काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत नेपालमा सञ्चालन भइरहेको प्रसारण लाइन तथा सडक पूर्वाधार योजनाका लागि ७ अर्ब रुपैयाँ (५ करोड अमेरिकी डलर) बराबरको थप अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सूचना जारी गर्दै ४०० केभी क्षमताको ३१२ किलोमिटर प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिमा लगानी हुने अनुदान रकम बढाउने निर्णय भएको जनाएको हो ।
अमेरिकाले अनुदान बढाएसँगै कम्प्याक्ट अन्तर्गतका परियोजनाहरूको कुल लागत एक खर्ब ६ अर्ब रुपैयाँ (७४ करोड ७० लाख अमेरिकी डलर) पुगेको छ । दूतावासका अनुसार कुल लगानीमध्ये अमेरिकी अनुदान ५५ करोड अमेरिकी डलर पुगेको छ । नेपालले पनि यो परियोजनामा १९ करोड ७० लाख अमेरिकी डलर बराबर लगानी गरेको छ ।
अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट अन्तर्गतका पूर्वाधार आयोजनाको कार्यान्वयन प्रक्रियामा जान भएको ढिलाइका कारण बढ्ने लागत पूरा गर्न अनुदान सहयोग वृद्धि गरिएको स्पष्ट पारेको छ ।
एमसीसीले सन् २०२४ को डिसेम्बर १८ मा अमेरिकी संसद (कंग्रेस) लाई नेपालका लागि अनुदान सहयोग वृद्धि गर्न चाहेको जानकारी दिएको थियो । थप भएको अनुदान रकमले ४०० केभी उच्च क्षमताको प्रसारण लाइन निर्माणलाई पूर्ण बनाउने सूचनामा भनिएको छ ।
‘थपिएको स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन निर्माण, प्रसारण प्रणाली सुदृढिकरण गर्ने र क्षेत्रीय देशहरूसँग अन्तरदेशीय विद्युत् व्यापारलाई बढावा दिने लगायत उद्देश्य पूरा गर्न योगदान पुग्नेछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
नेपाल र अमेरिकाबीच भएको एमसीसी कम्प्याक्ट सम्झौताले नेपालको प्रसारण ग्रिड प्रणालीको गुणस्तरमा सुधार भई प्रसारण ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार हुँदा अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्याउने भनिएको छ । साथै, विद्युत प्रसारण लाइन पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवद्र्धन गर्ने अपेक्षा राखिएको पनि दूतावासले जारी गरेको सूचनामा भनिएको छ । नेपाल र अमेरिकाबीच भएको एमसीसी कम्प्याक्ट सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसर खुल्ला गरेको पनि दूतावासले जनाएको छ ।
‘अमेरिकाले प्रसारण लाइन र सडक पूर्वाधार निर्माणका लागि नेपाललाई दिने आर्थिक अनुदान सहयोगले दुई देशबीचको चिरस्थायी साझेदारी प्रतिबिम्बित गर्दछ,’ दूतावासले भनेको छ । दुवै देशले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन मिलेर सँगसँगै काम गर्दै आएको र एमसीसी कम्प्याक्ट सम्झौताले नेपालमा उच्च क्षमताको प्रसारण लाइन निर्माणमा अनुदानमा आधारित सहायतामार्फत अमेरिकाले दिने सहयोगलाई निरन्तरता दिइएको दूतावासले जनाएको छ ।
एमसीसी कम्प्याक्ट अन्तर्गत लप्सीफेदी– रातमाटे, रातमाटे–हेटौंडा, रातमाटे–न्यू दमौली, न्यू दमौली–बुलटव र बुटवल–गोरखपुर गरी ५ खण्डमा प्रसारण लाइन आयोजना निर्माण हुँदैछ । यी मध्ये बुटवल–गोरखपुर खण्ड भारतसँग विद्युत् आयात–निर्यात हुने अन्तरदेशीय प्रसारण लाइन हो । एमसीए– नेपालले अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण गर्न अनुदान बापतको रकम खर्च गरिरहेको छ । प्रसारण लाइन अन्तर्गत रातमाटे, दमौली र बुटवलमा गरी ३ वटा सबस्टेसन निर्माण हुँदैछन् । ३ वटै सबस्टेसन र प्रसारण लाइनको सबै खण्डको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट प्रतिश्पर्धामार्फत छुट्टाछुट्टै निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । एमसीसी कम्प्याक्टअन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन र बढीमा १३० किलोमिटर रणनैतिक महत्त्वको सडक सञ्जालको मर्मतसम्भार गर्ने सम्झौता छ ।