहेको छ । जसले समग्र आर्थिक गतिविधिलाई प्रभावित बनाइरहेको छ र सुधारिएको सूचकले वास्तविक अर्थतन्त्रलाई चलायमान बनाउन सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र